म नेपाली छोरीको शपथ

✍️ अर्चाना शर्मा “आकृति”
तुमीन नाम्राङ, पूर्व सिक्किम
मेरो पहिरनमा पहिचान बोल्छ,
माटोको गन्ध मेरो सासमा बस्छ,
रगत–रगतमा संस्कार बग्छ,
नेपाली हुनु मेरो गर्व बनिरहन्छ।
सादगी मेरो सौन्दर्य हो,
संस्कार मेरो शिरको शान।
हिमालझैँ अडिग मेरो अठोट,
परम्परा नै मेरो प्राण।
आजको पुस्ता दौडिँदैछ
पर्देशी चमकधमक पछाडि,
आफ्नै घरको आँगन बिर्सेर
पराइ फूलले जीवन सिँगार्दै।
अङ्ग्रेजी सिक्नु पाप होइन,
ज्ञानको ढोका खोल्नु राम्रो।
तर आमाको काख बिर्सेर
पराइ छायाँ रोज्नु कति उचित?
बाबाले पहिलोपटक
“छोरी” भनेर बोलाउँदा,
त्यो शब्द नेपाली नै थियो,
जसले मुटुभरि माया भरिदियो।
आमाले निदाउँदा सुनाउनुभएको
लोरीको मीठो ताल,
त्यही गीतमा थियो इतिहास,
त्यही स्वरमा थियो अपनत्वको मिठास।
कसरी सम्भव छ भुल्नु
पुरखाले देखाएको बाटो?
हामीले नै नसम्हाले
कसले जोगाउने यो माटो?
कोट–टाइमा मात्र होइन,
दौरा–सुरुवाल र चोली–चैबन्दीमा पनि
बस्छ हाम्रो सभ्यता,
शिष्टता र संस्कृतिको परिचय।
विशेष दिनमा मात्र होइन,
सामाजिक सञ्जालका तस्बिरमा मात्र होइन,
हाम्रो मुटुको गहिराइमा
इतिहास सधैँ जीवित रहनुपर्छ।
हामी नेपाली छोरीहरू आज उठौँ,
आफ्नो भाषा शिरमा राखौँ।
विदेशी ज्ञान सिकौँ,
तर आफ्नै संस्कृतिलाई अघि बढाऔँ।
किनकि भाषा मरे राष्ट्र कमजोर हुन्छ,
संस्कार हराए पहिचान हराउँछ।
आफ्नै आमालाई तिरस्कार गर्ने
सन्तानले आफ्नै अस्तित्व गुमाउँछ।
म नेपाली छोरी हुँ।
यो मेरो गर्व,
यो मेरो शपथ।
आफ्नो भाषा, आफ्नो भेष,
मेरो जीवनको अमूल्य सम्पत्ति र अर्थ।



