अहंमात्रभावको घेराबाट सामूहिक चेतनातर्फ

– समीर सिंह

मैले जे भन्छु, त्यही ठिक हो। म धेरै जान्ने, बुझ्ने र ठुलो मान्छे हुँ, त्यसैले मेरो भनाइ नै ठिक हुन्छ।’ दार्शनिक भाषामा यसलाई अहंमात्रभाव भन्न सकिन्छ। लेनिनले आफ्नो पुस्तक भौतिकवाद र अनुभवसिद्ध आलोचनामा रुसी माखवादीहरूको भाववादी दर्शनको खण्डन गर्ने क्रममा यस विषयमा विस्तृत चर्चा गरेका छन्।

आज सामाजिक सञ्जालमा पनि यस प्रकारको दृष्टिकोण व्यापक रूपमा देखिन्छ। व्यक्तिगत आवेश, पूर्वाग्रह र उपरि ज्ञानको प्रभावबाट यस्ता धारणाहरू निर्माण हुने गर्छन्। सामाजिक सञ्जालमा प्रभावशाली देखिने व्यक्तिका अभिव्यक्तिलाई गहिराइमा नपुगी सत्य मानेर ग्रहण गर्ने प्रवृत्तिले भ्रमसमेत सिर्जना गरिरहेको छ।

निश्चय नै व्यक्तिगत ज्ञानको आफ्नै महत्त्व हुन्छ। मानिसले आफ्नो जीवन–अनुभवबाट धेरै कुरा सिकेको र बुझेको हुन्छ। तर प्रश्न यो हो—व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान नै निर्णायक ज्ञान हो त?

अहिले सामाजिक सञ्जालमा थुप्रै ‘भाइरल’ व्यक्तिहरू चर्चामा आउने गरेका छन्। उनीहरूका अभिव्यक्तिबाट धेरै मानिस प्रभावित भएका छन्। झट्ट हेर्दा उनीहरूका शब्दजाल आकर्षक र सुन्दर लाग्न सक्छन्। विषयवस्तुको गहिराइमा नपुगी उपरि हाउभाउ, प्रस्तुति र भाषण शैलीबाट प्रभावित हुनेहरूका लागि त्यस्ता अभिव्यक्तिले तत्काल प्रभाव पार्नु स्वाभाविक हो।

यस प्रवृत्तिको जरा हाम्रो सामाजिक संस्कृतिसँग पनि जोडिएको छ। लामो समयदेखि कायम रहेको सामन्ती संस्कृतिले कुनै ‘ठुलो व्यक्ति’ले भनेको कुरालाई स्वतः सत्य मान्ने मनोविज्ञान निर्माण गरेको छ। नेपाली समाजमा स्थापित सम्बन्ध र संस्कृतिको प्रभाव सामाजिक सञ्जालमा पनि पर्नु अस्वाभाविक होइन। त्यसैले व्यक्तिको वास्तविक विचार र तर्कभन्दा उसको सामाजिक हैसियत, प्रस्तुति र बाहिरी प्रभावबाट प्रभावित हुने प्रवृत्ति अझै बलियो देखिन्छ।

यस्तै प्रवृत्ति हामीले विभिन्न बुर्जुवा राजनीतिक पार्टीहरूमा पनि देख्न सक्छौँ। एउटा ठुलो नेताले जे भन्छ, त्यही सबैले मान्नुपर्ने अवस्था हुन्छ। केन्द्रीय समितिमा विचार र सिद्धान्तका विषयमा गम्भीर बहस हुँदैन। पार्टीका सम्मेलन र महाधिवेशनहरूमा नीति, कार्यक्रम र विचारभन्दा नेतृत्व प्राप्त गर्ने विषय नै प्रमुख बन्न पुग्छ। परिणामतः पार्टीहरू विचार र नीतिमा आधारित सङ्गठनभन्दा नेतामुखी सङ्गठनमा रूपान्तरण हुन्छन्। एउटा नेताले जे ठिक ठान्छ, त्यही पार्टीको नीति बन्न पुग्छ।

पार्टीभित्र यस्तो बुर्जुवा चिन्तन हाबी हुँदै जाँदा त्यसको प्रभाव समग्र राजनीतिक संस्कृतिमा पर्छ। पार्टीका कार्यकर्तामा पनि आलोचनात्मक चेतनाभन्दा व्यक्तिप्रति निष्ठा र अन्धानुकरणको संस्कार विकास हुन थाल्छ।

व्यक्तिवादी प्रवृत्तिको विकास हुँदै जाँदा केही समयका लागि एकता र शान्तिको अवस्था देखिन सक्छ। तर दीर्घकालीन रूपमा त्यसले नकारात्मक परिणाम निम्त्याउँछ। किनकि प्रश्न व्यक्तिको सही वा गलत हुनु मात्र होइन, सही कुरा कसरी स्थापित हुन्छ भन्ने हो।

हामीले परिवारभित्र पनि यस्तै समस्या देखिरहेका हुन्छौँ। कतिपय परिवारमा अराजकता र अनुशासनहीनता बढिरहेको हुन्छ। यसको एउटा कारण परिवारभित्र कायम सामन्ती संस्कार पनि हो। घरको मुली हुँ भन्दै अभिभावकले आफ्नो कुरा मात्र लाद्ने, सबैले आफूले भनेको मान्नुपर्छ भन्ने दबाब दिने र श्रीमती तथा छोराछोरीको विचारलाई महत्त्व नदिने प्रवृत्तिले परिवारमा हार्दिकता र विश्वासको वातावरण निर्माण हुन दिँदैन।

घरमा निरन्तर तनावको वातावरण रहँदा बालबालिकासमेत गलत सङ्गत र गलत बाटोतर्फ आकर्षित हुन सक्छन्। परिवारमा सही मूल्य–मान्यता, संवाद र पारस्परिक सम्मान स्थापित गर्न नसक्दा अराजकता बढ्दै जान्छ। ‘म घरको ठुलो मान्छे हुँ, सबैले मेरो कुरा मान्नुपर्छ’ भन्ने अहङ्कारले परिवारलाई समृद्ध होइन, कमजोर बनाउँछ।

यसको विकल्प के हो त?

सामूहिक अभ्यासबाट नै सामाजिक चेतनाको विकास हुन्छ।

मानिसको चेतना व्यक्तिगत अनुभवमा मात्र सीमित हुँदैन। उत्पादन सम्बन्ध, सामाजिक अन्तर्विरोध, वर्गीय सम्बन्ध र सङ्घर्षका प्रक्रियाबाट मानिसको चेतना विकसित हुँदै जान्छ। न्याय र समानताको अवस्था कमजोर हुँदै जाँदा उत्पीडित तथा अपहेलित समुदायहरू सङ्घर्षमा सहभागी हुन्छन्। यही सङ्घर्षको प्रक्रियाबाट सामाजिक चेतना क्रमशः परिपक्व हुँदै जान्छ र अन्ततः समग्र प्रणालीमा गुणात्मक परिवर्तनको आधार तयार हुन्छ।

उत्पादनसँग जोडिँदै जाँदा, व्यवहारिक प्रयोग गर्दै जाँदा र वैज्ञानिक अनुसन्धानका क्रममा पनि चेतनाको विकास हुन्छ। त्यसैले सामाजिक चेतना कुनै व्यक्तिको एकान्त अनुभव वा व्यक्तिगत निष्कर्ष मात्र होइन; यो समाजको सामूहिक अभ्यास, अनुभव र सङ्घर्षबाट निर्माण हुने प्रक्रिया हो।

सामाजिक सञ्जालमा भाइरल भएको कुनै विचार व्यक्तिगत चेतनाको अभिव्यक्ति हुन सक्छ। तर सामाजिक जीवनमा विभिन्न विचार र अनुभव भएका व्यक्तिहरूबिच हुने व्यापक छलफल, सङ्घर्ष र सामूहिक अभ्यासबाट निर्माण हुने चेतना त्यसको तुलनामा फरक हुन्छ। त्यहाँ विचार केवल व्यक्तिको दाबीमा होइन, व्यवहारको कसौटीमा परीक्षण हुँदै जान्छ।

सामाजिक नीति र योजनाहरू पनि सङ्गठनात्मक गतिविधिका क्रममा व्यवहारमा प्रयोग हुँदै जान्छन्। यही प्रक्रियाबाट यथार्थमा आधारित विश्व दृष्टिकोण निर्माण हुन्छ। यस्तो चेतना बाहिरी प्रभाव वा उपरि आकर्षणबाट मात्र निर्माण हुँदैन; समाज भित्रका अन्तर्विरोधहरूलाई विश्लेषण गर्दै, कुनै घटना र परिस्थितिसँग जोडिएका विभिन्न पक्षको चिरफार गर्दै र वस्तुगत परिस्थितिको ठोस अध्ययन गर्दै निर्माण हुन्छ।

त्यस्तो विचार झट्ट हेर्दा सधैँ सुन्दर नदेखिन सक्छ। त्यसमा भाषणको चमक नहुन सक्छ, सामाजिक सञ्जालको भाइरल आकर्षण नहुन सक्छ। तर यदि त्यो व्यवहारको कसौटीमा सही साबित हुन्छ भने त्यही विचारको वास्तविक मूल्य हुन्छ।

सामाजिक अभ्यासबाट प्राप्त विचारको व्यवहारिक प्रयोग पनि सहज हुन्छ। कसैले जबरजस्ती लादेको अनुभूति हुँदैन। त्यसमा अपनत्व हुन्छ। सामाजिक जीवनमा जटिल परिस्थितिहरूको सामना गर्दा व्यापक र अधिकतम जनवादको अभ्यास गर्दै योजना निर्धारण गरियो भने त्यसप्रतिको जिम्मेवारी र उत्साह पनि फरक हुन्छ। त्यस्तो अवस्थामा जस्तोसुकै कठिन परिस्थिति आए पनि निर्धारित कार्यक्रम कार्यान्वयन गर्ने दायित्वबोध बलियो हुन्छ।

एक छिनको आवेशमा ठुला–ठुला निर्णय गर्ने, ठुला–ठुला कुरा गर्ने र गफ चुट्ने तर त्यसको व्यवहारसँग कुनै सम्बन्ध नहुने हो भने त्यस्ता अभिव्यक्तिको खासै अर्थ हुँदैन। परिवर्तनका लागि सधैँ ठूल्ठूला नाराबाट मात्र यात्रा सुरु हुँदैन। साना–साना व्यवहारिक कदमबाट पनि ठुलो यात्रा अगाडि बढाउन सकिन्छ।

त्यसैले कुनै व्यक्तिले भनेको कुरा ठुलो भएकै कारण सही हुँदैन। कुनै विचार आकर्षक भएकै कारण सत्य हुँदैन। विचारको वास्तविक मूल्य त्यसको वस्तुगत आधार, सामाजिक अभ्यास र व्यवहारिक परिणामबाट निर्धारित हुन्छ।

अहंमात्रभावले व्यक्तिलाई केन्द्रमा राख्छ; सामूहिक चेतनाले सत्यको खोजीलाई केन्द्रमा राख्छ। व्यक्तिको आवाजभन्दा सामूहिक अनुभव, तर्क र व्यवहारलाई महत्त्व दिने संस्कृतिको विकास नै स्वस्थ समाज, सुदृढ सङ्गठन र समतामूलक राजनीतिक संस्कृतिको आधार हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *