खै फेरिएन चोला मुलुकको

– राम प्रसाद गैरे, रामपुर पाल्पा
उस्तै छ अवस्था,
उस्तै छ पिरलो,
देखेका सपना
सपना मात्र भए
देखिएन बिपना।
लक्का जवानीदेखि
आजसम्म
समृद्धिकै
सपना थियो,
खै फेरिएन चोला मुलुकको।
गणतन्त्र, प्रजातन्त्र
घर–आँगनछेउ,
किन घुमिरहन्छ
अन्याय, अत्याचार,
कुसंस्कार, हत्या–हिंसा,
बलात्कार?
खै फेरिएन चोला मुलुकको।
उदासीनता, पलायन
युगले बेहोरी रहेछ,
अब कुन बाटो
हिँडाउँछौ सरकार?
सत्ता फेरि सत्ता,
अनि अस्थिरता,
खै फेरिएन चोला मुलुकको।
यसैको नाम प्रगति हो कि?
खै युवाको सपना,
खै महिलाहरूको सपना,
किसान, मजदुर,
शिक्षा, स्वास्थ्य,
अनि
खै काम र माम?
अब त बताउनैपर्छ,
सरकार, उनी र तिमी
बीचको भिन्नता—
खै फेरिएन चोला मुलुकको।


