सहरमा बालबालिकालाई प्रकृतिसँग जोड्ने थलो ‘रानीबारी’

– कृष्णप्रसाद भुसाल

सहर बजारमा हुर्किरहेका हाम्रा नानीबाबुहरूलाई प्रकृतिको सामीप्यबाट टाढा बनाउँदै बिस्तारै कृत्रिम वातावरणमा मात्र सीमित गर्दछौँ। हाम्रा सहर सिमेन्टका घरघरले भरिएका घना बस्तीमा परिणत भएका छन्। यहाँ पर्याप्त खुला ठाउँ, बगैँचा, सफा नदी तथा प्रकृतिमैत्री संरचनाहरू छैनन्। त्यसैले हाम्रा बालबालिका बढीभन्दा बढी समय मोबाइल, ल्यापटप र टेलिभिजनको स्क्रिनमा झुम्मिएर बिताउन बाध्य छन्।

यसले बालबालिकाको चौतर्फी विकासमा बाधा पुर्‍याउनुका साथै उनीहरूलाई बिस्तारै प्रकृतिबाट विमुख बनाउँदै लगेको छ। रुख, वन, चरा, पुतली, जनावर तथा सफा पानी कलकल बग्ने झरना वा नदी उनीहरूले अब स्क्रिनमा मात्र देख्न पाउने अवस्था बन्दै गएको छ। बालबालिका मात्र होइन, हामी अन्य उमेर समूहका मानिसहरू पनि स्वच्छ हावा लिँदै, चराको चिरबिर आवाज सुन्दै प्रभातकालीन वा सन्ध्याकालीन हिँडाइमा निस्कन पाउने वातावरणबाट टाढिँदै गएका छौँ। खासमा, हामीले सहरमा स्वस्थ र गुणस्तरीय जीवनयापनका न्यूनतम मापदण्डसमेत कायम गर्न सकिरहेका छैनौँ।

बालबालिकालाई ‘दूध कहाँबाट आउँछ?’ भनेर सोध्यो भने ‘डेरीबाट’ भन्छन्। ‘चामल कहाँबाट आउँछ?’ भनेर सोध्यो भने ‘पसलबाट’ भन्छन्। ‘रुख कस्तो हुन्छ?’ भनेर सोध्यो भने सजाउन राखिएका प्लास्टिकका फूल देखाउने अवस्था आउन सक्छ। प्रकृतिसँगको प्रत्यक्ष सम्बन्ध र अनुभवबाट बालबालिका क्रमशः टाढिँदै जानुको यो एउटा गम्भीर सङ्केत हो। मूलतः यस्तो अवस्था राजधानी काठमाडौँ, विशेष गरी यहाँको चक्रपथभित्र बसोबास गर्ने बालबालिकामा अझ बढी देखिन्छ। यस्तो अवस्थामा हाम्रा नानीबाबुहरूलाई कहाँ र कसरी प्रकृतिसँग साक्षात्कार गराउन सकिएला त? यसको एउटा उत्कृष्ट विकल्प हुन सक्छ—रानीबारी सामुदायिक वन।

काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा चारैतिर बाक्लो बस्तीले घेरिएको रानीबारी सामुदायिक वन सहरभित्र बाँकी रहेका महत्त्वपूर्ण प्राकृतिक क्षेत्रमध्ये एक हो। काठमाडौँ महानगरपालिका–३, लाजिम्पाट र सामाखुसीको बिचमा करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको रानीबारी सामुदायिक वन उपत्यकाको चक्रपथभित्र रहेको एक मात्र सामुदायिक वन हो। त्यति मात्र होइन, घना सहरीकरणका बिच हाल अस्तित्वमा रहेको देशकै एक मात्र सहरी सामुदायिक वनका रूपमा पनि यसलाई लिइन्छ।

काठमाडौँको बढ्दो जनसङ्ख्या र विस्तारित आवाससँगै वन क्षेत्र नासिँदै र मासिँदै गएको अवस्थामा रानीबारी सामुदायिक वन भने नमुना वनका रूपमा संरक्षण गरेर राखिएको छ। रानीबारीका ४१ घरधुरीले यस वनको संरक्षण गर्दै आएका छन्। सानो क्षेत्रफलमा फैलिएको भए पनि काठमाडौँको मुटुमा अवस्थित यस वनले राजधानीवासीका लागि फोक्सोको काम गरिरहेको छ।

यस वनभित्र रानीदेवी मन्दिर पनि रहेको छ, जसलाई ‘पोर्पा अजिमा’ पनि भनिन्छ। सांस्कृतिक महत्वसमेत बोकेको यो वन परम्परादेखि नै राजाहरूको देवाली गर्ने वनका रूपमा संरक्षित थियो। पछि, वि.सं. २०५७ पुस १० गते जिल्ला वन कार्यालय, काठमाडौँले यसलाई सामुदायिक वनका रूपमा मान्यता दिएको हो।

स्वच्छ हावा, खुला स्थान र प्राकृतिक आनन्द लिन सकिने भएकाले यस वनमा प्रभातकालीन भ्रमण (मर्निङ वाक) गर्नेहरूको भीड नै लाग्ने गर्छ। हरेक दिन करिब पाँच सयभन्दा बढी मानिस प्रभातकालीन भ्रमणका लागि यहाँ आउने गर्छन्। त्यस्तै, मन्दिर दर्शन गर्न, फिल्म तथा म्युजिक भिडियो छायाङ्कन गर्न, चरा अवलोकन गर्न तथा विद्यालय र कलेजका प्रयोगात्मक कक्षाका लागि पनि विद्यार्थीहरू यहाँ आउने गर्छन्।

बिहानैदेखि खुल्ने यस वनमा बिहान ९:३० बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ भने त्यसपछि प्रतिव्यक्ति रु. १० प्रवेश शुल्क लिने गरिन्छ। यसरी उठेको शुल्क वन, यहाँका वनस्पति तथा वन्यजन्तुको संरक्षणमा खर्च गरिन्छ। साँझ ५ बजेपछि भने वनमा प्रवेश निषेध गरिएको छ।

सहरमा एउटा वन हुनु केवल रुखहरू हुनु मात्र होइन। वन आफैँमा एउटा जीवन्त संसार हो। यहाँ माटो छ, घाँस छ, झाडी छ, रुख छन्, कीरा–फट्याङ्ग्रा छन्, पुतली छन्, चरा छन्, साना स्तनधारी जनावर छन् र यी सबैलाई जोडेर राख्ने एउटा जटिल पारिस्थितिक प्रणाली छ। यही कारण रानीबारीलाई केवल ‘घुम्ने ठाउँ’का रूपमा मात्र हेर्नु यसको वास्तविक महत्वलाई सीमित गर्नु हो। यो काठमाडौँको सहरी जीवन र प्रकृतिबिचको एउटा महत्त्वपूर्ण सेतु हो।

रानीबारी वनमा ५८ परिवार र ९२ वंशअन्तर्गत १३१ प्रजातिका वनस्पति अभिलेख गरिएको छ । विभिन्न समयमा बाहिरबाट ल्याएर रोपिएका दर्जनौँ प्रजातिका बिरुवासमेत छन्। यसले सानो क्षेत्रफलमा सीमित भए पनि यहाँको वनस्पति विविधताको महत्त्व देखाउँछ। एक सय ७० भन्दा बढी प्रजातिका चराहरू यहाँ पाइन्छन्। जाडो मौसममा उत्तरी मुलुकहरू रुस, चीन र मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरूबाट बसाइँ सराइ गरी नेपाल आउने हिउँदे आगन्तुक चराहरू पनि यहाँ आउने गर्छन्। त्यसै गरी, गर्मी याममा दक्षिणी मुलुकहरू तथा अफ्रिकासम्मबाट आउने ग्रीष्मकालीन आगन्तुक चराहरूले पनि यस क्षेत्रमा बच्चा कोरल्छन्। त्यसैले यो वन चराहरूका लागि अत्यन्तै महत्त्वपूर्ण वासस्थान, चरन तथा लुक्ने क्षेत्र हो। करिब ३० प्रजातिका पुतलीहरू यहाँ सजिलै देख्न सकिन्छ। त्यसै गरी, स्याल, वन बिरालो, मलसाँप्रो, न्याउरी मुसा, चमेरा, लोखर्के र बाँदरजस्ता वन्यजन्तुहरू पनि यहाँ पाइन्छन्।

रानीबारी सामुदायिक वन र नेपाल पन्छी संरक्षण सङ्घको संयुक्त पहलमा आजभन्दा दश वर्षअघि यस वन परिसरमा नेपालमै पहिलो ‘जैविक विविधता संरक्षण सिकाइ केन्द्र’ सञ्चालन गरिएको छ। यसको उद्देश्य सहरमा व्यस्त जीवन बिताइरहेकाहरूलाई प्रकृतिको सामीप्यमा आउन उत्प्रेरित गर्नु र प्रकृतिको महत्त्व तथा संरक्षणसम्बन्धी सचेतना प्रवाह गर्नु हो। अझ यसको खास लक्ष्य त कङ्क्रिटको जङ्गलमा हुर्किरहेका हाम्रा नानीबाबुहरूलाई प्रकृतिसँग साक्षात्कार गराई उनीहरूको ज्ञानको दायरा फराकिलो बनाउनु र प्रकृतिमैत्री व्यवहारको विकास गराउनु हो।

यस केन्द्रमा प्रकृति र जैविक विविधतासम्बन्धी जानकारीमूलक सन्दर्भ सामग्री राखिनुका साथै सचेतना अभिवृद्धिका लागि रानीबारीलगायत अन्य सम्बन्धित क्षेत्रका वृत्तचित्र पनि प्रदर्शन गरिन्छ। यहाँ कक्षा ६, ७ र ८ का विद्यार्थीलाई लक्षित गरी विज्ञान, गणित र अङ्ग्रेजी विषयका अतिरिक्त पाठ्यक्रमसमेत तयार गरिएको छ। यी विषयका पाठ्यवस्तु र सवाललाई प्रकृतिसँग जोडेर प्रयोगात्मक तरिकाले सिकाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *