बुटवलमा जुट्दै छन् देशभरका बुद्धिजीवी, मङ्सिर २६ मा राष्ट्रिय सम्मेलन

काठमाडौँ । अखिल नेपाल बुद्धिजीवी सङ्घको राष्ट्रिय सम्मेलन आगामी २०८३ साल मङ्सिर २६ गते बुटवलमा हुने भएको छ। नेपालको प्रगतिशील तथा प्रगतिवादी दृष्टिकोणबाट बौद्धिक आन्दोलनमा सक्रिय सङ्घले राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्रता दिएको छ।
राष्ट्रिय सम्मेलन आयोजक समितिको असोज २० गते बसेको बैठकले सम्मेलन बुटवलमा आयोजना गर्ने निर्णय गरेको हो। आयोजक समितिका अध्यक्ष प्रा. डा. श्रीधर गौतमको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न तयारीसम्बन्धी निर्णय गरेको जनाइएको छ।
बैठकले राष्ट्रिय सम्मेलनअघि देशका विभिन्न जिल्लामा जिल्ला सम्मेलन तथा भेला सम्पन्न गर्ने निर्णयसमेत गरेको छ। यसका लागि आयोजक समितिका सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी दिइने तथा सङ्गठनात्मक तयारीलाई अघि बढाइने भएको छ।
राष्ट्रिय सम्मेलनकै अवसरमा सङ्घको मुखपत्र ‘विचार प्रवाह’ समेत विमोचन गरिने भएको छ। मुखपत्रमा सङ्घको वैचारिक दृष्टिकोण, बौद्धिक गतिविधि तथा समसामयिक विषयमा केन्द्रित सामग्री समेटिने बताइएको छ।
सम्मेलनमा देशभरबाट प्रतिनिधिहरूको सहभागिता गराउने तयारी भइरहेको आयोजक समितिले जनाएको छ। राष्ट्रिय सम्मेलनलाई केन्द्रित गर्दै सङ्गठन विस्तार, वैचारिक बहस तथा बौद्धिक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित तयारी अघि बढाइएको सिर्जना डबलीलाई जानकारी दिइएको छ।
आयोजक समितिले सम्मेलन पूर्व आवश्यक सङ्गठनात्मक तथा व्यवस्थापकीय तयारी पूरा गरी देशभरबाट प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्ने जनाएको छ।



