अब के हुन्छ नेपाली आकाशमा ?

केही समयदेखि मडारिरहेछ कालो बादल
नेपाली आकाशमा ।
न त दिल खोलेर पर्न सकेको छ झ्यामझ्याम्ती,
आखिर कति दिन हो यो अनावृष्टि ?
जब पर्न थाल्छ मुसलधारे,
आखिर कति दिन हो यो अतिवृष्टि ?
नेपाली आकाशमा ।
मैले सम्झेँ कालापत्थरको कुरा,
जहाँ काला विचारका मान्छेहरू उपस्थित थिए ।
सुकोमल हृदय लिएर गएका
पत्थरका दिल लिएर फर्के,
हिमाल पग्लिरहेको देखेनन् उनीहरूले
नेपाली आकाशमा ।
सगरमाथाको उचाइ घटिरहेछ, दाबी गर्छन् कोही,
नेपाली शिर निहुरिरहेछ, लाचार छन् उनीहरू ।
निर्वाध टोकिरहेछन् लामखुट्टेहरू,
मध्यपहाडसम्म पुगिसके विस्तारवादी लामखुट्टेहरू ।
एउटा सडकबाट चिच्यायो,
“यो सबै ग्लोबल वार्मिङले गर्दा भएको हो ।
यसका लागि वातावरण संरक्षण गर्नुपर्छ,”
भनी चेतावनी दियो ।
तर, उसका आवाज केही क्षणमै विलीन भयो
नेपाली आकाशमा ।
जाडोमा हिटर बाल्छौ, गर्मीमा एसी र कुलर,
तर हिजो जस्तो प्राकृतिक एसी र कुलर छैन यहाँ ।
रुख–बिरुवा काटेपछि, वन–जङ्गल फाँडेपछि,
मर्छन् कोही कठ्याङ्ग्रिएर, कोही मूर्छिएर ।
हरितगृह ग्यास फैलिएपछि
नेपाली आकाशमा ।
पराबैजनी अनि विकिरणहरू
राजदूतावासका कुर्सीमा छन् ।
ओजोन तह नाश भएपछि
कसरी टाल्छौ यसलाई तिमीले ?
संविधानसभा होइन यो,
संविधान निर्माणको समयझैँ थप गर्न सकिने ।
आफैँले प्वाल पार्यो ओजोन तहमा,
फ्याँकी रहेछ विस्तारवादीले विकिरणहरू
मेचीदेखि कालीसम्म ।
फैलिएका छन् विकिरणहरू ।
अब के हुन्छ नेपाली आकाशमा ?




