“म”

– सुमन थापा ‘सङ्गम’
म
धर्ममा,
कर्ममा,
भान्सामा,
ओछ्यानमा,
लिङ्गभेदका
घेराभित्र पनि
खोजिरहेकी छु “म”।
अक्षर चिन्दा
पढाइएको थियो—
“राम्रो म”।
तर आज
साँघुरो घेराभित्र
हराइरहेकी छु
त्यही “म”।
कहिले धर्को तानेर,
कहिले पाइला मिलाएर,
आफ्नै प्रतिबिम्बलाई
ऐनाअगाडि उभ्याएर,
राम्रो देखिने लालसामा
जहाँतहीँ भेट्छु
सोचमा,
संघर्षमा,
र जीवनका
अनेक दृश्यमा
“म”।
कानुनको ज्ञानमा,
सीपमा,
अनुसन्धानमा,
नातामा,
स्नेहमा,
र अपहेलनामा पनि
जहाँसुकै भेटिन्छु “म”।
तर विडम्बना,
लिङ्गभेदकै कारण
सधैँ दोस्रो दर्जामा
राखिएकी छु
“म”।
कहिले ममतामा,
कहिले सम्बन्धमा,
कहिले तिर्सनामा,
कहिले दबिएका स्वरहरूमा,
असंख्य प्रश्नहरूको बीच
खोजिरहेकी छु
मेरो अस्तित्व।
खोजिरहेकी छु
त्यही “राम्रो म”,
जुन अक्षर चिन्दा
पढ्न सिकाइएको थियो।
खोजिरहेकी छु
साहसका साथ उभिएकी
नारी “म”,
र अन्ततः
मेरो भित्र लुकेको
साँचो “म”।

