नेपाली सङ्गीतको नयाँ बाटो

–   मीन बहादुर राना
गुल्मी कालीगण्डकी, फोक्सिङ, हाल लन्डन
 नेपाली सङ्गीत भनेर जुन अभ्यास गरिरहेका छौँ । त्यसको समीक्षा गर्न म समर्थ छैन । जनजीवनको गाथा, जनमनको भावना, समाजलाई परिवर्तनको स्वर, अहिले चलिरहेका समग्र सङ्गीतले बोलिरहेको छ । झट्ट हेर्दा सबै ठिकठाक छ । नेपाली आधुनिक गीत कुनै विदेशीले सुन्यो भने यो त भारतीय सङ्गीत हो भनिदिन्छ ।
हाम्रा लोक बाजालाई समेत भारतीय सङ्गीततिर टाँसिदिन्छन् विदेशीहरू । हामी भने गाउँ टोलमा समेत फरक छुट्टाउँदै बसिरहेका हुन्छौँ । हुन त एउटै बाजाको पनि ठाउँ अनुसार वा व्यक्ति अनुसार बजाउने शैली फरक हुनसक्छ । एउटै गीतलाई गाउने तरिका फरक हुन्छ । ती साना साना फरकले ठुलै देखिने गरी फरक ल्याउन सफल भयो भने आफ्नो छुट्टै पहिचान बनाउन सफल हुन्छ ।
 मान्छेको नितान्त व्यक्तिगत जीवनलाई कसरी सुखमय, शान्तिमय बनाउने ? मान्छे रातभर निदाउन सकिरहेका छैनन् । मनमा अनेक कुरा खेलाएर रात बिताउनेहरू जत्तिको अशान्त जीवन अरू नहुने रहेछ । मानव जीवनले ठुला ठुला विनाशकारी महाप्रलयको सामना गर्‍यो । प्रतिकुल मोसमको सामना गर्‍यो । संसारमा मान्छे सारै खतरा र निरङ्कुश शासकसित लड्यो । जङ्गली जनावर र सामुद्रिक जन्तुसित लड्यो । विजेता पनि भयो । तर केही मान्छे आफ्नै मनसितको लडाइ हारेर मान्छे आत्महत्या गर्न बाध्य भयो ।
 कैयौँ अज्ञात मान्छेहरू आत्महत्याको मौका हेरेर बसेको होला । कति मान्छे सबै सुख भएर पनि मनमा बेग्लै खाले पीडा पारेर मर्नु न बाँच्नु भएर बाँचिरहेको होला । कडा मिहिनेत गर्न बाध्य हुनु पिडा रहेन छ । कसैसित केही बेर झगडा पर्नु पिडा रहेन छ । आफ्नो मान्छेसित राम्रो सम्बन्ध नबन्नु पिडा होइन रहेछ । जसको विकल्प छन् । अथवा सीमा छन् । मान्छेलाई सबै कुराले पुग्दापुग्दै पनि खै के कुराले पिरोल्छ र रातभरि जागै रहन बाध्य हुन्छ । मान्छेको मन न हो । कुनै बेला कामै नलाग्ने कुरामा चिन्ता गरेर एक्लै हैरान परिरहेको हुन्छ । अचम्मको सोच मनमा आएर बेचैनमा हुन्छ । डर, लाज, घिन पनि कुनै बेला यतिसम्म गहिरो भएर आउँछ । त्यसले मान्छेलाई पिरोल्न थाल्छ ।
 मान्छेको मन अचम्मको छ । कुनै बेला हुँदै नभएको वा हुनै नसक्ने कुरालाई लिएर रोग पालेर बस्छ । मान्छेको मनमा सबैभन्दा सजिलरी रोग लाग्छ । र सक्यो भने सबैभन्दा सजिलरी मनको रोग भाग्छ । सबै कुरा ठिकठाक भएर पनि मान्छेमा जब पिडा हुन थाल्छ । यस्तो पिडा असीमित हुन्छ । यसको विकल्प उपचार बाहेक अरू नहुने रहेछ । मनको घाउको पनि उपचार हुन्छ, ओखती बनेको छ भनेर मान्छेले अझै बुझेको छैन । मान्छेलाई कसरी मिठो निद्रा प्रदान गर्ने ? कसरी सही र उचित सोच धारण गर्न सहयोग गर्ने ? कसरी आफ्नै मनलाई जित्न सक्ने बनाउने भनेर सोचिरहेको छु । कसरी सबै पिडा भुल्ने ? खोजको विषय सारै गम्भीर छ ।
आम स्रष्टाले यस्ता कुरामा भुलेर उनीहरूको जीवन चल्दैन । अबका स्रष्टाले अहिलेको व्यस्त जीवन अनुसार साहित्य र सङ्गीत सिर्जना गर्नुपर्ने खाँचो छ । सुत्ने बेलामा बजाएर निदाउने खाले गीत सङ्गीत बनाउन जरुरी छ । मान्छे धेरै खुसी भएको बेला आफैलाई काबुमा राख्न नसक्ने हुँदा त्यो क्षणमा मनलाई काबुमा राख्नलाई सुन्ने गीत सङ्गीत सिर्जना गर्नु पर्ने छ । सारै निराश भएर पलायन हुन लागेको मान्छेलाई सामान्य जीवनमा फर्काउने खाले गीत सङ्गीत सिर्जना गर्न जरुरी छ ।
 अबको हाम्रा सङ्गीत कर्मीले कसरी भाइरल हुने ? कसरी विदेश यात्राको मौका प्राप्त गर्ने ? कसरी मञ्चमा मान्छे उफार्ने ? भनेर मात्र सोचिरह्यौँ भने मान्छे नाच्दानाच्दै गाउँदा गाउँदै मर्ने पनि हुन सक्छ । नाच्दा नाच्दै गाउँदा गाउँदै पनि मान्छेको मनलाई अझ केही पुगिरहेको छैन । हामीले आफैलाई समेत केही गरिरहेका छैनौँ । बिरलै मान्छेसित हुने क्षमता हामीसित भएर पनि हामी आफै खुसी छैनौँ ।
आफ्नो सीप आफ्नैलागि काम आउँदैन भने अरूले मन पराइदिएनन् भनेर किन दुखी हुने ? गीत सङ्गीतको मानव जीवनमा धेरै ठुलो भूमिका छ । स्वस्तिगान गर्नेदेखि लिएर विद्रोहका आगो ओकल्ने गीत सङ्गीत सक्षम भएको त विदितै छ ।
 गीत सङ्गीतमा मानव रोगको उपचार समेत छ भन्ने कुरा कमैलाई थाहा छ । मान्छेलाई निरोगी राख्ने क्षमता सङ्गीतमा छ । सङ्गीतले मान्छेको मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ । मानव उपचार पद्धतिमा ध्वनिथेरापी पनि छ । हामीले त्यो थेरापी सिकेर गीत सङ्गीतमा मान्छेलाई हिलिङ गर्ने ध्वनि थप्न सके कस्तो हुन्थ्यो होला ? संसारभरका मान्छेले नबुझे पनि नेपाली गीत सुन्थे कि ? त्यो खाले गीत सङ्गीत कसरी निर्माण गर्ने भनेर अबका स्रष्टाले अभ्यास गर्नुपर्ने देखिन्छ । यसो सोच्दा यो त आध्यात्मिक यात्रा जस्तो पनि देखिन्छ । बाजा भौतिक बस्तु हो । बाजा बज्दा आउने सङ्गीत भौतिक बस्तु हो । सङ्गीतले हाम्रो भौतिक शरीरमा पार्ने प्रभाव पनि भौतिक नै हो । भौतिक बस्तुबाट प्राप्त भौतिक प्रभावलाई अद्यात्म सित जोड्नु गलत हुन्छ ।
अहिलेसम्म मान्छेको मनलाई आनन्द दिने वा हिलिङ गर्ने गीत सङ्गीतलाई कुनै न कुनै रूपमा आद्यात्म सित जोडेर प्रयोग गर्ने अभ्यास चलिरहेको छ । अब यसलाई भौतिक बस्तुको रूपमा प्रयोग गर्नुपर्छ । मेडिटेसन र हिलिङको लागि कहाँ कहाँ कसरी कसरी सङ्गीतको प्रयोग भएका छन् ? म बबुरोसित त्यत्रो विहङ्गम ज्ञान छैन ? भारतीय शास्त्रीय सङ्गीत सुनेको छु । अभ्यास गर्नलाई उचित गुरु र समय मसित छैन । वेष्टन क्लासिकल कस्तो हुन्छ थाहा छैन । प्राकृतिक ध्वनिको अभ्यास चलिरहेको छ तर त्यसमा कुनै बाजा वा वस्तुसित जोडिएर अभ्यास गर्ने प्रचलनको विकास भएको छैन । सिक्न सजिलो, साधनसित जोडिएर साधना गर्न अभ्यास परम्परा भएको हाम्रै भाँडाकुँडाबाट विकसित भएको सङ्गीतको अभ्यास हामीसित छ । टिब्टेन वा हिमालयन सिङ्गिङ बाउल । हामीले देखेर पनि नदेखेको वस्तु ।
हाम्रो राजधानी काठ्माण्डौमा उच्च स्तरको हिमालयन सिङ्गिङ वाउल निर्माण र खरिद बिक्री हुन्छ । हामीले त्यसलाई नेपाली गीत सङ्गीतमा स्थान दिन सकिरहेका छैनौँ । नेपाली गीत सङ्गीतमा त्यसको प्रयोग गर्न सके धेरै गीतहरूले न्याय पाउने थिए । अथवा संसारभरका मान्छेले नेपाली गीत सुनेर लाभ लिन सक्ने दिनको सुरुवात हुन्थ्यो । यति मूल्यवान् बस्तुमा किन कसैको सोच गएन त ? प्रचलित हिमालयन सिङ्गिङ वाउलमा धेरै कमी कमजोरी हरू छन् । चक्र हिलिङमा सात सुरको वाउल प्रयोग भए पनि कतिपय वाउलहरू दुरुस्त नोटमा हुँदैनन् । दुरुस्त नोटमा भएका वाउल धेरै महँगा हुन्छन् । हिमालयन सिङ्गिङ वाउलको प्रयोग ध्वनि थेरापीमा राम्रै प्रयोग भएको छ । प्रभावशाली पनि छ ।
 मेरो अभ्यासमा हिमालयन सिङ्गिङ वाउलमा केही समस्या छ । सिङ्गिङ वाउल सङ्गीतको नोट अनुसार बने पनि सात सुरमा मात्र प्रयोग हुँदै आएको छ । मानव शरीरमा रहेको सात चक्र र सङ्गीतको सात सुरबिच समानता छ भन्ने थिम अनुसार प्रयोग हुँदै आएको छ । सिङ्गिङ वाउल सङ्गीतमा प्रयोग गर्ने हिसाबले बनिसकेका छैनन् । वा बनाउनु पर्ने देखिन्छ । नेपाली सङ्गीतमा “सा रे ग म प ध नि ” गरेर सात सुर हुन्छ । सा देखि नि सम्म सबै स्वरहरू एक एक मात्राको फरकमा हुन्छन् । ग र म आधाको फरकमा हुन्छन् । साथै यसमा सङ्गीतका सबै सुरलाई समेट्नको लागि बनाउँदा धेरै स्वर थप्नुपर्ने हुन्छ । सा र प सुर स्थिर हुन्छ अथवा सा र प को रूप चल्दैन । सा स्थिर, सा र रे को बिचमा रे कोमल, रे र ग को बिचमा ग कोमल, ग र म को बिचमा आधाको फरक, म र प को बिचमा म तीव्र, प र ध को बिचमा ध कोमल, ध र नि को बिचमा नि कोमल स्वर रहेका हुन्छन् । यो अनुसार रे ग ध नि कोमल र म तीव्र गरेर सात सुरको वाउलमा अझ पाँच फरक वाउल बनाउनु पर्छ ।
 सप्तक(अपटेक)को कुरा बाँकी छ । सारेगमपधनि एक सप्तक (अपटेक) हो । प्राकृतिक रूपमा मध्य सप्तक(अपटेक)बाट लिँदा कम्तीमा मन्द्र सप्तक ( लो अपटेक) र तार सप्तक(हाइ अपटेक) को कम्तीमा म सम्म जानिसकेमा एक खाले सङ्गीतको लागि चाहिने नोटहरू तयार हुन्छन् । अब यसरी बनाउँदा कम्तीमा पच्चीस वाउल बनाउनु पर्छ । तीनै सप्तक समेटेर बनाउने हो भने त छत्तीस वाउल बनाउनु पर्छ । यसरी सेट बनाउन सके सिङ्गिङ वाउल साङ्गीतिक प्रयोगमा आउन सक्छन् । सङ्गीतमा नयाँ बाजाको प्रवेशले नेपाली सङ्गीतको स्वाद नै फेरिन सक्छ । जुन गुञ्जन हामी सारङ्गी, गिटार वा अन्य झन्कार दिने बाजाबाट पाउँछौँ । त्योभन्दा धेरै राम्रो झन्कार हामी सिङ्गिङ वाउलबाट पाउन सक्छौँ ।
 अझ ठुलो समस्या भनेको वाउलहरूलाई कसरी राखेर बजाउँदा सजिलो हुन्छ ? त्यसको लागि उचित टेबल निर्माण गर्नु पर्छ । अहिले बजारमा माग गर्ने हो भने जे पनि सम्भव छ । पिँधमा कपडाको पिरा राखेर बजाउँदा वाउल चल्ने समस्या हुन्छ । त्यसको लागि सिलिकन पिरा बनाउने हो भने वाउल राम्ररी अडिन्छ र बजाउन सजिलो हुन्छ ।
 सेक्स टोय बनाउन प्रयोग गरिने सिलिकन किन हामीले राम्रो ठाउँमा प्रयोग नगर्ने ? यसरी हामीले हिमालयन सिङ्गिङ वाउललाई आधुनिकीकरण गरेर कोही नहिँडेको बाटो हिँड्न सक्छौँ । अथवा नयाँ बाटो हिँड्न सक्छौँ । मान्छेको जीवन शान्त र सुखमय बनाउन सक्छौँ । यद्यपि यति गर्न सके सिङ्गिङ वाउल विदेशीहरूले मात्र किन्ने बस्तु नभएर नेपाली कलकारहरूले पनि किन्ने बस्तु बन्छ ।
नेपाली र भारतीय बजारमा दुरुस्त नोटमा वाउल बेच्न सके पनि केही वर्षलाई मज्जाले व्यापार हुन्छ । हाम्रा कारिगरहरूलाई त्यो अनुसार साङ्गीतिक शिक्षा दिन सकेमा उनीहरूबाट अझ परिष्कृत बस्तु उत्पादन हुने थियो । यसको लागि सम्बन्धित निकायको ध्यान गइदिए हुने थियो । नवप्रवर्तन मार्फत देशलाई समृद्ध र आत्म निर्भर बनाउने यात्रामा सिङ्गिङ वाउलको आधुनिकीकरण पनि एक बलियो पाइला हुन सक्छ । यस विषयमा नेपाली सङ्गीत जगत्मा साधनारत कलाकर्मीहरूले कसरी आफ्नो सङ्गीतमा सिङ्गिङ वाउललाई मिसाउन सकिन्छ भनेर सार्थक अभ्यास गरेमा हाम्रा गीत सङ्गीतमा नयाँ आयाम थपिने छ । नेपाली पनको छुट्टै साङ्गीतिक धारको सुरुवात हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *