कविता त गाउँमा थियो

- * मिनबहादुर राना
झ्याईं झ्याईं झ्याईं—
झेली बजेजस्तो शब्द,
ट्याङ् ट्याङ् ट्याङ्—
स्कुलको फलामे घण्टी बजे जस्तो आवाज,
कस्तो विद्रूप कविता!
नभन्नुस्—
नरम कविता त गाउँमा थियो।
यी कर्कश वाणीहरू
कसरी भाइरल बने?
भाइरलहरू जति सबै
कसरी सर्वज्ञानी बने?
गाउँले त्यो जान्दैन,
झुपडीलाई त्यो थाहा छैन।
यो सहर
जे बोले पनि बोलेपछि हुने
अल्गोरिदममा बाँचेको छ।
यथार्थ कतै पर छोडेर
सहर फोनमा संसार भेट्छ।
एआईले बनाएको सङ्गीत,
एआईले लेखिदिएको लिरिक्स,
नमिले–नमिले जस्तो,
कस्तो विद्रूप कविता!
नभन्नुस्—
मिठो कविता त गाउँमा थियो।
सहरमा बाँच्न गाह्रो छ,
बाँच्नलाई चिनिनुपर्छ।
जस्तोसुकै होस्—
एउटा परिचयको जन्तर
आफूसित हुनुपर्छ।
चिनिनलाई भाइरल हुनुपर्छ,
भाइरल हुनलाई
मुखमा आएको बोलिदिए पुग्छ,
अलिकति लाज र सरम पचाए पुग्छ।
र त मान्छेहरू
चैते बाँदरलाई पनि पछि पार्ने गरी उफ्रेका छन्,
बोल्नु नबोल्नु बोलेका छन्।
बौद्धिकता हराएको यो माहोलमा
मान्छेहरू भाइरल हुन
बौलाएका छन्।
आत्मरतिमा रमाउनेहरू
घर बसेर संसार चलाइरहेछन्,
हाँडीघोप्टेहरूले
आरोपमाथि आरोप थोपरिरहेछन्।
यो सहरमा
सबका सब नाङ्गा छन्,
यो सहरमा
सबका सब उदाङ्गा छन्।
कस्तो लाज पचेको कविता!
भैयाको चटपटेजस्तो
कति तिखो शब्द!
गधाको हिनहिनाहटजस्तो
कति चर्को अलाप!
कस्तो बुद्धि हराएको
घिचुवा पाराको कविता!
नभन्नुस्—
कस्तो सरम हराएको कवि!
अलिकति लाज र सरम,
कस्सिएको ठाडो मिजासमा
अलिकति करुणा—
धेरै नबोले पनि
झुपडीहरूमा थियो
एक शब्दमै अपार मानवताको
गुवाँ प्रसादझैँ
सादा कविता त गाउँमा थियो।
सिद्धान्त पढाइने
सहरको पुरानो सरकारी स्कुल
अब माडे साहुको गोदाम भएको छ।
गरिबले पढ्ने
सेकेन्ड हेन्ड किताबमा
भैयाले चटपटे र बदाम ल्याएको छ।
पढ्नु पनि के पढ्नु?
चोक–चोकका होडिङ बोर्डमा
उपचार गर्ने भाइरल नाम छ,
भाइरल हस्पिटलको नाममा
मान्छे काट्ने ठाम छ।
थ्यौरी हान्ने
घरका सुद्दोहरूको कुरा
कसले सुन्छ अचेल?
गफ हाँक्न त
लालाजी र भेलुबाजेहरू आएका छन्।
इतिहास, विचार, चिन्तन, मनन—
मानव जीवनको भविष्य
खुइलिएका पुराना किताबमा
सीमित भएका छन्।
तर्क हराएको यो बजार
गाउँसित तर्क गर्छ—
“यत्रो भाइरल भइसकेपछि पनि
मन नपराउने?”
“यत्रो भाइरल मान्छेलाई पनि
नचिन्ने?”
“यत्रो भाइरल भएको कुरालाई पनि
पाठ्यक्रममा नराख्ने?”
अचेल बच्चाहरू
भाइरलहरूको इतिहास पढ्दै छन्,
अचेल बच्चाहरू
भाइरल हुने अथक प्रयास गर्दै छन्।
अनि तिमी,
सुद्दो कवि,
कविताको विवेचना नगर्नु।
सकेसम्म
तिम्रा थोत्रा कविता
हामीलाई नसुनाउनु।
तिम्रा थोत्रा शास्त्रको मिटरले नापेर
कति निकृष्ट विचार!
कति नीच सोच!
छ्या!
कस्तो विवेकहीन कविता!
छ्या!
कस्तो खद्दर शब्द–संयोजन!
नभन्नुस्—
ज्ञान, विज्ञान र कलाका कुरा
त अचेल पाखेहरूले गर्ने हो,
गाउँबाट निस्कन नसकेकाहरूले गर्ने हो,
पुराना महेन्द्रमाला पढेकाहरूले गर्ने हो।
अचेल
तिमीले लेख्ने जस्ता कविता
गाउँ पसेका छन्।
साँच्चै,
मैले देखेको—
तिम्रा कविता
त गाउँमा थियो।



