विपत्तिमा मानवताको हात

२०८३ को भाद्र १० मा के विपत्ति आयो,
क्षणभरमै सबै बस्ती मरुभूमि भयो ।

बिहानको उषासँगै सबको मनमा आशा,
खतराको साइरनले शिथिल भए शरीरका नसा ।

भोटेकोशी गड्गडाउँदै त्रिशूलीमा आयो,
किनारका बासिन्दाको गाँस–बास नै लग्यो ।

टिमुरेका बासिन्दाले ‘ऐया’ भन्न पाएनन्,
सबै बजार बगाई लग्यो, एक जना पनि रहेनन् ।

कोही थिए कर्मचारी, शिक्षक, इन्जिनियर,
विपत्तिले भन्दो रहेनछ—तलमाथि, सिनियर ।

हजारौँको बिचल्ली छ, घरबार छैन,
परिवार छुट्दाखेरि भक्कानिन्छ मन ।

के गरेर बिर्सने हो, के गरी हो जिउने?
सबै सेवा लगिदियो, छैन पानी पिउने ।

विपत्तिले चुडेर लग्यो हाम्रो धन–जन,
विचल्लीको तस्बिर देख्दा रुन्छ सबको मन ।

कोलाहल र बिचल्लीले थर्थराउँछ सबको मन,
मानवताको प्रदर्शन गर्ने हो कि होइन मन?

यस्तो बेला नेपाली हो, हेर कति बस्ने?
थोरै–धेरै सहयोग गर्न सबै कम्मर कस्ने ।

मनमा पीर भए पनि अघि बढ अब,
मलम लगाई घाउ सन्चो हुन्छ हेर तब ।

स्याफ्रुबेँसी, बेत्रावती—कोलाहल र रोदन,
विपत्तिलाई हटाउन अनुरोध, सबै जना लागौँ झन् ।

कानको सुन होइन, दानव! लासको गर उद्धार,
नेपाल आमा रोई–रोई सबैलाई गर्छिन् पुकार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *