सिर्जना डबली : किन आवश्यक बन्यो नयाँ साहित्यिक अभियान?

साहित्य केवल शब्दहरूको संयोजन होइन; यो समाजको चेतना, समयको प्रतिबिम्ब र परिवर्तनको प्रेरक शक्ति हो। समाजका यथार्थ, सङ्घर्ष, सम्भावना र आकाङ्क्षालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा साहित्यले इतिहासदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यही कारणले साहित्यलाई समाजको ऐना पनि भनिन्छ।

नेपालको साहित्यिक आन्दोलन पनि विभिन्न वैचारिक धार, राजनीतिक दृष्टिकोण र सांस्कृतिक मान्यताका आधारमा विकसित हुँदै आएको छ। फरक–फरक विचारधाराले आफ्ना साहित्यिक तथा लेखक सङ्गठन निर्माण गरेका छन्। विशेषतः प्रगतिशील साहित्यिक आन्दोलनभित्र पनि विभिन्न धार र प्रवृत्तिहरू सक्रिय छन्। तर साहित्यिक आन्दोलनको प्रभावकारी नेतृत्वका लागि सङ्गठनको मात्र अस्तित्व पर्याप्त हुँदैन। स्पष्ट वैचारिक दृष्टि, जनपक्षीय प्रतिबद्धता र समाज रूपान्तरणप्रतिको दृढ अडान अनिवार्य सर्त हुन्।

वर्तमान समयमा साहित्यिक क्षेत्रमा अवसरवाद, व्यक्तिवाद, उपभोक्तावाद तथा सांस्कृतिक विकृतिका प्रवृत्तिहरू तीव्र बन्दै गएका छन्। यस्ता चुनौतीका बीच जनताको पक्षमा उभिएको, परिवर्तनमुखी र स्पष्ट वैचारिक आधार भएको साहित्यिक अभियानको आवश्यकता झन् बढेर गएको अनुभूति गरिएको छ। यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) लाई नयाँ अवधारणा र विस्तारित कार्यदिशासहित ‘सिर्जना डबली’ का रूपमा अघि बढाउने  निर्णय गरिएको हो।

सिर्जना डबलीको मूल उद्देश्य विचार र सिर्जनाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनु, साहित्यलाई जनजीवन र सामाजिक सङ्घर्षसँग जोड्नु तथा प्रगतिशील साहित्यिक आन्दोलनलाई समयानुकूल पुनर्संरचना गर्नु रहेको  छ। बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई मध्यनजर गर्दै सङ्गठनलाई थप फराकिलो, समावेशी, गतिशील र प्रविधिमैत्री बनाउने अवधारणा यस अभियानको केन्द्रमा रहेको छ।

सिर्जना डबलीले आगामी कार्यदिशाका रूपमा सातवटा प्रमुख अभियान अघि सारेको छ। ती अभियानमा सिर्जना अन्तर्राष्ट्रिय मार्फत विश्वभरका प्रगतिशील साहित्यिक संस्था र स्रष्टासँग सहकार्य विस्तार गर्ने, सिर्जना कार्यशाला मार्फत नयाँ प्रतिभा विकास र नियमित प्रशिक्षण सञ्चालन गर्ने, सिर्जना प्रविधि अन्तर्गत विज्ञान, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको रचनात्मक प्रयोगलाई प्रोत्साहन गर्ने, सिर्जना यात्रा मार्फत समाज, संस्कृति र जनजीवनसँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम सञ्चालन गर्ने, सिर्जना विमर्श अन्तर्गत साहित्य, संस्कृति, दर्शन, राजनीति तथा समसामयिक विषयमा नियमित बहस चलाउने, सिर्जना मूल्य मार्फत स्रष्टाको सामाजिक सम्मान र सिर्जनाको आर्थिक मूल्य स्थापित गर्न पहल गर्ने तथा सिर्जना प्रकाशन मार्फत पुस्तक, पत्रिका र डिजिटल माध्यमबाट सिर्जनाको व्यापक प्रचार–प्रसार गर्ने योजना समावेश छन्।

आज साहित्य केवल पुस्तकका पानामा सीमित रहने विषय होइन। डिजिटल प्रविधि, सामाजिक सञ्जाल र विश्वव्यापी सम्पर्कको विस्तारसँगै साहित्यिक आन्दोलनका स्वरूप पनि परिवर्तन भइरहेका छन्। यस्तो अवस्थामा सिर्जना डबलीको अवधारणा केवल नाम परिवर्तनको विषय नभई साहित्यिक आन्दोलनलाई समयानुकूल पुनर्संरचना गर्ने प्रयासका रूपमा हेरिएको छ।

यदि यसले प्रस्तावित कार्यदिशालाई व्यवहारमा रूपान्तरण गर्न सके, नयाँ पुस्ताका स्रष्टालाई आकर्षित गर्न सफल भयो र विचार तथा सिर्जनाको एकतालाई संस्थागत रूपमा सुदृढ बनाउन सक्यो भने सिर्जना डबली नेपाली प्रगतिशील साहित्यिक आन्दोलनको नयाँ अध्याय बन्न सक्ने अपेक्षा गरिएको छ।

– समीर सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *