बुद्धिजीवी सङ्घको राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा, मङ्सिर २१ गते बुटवलमा हुने

काठमाडौँ । अखिल नेपाल बुद्धिजीवी सङ्घ आफ्नो राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ। सङ्घको राष्ट्रिय सम्मेलन आगामी २०८३ साल मङ्सिर २१ गते बुटवलमा आयोजना हुने तय भएको छ। यसअघि निर्धारित मिति परिवर्तन गर्दै केन्द्रीय सचिवालय बैठकले नयाँ मिति र स्थान निर्धारण गरेको हो।
गत कार्तिक २९ गते काठमाडौँमा सम्पन्न सङ्घको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्रता दिने निर्णय गरेको हो। राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रा. डा. श्रीधर गौतमको अध्यक्षतामा सम्पन्न बैठकमा समसामयिक राजनीतिक परिस्थिति र सङ्गठनको वर्तमान अवस्थाबारे छलफल गरिएको थियो।
राष्ट्रिय सम्मेलनलाई व्यवस्थित, भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले बैठकले प्रतिनिधि चयन तथा सम्मेलनको तयारीसम्बन्धी विभिन्न निर्णय गरेको छ। सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको सङ्ख्या यकिन गर्न जिल्ला तहबाट तथ्याङ्क सङ्कलन गर्ने र सबै जिल्ला समितिलाई प्रतिनिधिहरूको विवरण उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको छ।
त्यसै गरी, राष्ट्रिय सम्मेलनअघि बढीभन्दा बढी जिल्लामा जिल्ला सम्मेलन वा भेला आयोजना गरी प्रतिनिधि चयन गर्ने निर्णय गरिएको छ। जिल्ला सम्मेलन तथा भेलाबाट चयन भएका प्रतिनिधिहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन पनि जिल्ला समितिहरूलाई आग्रह गरिएको छ।
सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन तयार गर्ने जिम्मेवारी राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रा. डा. श्रीधर गौतमलाई दिइएको छ। यसले सम्मेलनमा सङ्गठनको राजनीतिक दृष्टिकोण, वर्तमान अवस्था र आगामी कार्यदिशाबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
सङ्घले राष्ट्रिय सम्मेलनलाई सङ्गठनात्मक पुनर्संरचना, वैचारिक बहस र आगामी कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिँदै केन्द्रीय तथा जिल्ला तहका सबै समितिलाई तयारीमा सक्रियतापूर्वक जुट्न आग्रह गरेको छ।
मङ्सिर २१ गते बिहान ८ बजेदेखि बुटवलमा सुरु हुने राष्ट्रिय सम्मेलनलाई सफल बनाउन प्रतिनिधि चयनदेखि व्यवस्थापकीय तयारीसम्मका कामलाई तीव्रता दिइने सङ्घले जनाएको छ।



