अनुमति नलिई किन आएको?

स्रष्टा पदयात्रा नेपालको प्युठान कार्यक्रमका संयोजक डा. बालचन्द्र मिश्रले श्रावण १६ गते काठमाडौँस्थित हार्दिक होटेलमा आयोजित ‘स्रष्टाको आँखामा प्युठान’ कृतिको विमोचन कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “झिम्रुक गाउँपालिकाका अध्यक्षले ‘अनुमति नलिई किन आएको?’ भनेर प्रश्न गरेपछि हामीले खाइरहेको चिया पनि आधै छोडेर हिँड्नुपरेको थियो।”

यो केवल एउटा व्यक्तिगत तितो अनुभव मात्र होइन। यसले स्थानीय सरकारको सांस्कृतिक दृष्टिकोण, सार्वजनिक उत्तरदायित्व र सिर्जनात्मक अभियानप्रतिको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ। यद्यपि गाउँपालिका नेतृत्वबाट अपेक्षित सहयोग नपाए पनि प्युठानका स्थानीय बासिन्दाले देखाएको आत्मीय आतिथ्यले आफूहरूलाई साहित्य सिर्जनामा अझ ऊर्जा दिएको डा. मिश्रले बताउनुभयो।

२०८२ सालको जेठ २ देखि ७ गतेसम्म स्रष्टा पदयात्रा नेपालले आफ्नो ९४औँ शृङ्खला अन्तर्गत प्युठानको झिम्रुक गाउँपालिकालाई केन्द्र बनाएर एक साताको अनुसन्धानात्मक पदयात्रा सम्पन्न गरेको थियो। पदयात्राका क्रममा २७ जना लेखकले जिल्लाको इतिहास, संस्कृति, भूगोल, पर्यटन, जनजीवन तथा सामाजिक परिवेशको अध्ययन गरी तयार पारेका लेखहरूको सङ्ग्रह ‘स्रष्टाको आँखामा प्युठान’ कृति श्रावण १६ गते काठमाडौँ र प्युठानको बाग्दुलामा एकैसाथ विमोचन गरिएको हो।

उक्त कार्यक्रममा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहलाई अभिनन्दन पनि गरिएको थियो। आफ्नो मन्तव्यमा उहाँले काठमाडौँबाट गएका वरिष्ठ कलाकारहरूले प्युठानको भूगोल, पर्यटन, संस्कृति र जनजीवनलाई विषयवस्तु बनाएर तयार गरेका कलात्मक सामग्री नेपाल आर्ट काउन्सिलमा एक सातासम्म प्रदर्शन गरिएको स्मरण गर्नुभयो। तर ती सामग्रीलाई पूर्वाग्रहका आधारमा झिम्रुक गाउँपालिकाले गोदाममा थन्क्याएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो।

साहित्यकार सिंहले अर्को महत्त्वपूर्ण प्रश्न पनि उठाउनुभयो। उहाँका अनुसार कुनै पनि व्यक्तिको राजनीतिक वा सामाजिक विचार फरक हुन सक्छ, तर जन्मभूमिको विकासप्रति सबैको समान दायित्व रहन्छ। बन्दीपुरको उदाहरण प्रस्तुत गर्दै उहाँले स्थानीय समाजसेवीहरूको सामूहिक प्रयासले त्यो क्षेत्र आज देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको उल्लेख गर्नुभयो। उहाँको धारणा थियो—ओखरकोटलाई पनि योजनाबद्ध रूपमा ग्रामीण पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ, यदि स्थानीय नेतृत्व र समुदायबिच सहकार्यको भावना विकसित भयो भने।

९२ वर्षको उमेरमा पनि मोहनविक्रम सिंह प्युठानको कला, साहित्य, संस्कृति र ग्रामीण पर्यटन प्रवर्द्धनमा सक्रिय रहनुभएको छ। उहाँकै सुझाव र प्रेरणामा स्रष्टा पदयात्रा नेपालले प्युठानमा अनुसन्धानमूलक पदयात्रा सञ्चालन गरेको थियो। ओखरकोट पर्यटन तथा ग्रामीण विकास सेवा समितिको सहकार्यमा सम्पन्न उक्त अभियानको परिणामस्वरूप ‘स्रष्टाको आँखामा प्युठान’ जस्तो दस्तावेजात्मक कृति तयार भएको हो।

साहित्य, कला र संस्कृति कुनै राजनीतिक दल वा व्यक्तिको सम्पत्ति होइनन्। तिनले समाजको साझा स्मृति, पहिचान र सम्भावनालाई उजागर गर्छन्। त्यसैले यस्ता रचनात्मक अभियानलाई पूर्वाग्रहको दृष्टिले होइन, स्थानीय विकास, पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणको अवसरका रूपमा हेर्न सक्नुपर्छ। यदि सिर्जनात्मक प्रयासलाई प्रशासनिक अवरोधले निरुत्साहित गर्ने प्रवृत्ति बढ्दै गयो भने त्यसको क्षति कुनै एक संस्था वा लेखकलाई मात्र होइन, समग्र समाजलाई हुनेछ।

प्युठानको अनुभवले अन्ततः एउटा स्पष्ट सन्देश दिएको छ—सरकारी निकायको व्यवहार जस्तोसुकै भए पनि जनताको आत्मीयता नै कुनै पनि सांस्कृतिक अभियानको सबैभन्दा ठुलो शक्ति हो। त्यही आत्मीयताले स्रष्टाहरूलाई लेख्न, अनुसन्धान गर्न र आफ्नो भूमिप्रति अझ गहिरो प्रतिबद्ध हुन प्रेरित गरिरहनेछ।

– समीर सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *