विद्रोहका स्वर

मुक्तकहरू
- – कल्पना पौडेल ‘जिज्ञासु’
बाँके
गाउँबस्तीबाट उठ्छन् जब विद्रोहका स्वरहरू,
उम्किऊन् कहाँ अब देश लुट्ने चोरहरू।
अपराधीलाई मृत्युदण्ड दिने कानुन बन्नुअघि,
धमाधम बनाउनुपर्छ तिनलाई थुन्ने खोरहरू।
जाली नेता थाम्दै हिँड्छन् जालहरू,
बढ्दैछन् दिनहुँ यहाँ लासका खालहरू।
मातृभूमिको यो बिजोग हेर्नुभन्दा,
देशद्रोही सामन्तीलाई लैजाऊन् कालहरू।
मतपेटिकाभित्र भोटमा नेता भेटिन्छन्,
सबै अपराधका खोटमा नेता भेटिन्छन्।
फकाएर जनतालाई कुर्सीमा पुगेपछि,
भ्रष्टाचारी कालो नोटमा नेता भेटिन्छन्।
बग्दै जाऊँ नदीझैँ, लोटामा सीमित नहोऔँ नारी,
चुलोचौका र घरको चोटामा सीमित नहोऔँ नारी।
अन्याय र अत्याचारको विरोध गरौँ एकजुट भई,
दुई मूर्ति बनेर फोटोमा सीमित नहोऔँ नारी।

