राहुल सांकृत्यायन केवल एक साहित्यकार वा इतिहासकार मात्र थिएनन्, उनी वैज्ञानिक चेतना, तर्कशीलता र सामाजिक रूपान्तरणका अनवरत अभियन्ता थिए। व्यक्तिगत जीवनमा सत्ता, प्रतिष्ठा र सुविधाका अनेक अवसर प्राप्त हुँदाहुँदै पनि उनले सम्झौतापरस्त र अवसरवादी राजनीतिलाई कहिल्यै स्वीकार गरेनन्। भारतीय राष्ट्रिय काङ्ग्रेससँग जोडिएका बेला पनि व्यक्तिगत लाभभन्दा समाज परिवर्तनको अभियानलाई प्राथमिकता दिए। उनको प्रसिद्ध कृति भागो नहीँ, दुनियाँ को बदलो ले व्यक्त गरेको जस्तै उनी आफ्नो सम्पूर्ण जीवन समाज परिवर्तनको यात्रामै समर्पित रहे।
करिब १३७ भन्दा बढी साहित्यिक, दार्शनिक, ऐतिहासिक तथा यात्रा-वृत्तान्तसम्बन्धी कृतिहरूमार्फत राहुलले भारतीय उपमहाद्वीप मात्र होइन, विश्व बौद्धिक जगत्लाई महत्त्वपूर्ण वैचारिक सम्पदा दिएका छन्। यही बहुआयामिक व्यक्तित्वको साहित्य, दर्शन र समकालीन सान्दर्भिकतामाथि केन्द्रित हुँदै प्रगतिशील लेखक सङ्घ, नेपाल, वैचारिक विमर्श तथा परिसंवाद विभागले श्रावण १७ गते बागबजारस्थित केन्द्रीय कार्यालयमा ‘विचार चौतारी’को ८८औँ शृङ्खला सम्पन्न गरेको छ।
‘राहुल सांकृत्यायन : साहित्य, दर्शन र समकालीन सान्दर्भिकता’ विषयक अन्तरक्रियामा प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, समालोचक मनोज भट्ट र अनुसन्धाता विधान आचार्यको मुख्य वक्ताको रूपमा सहभागिता थियो । कार्यक्रममा साहित्य, दर्शन र सामाजिक रूपान्तरणसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समालोचक मनोज भट्टले राहुलको प्रसिद्ध कृति वोल्गा से गङ्गा लाई ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणको सशक्त साहित्यिक अभिव्यक्ति भएको बताए। उनका अनुसार करिब छ हजार वर्षअघिदेखि सन् १९४२ सम्मको मानव सभ्यताको इतिहासलाई कथात्मक शैलीमा प्रस्तुत गरिएको उक्त कृतिले इतिहासलाई वर्गीय दृष्टिकोणबाट बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्छ। उनले बुद्ध दर्शनका अनात्मवाद र क्षणिकवादजस्ता अवधारणाले द्वन्द्वात्मक भौतिकवादी चिन्तन विकासमा बौद्धिक आधार निर्माण गरेको उल्लेख गर्दै राहुल शास्त्रीय विद्वान मात्र नभई जनतासँग जोडिएका सक्रिय बुद्धिजीवी भएको धारणा व्यक्त गरे।
कार्यक्रममा राहुलको दिमागी गुलामी कृतिमाथि पनि गहन विमर्श भयो। कथित राष्ट्रवाद, सामन्तवादी संस्कृति, अन्धविश्वास र व्यक्ति पूजामाथि प्रहार गर्ने यस कृतिको आजको डिजिटल युगमा झन् नयाँ अर्थ रहेको वक्ताहरूको निष्कर्ष थियो। सामाजिक सञ्जाल, एल्गोरिदम र सूचना–नियन्त्रणको विस्तारसँगै मानिसको चेतनामाथि नयाँ प्रकारको प्रभाव बढिरहेको वर्तमान अवस्थामा दिमागी गुलामी लाई कसरी पुनर्पाठ गर्ने भन्ने प्रश्नलाई कार्यक्रमले गम्भीर रूपमा उठाएको थियो।
प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले वैज्ञानिक चेतनाको निर्माण आज झन् चुनौतीपूर्ण बनेको उल्लेख गर्दै धार्मिक ध्रुवीकरण, जातीय राजनीति र सामाजिक विभाजनका बिच प्रगतिशील साहित्यको भूमिका अझ सशक्त हुनुपर्ने बताए। उनले राहुलको भागो नहीँ, दुनियाँ को बदलो को मूल सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखे।
राहुलका धर्मसम्बन्धी वैचारिक दृष्टिकोणमाथि पनि कार्यक्रममा चर्चा भयो। तुम्हारी क्षय मा उनले “मनुष्यता नभएको धर्मको क्षय हुनुपर्छ” भन्ने विचार प्रस्तुत गरेका छन्। त्यस्तै मेरी जीवन यात्रा मा उनले मानिसको मुक्तिका लागि धर्मभन्दा विवेक, विज्ञान र मानवीय चेतनाको आवश्यकता रहेको तर्क गरेका छन्। अनुसन्धाता विधान आचार्यले राहुलका यी कृतिहरू आज पनि समाज परिवर्तनका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै उनको साहित्यिक तथा वैचारिक यात्राबाट नयाँ पुस्ताले धेरै सिक्नुपर्ने बताए।
कार्यक्रम प्रगतिशील लेखक सङ्घ, नेपालकी उपाध्यक्ष डा. अमृता शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने विभागका संयोजक तथा उपाध्यक्ष समीर सिंहले सहजीकरण गरेका थिए। समापनका क्रममा विभागका सदस्य डा. कृष्ण सुवेदीले कार्यक्रमको समग्र सार प्रस्तुत गरेका थिए।
विचार चौतारीको विशेषता मुख्य वक्ताहरूका प्रवचनमा मात्र सीमित नरही खुला वैचारिक बहसमा केन्द्रित रह्यो। पूर्व अध्यक्ष मातृका पोखरेल, डा. बालचन्द्र मिश्र, शेखर अर्याल, लोकबहादुर थापा, उषा तितिक्षु, अच्युत घिमिरे, राजाराम राउत, चिरिक शोभा तुलाधर, धनबहादुर मगर, वाशिष्ठ, राधा तिम्सिनालगायत सहभागीहरूले पूरक टिप्पणी गर्दै राहुल सांकृत्यायनको वैचारिक विरासतलाई समकालीन नेपाली समाजसँग जोडेर व्याख्या गरे। कार्यक्रममा सल्लाहकारहरू डा. मधुसूदन गिरी, प्रा. डा. गोपिन्द्र पौडेल, गोपाल बराल, सीता शर्मालगायतको पनि आतिथ्य रहेको थियो।
वर्तमान समयमा राहुल सांकृत्यायनका कृतिहरूले उठाएका प्रश्नहरू—वैज्ञानिक चेतना, अन्धविश्वासविरुद्धको सङ्घर्ष, सामाजिक समानता, आलोचनात्मक चिन्तन र परिवर्तनको राजनीति—अझै पनि उत्तिकै सान्दर्भिक छन्। ‘विचार चौतारी–८८’ ले राहुललाई स्मरण मात्र गरेन, उनको विचारलाई आजको डिजिटल, विभाजित र द्रुत परिवर्तनशील समाजमा पुनः पाठ गर्ने बहससमेत प्रारम्भ गरेको छ। यही अर्थमा यो कार्यक्रम केवल एउटा साहित्यिक गोष्ठी नभई वैज्ञानिक, लोकतान्त्रिक र प्रगतिशील चेतनाको निरन्तर यात्राप्रतिको प्रतिबद्धताको सार्वजनिक अभिव्यक्ति बनेको छ।
राहुल सांकृत्यायनलाई सम्झनु केवल एक ऐतिहासिक व्यक्तित्वको सम्मान गर्नु मात्र होइन, वैज्ञानिक चेतना, आलोचनात्मक सोच र सामाजिक परिवर्तनको बहसलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्नु पनि हो।
यही कारण ‘विचार चौतारी–८८’ केवल एउटा नियमित साहित्यिक कार्यक्रम नभई वर्तमान समाजलाई विवेक, विज्ञान र परिवर्तनको दृष्टिबाट पुनः सोच्न आग्रह गर्ने वैचारिक हस्तक्षेपका रूपमा स्थापित भएको देखिन्छ।