घरपरिवार, विद्यालय, समाज र बालबालिकाको मनोविज्ञान

विषय प्रवेश

बाल्यावस्था सबैका जीवनमा एक पटक आउँछ। बाल्यावस्था जीवनको प्रारम्भिक अवस्था हो। हामी कोही पनि एकै चोटि वयस्क वा युवा उमेरमा पुगेका हुँदैनौँ। हामी प्रत्येकले एउटा बालक हुर्किएर नै ठुलो मान्छे बन्छ भन्ने कुरा भुल्नु हुँदैन। बालबालिका पनि तपाईँ–हामीसरहकै आम मानिसभित्र पर्दछन्। संसारका विभिन्न मुलुकमा बालबालिकाको उमेरको मापदण्ड आ–आफ्नै किसिमका छन्। हाम्रो देशको कानुनले १८ वर्षसम्म उमेरकालाई बालबालिकाको परिभाषाअन्तर्गत राखेको छ।

स्वस्थ बच्चाको जन्म हुनु भोलिको स्वस्थ नागरिकको सङ्केत हो। आजको अवस्थामा स्वस्थ बालबालिका जन्मने र हुर्कने वातावरण सिर्जना हुनु जरुरी छ। बालबालिका गर्भमा हुँदैदेखि आमाको स्वास्थ्य अवस्था, कामको प्रकृति, खानपिन, पारिवारिक वातावरणलगायतमा ख्याल राख्नुपर्छ। हामीले साना कुरामा ध्यान पुर्‍याएका  हुँदैनौँ भने आर्थिक हैसियत र समय व्यवस्थापनका कारण पनि यी काम हुन सकेका हुँदैनन्। यसमा राज्य वा सरोकारवाला निकायले पनि चासो राख्नुपर्छ। बरु थोरै र स्वस्थ सन्तान जन्माउन अभिप्रेरित गर्नुपर्छ। गर्भावस्थाको समयदेखि नै उचित आहार विहार, खानपिन, स्वास्थ्य जाँच, मैत्रीपूर्ण वातावरण आदिमा ध्यान पुर्‍याउने हो भने स्वस्थ बच्चाको जन्म हुन्छ। स्वस्थ बच्चाको जन्म हुनु राज्यका लागि सुखद पक्ष हो। बच्चा जन्मिसकेपछि हुर्कनका लागि आवश्यक सुन्दर वातावरणको सिर्जना गरिनुपर्छ। यसका निम्ति बच्चाकी आमा र परिवारका जिम्मेवार व्यक्तिलाई उचित परामर्श दिँदा राम्रो हुन्छ।

बाल मनोविज्ञान के हो?

बालबालिकाका अन्तर्मनका भावना नै बाल मनोविज्ञान हो। बालबालिका निकै संवेदनशील हुन्छन्। साना कुराले छिट्टै खुसी हुने र दुःखी पनि भइहाल्ने उनीहरूको स्वभाव हुन्छ। आफू जन्मे–हुर्केको वातावरणबाट नै बालबालिकामा मनोविज्ञानको विकास हुन जान्छ। बालबालिका हुर्कँदै गर्दा प्रत्येक अभिभावकले तिनलाई कस्तो प्रकारको वातावरणको आवश्यकता पर्दछ भन्ने कुरामा ख्याल राख्नुपर्ने हुन्छ। सबै बालबालिकाको जन्म सक्षम परिवारमा हुन्छ भन्ने हुँदैन। यसका लागि घरको वातावरणलाई अनुकूल बनाउने प्रयत्न भने गर्नुपर्छ। बालबालिकाको अन्तर्मनको भावनालाई बुझेर सोहीअनुसारका व्यवहार गर्न जानेको खण्डमा प्रत्येक बालबालिका गुलाब र कमल भएर फुल्नेछन्।

घरपरिवार

भविष्यमा जन्मिने आफ्नो सन्तान स्वस्थ होस् भन्ने सबै आमाबाबुको चाहना हुन्छ। हामी बेलैमा सचेत भएनौँ भने हाम्रो चाहनाले मात्र काम गर्दैन। जन्मेपछि मात्र मेरो छोरा-छोरी भन्ने होइन, शिशु गर्भमा रहँदादेखि नै आफू सन्तानको बाबु-आमा हुँदै छु भन्ने हेक्का राख्नुपर्छ। महिला गर्भवती भएपछि उनको व्यक्तित्व, शिक्षा, स्वास्थ्यलगायतका आधारमा उनी र उनको परिवारलाई परामर्श गर्न सकिन्छ। गर्भवती अवस्थामा अपनाउनुपर्ने सावधानी नअपनाउँदा जुनसुकै बालबालिका जोखिममुक्त हुन सक्दैनन्। पारिवारिक वातावरण अस्वस्थ भइदियो भने कुनै पनि बालबालिकाको स्वस्थता कल्पनाबाहिरको विषय हुन जान्छ। गर्भावस्थामा रहँदा आमाले तनावमुक्त, डरमुक्त र रमाइलो वातावरण पाउनुपर्छ। अभाव, तनाव र भयको वातावरणमा भएकी आमाले स्वस्थ बच्चा जन्माउन सक्दिनन्। यस कारण एउटा स्वस्थ बच्चा जन्मनका लागि घरपरिवारको वातावरण स्वस्थ बनाउनु आवश्यक हुन्छ।

तपाईँलाई लाग्न सक्छ, बालबालिकासँग जोडिएर माथिका यति धेरै कुराहरू किन आए त? मेरो मान्यता यो हो कि नौ महिना गर्भमा रहेर मात्र शिशु जन्मने हुँदा कुनै पनि शिशु जन्मनु पूर्वको वातावरण आनन्द र रमाइलोपूर्ण हुनुपर्छ। उनीहरू जन्मेपछि दुई वर्ष नपुगुन्जेलको वातावरण, दुईदेखि ६ वर्षसम्मको वातावरण, ६ देखि १२ वर्षसम्मको र १२ देखि १८ वर्षसम्मको छुट्टाछुट्टै तरिकाको व्यवस्थापनमा ख्याल राख्नुपर्दछ। अभिभावकको नियन्त्रणमा रमाइलो र सहज वातावरणमा हुर्किए पनि स्वतन्त्र हुन खोज्नु बालबालिकाको स्वभाव हो। तसर्थ नियन्त्रित वातावरणमा राख्ने वा हातपात गर्नेभन्दा पनि सम्झाएर उनीहरूलाई सुधार्न सकिन्छ।

बालबालिकाको अधिकांश समय घरपरिवारसँग बित्दछ। यस समयमा घरमा कस्ता व्यवहार गरिन्छन्? परिवारका सदस्यबिच सौहार्दपूर्ण वातावरण छ कि छैन? आदिमा विचार गरिनुपर्छ। राम्रा कुराको नक्कल गरून् भन्नका लागि परिवारका अग्रज सदस्यहरूले राम्रा व्यवहार मात्र गर्ने, झुक्किएर पनि नराम्रो व्यवहार नगर्ने, आफूलाई कुलतबाट टाढै राख्ने गर्नुपर्छ। उनीहरूसँगै खेल्ने, डुल्ने र उनीहरूका खुसीमा रमाउने आदि गर्नुपर्छ। यस कारण घरपरिवारभित्र—

  • स्नेहपूर्ण वातावरण हुनुपर्छ।
  • मनमुटाब, झैझगडा र वैमनस्यको भावना राख्नुहुँदैन।
  • बालमैत्री वातावरण निर्माण गरिनुपर्छ।
  • बालबालिकाका लागि समय व्यवस्थापन गर्नुपर्छ।
  • आवश्यकता र इच्छाको समर्थन तथा राम्रो कार्यको प्रशंसा र प्रोत्साहन हुनुपर्छ।
  • परिवारका सदस्यहरूको समान सहभागिता रहनुपर्दछ।
विद्यालय

नेपालमा केही अघि वर्षदेखि नै पूर्वप्राथमिक तह र बाल विकास सिकाइ केन्द्रमा दुई वर्ष उमेरका बालबालिका भर्ना गर्ने गरिएको छ। बेलायत, अमेरिका जस्ता विकसित राष्ट्रका तुलनामा नेपालमा यो उमेर अति छिटो हो। बिहान–बेलुका अभिभावक वा घरपरिवारसँग बिताएका बालबालिकालाई विद्यालयको नौलो वातावरणमा घुलमिल हुन सजिलो हुँदैन। अझ एक मात्र सन्तान छ भने त अन्य बच्चासँग खेल्ने बानी नभएकोले जङ्गली (अन्यथा नलिनुहोला) स्वभाव हुन सक्छ। विद्यालय परिवारले यसलाई सामान्य रूपमा लिन सक्नुपर्छ। केही विद्यालयले बालमैत्री वातावरणका निम्ति मन्टेसरी, बाल विकास केन्द्रलगायतको अभ्यास गर्दै आए तापनि पूर्ण रूपमा सुधार आइसकेको अवस्था भने छैन। विद्यालयमा एउटा उदाहरणीय शिक्षकभन्दा पनि जागिरका लागि बनेका शिक्षक हुनाले बालबालिकाको मनोविज्ञानबाट टाढै रहेका हुन्छन्। शिक्षकहरू बालबालिकालाई नियन्त्रित वातावरणमा राख्ने, बालबालिकाको सिकाइमा अरुचि राख्ने, सजायबाट नियन्त्रण गर्न खोज्ने, बाल मनोभावना विपरीत चल्न खोज्ने गर्छन्। विद्यालयलाई सिकाइ केन्द्रको रूपमा भन्दा पनि मनोवैज्ञानिक त्रासको केन्द्र बनाउने काम विद्यालयबाटै सिर्जना भइरहेका छन्।

घरको अवस्था, वर्ण, जात आदिका आधारमा विभेद गर्न खोज्ने, अन्धविश्वासी हुने, सामूहिकताको भावना कम भएकोजस्ता प्रवृत्तिबाट मुक्त हुनुपर्छ। यसका लागि बालबालिकालाई सामूहिक कार्य, खेल आदिमा रमाउन सिकाउनुपर्छ। खेल जित्दा मात्र होइन, हारलाई पनि स्विकार्ने, अरूको जितमा रमाउने, प्रशंसा गर्ने, माफी दिने, क्षमा माग्ने बानीको विकास गर्नमा शिक्षकको भूमिका अद्वितीय हुने हुँदा परम्परित शिक्षण पद्धतिबाट विद्यालय मुक्त हुनुपर्छ।

प्रसिद्ध शिक्षाविद् गिजुभाईका अनुसार कथा सुन्नु, खेल खेल्नु, घुम्न निस्कनु, सिनेमा हेर्नुजस्तै पढ्ने काम पनि खुसीका लागि गरिएको हो भन्ने महसुस बालबालिकालाई गराउन सके मात्र कक्षाको सिकाइ उपलब्धिमूलक हुन्छ। उनी कथा र खेलमा जोड दिँदै भन्छन्, “बालबालिका पढ्न तयार नहुँदासम्म नपढाउनुहोस्।” यस कारण विद्यालयलाई सफल सिकाइ केन्द्रका रूपमा विकास गर्नका लागि—

  • विद्यालयमा बालमैत्री वातावरणको सिर्जना गर्नुपर्छ।
  • बालबालिकाको रुचि र क्षमताअनुसारको व्यवहार गर्नुपर्छ।
  • शिक्षकहरूले आफूलाई अन्धविश्वासबाट मुक्त गर्नुपर्छ।
  • विद्यालयमा नैतिक शिक्षा अनिवार्य गर्नुपर्छ।
  • विद्यालयले तालिमप्राप्त शिक्षक राख्नुपर्छ, ताकि प्रत्येक शिक्षक एक मनोविद् पनि बन्न सकोस्।
  • प्रत्येक विद्यालय सञ्चालक, संस्थापक, प्रधानाध्यापक र शिक्षकले बालबालिकाको शारीरिक, संवेगात्मक र सामाजिक विकासको राम्ररी अध्ययन गर्नुपर्छ।
समाज

कुनै पनि बालबालिकाको मनोविज्ञानमा आधारित समाज निर्माण आजको आवश्यकता हो। धेरै विद्यालयले बालबालिकालाई बिस्तारै सामाजिक तहमा उकाल्दै लगेको हुन्छ। घरबाट ननिस्कने बालक विद्यालयसम्म पुग्छ। त्यहाँ विभिन्न समाज वा समुदाय र संस्कृतिका बालबालिकाको जमघट हुने गर्छ। बालबालिकाले सामाजिक वातावरणको अभ्यास गर्ने अवसर प्राप्त गरेका हुन्छन्। विद्यालय जाँदा–आउँदा होस्, बजारमा किनमेल गर्न जाँदा होस् वा गाउँ वा टोलमा कुनै उत्सव वा जमघटमा सरिक हुँदा होस्, बालबालिकाले सामाजिक गतिविधिका साथ संस्कार सिकिरहेका हुन्छन्। समाजका आफूभन्दा ठुला मानिसका आचरण तथा क्रियाकलाप आदिलाई नियालिरहेका हुन्छन्। ठुलाले सानालाई, पुरुषले महिलालाई, बलियोले निर्धोमाथि गर्ने व्यवहार के–कस्ता छन्, सबै दृश्य वा क्रियाकलाप हामीले नभने पनि ख्याल गरेका हुन्छन्। चेतनाको अभावले बालबालिकाप्रति बेवास्ता हुनु वा ‘यी को हुन् र?’ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ। सार्वजनिक स्थानप्रति उत्तरदायी बनाउने, खेलमैदानको व्यवस्था गरिदिने आदि बालबालिकाप्रति सामाजिक दायित्व हुन्।

बालबालिकाले भोलि समाजमा राम्रा काम गरून् र सामाजिक नेतृत्व वहन गरून् भनेर बाल क्लब, रिडर क्लबजस्ता क्लबहरू गठन गर्न प्रोत्साहन गर्ने गर्नुपर्छ। बालबालिकालाई ‘म पनि यस गाउँ–टोलको एक जिम्मेवार नागरिक हुँ’ भन्ने आत्मविश्वास दिलाउनका लागि सुहाउँदो जिम्मेवारी दिनुपर्छ। उनीहरूलाई डर, त्रास, धम्कीमा राख्नुभन्दा पनि उनीहरूले स्विकार्न सक्ने मित्रताको व्यवहार गर्नुपर्छ। समाजका कतिपय ठुलाबडा भनिनेहरूको बालबालिकालाई मान्छे नगन्ने प्रवृत्ति हुन्छ। यस्ता खालका प्रवृत्तिलाई त्यागेर समयअनुसार चल्न सक्नु नै आजका बालबालिकाप्रति न्याय गर्नु हो। यस कारण स्थानीय जनप्रतिनिधि, समाजका प्रतिष्ठित र जिम्मेवार व्यक्तिहरूमा निम्न किसिमको ज्ञान हुनु आवश्यक छ—

  • बालबालिकाको सामाजिक मनोविज्ञानको ज्ञान हुनुपर्छ।
  • बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिका कारण बालबालिकामा पर्न सक्ने असरका बारेमा जानकारी हासिल गर्नुपर्छ।
  • प्राकृतिक विपत्तिको असरबाट बालबालिकालाई टाढा राख्ने गरी व्यवस्थापन मिलाउनुपर्ने हुन्छ।
  • आर्थिक, लैङ्गिक, जातिगत विभेदबाट बालबालिकामा असर पर्ने हुँदा यसबाट समाज सधैँका लागि मुक्त हुनुपर्छ।
निष्कर्ष

यति लेखिसकेपछि बालबालिका को हुन्? भनिरहनु नपर्ला। बालबालिकाले कस्तो वातावरण मन पराउँछन्? उनीहरूले हामीबाट के, कस्तो अपेक्षा राखेका हुन्छन्? यी सबै प्रश्नका उत्तर माथि आइसकेका छन्। बालबालिका को हुन्? भन्दा पनि को होइनन्? भन्ने प्रश्नले हाम्रा मनमा ल्याइदिने निकै धेरै उत्तरमध्येको एक हो—उनीहरू भोलिको सिङ्गो देश हाँक्ने कुशल राष्ट्र चालक हुन्। तसर्थ उनीहरूका शारीरिक, मानसिक, संवेगात्मक, शैक्षिक गुणहरूको क्रमशः विकासका लागि घरपरिवार, विद्यालय र समाजको महत्त्वपूर्ण भूमिका रहन्छ। बालबालिका पनि आदर, सम्मान र स्वतन्त्रताका हिस्सेदार हुन् भन्ने कुरा नभुलौँ। बालबालिकाको रुचि र मनोविज्ञानको सम्मान गर्नु घरपरिवार, विद्यालय र समाजको साझा दायित्व हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *