आज मानवताको गीत गाऊँ

चुराको झन्कार थामौँ आज,
गीतका भाका थाती राखौँ,
कतै बाढीको उर्लँदो भेलले
कसैको संसार बगाएको छ।
कतै रहर रातो भएर फुलेको छ,
कतै आँखा पानी भएर झरेका छन्,
कतै उत्सव आँगनमा नाचिरहेको छ,
कतै आँगन नै बाढीले बगाएको छ।
एउटै आकाशमुनि आज
कति फरक कथा लेखिएका छन्,
यहाँ खुसीले हात उठाइरहेको छ,
त्यहाँ पीडाले हात फैलाइरहेको छ।
आउनुहोस्।
आज आफ्ना रहरभन्दा अलिकति माथि उठौँ,
र कसैको रित्तिएको हातमा
सहयोगको न्यानो स्पर्श राखौँ।
तीज त फेरि आउँला,
गीत फेरि गुन्जेलान्,
आज भने पीडितको पीडामा
आफ्नो मनको एउटा अंश दिऔँ।
किनकि सबैभन्दा ठुलो उत्सव त्यही हो,
जहाँ एउटा आँसु पुछिन्छ,
त्यहाँ मानवता मुस्काउँछ।




