सडक कविता : “डोजरको आतङ्क”

गरिब र सुकुम्वासीको बस्तीमा
जब डोजरको आतङ्क मच्चिन्छ,
केवल घर मात्र भत्किँदैन,
बाध्यताका अनेकौँ टेकोले अड्याइएको
जिन्दगी भत्किन्छ,
बेसहारा मानिसको आशा भत्किन्छ,
आँसुको बाँध भत्किन्छ।

दया, माया र करुणा
पिँजडामा थुनिएपछि
सिङ्गै मानवता मर्छ।

चकनाचुर हुन्छन्
बामे सर्दै गरेका सपना,
त्रासको धुवाँमा रुमल्लिएका छन्
बस्तीका पाठशाला।

बलात् धुलोको साम्राज्यभित्र
उभ्याइएका बालबालिका
र तिनका श्रमजीवी अभिभावकलाई
थाहा छैन—
राजनीति के हो,
सरकारी नक्सा के हो।

उनीहरूलाई त यत्ति मात्र थाहा छ—
त्यो भत्किएको घरभित्र
उनीहरूको सपना थियो,
कापी–किताब थियो,
आमाको काख थियो,
बर्सातबाट जोगिने
एउटा सानो कुनो थियो।

अशक्त बूढाबूढीका
काँपेका हातहरूले
भत्किएको घरका ढुङ्गा समातेर
सोधिरहेका छन्—

“गरिब हुनु नै अपराध हो र, सरकार ?”

वर्षौँदेखि पसिनाले सिँचिएका
यी बस्तीहरूलाई धुलोमा परिणत गरेर
सत्ताका ठेकेदारहरू
झुसिलो ‘विकास’ डकार्छन्।

तर हामी
आवाज बुलन्द गर्दै भन्छौँ—

पहिले वास्तविक सुकुम्वासी पहिचान गर !

चहर्‍याइरहेका घाउमाथि
डोजर होइन,
मलम लगाऊ
र गरिबका आँसु पुछ !

मान्छेलाई मान्छे बनेर बाँच्न देऊ !
आवासको व्यवस्था गर !
डोजर आतङ्क बन्द गर !
वास्तविक सुकुम्वासीको छानबिन गर !
आवास तथा रोजगारीको व्यवस्था गर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *