भुइँको यथार्थ

* जीविका अश्रु
सिक्किम, भारत

मलाई
आकाशको प्रतिनिधि भएर
पृथ्वीलाई सम्झाउन मन छैन।

जहाँ जुत्ताले
दैनिक मेटाइदिन्छन् बाटाका अक्षर,
म त्यही मेटिएको धुलोभित्र
भोलिको हस्ताक्षर रोप्न चाहन्छु।

मेरो आवाज
न नाराको चर्कोपन हो,
न त मौनताको हार।

यो त
ढुङ्गाको भित्री भागमा
वर्षौँदेखि निदाएको पानी हो,
जसले एक दिन
आफ्नै बाटो आफैं काट्छ,
आफैं पत्ता लगाउँछ।

मलाई
अन्न फलाउने हातका रेखाभित्र
लुकेको मौसम पढ्न मन छ।

किनकि
भुइँमान्छेहरू
घर मात्र बनाउँदैनन्—
उनीहरू त
पृथ्वीका ती घरहरूलाई मन्दिर बनाइदिन्छन्,
हरेक बिहान फेरि उठाइदिन्छन्।

मलाई थाहा छ—
रुखहरू
आकाशबाट हरिया हुँदैनन्।
तिमीलाई पनि थाहा हुनुपर्छ,
आकाशको विशाल फाँटमा
अन्न उम्रिँदैन।

बीउहरूले
अँध्यारो माटोलाई
जरा–जरा पिएपछि मात्र
उज्यालो पात जन्माउँछन्।

त्यसैले
यदि कुनै दिन
मेरो नाम मेटियो भने पनि,
मेरो स्वर
कुनै किसानको हँसियामा
घामझैँ टल्कियोस्,

कुनै मजदुरको हत्केलामा
ताकत भएर दौडियोस्,

र कुनै बालकले
पहिलोपटक
‘न्याय’ भन्ने शब्द उच्चारण गर्दा,
त्यो शब्दभित्र
भुइँको यथार्थ सुनियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *