मलाई डर लाग्छ, आमा

✍️ अर्चना शर्मा “आकृति”
तुमीन नाम्राङग, पूर्व सिक्किम

छोरी भएर जन्मिनु पाप हो कि, 

छोरी भएर जन्मिनु नै डर हो?
आमा, एउटा प्रश्न सोधूँ—

हामी छोरीका लागि 

यो संसार साँच्चै सुरक्षित छ र?

हरेक दिन समाचार हेर्छु, 

फेरि एउटी छोरीको पीडाको खबर आउँछ। 

कहिले सानी नानी,

 कहिले युवती, 

कहिले एउटी आमा।

 तर अपराधको खबर 

किन कहिल्यै सकिँदैन, आमा?

मलाई डर लाग्छ, आमा

अपरिचित मानिसदेखि मात्र होइन,

 समाजमा लुकेर बसेका 

ती गलत सोचहरूदेखि।

तीन वर्षकी नानीले 

के बुझ्छे र अपराध?

 उसले त 

संसार चिन्न पनि भ्याएकी हुँदैन, 

तर उसको निर्दोष बाल्यकालमाथि 

किन यति ठुलो अन्याय हुन्छ?

बलात्कारीले 

नानी र युवतिबिच फरक देख्दैन रहेछ, 

उसको आँखामा 

उमेरको सम्मान रहेनछ। 

कस्तो समाजमा जन्मिएछौँ हामी, आमा?

 जहाँ छोरीलाई

 सुरक्षित भएर बाँच्ने अधिकारका लागि पनि प्रश्न गर्नुपर्छ।

म छोरी हुँ,

 त्यसैले यस्ता समाचार पढ्दा 

आँसु रोक्न सक्दिनँ। 

मन डढेर आउँछ,

 आँखा भरिएर आउँछन्,

 र मनले एउटै कुरा सोध्छ—

“हामी छोरीहरू आखिर कहिले सुरक्षित हुनेछौँ?”

कहिलेसम्म आमाले 

छोरीलाई घरबाट निस्कँदा 

सयौँ डर सम्झाएर पठाउने? 

कहिलेसम्म छोरीले 

बाटोमा हिँड्दा 

पछाडि फर्केर हेर्नुपर्ने?

हामीलाई डर होइन, 

स्वतन्त्रता चाहिएको छ।
हामीलाई दया होइन, 

सम्मान चाहिएको छ।
हामीलाई बन्द ढोका होइन, 

सुरक्षित संसार चाहिएको छ।

दोष हाम्रो होइन, 

दोष त्यो विकृत सोचको हो। 

दोष छोरीको होइन, 

जो आफ्नो जीवन बाँच्न चाहन्छे। 

दोष त्यो अपराधीको हो,

 जसले मानवताको अर्थ बिर्सन्छ।

कहिलेकाहीँ मनले भन्छ—
“यस्तो संसारमा छोरी भएर

जन्मिनै नपरे हुन्थ्यो।”

तर होइन, आमा!

 छोरी जन्मिनु समस्या होइन। 

समस्या त त्यो समाज हो, 

जहाँ अपराधीको सोच 

अझै बदलिएको छैन।

अब छोरीलाई होइन, 

अपराधी सोचलाई बदलौँ। 

छोरीको स्वतन्त्रता होइन, 

अपराधीको हिंसा रोकौँ। 

मौन बसेर होइन, 

आवाज उठाएर समाज बदलौँ।

म चाहन्छु,

 आमा, एक दिन यस्तो समाचार आओस्—
“अब कुनै छोरी डराउनुपर्दैन।”

त्यो दिन छोरी जन्मिँदा 

आमाको आँखामा डरका आँसु होइन, 

खुसीका आँसु होउन्।

हरेक छोरीले निर्धक्क भएर भन्न सकोस्—

“म छोरी हुँ, म कमजोर होइन। 

मलाई डराएर होइन, 

सम्मान गरेर बाँच्न देऊ।”

छोरी सानी होस् वा ठुली,

 उसको सुरक्षा अधिकार हो, 

उसको सम्मान अधिकार हो, 

उसको स्वतन्त्रता अधिकार हो।

र मेरो एउटै प्रश्न छ—
कहिले आउनेछ त्यो दिन,

 जब छोरीले आमासँग 

“मलाई डर लाग्छ” होइन, 

“आमा, म सुरक्षित छु” भनेर भन्ने छे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *