अनन्त यात्रामा प्रवाहित सौन्दर्य

अशोकविक्रम जि.सी ‘समीर सिंह’ लामो समयदेखि दर्शन, राजनीति, साहित्यलगायत संस्कृतिका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् । उनका साङ्ख्य दर्शन र मार्क्सवादलगायत पुस्तकसँग पहिलेदेखि नै परिचित भए पनि नजिकबाट साक्षात्कार गर्ने अवसर भने प्रलेसले जुरायो । डेढ वर्ष अघिदेखि एउटै समितिमा रहेर सहकार्य गर्दा मैले उनलाई सधैँ सरल, शालीन, गम्भीर र बौद्धिक व्यक्तित्वका रूपमा चिनेकी छु । प्रलेसका विभिन्न कार्यक्रमका सन्दर्भमा कहिलेकाहीँ उनको कवि व्यक्तित्वसँग परिचित हुने मौका मिल्थ्यो । कवितामार्फत दार्शनिक विमर्श गर्ने गहन कविका रूपमा चिन्ने मौका भने अनन्त यात्रामा (२०८३) कवितासङ्ग्रहले प्रदान गरेको छ । यस सङ्ग्रहले सिंहलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनका काव्यिक विमर्शकारका रूपमा स्थापित गराएको छ । 

अनन्त यात्रामा कवितासङ्ग्रह द्वन्द्वात्मक भौतिकवादी दर्शनको काव्यात्मक विमर्श हो । यस सङ्ग्रहमा सङ्गृहीत पच्चिस ओटा कविताले जीवन जगत्, चेतना, इतिहास, दर्शन, प्रेम, वियोग, सामाजिक सम्बन्धलगायत सृष्टिको समग्र प्रक्रियालाई द्वन्द्वात्मक भौतिकवादी कोणबाट विश्लेषण गरेका छन् । यी कविताले जीवनका विविध यथार्थसँग साक्षात्कार गरेका कविका अनुभव, अनुभूति र जीवन जगत्सम्बन्धी दृष्टिकोणमार्फत पाठकसँग सिर्जनात्मक संवाद गरेका छन् । जीवनका विविध घटनाक्रमसँगै प्रेम, करुणा, आशा, श्रम, सङ्घर्षलाई सामाजिक चेतनासँग जोड्दै समाज रूपान्तरणका लागि अभिप्रेरित गर्नु यी कविताको मुख्य लक्ष्य हो । 

सिंहका कविता वैचारिक प्रक्षेपणका हतियार हुन् । उनका कविताले जीवन जगत्लाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट बुझ्न प्रेरित गरेका छन् । यी कविताले द्वन्द्व नै अस्तित्व, प्रकृति, इतिहास, समाज र चेतनाको निरन्तर परिवर्तनशील यात्राको मुख्य आधार हो भन्ने चिन्तनमार्फत कवितालाई गहन दार्शनिक विमर्शका तहमा पुर्‍याएका छन् ।
‘द्वन्द्व ः सृष्टिको शाश्वत लय’, ‘द्वन्द्वको अनन्त यात्रा’, ‘जहाँ अन्त्यले सुरुवात जन्माउँछ’लगायत कविता द्वन्द्वात्मक भौतिकवादी दर्शनको गहन विमर्श गर्ने काव्यात्मक अभिव्यक्ति हुन् । यी कविताले द्वन्द्वलाई परिवर्तनको सार्वकालिक दर्शन मानेका छन् । प्रकृतिको गतिशीलता र सामाजिक परिवर्तनबिचको अन्तरसम्बन्धलाई वैज्ञानिक र वस्तुपरक व्याख्या गर्ने द्वन्द्ववादी दर्शन नै सबैभन्दा समृद्ध र उन्नत चिन्तन हो भन्ने बुझाउन यी कविताको ऐतिहासिक महत्त्व छ । परिवर्तनलाई स्वाभाविक नियमका रूपमा स्थापित गर्नु यी कविताको सबैभन्दा उल्लेखनीय पक्ष हो । बुद्ध दर्शनको प्रतीत्यसमुत्पाद, साङ्ख्य दर्शनको कार्यकारणवाद र हेराक्लिटसको गतिशीलताको दर्शनले द्वन्द्वलाई सृष्टिको आधारभूत स्पन्दनका रूपमा परिभाषित गरेको दृष्टान्त अघि सार्दै कवि भन्दछन् ः
द्वन्द्व नै हो—
जसले पात झार्छ,
अनि फेरि पालुवा उमार्छ । 
द्वन्द्व नै हो—
जसले अँध्यारोलाई गहिराउँछ,
अनि उज्यालोलाई जन्म दिन्छ । 
यही सत्यलाई
बुद्धले प्रतीत्यसमुत्पादमा देखे,
कपिलले प्रकृति र पुरुषको संवादमा सुने,
हेराक्लिटसले बगिरहेको नदीमा भेटे,
ऋषिहरूले नासदीय सूक्तको मौन प्रश्नमा अनुभव गरे।
(‘द्वन्द्व: सृष्टिको शाश्वत लय’) 

पदार्थ, चेतना, इतिहास र सामाजिक परिवर्तनबिच गहिरो अन्तरसम्बन्ध रहेको हुन्छ । पदार्थ र चेतनाको अन्तर्क्रियाले समाज र इतिहासलाई रूपान्तरण गर्ने शक्ति प्रदान गर्दछ । सिंहका कविताले द्वन्द्वको यस अनन्त यात्रालाई विनाशकारी शक्तिका रूपमा नभई गतिशील ऊर्जाका रूपमा चित्रित गरेका छन् । यी कविताले द्वन्द्वलाई प्रकृतिको सूक्ष्मतम प्रक्रियादेखि मानव समाज, राजनीति, दर्शन र इतिहाससम्म विस्तार गर्दै यसलाई समाज चेतनाको निरन्तर परिवर्तनशील यात्राका रूपमा उदात्तीकरण गरेका छन् । द्वन्द्व सङ्घर्ष वा विरोध नभई सृष्टिको आधारभूत स्पन्दन हो र मानव सभ्यता अगाडि बढाउने सिर्जनात्मक ऊर्जा हो ।

चेतना र पदार्थको अन्तरक्रियाले समाज र इतिहासलाई रूपान्तरण गर्ने शक्ति प्रदान गर्दछ भन्ने गहन चिन्तन प्रदान गर्नु यी कविताको शक्ति हो । कविले द्वन्द्वलाई सिर्जनात्मक ऊर्जाका रूपमा बिम्बित गर्दै भन्दछन् ः 
द्वन्द्व—
विनाशको पर्याय होइन,
सिर्जनाको पहिलो स्पन्दन हो । 
अस्तित्वले
आफ्नै सीमालाई पार गर्ने
अनन्त लय हो । 
त्यसैले त,
जीवनभित्र द्वन्द्व
प्रकृतिको प्रत्येक सासमा द्वन्द्व । 
समाजका गल्लीदेखि
राजनीतिका मोडहरूमा
इतिहासको प्रत्येक पानामा,
द्वन्द्वकै पदचाप छ ।
(‘द्वन्द्वको अनन्त यात्रा’)

सिंहको कविता लेखनको उद्देश्य सुन्दर समाज निर्माण गर्नु हो । सुन्दरतालाई हेर्ने उनको दृष्टिकोण वर्गसापेक्ष छ । गरिबी नभई गरिब हटाएर सुन्दर समाज बनाउने ध्याउन्नमा लागिपरेको कुरूप वर्तमानविरुद्ध कविले आक्रोश व्यक्त गरेका छन् । उनका कविताले निम्न वर्गमाथि बर्बर दमन गर्ने वर्तमान राज्यसत्ताको वास्तविक चरित्रलाई उदाङ्गो पार्दै श्रमिक तथा विपन्न वर्गका पक्षमा सशक्त आवाज उठाएका छन् । सुन्दर समाज हुनका लागि त्यो न्यायपूर्ण र समतामूलक हुनुपर्छ भन्ने उनको दृष्टिकोण मार्क्सवादी सौन्दर्य चिन्तनद्वारा अभिप्रेरित देखिन्छ ।

‘तिमी तिमी हौ, म म हुँ—१’, ‘तिमी तिमी हौ, म म हुँ—२’, ‘थोपरिएको पहिचान’, ‘बालकको प्रश्न’, ‘सम्मानको लडाइँ’लगायत कविता सुकुम्वासीलगायत निम्न वर्गमाथि अमानवीय बनेको निरङ्कुश वर्तमान राज्यसत्ताविरुद्ध सचेत विद्रोह हुन् । श्रमको महिमा गान गर्दै सङ्घर्ष, सामूहिकता, परिवर्तन, आशा र मानवताका पक्षमा दृढतापूर्वक आवाज उठाउनु यी कविताको ऊर्जा हो । कविले स्थापित गर्न चाहेको न्यायपूर्ण समाज वर्गविभेदरहित समतामूलक समाज हो  र त्यस्तो समाज विद्रोहको ज्वालाबाट मात्र सम्भव हुन्छ । 
तिमी भन्छौ–
‘यो सहर सुन्दर हुनुपर्दछ’
 म भन्छु–
‘यो सहर न्यायपूर्ण हुनुपर्दछ’
तिमी भन्छौ–
‘डोजरको आतङ्कबाट सौन्दर्यको परिभाषा लेखिन्छ’
म भन्छु–
‘विद्रोहको ज्वालाबाट श्रमको सौन्दर्य निर्माण हुन्छ’
त्यसैले तिमी ‘तिमी’ हौ र म ‘म’ हुँ । 
( ‘तिमी तिमी हौ म म हुँ —२’ )
 सिंहका कविता श्रमको सौन्दर्यलाई सबैभन्दा श्रेष्ठ र सुन्दर ठान्ने मार्क्सवादी चेतनाद्वारा अभिप्रेरित छन् । उनका कविताले सामाजिक न्याय स्थापना गर्नका लागि गरिने विद्रोहलाई सौन्दर्ययुक्त देख्दछन् । ‘विद्रोहको ज्वाला’बाट श्रमको सौन्दर्य निर्माण हुने दृष्टिकोण मार्क्सवादी सौन्दर्य चिन्तनद्वारा अभिप्रेरित छ । कविले मानवीय श्रमलाई सौन्दर्यको वास्तविक स्रोत ठानेका छन् । श्रम नै गति, समृद्धि र परिवर्तनको मशाल हो भन्ने विचार यसरी सुन्दर कविता बनेको छ ः
हरेक
अन्तर्राष्ट्रिय मजदुर दिवस
फेरि आउँछ,
हातमा
सङ्घर्षको मशाल लिएर । 
उसले
बारम्बार सम्झाउँछ—
सहरका महलहरू
श्रमबिना उठ्दैनन् 
सडकहरू ।
(‘थोपरिएको पहिचान’) 

कविले मातृत्व शक्तिलाई सिर्जना र सङ्घर्षको अजस्र स्रोतका रूपमा व्याख्या गरेका छन् । यस सङ्ग्रहको ‘आमा ः सङ्घर्षबाट जन्मिएको माया’ कविता आमाको धैर्य, त्याग, श्रम र सङ्घर्षको महागाथा हो । यस कविताले कविका निजी अनुभूतिलाई साधारणीकरण गर्दै तमाम महिलाहरूको त्याग र सङ्घर्षलाई उदात्तीकरण गरेको छ । कवितामा आमाको त्याग, समर्पण र सङ्घर्षको गाथाले समग्र पितृसत्तात्मक समाजको नाङ्गो र कुरूप चरित्र उदाङ्गो पार्दछ । यस कविताले आमाहरूले निर्माण गरेको इतिहासमै उनीहरू कसरी गुमनाम बनाइन्छन् भन्ने गम्भीर विषयलाई अत्यन्त सरल तर गहन रूपमा उठाएको छ । कविका दृष्टिमा मातृत्व त्याग, सङ्घर्ष, धैर्य र अनन्त करुणाका साथै गतिशीलताको अर्को नाम हो ।

कवि भन्दछन् ः
शब्दकोशले
‘आमा’को अर्थ
जे लेखोस्
मेरो शब्दकोशमा भने
आमा भनेको
सङ्घर्षको अर्को नाम हो,
त्यागको अर्को रूप हो,
आफैँ रित्तिँदै
अरूलाई भरिपूर्ण बनाइरहने
कहिल्यै नथाक्ने नदी हो । 
(‘आमा ः सङ्घर्षबाट जन्मिएको माया’)
अनन्त यात्रामा सङ्ग्रहमा कविको व्यक्तिगत जीवनका प्रेम र बिछोडसँग सम्बन्धित कविताहरू छन् । आफ्नी जीवनसाथीलाई अल्पायुमै बिदा गर्दा गर्नुपर्दाको सीमातीत पीडा कविसँग छ । ‘बिनु ‘खुसी’ ः मुस्कान कहिल्यै मर्दैन’, ‘काँडाले जित्न नसकेको यात्रा’, ‘कमरेड विजेता ः बादलपारिको उज्यालो’, ‘सम्बन्धको अर्को परिभाषा’, ‘त्यहीँबाट प्रेम सुरु हुन्छ’, ‘समय दिन सकिनँ’ व्यक्तिगत जीवनका प्रेम र बिछोडका विभिन्न सन्दर्भका सापेक्षमा प्रेमसम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण व्यक्त भएका कविता हुन् ।
‘बिनु ‘खुसी’ ः मुस्कान कहिल्यै मर्दैन’ कवितामा अठार वर्षसम्म क्यान्सरसँग जुध्दै मानव कल्याणकारी समाज निर्माणका लागि हरदम लागिपरेकी जीवनसाथीको स्मरण छ । जीवनको अन्तिम प्रहरसम्म पीडाका बिचबाट आशा, प्रेम, परोपकार र साहसको उत्सव मनाउने बिनु ‘खुसी’को जीवनप्रतिको अथाह विश्वास, सङ्घर्ष र समर्पण साँच्चै नै उदाहरणीय छ । यस कवितामा वियोगको पीडा छ तर निराशा र पराजय छैन । हरेक उज्यालोसँगै, सङ्घर्ष र जितसँगै बिनु ‘खुसी’ मुस्कुराइरहने कवि दृष्टिकोणले जीवनप्रतिको असीम आस्था र विश्वासलाई व्यक्त गर्दछ ।
कवि भन्दछन् ः
जब कुनै क्यान्सर योद्धाले
निराशामाथि विजय लेख्छ,
जब कुनै बिरामीले
फेरि भविष्यको सपना देख्न थाल्छ, 
म निश्चिन्त भएर भन्छु—
कतै न कतै 
बिनु खुसी फेरि मुस्काइरहेकी छिन् ।
(‘बिनु ‘खुसी’ ः मुस्कान कहिल्यै मर्दैन’)
कविको प्रेमप्रतिको दृष्टिकोण वस्तुवादी छ । उनका कवितामा प्रेम दुई व्यक्तिबिचको भावनात्मक सम्बन्धमा केन्द्रित छैन । यी कवितामा प्रेम श्रम, सामाजिक न्याय, मानवीय उत्तरदायित्व र गतिशील चेतनामा आधारित भविष्यवादी आशावादी दृष्टिकोणसँग जोडिएको छ । यी कविताले निजी जीवनका व्यक्तिगत अनुभूतिलाई सामाजिक चेतनासँग जोड्ने प्रयत्न गरेका छन् । प्रेमलाई मानवको सबैभन्दा उन्नत र समृद्ध चेतनाका रूपमा उभ्याउँदै कवि भन्दछन् ः
प्रेमलाई
केवल भावना भनेर नपढ । 
प्रेम त,
मानिसलाई मानिस बनाइराख्ने
सबैभन्दा गहिरो चेतना हो । 
त्यही चेतनाले
श्रमलाई सम्मान दिन्छ,
स्वतन्त्रतालाई अर्थ दिन्छ,
सम्बन्धलाई जिम्मेवारी बनाउँछ 
(‘त्यहीँबाट प्रेम सुरु हुन्छ’)

सिंहका कविताले प्रेमलाई नितान्त व्यक्तिगत र भावनात्मक अनुभूतिभन्दा धेरै गम्भीर विषयका रूपमा स्थापित गरेका छन् । उनका दृष्टिमा प्रेम सामाजिक चेतनाको विशिष्ट पक्ष हो । यी कविताले प्रेमलाई श्रम, सम्मान, सामूहिक चेतनामा आधारित उदात्त र गहन विषयका रूपमा स्थापित गरेका छन् । कविले प्रेमलाई सम्मान, स्वतन्त्रता, सामाजिक न्याय, मानवीय उत्तरदायित्व, सहयात्रा र मानवताका रूपमा चित्रित गर्दै यसलाई सबैभन्दा उन्नत र समृद्ध चेतनाका रूपमा व्याख्या गरेका छन् ।

प्रेमलाई मानव चेतनाको सबैभन्दा विशिष्ट पक्षका रूपमा बिम्बित गर्दै कविले भनेका छन् ः
सायद—
प्रेमको परिभाषा 
त्यहीँबाट सुरु हुन्छ ।
अनि प्रेम
मानिसलाई मानिससँग
श्रमलाई सम्मानसँग
र भविष्यलाई आशासँग जोड्ने 
निरन्तर यात्रा बन्दछ ।
(‘त्यहीँबाट प्रेम सुरु हुन्छ’)
उपभोक्तावादी बजार संस्कृतिले निर्माण गरेको वर्तमानविरुद्ध खरो रूपमा उभिनु उनका कविताहरूको मुख्य वैचारिकी हो । ‘बजारमा हराएको मानिस’, ‘स्वर्गको टिकट’लगायत कविताले मानवतालाई वस्तुकरण गरिरहेको बजार व्यवस्था विरुद्ध दह्रो आवाज उठाएका छन् । कवि भन्दछन् ः
ऊ
हरेक दिन
आफ्नो अनुहार बेचेर
नयाँ मुखौटा किन्छ
र गर्वका साथ भन्छ—
‘हेर
म कति आधुनिक भएँ †’ 
(‘बजारमा हराएको मानिस’)
 
समकालीन साहित्य जगत्मा सिंहलाई वैचारिक हस्तक्षेपका प्रतिबद्ध कविका रूपमा चिनाउन यी कविता यथेष्ट छन् ।
सरल शब्दमा प्रतीकात्मक समृद्धि र वैचारिक गहिराइ यी कविताका मुख्य पक्ष हुन् । कविको कविता लेखनको प्रमुख आधार द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । यी कविताले प्रकृति, मानव जीवन, समाज, मानवीय सम्बन्ध, प्रेमलगायत सबै पक्षलाई द्वन्द्वात्मक रूपमा हेरेका छन् । नेपालको प्राकृतिक सौन्दर्य, राष्ट्रिय अस्तित्व, इतिहास, संस्कृति र सभ्यताप्रति पनि उनी उत्तिकै सचेत देखिन्छन् । निम्न वर्गप्रति गहिरो आस्था व्यक्त भएका यी कविताले श्रमको सौन्दर्यलाई केन्द्रमा राखेका छन् । यी कविताले श्रम, सङ्घर्ष र सामाजिक न्यायलाई सबैभन्दा सुन्दर देखेका छन् र रूपान्तरणका लागि निरन्तर सङ्घर्षको आवश्यकतामा जोड दिएका छन् । कविताले न्यायपूर्ण समाज निर्माण गर्ने उत्तरदायित्व बहन गर्नुपर्छ भन्नेमा कवि हरपल सचेत देखिन्छन् ।
कविताका साथै व्यावहारिक जीवनमा पनि निरन्तर रूपमा सामाजिक सांस्कृतिक रूपान्तरणको पक्षमा लागिरहेका कविलाई धेरै धेरै बधाई साथै अनगन्ती शुभकामना !        

Leave a Reply

Your email address will not be published. Required fields are marked *