मेरो पिएच.डि. कथा

पेसाले प्राध्यापक भएकोले पिएच.डि. गर्नु आवश्यक थियो नै। त्यसभन्दा पनि पर, मेरो मनको अन्तरकुन्तरमा अत्यन्त बलियोगरी दबेर बसेको एउटा कुरा थियो, मैले पिएच.डि. गर्नैपर्छ। तर त्यो किन गर्नुपर्छ भन्ने कारण मलाई आफैँलाई खासै थाहा थिएन। त्यसो भए पनि “गर्नैपर्छ” भन्ने आकर्षणले नै मलाई त्यतातिर घचेट्थ्यो। साथमा “म यो गर्न सक्ने मान्छे हुँ” भन्ने अभिमानपूर्ण भाव पनि उत्तिकै थियो, जसले त्यो भोकलाई झनै गहिराइतिर धकेल्दै लग्यो।

एमएस्सी गरेलगत्तै पिएच.डि.का लागि सोच्ने अवस्था रहेन। जागिरमा स्थायित्व पहिलो सर्त भयो। त्यसका लागि पाँच-पाँच वर्षसम्म कठोर सङ्घर्ष गर्नुपर्‍यो। त्यसपछि मात्रै पिएच.डि. मेरो लागि पहिलो र एक शक्तिशाली अभिलाषा भएर आएको हो। आफ्नो परिवेश, परिस्थिति, अवस्था र आफ्नो ज्ञानको तहलाई आड बनाएर मैले आफूसँग अत्यन्त इमानदार हुँदै त्यसका लागि प्रयास थालेँ।

नेपालमा भन्दा पनि बाहिर, विदेशी विश्वविद्यालयबाट पिएच.डि. गर्ने मेरो अभिलाषा थियो। थुम्सेका थुम्से निवेदन, आवश्यक सामग्री, कागजपत्र आदिसहित मैले पत्राचार गर्न थालेँ। यसका लागि आफ्नो वर्षौँको समय खर्च गरेँ। यसमा नभए उसमा होला भन्ने आशामा भरोसा गर्दै गएँ। त्यसका लागि आफूले गर्नुपर्ने काममा मैले कुनै कसर बाँकी राखिनँ। पैसा पनि खर्च हुँदै गयो। तर कतै भएन।

अनौठो पनि लाग्यो। मेरो त हुनै पर्ने हो, यस्तो लाग्थ्यो। तर एकपछि अर्को परिणाम नआउनु निराशामा रूपान्तरित हुँदै गयो। त्यत्रो ठूलो इच्छामाथि कुठाराघात भयो। एकपछि अर्को असफलता, असफलता नै मात्र।

यसमा एउटा यस्तो कारण पनि प्रमुख बनेको थियो कि मैले घमण्ड गर्दै भन्ने गर्थें, “म छात्रवृत्ति पाउनैपर्ने मान्छे हुँ। म त्यो पाइछाड्नेछु।” एकाध राम्रै ठाउँमा आंशिक छात्रवृत्तिको अफरलाई समेत मैले नकार्दै अगाडि बढेको अवस्था भयो। तर पूर्ण छात्रवृत्ति कतै भएन।

त्यतिबेला मैले आफैँलाई भनेको थिएँ, “यसमा मेरो दोष छैन, त्यस्तै हुनु थियो त्यसैले भयो।” तर आज फर्केर हेर्दा लाग्छ, त्यो भनाइ आफैँमा एउटा उम्किने बाटो पनि रहेछ। घमण्डले हो कि नियतिले, दुवैलाई एकैचोटि दोष दिन सजिलो हुँदो रहेछ। तर कुन कति हो भन्ने प्रश्नको जवाफ म अझै आफैँसँग खोजिरहेको छु।

जे होस्, त्यतिबेला मेरो देशबाहिर गएर पिएच.डि. गर्ने सपना साकार नहुने कुरा म आफैँले ठहर गरेँ।

म त्यसखाले निष्कर्षमा यसकारण पनि पुगेँ कि समयको तिखो पेच कसिन लागिसकेको थियो। उमेरका हिसाबले आफूले अध्ययन बिदा पाउने अवस्था नै नरहने स्थिति सिर्जना हुँदै थियो। अन्य कारणमा मेरो आफ्नै स्वभावको प्रतिफल पनि थियो, स्वाभिमान, अभिमान आदि-आदि। म यसरी झन्डै-झन्डै पिएच.डि.को वृत्तबाट बाहिर हुने अवस्थामा पुग्नै लागेको थिएँ।

अब त भएन। नेपालबाटै भए पनि पिएच.डि. त गर्नैपर्छ।

त्यही अवस्था पनि फुस्कन सक्ने स्थिति देखिन थाल्यो। बाहिर जान पाएको भए पिएच.डि. के हो, कसरी गर्ने आदि सबै उतै सिकिने विश्वास लिएर बसेको मलाई त्यो सम्भावना समाप्तप्रायः भएर गएको अवस्थाले अत्यास र छटपटीमा पुर्‍यायो। एकखाले बिरामीकै अवस्थामा पुगेँ म। हीनताबोधले ग्रस्त हुन थालेँ। यद्यपि त्यसलाई बाहिर प्रकट हुन भने मैले कहिल्यै दिइनँ।

अब नेपालबाटै पिएच.डि. गर्न मैले मेरो टाउकोमा पिएच.डि. केमा गर्ने, को शीर्षक खोज्ने आन्दोलनै सुरु गरेँ। अधिकाधिक अवस्थामा म सम्भावित शीर्षक, यो हुन्छ कि त्यो, यता ढल्किऊँ कि उता, यस्तै-यस्तै मनोद्वन्द्वमा हुन थालेँ। खाँदा, सुत्दा, बस्दा, उठ्दा, पढ्दा, खेल्दा, जहिल्यै शीर्षकको खोजी भइरहन्थ्यो। पुस्तकालय जाँदा-आउँदा पनि दिमाग खेलाउँथेँ, शीर्षक के होला? के राख्ने? केमा कसरी पिएच.डि. गर्ने?

यस बेलासम्म मैले पिएच.डि. के हो र न्यूनतम रूपमा यसमा के-के र कस्तो कुरा हुनुपर्छ भन्नेबारे इन्टरनेट तथा प्रकाशित पुस्तक आदिबाट केही बुझिसकेको थिएँ। बिस्तारै अब शीर्षकको झल्को आउन थाल्यो। जसै शीर्षक झल्याकझुलुक गर्थ्यो, म त्यसको शरीर र पुच्छर कस्तो होला भनेर कल्पना गर्न कोसिस गर्थेँ। कतिपय बेला कुनै भेउ नै हुँदैनथ्यो, के गर्ने, कसो गर्ने भन्नेबारे।

कैयौँ अवस्थामा कामको त्यो आयतन सम्झेर मलाई कहाली लागेर आउँथ्यो। सारा परिस्थिति एकैचोटि सम्झन्थेँ र त्यसलाई टुङ्गो लगाउन मलाई असम्भवप्रायः लाग्थ्यो। कतिपय अवस्थामा त्यस्तो अध्ययनका लागि चाहिने तथ्याङ्क तथा अन्य शैक्षिक सामग्री जुटाउनै नसक्ने डरले काँचै खाइरहेको हुन्थ्यो।

तैपनि त्यसलाई सुरु गर्नुको अर्को कुनै विकल्प नै थिएन। मैले काम सुरु गरेँ।

यसैबीचमा मैले अध्ययन प्रस्तावना तयार गरेँ। त्यसपछिको मुख्य काम थियो, सुपरभाइजर खोज्नु, जुटाउनु। विभागका प्रोफेसर-प्रोफेसरका ढोका-ढोकामा चहार्दै आफ्नो पिएच.डि.को सुपरभाइजर बसिदिन आग्रह गर्न थालेँ।

यसमा कसैले भने, “तँलाई पिएच.डि. गराएर मैले के पाउँछु?”

कसैले भने, “म त अब बूढो भइसकेँ। मकहाँ अरू पनि यसरी नै आएका थिए। मैले कसैलाई पनि लिइनँ। तपाईँलाई पनि यो गर्न असमर्थ छु।”

कसैले भने, “मैले भ्याउँदिनँ, अरू नै खोज्नु।”

जाबो एउटा सुपरभाइजर पाउनको लागि समेत मैले एउटा फुटबलसरह कहिले यता, कहिले उता हुनुपरेको अवस्था मेरा लागि कम चुनौतीपूर्ण रहेन।

धन्न हाम्रो शैक्षिक प्रणाली!

तैपनि मैले हिम्मत हार्नु त छँदै थिएन। एउटा केसमा एकजना प्रोफेसरलाई मैले यस्तो कुरा राखेँ, मेरो अध्ययनको प्रक्रिया पूरा गर्नका लागि मात्रै सहयोग गरिदिनुस्। मेरो प्रस्तावमा मैले थपेँ, अध्ययन अनुसन्धानको सम्पूर्ण काम म आफैँ गर्नेछु र कथंकाल यसबाट असफलता हात लागे त्यसको जिम्मेवारी पनि आफैँले बोक्नेछु।

अन्तमा सुपरभाइजर उपलब्ध भएपछि मेरो पिएच.डि. भर्नाको ठूलो खड्को टर्‍यो र मैले विद्यार्थी हुने अवसर प्राप्त गरेँ। यसबेला मलाई ठूलै सफलता हात लागेझैँ अनुभूति भयो।

तर अन्तिम कुरो मनभित्रको के थियो भने, “कम्तीमा पाँच वर्षको अध्ययन बिदाको उपयोग त गरौँ। त्यसपछि हेरौँ, जे त होला! सके, भए गरिएला पिएच.डि., नभए जे त पर्ला!”

यस्तो हालतमा पुगेको थिएँ म।

मतलब, मेरो भित्र पिएच.डि. सम्पन्न हुन्छ भन्नेबारेमा शङ्का, संशय आदिले ठूलो घर गरिसकेको थियो। म ढुक्क हुने अवस्थैमा थिइनँ। मेरा लागि कुनै एक दिन पिएच.डि. सकिएको दिन भएर आउँछ भन्ने विश्वास गर्ने कुनै आधार तय भएको थिएन त्यतिबेलासम्म।

मैले अँध्यारोमा ढुङ्गा हान्नु सिवाय अरू केही गरेको थिइनँ।

त्यो अँध्यारोमा हानेको ढुङ्गाले कसरी निसाना लगाउँछ नै भनेर जान्नु?

बाफ रे बाफ! त्यो स्थिति सम्झँदा अहिले पनि कहाली लागेर आउँछ।

तैपनि, मेरो हातबाट ढुङ्गा फुस्किएर अब एउटा गतिमा अगाडि बढेको अवस्था थियो। त्यसमा मैले के गर्ने भन्ने बडो अलमल त थियो, तर एकखाले मजा पनि आउँदै थियो। एउटा काम सुरु भएको थियो। काम अगाडि बढ्दै थियो। म पिएच.डि. भर्ना भएको थिएँ। अध्ययन बिदा स्वीकृत भएको थियो। अब म ढुक्कले बस्न थालेँ।

घरमा खासै अध्ययन-अध्यापनको वातावरण बन्न सकिराखेको थिएन। बनाउन सकेको थिइनँ मैले। यत्रैसिति जस्तो एकखाले गुलियो-गुलियो, मिठो–मिठो र तितो-तितो, नमिठो-नमिठो पनि, अवस्थासँग पौंठेजोरी खेल्दै, भित्र अत्यन्तै भुटभुटी, तर बाहिर सामान्यझैँ देखिने ढोङ्गी अवस्थाबाट झन्डै-झन्डै छ-सात महिनासम्म सम्पूर्ण रूपले निष्क्रिय बस्ने अवस्था रह्यो।

तर गाँठी कुरो, सबैभन्दा बढी पीडादायी अवस्था त्यही थियो मेरा लागि।

पेट भतभती पोलिरहेको हुन्थ्यो भित्र, तर बाहिर म त्यसलाई शीतल पार्न कुनै सियोलेझैँ सानो टुक्रा काम पनि गर्न सकिरहेको हुन्नथेँ। बालबच्चा पनि हुर्किसकेका थिएनन्। मेरो मनोभाव मैले कसैलाई पनि बुझाउन सकिराखेको थिइनँ। वास्तवमा मेरो त्यस किसिमको अनुभूतिले कतैबाट पनि कत्तिपनि सान्त्वना तथा सहयोग प्राप्त गर्न सकिराखेको अवस्था थिएन।

त्यसरी नै गुज्रनुपर्‍यो मैले।

म बूढो हुँदै गएँ।

फेरि पनि एउटा अठोट थियो ममा। अनि के रोकिन्थ्यो? ताल जाम भएको आखिरमा फुट्नैका लागि थियो।

त्यो कडा चट्टानलाई मैले कुइनाले भए पनि धर्धरी रगत पस्ने होउन्जेल हानिरहेँ। अलिअलि चोइटा-चोइटीहरू निस्कन थाले। मेरो गोरेटो बाटोको स्वरूप मैले मभित्रैबाट देख्न थालेँ। पिएच.डि.का हरेक सानाभन्दा पनि साना तमाम अङ्ग-प्रत्यङ्गहरूको मैले सूक्ष्म अध्ययन गर्न थालेँ। म तिनमा घण्टौँ, दिनौँ र महिनौँ डुब्न थालेँ।

यद्यपि मेरो यसखाले अन्तरङ्गी अवस्था बाहिर भने कतै प्रकट हुँदैनथ्यो। म एक सामान्य, निस्फिक्री र खासै कुनै काम नभएको मान्छेझैँ देखिन्थेँ र खासमा थिएँ पनि त्यस्तै। खाली चिन्तन-मननको तहमा मात्र म अत्यन्त गहिरिँदै थिएँ, भासिँदै थिएँ तल-तल-तल।

तर त्यस्तो चिन्तन तथा अध्ययनको देखिने र देखाउने गरी मसँग केही पनि उत्पादन हुन सकिराखेको थिएन। यो अर्को घोर पीडादायी अवस्थाबाटको गुज्राइ थियो मेरो। यस बेला पनि मेरो हीनताबोधको भाव अत्यन्त प्रबल थियो। तर त्यस किसिमको अनुभूतिलाई मैले आफैँलाई थिच्ने गरी कहिल्यै टाउको ठाडो गर्न दिइनँ।

मेरो अठोट थियो, एक दिन मेरोलागि पनि पिएच.डि. सकिएको दिनको रूपमा सुरक्षित छ र त्यो आफ्नो समयमा प्रकट हुनेछ।

यही भाव एवं विश्वास लिएर मैले आफूलाई अत्यन्त प्रतिकूल अवस्थामा समेत उत्साहित गराइराखेँ। र आफू आफ्नो काममा लागिराखेँ।

पिएच.डि. भर्ना भएको वर्ष दिन नाघेर पनि झन्डै अर्को वर्षको आधा जान लागिसकेको थियो। मैले बल्लबल्ल मेरो अध्ययनको अस्थिपञ्जर तयार पार्न सकेँ। अब अलिक साहस आएको थियो। मैले मेरो अध्ययन प्रगति प्रतिवेदनको बारेमा सुपरभाइजरलाई पहिलोपटक जानकारी गराउने निधो गरेँ।

फोनमा भेटघाटका लागि समय माग्नै के लागेको थिएँ, सुपरभाइजर सिंहझैँ गर्जे।

“तेरो म सक्दिनँ, छोडिदिन्छु। डेढ-डेढ वर्ष हराएर पनि कसैले पिएच.डि. गर्छ? सक्दिनँ म। हुँदैन तेरो पिएच.डि.।”

यताबाट मैले पनि विश्वासका साथ ठूलै स्वर बनाएर बोलेँ, “सर! मैले काम गरेको छु। कामै नगरी त मैले पनि के लिएर आउने हो त नि हजुरकहाँ? सर! मैले काम गरेको छु। म सरलाई यो देखाउन चाहन्छु। दयागरी मलाई आधा घण्टाको समय उपलब्ध गराइदिनुहोस्।”

मैले यति भनेपछि सुपरभाइजर बोले, “आज मलाई फुर्सद छैन। भोलि बिहान पनि मेरो काम छ। भोलि बेलुका ७ बजेपछि मलाई एकपटक फोन गर्नु, हिँड्नु भन्दा अगाडि।”

मैले लामो सास फेरेँ।

बाफ रे बाफ! झन्डै-झन्डै होसहवास नै गुमेको थियो मेरो। बूढोलाई धन्न अहिलेसम्म गरेको काम त देखाउन पाइने भयो। मैले सन्तोषको सास फेरेँ।

जसै मैले त्यसबेलासम्म आफूले गरेको कामको बेलिविस्तार सुपरभाइजरलाई सुनाएँ, बूढा बोले, “ल, ठिकै छ।”

त्यसपछि तुरुन्तै म आफैँ बोलेँ, “सर, अब मैले देखेको मेरो अगाडिको बाटो यो हो। मैले यसरी-यसरी यी स्टेपहरू पार गर्दै अगाडि जाने विचार गरेको छु। मलाई लाग्दैछ, यसरी नै गन्तव्यमा पुगिनेछ।”

सुपरभाइजरले भने, “ल, ठिक छ। गर्दै जाऊ।”

म एकखाले उकुसमुकुस र अत्यन्त अत्यासलाग्दो परिस्थितिमा थिएँ। त्यस किसिमको असमञ्जस, अनिश्चितता र भयपूर्ण बसाइबाट मलाई कहिले बाहिर निस्कौँ झैँ भइरहेको थियो।

फुत्त बाहिर निस्केँ म र लामो सास फेरेँ। एउटा उन्मुक्त हाँसो हाँसेँ, एक्लै, बाहिर सडकको बीचमा कुनै बहुलाहा हाँसेझैँ। आनन्द आयो। र म फेरि मुस्कुराएँ आफैँमा।

वाह! आखिर सुपरभाइजरसँग भेट भइछाड्यो!

मेरो खुसीको कुनै सीमा भएन त्यसबेला।

अब सुपरभाइजरसँग भेटघाट गर्ने र आफ्नो कार्यप्रगति बुझाउने कुरा बढ्दो क्रममा हुन थाल्यो। तैपनि कुरो यस्तो हुन्थ्यो कि, एकपटक सुपरभाइजरलाई भेटेपछि अरू कैयौँ महिनासम्म म खाली हात हुन्थेँ। खासै केही नयाँ प्रगति हुन सक्दैनथ्यो काममा। पुरानै कुरा लिएर मात्रै मुख देखाउन के भेट्नु सुपरभाइजरलाई! यस्तो सोच्थेँ।

तर गलत पद्धति थियो यो, र रहेछ।

अड्के-पड्केको ठाउँमा सोधौँ भन्दा पनि खासै उत्साहित हुन सक्दिनथेँ। लाग्थ्यो, वर्षौँ त्यसै विषयमा घोत्लने म त यसरी अड्कनुपरेको छ भने अन्यत्र कतैबाट यसको के त्यस्तो उपाय आउला र? के नै पाउँला र मैले?

हो, म यस्तै सोच्थेँ अनि आफैँ घोत्लन्थेँ।

अर्को एउटा घोर गलत पद्धति।

यो तमाम पिएच.डि. संस्कृतिको विपरीत धार थियो र पनि मैले मेरो आफ्नो शैली कहिल्यै छाड्न सकिनँ। यसरी नै धिमा गतिमा म अगाडि बढिरहेँ।

अब म मेरो पिएच.डि. अध्ययनको यस्तो मोडमा आइपुगेको थिएँ कि यसको सबैभन्दा ठूलो मूल्याङ्कनकर्ता म आफैँ थिएँ। आफूले आफैँलाई चिन्नु एउटा महत्त्वपूर्ण कुरा हो। मैले नयाँ कुरा जानेँ। झ्वास्स ज्ञान प्राप्त भयो, “हँ! पिएच.डि. भनेको त एउटा बराबर प्रक्रिया पनि पो रहेछ त, साँच्चै!”

खोज अनुसन्धान जति महत्त्वपूर्ण छ, पिएच.डि. त्यत्तिकै ठूलो प्रक्रियाबाट गुज्रने रहेछ। सुरुमा अध्ययन प्रस्तावना प्रस्तुत गर्नु, त्यसपछि प्रस्तावनाको डिफेन्स, भर्ना, सामयिक प्रगति प्रतिवेदन, सेमिनार प्रेजेन्टेसन, अनुसन्धानसम्बन्धी पेपर लेखन तथा प्रकाशन, थेसिस लेखन, प्रि-भाइभा, अन्तिम डिफेन्स, फर्म्याटिङ आदि कैयौँ चरण पार गर्नुपर्ने रहेछ।

अझ, कतिपय कुरा त यति सूक्ष्म तहसम्म पुग्दा रहेछन् कि कुन अक्षरको आकार कति हुने, पृष्ठ कसरी मिलाउने, फर्म्याट कस्तो हुने भन्ने कुरासम्म पनि प्रक्रियाकै अङ्ग बनेर आउने रहेछन्।

त्यसैले मैले त्यतिबेला बुझेँ, PhD is equivalent to Process!

सुपरभाइजरसँगको भेट, नियमित अध्ययन प्रतिवेदन पेस, सेमिनार प्रेजेन्टेसन, पेपर पब्लिसिङ आदि-इत्यादि। गाँठे! अझै अर्को छुट्टै कत्रो पहाड! फेरि कहिले, कसरी उक्लेर पार गर्नु ती यूँ-यूँ बडेमानका पहाडहरू?

मेरो गति छिन्नभिन्न हुने गर्थ्यो र त्यस्तो भइरह्यो। तर अहँ, हिँड्न भने मैले कहिल्यै छाडिनँ।

तब मैले पिएच.डि. प्रक्रियासँग जुध्ने र पौठेजोरी खेल्ने अवस्था अगाडि आयो। हिँडिरहेँ म। अनवरत, निरन्तर।

हो, आयो। यस्तो बेलामा आइपुगेँ कि म मेरो पिएच.डि. सकिएको दिनको सजीव कल्पना गर्न माहिर भइसकेको थिएँ। बडो अजीव, सघन पाराको कल्पना। म यसमा रम्न सक्ने भइसकेको थिएँ।

कामका बोझहरू एकपछि अर्को काँध थाप्दै तिनलाई गन्तव्यमा पुर्‍याउँदै, बिसाउँदै अगाडि बढिरहेको हुन्थेँ। दिनहरू पनि नियमित आफ्नै रफ्तारमा, नितान्त मेरो काम र सरोकारका विषयहरूसँग निरपेक्ष रही अगाडि बढिनै राखेका हुन्थे।

समयक्रम यसरी नै अगाडि बढिराख्यो। बढ्दै गयो।

अरे, कत्रो उमङ्ग!

मेरो पिएच.डि. थेसिसका बाह्य जाँचकी प्रतिवेदनहरू देशभित्र र देशबाहिर जताकतैबाट आइसकेर पनि फाइनल डिफेन्सको मिति समेत तय भइसकेका दिनहरूमा आइपुगेँ म।

अझै कहिलेकाहीँ त थोरै विश्वास पो लाग्दैछ, के यो साँचो त हो?

हो, यस्तै भ्रमहरूबाट पनि मैले मेरा पिएच.डि. अध्ययनका दिनहरू गुजारेँ। त्यसरी नै समयको पोल्टाभरि गुज्रँदै-गुज्रँदै यस्तो अवस्थासम्म आइपुगेको थिएँ म।

मैले थेसिस डिफेन्स प्रेजेन्टेसनको तयारी सुरु गरेँ।

यसै समयको नजिकै मलाई मेरै विभागकी अर्की एक सहपाठी मित्रको पिएच.डि.को फाइनल थेसिस डिफेन्स अवलोकन गर्ने मौका पनि प्राप्त भएको थियो। त्यो यति सामयिक उपलब्धि थियो मेरा लागि कि मैले त्यस डिफेन्स कक्षामा देखेको प्रक्रियाअनुसार नै आफ्नो थेसिस डिफेन्स तयारीलाई ढाल्न सक्ने अवस्था रह्यो।

मैले त्यसै गरेँ।

मित्रको त्यो डिफेन्स कक्षा देखेर ममा अरू बढी विश्वास जागेर आयो।

“ए, यस्तै त रहेछ नि! यत्तिको त मैले सजिलै पो गर्छु त! अझ, म त योभन्दा पनि बढी नै गर्न सक्छु।”

यही भाव जागेर आयो। मैले आफ्नो डिफेन्स तयारीमा कुनै कसर बाँकी राखिनँ। सक्ने जति सबै गरेँ।

मेरो थेसिस डिफेन्स प्रेजेन्टेसनको दिन आयो। समय तोकिएको थियो, दिनको ठीक एक बजे।

मैले आफ्नो प्रेजेन्टेसन सुरु गरेँ। यससँगै मैले भित्र मनमा कल्पना पनि गरिराखेको थिएँ, अबको एक-आध घण्टापछि मेरो तमाम काम सम्पन्न हुनेछ र म पिएच.डि. घोषित गरिनेछु।

म प्रस्तुति दिँदै थिएँ। तत्समय मैले मभन्दा अघिल्ला पिएच.डि. थेसिस डिफेन्स प्रेजेन्टेसनका अवस्थाहरू पनि झलझली देखिरहेको थिएँ, फ्ल्यासब्याकमा।

त्यसमा शोधकर्ताले आफ्नो प्रस्तुति सकिसकेपछि उनलाई मुस्किलले केही प्रश्नहरू सोधिएको थियो र निजलाई सहजताका साथ डिग्री प्रदान गरिएको घोषणा भएको थियो। वातावरण एकदम समतल थियो।

मेरो अन्दाज, आज मेरो पालामा पनि त्यसैको वरिपरि नै घुम्नेछन् क्रियाकलापहरू भन्ने थियो।

मैले प्रेजेन्टेसन सकेँ, प्रदान गरिएको समयसीमाभित्र नै। मेरो प्रस्तुति राम्रो भएको थियो। आफ्नो प्रस्तुतिप्रति गरिएको आफ्नो मूल्याङ्कनमा म चित्त बुझ्दो अवस्थामा थिएँ। म ढुक्क पनि थिएँ।

अब प्रश्नहरू आउन थाले।

मैले उत्तर दिँदै गएँ। एकै व्यक्तिले प्रश्नमाथि प्रश्न गर्दै गयो। मैले सोचेँ, अरूले धेरै गर्ने छैनन् क्यार।

तर अहँ, होइन रहेछ।

एउटाले सक्यो, अर्कोले प्रश्नको वर्षा गर्छ। फेरि पहिला सोध्नेले पनि दोहोर्‍याएर प्रश्न गरेकै छ।

हुनुपर्ने र सोध्नुपर्ने प्रश्नहरू विरलै छन्। बेतुकका र सतही, अनि थेसिसका गोलाइ-मोटाइ, अक्षरका आकार आदिबारेका प्रश्नको बिटो लाग्दैछन्।

“यो किन गरिस्? त्यो किन गरिनस्?”

त्यहीँ थेसिस ल्याएर वाक्यका वाक्य केलाउँदै एकमाथि अर्को अड्को थाप्दैछन् त वा!

हँ!

त्यसो भइरहँदा एकछिन त म अक्क न बक्कको अवस्थामा समेत पुगेँ। मैले त्यस्तो दृश्य देखिरहेको थिएँ र पनि सक्ने, मिल्दो अनि हुँदो उत्तर दिँदै गएँ। नहुँदा साक्षी भावले सारा दृश्य हेर्दै, मुस्कुराएको भावमा उभिरहेँ म।

डिनको पालो आयो। अन्तमा, उनको संक्षिप्त भाषणबाट त्यस नाटक, मेरो थेसिस डिफेन्स, को पटाक्षेप भयो।

अब अनुसन्धान समिति अन्तिम रिजल्टको तयारीका निम्ति बैठककोठामा पस्दै थियो। म असमञ्जसमा थिएँ, के होला? के गर्लान्? तर तत्काल बिचारेँ, कुरा मेरो नियन्त्रणमा थिएन। थामिएँ। सम्हालिएँ म। मलाई त्यो क्षण स्वाभाविक भावमा अनुभूत गर्ने अवसर मिल्यो।

त्यो दिन, त्यस प्रश्नोत्तरको क्षणमा मैले जे अनुभूत गरेँ, त्यसमा टड्कारै देखिन्थ्यो, कसरी आफू डिनको अफिस, विभागीय प्रमुख र त्यस वरिपरिका सम्बन्धित कर्मचारी आदिको विविध राजनीतिक भागबन्डीय प्रणालीबाट उत्पन्न हुन गएको कुरूप आपसी सम्बन्ध, भाइचारा र एकखाले कथित आफ्नोपनको पहिचानको समेत सिकार भइरहेको छु भन्ने कुरा।

यो कुनै क्षणिक शङ्का थिएन। न कुनै परीक्षाको दबाबले उब्जाएको भ्रम। त्यो दिन मैले हाम्रो सर्वोच्च शैक्षिक संस्थाको एउटा यथार्थ यसरी अनुभूत गरेँ। यस्तै प्रणालीले धेरैको भविष्य निर्धारण गर्दछ भन्ने मलाई पहिल्यैदेखि थाहा त थियो, तर त्यस दिन त्यो म आफैँले भोगेँ मात्र।

मलाई न आश्चर्य लाग्यो, न कुनै हिचकिचाहट। तए रमाइलो चाहिँ भएन।

यी सबका बाबजुद मलाई एउटा दृढ विश्वास थियो, म पिएच.डि. पक्कै हुन्छु। हुँदै छु। अन्त्यमा भयो पनि यस्तै।

तैपनि, साराका सारा यी विकृत संस्कारहरूको परिष्कार चाहिँ कहिले, कसरी, कहाँबाट र कसका पालादेखि थालनी होला भन्दै, यस्तै कुरा सोच्दै म कोठाबाट बाहिरिएँ।

काम सफा भएको, सकिएको झैँ छ्याङ्ग अनुभूति अझै भएको थिएन।

साँच्चै, यो विकृति चाहिँ तपाईँ-हामी सम्बन्धित सबैले समयमै सोचिविचारी टुङ्ग्याइहाल्ने हो कि?

अन्ततः प्रश्न मेरो पिएच.डि.को मात्र रहेन।

हामीले ज्ञान प्राप्त गर्ने भनिएको संस्थाभित्र ज्ञानभन्दा बाहिरका शक्ति, सम्बन्ध, प्रतिष्ठा, पूर्वाग्रह र संरचनाहरूले कति भूमिका खेलिरहेका छन्?

सायद यो प्रश्नको उत्तर खोज्नु पनि कुनै अर्को पिएच.डि.जत्तिकै लामो प्रक्रिया हुन सक्छ।

अस्तु।

धन्यवाद!

 

शनिबार, २७ भदौ २०८३ ( १२ सेप्टेम्बर २०२६)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *