मुखभरि भ्रमजालको खेती

– मिनबहादुर राना
कति गर्छौ मुखभरि भ्रमजालको खेती,
बुझ, आफैँ यो पाराले कसलाई हुन्छ क्षति।
ईश्वरले नै लात हानेको फूल परेँ म,
चढाउँदैन कसैले अक्षता, भेटी।
बिन्तीभाउ, “ज्यू–हजुर” गर्दै राख तिमी,
म त मेहनत गर्छु मरिमेटी, मेटी।
बिर्सेर पनि नगर्नू यी कुरामा खिसी,
रोजीरोटी, आमा अनि श्रीमती, चेलीबेटी।
भुलचुक त ईश्वरबाट पनि भएको थियो, थाहा छ,
इमान दाउमा राख्ने हदमा पुगेको छैन त्यति।
तिम्रा आँखाभरि सधैँ चन्द्र डुलिरहोस्,
मेरा आँखाबाट बगून् काली अनि सेती।



