विश्व कम्युनिस्ट आन्दोलन कमजोर हुनुको मुख्य कारण : अधिभूतवादी चिन्तन प्रणाली

– मोहनविक्रम सिंह

लेनिनले भनेका छन्— क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन। मार्क्स र एङ्गेल्सले कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक आधार तयार पारेपछि लेनिन, स्टालिन र माओले त्यस सिद्धान्तलाई अझ अगाडि बढाउँदै लगे। त्यसकै आधारमा कम्युनिस्ट आन्दोलन विकसित हुँदै गयो। त्यसैले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन क्रान्तिकारी सिद्धान्तलाई निरन्तर विकसित र परिमार्जित गर्दै लैजानु आवश्यक हुन्छ।

आज कम्युनिस्ट आन्दोलन निकै कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ। यसको मूल कारण सिद्धान्तमै खोज्नुपर्दछ। अहिले विश्व स्तरमै मार्क्सवादी–लेनिनवादी दर्शन तथा सिद्धान्तको पठनपाठन अत्यन्तै उपेक्षित हुँदै गएको छ। त्यसको प्रत्यक्ष प्रभाव कम्युनिस्ट आन्दोलनमा परेको छ। यो कुरा विश्वको समग्र कम्युनिस्ट आन्दोलन र नेपालको सन्दर्भमा पनि उत्तिकै सत्य हो।

आदिम साम्यवादी अवस्थालाई छाडेर हेर्दा समाजको अहिलेसम्मको इतिहास वर्ग सङ्घर्षको इतिहास हो। कम्युनिस्ट आन्दोलनको इतिहास पनि सुरुदेखि नै सङ्घर्षको इतिहास रहँदै आएको छ। यसले बाह्य वर्ग दुस्मनहरू विरुद्ध मात्र सङ्घर्ष गर्नुपरेको छैन, पार्टीभित्र देखा पर्ने विभिन्न प्रकारका संशोधनवाद, अवसरवाद र भड्काइविरुद्ध पनि निरन्तर सङ्घर्ष गर्दै आउनुपरेको छ। प्रत्येक कालखण्डका सङ्घर्षहरू सैद्धान्तिक रूपमा पनि अभिव्यक्त हुने गर्दछन्। बाहिरबाट वा पार्टीभित्रबाट दर्शन, सिद्धान्त, सङ्गठन, संस्कृति र आन्दोलनसँग सम्बन्धित विभिन्न प्रश्नमा सैद्धान्तिक हमला हुने गर्दछ। त्यसका विरुद्ध निरन्तर वैचारिक सङ्घर्ष गरिरहनुपर्दछ। मार्क्स र एङ्गेल्सको समयदेखि नै यस्तै सैद्धान्तिक सङ्घर्षका आधारमा कम्युनिस्ट आन्दोलनको विकास हुँदै आएको छ। मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओ तथा संसारभरका मार्क्सवादी–लेनिनवादीहरूले त्यसरी नै निरन्तर सङ्घर्ष गर्दै आएको लामो इतिहास छ।

त्यस प्रकारको सैद्धान्तिक सङ्घर्षबिना क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन। यो कुरा विश्व कम्युनिस्ट आन्दोलनको इतिहासले बारम्बार प्रमाणित गर्दै आएको छ। नेपालको कम्युनिस्ट आन्दोलनमा पनि त्यस्तो सैद्धान्तिक सङ्घर्षको लामो इतिहास रहेको छ।

सङ्घर्षको प्रधान पक्ष सैद्धान्तिक नै हुन्छ। हामीले सैद्धान्तिक सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउन सक्छौँ, जब हामी स्वयं सैद्धान्तिक रूपमा सशक्त हुन्छौँ। यो कुरा युद्धको कुनै पनि क्षेत्रमा जस्तै हो— हामी जुन प्रकारको युद्धमा सहभागी हुन्छौँ, त्यसै अनुसारको युद्धकला र सीपमा दक्ष हुनुपर्दछ। त्यसै गरी कम्युनिस्ट आन्दोलनमा पनि सैद्धान्तिक सङ्घर्षलाई सही र प्रभावशाली रूपमा अगाडि बढाउन मार्क्सवादी–लेनिनवादी दर्शन र सिद्धान्तलाई राम्ररी पढ्नु तथा त्यसको ज्ञान हासिल गर्नु मात्र पर्याप्त हुँदैन; दुस्मन वा विरोधीहरूका विचारको पनि गहिरो ज्ञान प्राप्त गर्नु आवश्यक हुन्छ। त्यसका लागि गहन अध्ययनको आवश्यकता पर्दछ।

एङ्गेल्सले भनेका छन्— “जनताको चिन्तन आम रूपमा अधिभूतवादी प्रकारको हुन्छ।” मार्क्सवादी–लेनिनवादी दर्शनले सबै कुरामाथि द्वन्द्वात्मक रूपमा विचार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ। त्यसरी नै हामीले कुनै पनि विषयमा सही दृष्टिकोण अपनाउन सक्छौँ। मार्क्सवादी–लेनिनवादी दर्शनको अध्ययनले नै हामीलाई अधिभूतवादबाट माथि उठेर कुनै पनि विषयमा द्वन्द्वात्मक रूपमा विचार गर्न सक्षम बनाउँछ। अन्यथा हाम्रो सोचाइ अधिभूतवादी नै हुन जान्छ र त्यसको परिणामस्वरूप हाम्रो निष्कर्ष तथा व्यवहार पनि गलत दिशातर्फ जान सक्छ।

आज विश्व कम्युनिस्ट आन्दोलनको पतन वा कमजोर हुनुका पछाडि हाम्रो चिन्तन प्रणालीमा अधिभूतवादी चिन्तन हाबी हुनु पनि एउटा मुख्य कारण हो।

मार्क्सले यो कुरा बताएका छन् कि कम्युनिस्टहरू पुँजीवादी समाजमा बसे पनि उनीहरू साम्यवादी समाजका नागरिक हुन् वा हुनुपर्दछ। त्यस भनाइको अर्थ हाम्रो चिन्तन प्रणाली वा दृष्टिकोण भावी साम्यवादी समाजका नागरिकको जस्तो हुनुपर्दछ भन्ने हो। हामीमा जति बढी मात्रामा त्यस प्रकारको दृष्टिकोणको विकास हुँदै जान्छ, त्यति नै बढी मात्रामा हामी सच्चा कम्युनिस्ट बन्न सक्छौँ।

समाजमा आम सोचाइ व्यक्तिवादी वा स्वार्थ केन्द्रित प्रकारको हुन्छ। कम्युनिस्टहरूको सोचाइ सम्पूर्ण शोषित–पीडित जनता तथा सामाजिक हितका लागि बढीभन्दा बढी त्याग र बलिदान गर्ने प्रकारको हुनुपर्दछ। त्यस्तो सोचाइले नै हामीमा पार्टी र क्रान्तिका लागि निरन्तर काम गर्न सक्ने तथा कुनै पनि परिस्थितिमा विचलित नहुने क्षमता, धैर्य र दृढता प्रदान गर्दछ।

अहिले विश्व स्तरमा र नेपालमा पनि कम्युनिस्टहरूमा विचलन वा पलायनका प्रवृत्तिहरू व्यापक रूपमा देखा परेका छन्। नेपालको कम्युनिस्ट आन्दोलन बाहिरबाट हेर्दा निकै शक्तिशाली जस्तो देखिन्छ, किनभने यहाँ बारम्बार कम्युनिस्टहरू सत्तामा पुगेका देखिन्छन्। तर समग्र रूपमा नेपालको कम्युनिस्ट आन्दोलनको चरित्रमा निकै ह्रास आएको छ। त्यसको केही न केही असर नेकपा (मसाल) मा पनि परेको छ। हाम्रो पार्टीले क्रान्तिकारी चरित्रको रक्षाका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएको छ। तर त्यस सङ्घर्षलाई सैद्धान्तिक र राजनीतिक रूपमा अझ अगाडि बढाउनुपर्ने आवश्यकता छ।

हामीले मुख्य जोड पार्टी सदस्य तथा समर्थकहरूको सैद्धान्तिक स्तर उठाउनमा नै दिनुपर्दछ। त्यसका साथै आम जनताको चिन्तन प्रणाली तथा सोचाइलाई पनि बढीभन्दा बढी प्रगतिशील बनाउन प्रयत्न गर्नुपर्दछ। त्यसका लागि मार्क्सवादी–लेनिनवादी साहित्यको अध्ययन निर्णायक महत्त्वको विषय हो। यही पठनपाठनलाई अगाडि बढाउन प्रगतिशील पाठक मञ्चको गठन गरिएको हो। त्यसले देशमा मार्क्सवादी–लेनिनवादी साहित्यको पठनपाठनलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिनेछ भन्ने हामीले आशा गरेका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *