प्रलेसको ७५औँ स्थापना दिवस सम्पन्न, हिरक वर्ष महोत्सव घोषणा

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालले आफ्नो ७५औँ स्थापना दिवस आश्विन ५ गते काठमाडौँमा सम्पन्न गरेको छ। सङ्घले स्थापना दिवसकै अवसरमा आफ्नो हीरक वर्ष महोत्सव समेत घोषणा गरेको छ।
हार्दिक होटेलमा आयोजित कार्यक्रममा प्रगतिशील लेखक, साहित्यकार तथा विभिन्न सांस्कृतिक मोर्चाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नेपालका लागि चीनका पूर्व राजदूत डा. कृष्णप्रसाद ओली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सङ्घका पूर्व अध्यक्षहरू, विभिन्न सांस्कृतिक मोर्चाका नेता, सल्लाहकार तथा उपत्यकामा रहेका प्रगतिशील स्रष्टाहरूको पनि कार्यक्रममा उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व राजदूत डा. ओलीले सूचना तथा प्रविधिको वर्तमान युगमा प्रगतिशील स्रष्टाहरूले आफूलाई नयाँ ढङ्गले परिमार्जित गर्नुपर्ने बताउनुभयो। उहाँले स्रष्टाहरू कृत्रिम बुद्धिमत्ता (एआई) बाट भाग्ने नभई त्यसलाई प्रगतिशील लेखन र साहित्यको हित अनुकूल प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
नेपालका कम्युनिस्ट पार्टीहरू विभिन्न विभाजन र पुनर्गठनको अवस्थाबाट अगाडि बढिरहेका भए पनि प्रगतिशील लेखक सङ्घ विभिन्न सांस्कृतिक मोर्चाहरूको साझा संस्थाका रूपमा अगाडि बढ्न सक्नु गौरवको विषय भएको उहाँले बताउनुभयो। प्रलेसलाई लेखन तथा साहित्यको क्षेत्रमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै सशक्त रूपमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रमको अध्यक्षता गर्दै सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले स्थापना दिवसका अवसरमा हीरक वर्ष महोत्सव घोषणा गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक मोर्चाका नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।
शुभकामना मन्तव्य राख्नेहरूमा पूर्व मन्त्री तथा प्रलेसकी सल्लाहकार सत्या पहाडी, नेपाली कम्युनिस्ट पार्टीको कला, साहित्य तथा संस्कृति विभागका इन्चार्ज माननीय गङ्गानारायण श्रेष्ठ, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव आरसी न्यौपानेलगायत हुनुहुन्थ्यो। त्यसै गरी नेपाली लेखक सङ्घका कार्यवाहक अध्यक्ष मनोज न्यौपाने र देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्षले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो।
स्थापना दिवसकै अवसरमा प्रगतिशील लेखक सङ्घको ३२औँ विशेषाङ्क विमोचन गरिएको थियो। साथै सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीको नाटक ‘सन्त ज्ञानदिल दास’, उपाध्यक्ष समीर सिंहको कवितासङ्ग्रह ‘अनन्त यात्रामा’ तथा परिषद् सदस्य अनन्त अर्यालको अन्तरिक्षको आँगनको पनि विमोचन गरिएको थियो।

सङ्घका महासचिव डा. पारस ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष समीर सिंहले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा सङ्घका पूर्व अध्यक्षहरू मातृका पोखरेल, प्रा. डा. जीवेन्द्र देव गिरी र डा. मधुसूदन गिरी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव कुशल बोगटी तथा सल्लाहकारहरू ईश्वरचन्द्र ज्ञवाली, प्रा. डा. गोपिन्द्र पौडेल, गोपिरमण उपाध्याय, गोपाल बराललगायतको आतिथ्य रहेको थियो।
–समीर सिंह



