बिउँझ

– समष्टि मगर

पुर्खा आएर सपनामा सोध्लान्—
“खोई हाम्रो सिङ्गो देश?”

तिमी भन्नु—
“संघीयता किन्न
अलिकति बेचिदिएका हुन्।”

फेरि सोध्लान्—
“खोई हाम्रो देशको अस्तित्व?”

तिमी भन्नु—
“जनताले नमागेको त्यही संघीयता पाल्न
देशलाई धरौटीमा राखेका छन्।”

रिसाउँदै भन्लान्—
“लडेनन् र विद्यार्थी देशका लागि?”

तिमी भन्नु—
“भविष्य बनाउन
हामी विदेशिएका थियौँ।”

अरू सोध्लान्—
“उठेनन् र कृषकहरू?”

तिमी भन्नु—
“चर्को मिटरब्याजको भारले
हामी थिचिएका थियौँ।”

सम्झेलान्
मजदुरका ती हातहरू।

तिमी भन्नु—
“रोग र भोकले
ती हातहरू लुला भएका थिए।”

सोच्लान्—
“गरेनन् र क्रान्ति युवाहरूले?”

तिमी भन्नु—
“बेरोजगारीको सङ्गतले
हामी बाटो बिराएका थियौँ।”

गम्भीर हुँदै सोच्लान्—
“छिमेकीको दमनले देश खाएछ कि?”

तिमी भन्नु—
“जसले किने र जसले बेच्यो,
तिनीहरू हाम्रै देशका
भ्रष्ट नेता थिए।”

त्यसै दिन,
देशप्रेमको किरणसँगै
यदि तिमी बिउँझ्यौ भने,

खुसी हुनु—
अझै बाँकी छ यो देश।

मनमा देशको चित्र कोरेर,
देशको भूमि जोगाउन,
ढिला नगरी उठ्नु—

राष्ट्रघाती संघीयता फाल्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *