जनगायक जीवन शर्माको सशक्त प्रस्तुति : टोकियोमा भव्य एकल साँझ सम्पन्न

नवीन बस्याल
टोकियो, जापान।
रक्तिम सांस्कृतिक अभियानका संस्थापक तथा जनगायक जीवन शर्माको बहुप्रतीक्षित एकल सांगीतिक साँझ जापानको टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा जापानमा कार्यरत नेपाली श्रमिक, बुद्धिजीवी, सांस्कृतिककर्मी तथा विभिन्न सामाजिक र सांस्कृतिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दर्शकले खचाखच भरिएको हलले कार्यक्रमप्रति नेपाली समुदायको उत्साह र अपनत्व झल्काएको थियो।
दशकौँदेखि नेपाली जनसांस्कृतिक आन्दोलनमा गीत–संगीतमार्फत जनताको आवाज बुलन्द गर्दै आएका जनगायक जीवन शर्माले आफ्ना कालजयी तथा जनप्रिय सिर्जनाहरू प्रस्तुत गर्दा दर्शक भावुक हुनुका साथै गीतसँगै गुनगुनाउँदै र नाच्दै रमाएका थिए।
उनले प्रस्तुत गरेका चर्चित गीतहरूमा “मधेसी, पहाडी, हिमालका हिमाली”, “फोकल्याण्डको टापूबाट”, “म डुल्दै जाँदा तराईको फाँटमा”, “तलमा पर्यो बेँसीको फाँट, माथि पर्यो कैलाश”, “चाहिँदैन मलाई सिसाको महल”, “झर्नाको चिसो पानी”, “म हिँडेको गाउँको बाटो मुस्कुराओ”, “सधैँ उच्च छ शिर, हेर्दा हँसिलो मुहार”, “सिमली छायाँमा बसी” तथा समापनमा प्रस्तुत गरिएको “यसपाली त यस्तै भो आमा” विशेष रूपमा दर्शकको मन जित्न सफल भएका थिए।

कार्यक्रममा जीवन शर्माका गीतहरूमा रक्तिम सांस्कृतिक अभियान जापानका कलाकारहरूले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए। गीत र नृत्यको सशक्त संयोजनले सम्पूर्ण कार्यक्रमलाई थप जीवन्त, ऊर्जावान र दर्शकमैत्री बनाएको थियो।
आयोजकका अनुसार कार्यक्रम सम्पन्न गराउन बसन्त थापाको विशेष पहल तथा एनआरएनए जापानको समन्वयात्मक भूमिका रहेको थियो। कार्यक्रममा जापान नेपाली एकता समाजका नेता–कार्यकर्ता, विभिन्न सामाजिक तथा सांस्कृतिक संघ–संस्थाका प्रतिनिधि र ठूलो संख्यामा नेपाली समुदायको सहभागिता रहेको थियो।
सहभागीहरूले जनगायक जीवन शर्माको यो एकल साँझलाई केवल सांगीतिक प्रस्तुति मात्र नभई नेपाली श्रमिक समुदाय, जनसंस्कृति, सामाजिक एकता र प्रगतिशील सांस्कृतिक चेतनालाई सशक्त रूपमा अभिव्यक्त गर्ने सफल सांस्कृतिक उत्सवका रूपमा मूल्याङ्कन गरेका छन्।



