छाउगोठ भत्काऊ

– केशु कार्की
छाउगोठ भत्काऊ अब त, अन्धविश्वासको घर,
हटाऊ अन्योलका आधार सबै, नपरौँ यसको भर।
हुन्नन् छोरी सुरक्षित छाउमा, राख्दै नराखौँ त्यहाँ,
सर्प, बिच्छी, विषालु जीवको बास रहेको जहाँ।
हुन्छन् छोरी रजस्वला तब, शिथिल हुनेछन् अति,
यही बेला गरौँ धेरै स्याहार, नत्र हुनेछ क्षति।
आफ्ना आफन्त, बा–आमा साथमा, समाजकै दोष नि,
धर्मकर्म, पुण्य मिल्ने बहानामा, ज्यानै खतरामा भो नि।
लाग्ला पाप र श्राप छोरीकाे, केही गर्दा नजाने गरी,
हुन्न शुभ कदापि पनि त, छाउगोठमा छोरी राखी।
हुन् छोरी घरका, नठानौँ परका, मुटुका टुक्रा सरी,
यिनी सृष्टिकर्ता, जगत् जननी, फुल्छन् हृदयभरि।
मगमगाएको मातृत्व मनमा, सुवास छरेर धरा,
पाउन् फुल्न ढकमक्क सहजै, सुरक्षित रहून् जरा।
भरोसा हुन् यिनी जीवनभरका, दयाका उस्तै खानी,
जो गर्छन् घरमा सम्मान छोरीको, तिनै हुन् भाग्यमानी।
छन् रूप–नाम अनेक यिनका—छोरी, बुहारी, आमा,
हुन् सृष्टिकर्ता जगत् भरिका, झुकाऊँ शिर सम्मानमा।
पाउन् उड्न खुला आकाशमा, दृष्टि फिँजाईकन,
सोच्न पाउन् पवित्र मनले, सङ्कुचित नबनोस् मन।


