क्रान्तिकारी लफ्फाजी र जङ्गली सुँगुरको कथा

-समीर सिंह
बागबजारको एउटा चिया पसलमा एक जना कमरेडले मलाई भन्नुभयो— “तपाईँजस्तो मानिसले वामपन्थको वकालत गर्ने, प्रगतिशीलताको कुरा गर्ने!”
उहाँको जोड थियो—कम्युनिस्टभन्दा तलको कुरा गर्नु हुँदैन, प्रगतिवादभन्दा तलको कुरा गर्नु हुँदैन। उहाँको आशयमा क्रान्तिकारी राजनीतिको उचाइ भनेकै ठुला राजनीतिक नारामा थियो। तर मलाई लाग्छ, राजनीतिको उचाइ केवल नाराको उचाइले निर्धारण हुँदैन; त्यसको गहिराइ ठोस परिस्थितिको विश्लेषणले निर्धारण गर्छ।

द्वन्द्वात्मक भौतिकवादी दर्शनले हामीलाई सिकाएको एउटा महत्त्वपूर्ण कुरा हो—मात्रात्मक परिवर्तनले गुणात्मक परिवर्तनको आधार तयार गर्छ। कुनै पनि ठुलो परिवर्तन एकै पटक आकाशबाट खस्दैन। त्यसका पछाडि अनगिन्ती साना–साना परिवर्तन, सङ्घर्ष, सुधार र अनुभवहरू जोडिएका हुन्छन्। नदी पनि एकै चोटि समुद्र बन्दैन; असङ्ख्य थोपा मिल्दै जाँदा त्यसले आफ्नो शक्ति निर्माण गर्छ।
यस सन्दर्भमा चिनियाँ क्रान्तिसँग जोडेर सुनाइएको एउटा प्रसङ्ग मैले पढेको थिए । चीनमा जनयुद्ध चलिरहेको बेला चाङ जुते युद्धको मोर्चामा ठुला राजनीतिक भाषण गरिरहेका थिएनन्; लडिरहेका योद्धाहरूको भोको पेट कसरी भर्ने भन्ने तत्कालीन प्रश्नसँग जुधिरहेका थिए। उनी जङ्गली सुँगुरको खोजीमा निस्कन्थे, त्यसलाई मारेर ल्याउँथे र त्यसबाट युद्धमा रहेका मानिसहरूको भोजनको व्यवस्था गर्थे।
यो प्रसङ्गलाई केवल जङ्गली सुँगुरको कथा भनेर बुझ्नु हुँदैन। यसको राजनीतिक अर्थ निकै गहिरो छ। ठुलो लक्ष्य बोकेको आन्दोलन पनि मानिसको तत्कालीन जीवनसँग जोडिन सक्नुपर्छ। भोकाएका मानिसलाई केवल भविष्यको सुन्दर समाजको सपना देखाएर पुग्दैन; आजको भोक पनि सम्बोधन गर्नुपर्छ। क्रान्तिको कुरा गर्ने मानिसले भोक, सुरक्षा, स्वास्थ्य, आवास, शिक्षा र दैनिक जीवनका समस्यालाई ‘सानो कुरा’ भनेर पन्छाउन थाल्यो भने उसको राजनीति जनजीवनबाट टाढिँदै जान्छ।
अर्थात्, ठुलो परिवर्तनको सपना र सानो आवश्यकताको सम्बोधन एक अर्काका विरोधी होइनन्; बरु एउटै परिवर्तनकारी यात्राका दुई पाटा हुन्।
मानिसको दैनिक जीवनसँग जोडिएका साना सामाजिक, राजनीतिक र आर्थिक सुधारका आन्दोलनलाई ‘सानो’ भनेर अवमूल्यन गर्नु ऐतिहासिक दृष्टिले पनि सही हुँदैन। श्रमिकको एउटा अधिकार, किसानको एउटा माग, विद्यार्थीको एउटा सङ्घर्ष, महिलाको एउटा समानताको प्रश्न, उत्पीडित समुदायको एउटा न्यायको आवाज—यी सबै परिवर्तनका अलग–अलग साना पाइला हुन्। तिनले समाजको चेतना र शक्ति निर्माण गर्दै अन्ततः गुणात्मक परिवर्तनका लागि आधार तयार गर्छन्।
आमूल परिवर्तनको बाटोमा कम्युनिस्ट आन्दोलनको मात्र भूमिका हुन्छ भन्ने सोच आफैँमा सङ्कीर्ण हुन सक्छ। सबै मानिस एकै चोटि क्रान्तिकारी चेतनाको उचाइमा पुग्दैनन्। समाजमा विभिन्न तहका चेतना हुन्छन्, विभिन्न प्रकारका राजनीतिक शक्ति हुन्छन् र परिवर्तनका विभिन्न चरण हुन्छन्। वामपन्थी तथा प्रगतिशील आन्दोलनले पनि समाजलाई अगाडि बढाउने, चेतना विस्तार गर्ने र आमूल परिवर्तनका लागि अनुकूल आधार निर्माण गर्ने महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
गणतन्त्रको कुरा गरेपछि दक्षिणपन्थी र नयाँ जनवादको कुरा गरेपछि मात्र क्रान्तिकारी हुने हो भने एउटा प्रश्न उठ्छ—नयाँ जनवादभन्दा तलको कुरा गर्ने सबै दक्षिणपन्थी भए, समाजवादको कुरा गर्नेहरूलाई के भन्ने? अनि समाजवादभन्दा तलको कुरा गर्नेलाई पनि दक्षिणपन्थी नै भन्ने हो भने साम्यवादभन्दा तलको कुरा गर्ने सबैलाई त्यही आरोप लगाउन सकिन्छ। त्यसो हो भने राजनीतिको सम्पूर्ण बहस नै नाराको उचाइ नाप्ने प्रतिस्पर्धामा सीमित हुनेछ। तर समाज परिवर्तन नाराको उचाइबाट होइन, वास्तविक जीवनको धरातलबाट हुन्छ।
मूल प्रश्न हो—ठोस परिस्थितिको ठोस विश्लेषण। हामी कुन समय र परिस्थितिमा छौँ? समाजको चेतनाको अवस्था के छ? जनताको तत्कालीन आवश्यकता के हो? उपलब्ध शक्ति कति छ? सम्भावना र सीमाहरू के–के छन्? कुन मुद्दामा कुन शक्तिसँग सहकार्य गर्न सकिन्छ? कुन सङ्घर्षले अर्को ठुलो सङ्घर्षका लागि आधार निर्माण गर्छ? यिनै प्रश्नको वस्तुगत उत्तर खोजेर योजना र कार्यक्रम निर्माण गर्नुपर्छ।
हरेक ठाउँमा एउटै पाइला, एउटै गति र एउटै शैलीको यात्रा सम्भव हुँदैन। कतिपय अवस्थामा ठुलो फड्को आवश्यक हुन सक्छ, कतिपय अवस्थामा सानो पाइला नै सही रणनीति हुन सक्छ। राजनीति आवेशको अभिव्यक्ति होइन; परिस्थितिको वैज्ञानिक मूल्याङ्कनबाट निर्धारित हुने कर्म हो।
कहिलेकाहीँ हामी ठुला कुरा गर्न यति अभ्यस्त हुन्छौँ कि हाम्रो अगाडिको सानो सम्भावना देख्नै छोड्छौँ। तर इतिहासले देखाएको छ—ठुला परिवर्तनका बीउहरू प्रायः साना सङ्घर्षकै माटोमा उम्रिन्छन्।
त्यसैले सानो सुधारलाई सुधारवाद भनेर खारेज गर्नु र सानो सङ्घर्षलाई महत्त्वहीन ठान्नु दुवै राजनीतिक अतिवाद हुन्। प्रश्न सानो वा ठुलोको मात्र होइन; त्यो सङ्घर्षले समाजलाई कुन दिशातर्फ धकेलिरहेको छ भन्ने हो।
आज एउटा सानो ठाउँमा पाइला टेक्नुपरेको छ भने त्यहीँ पाइला टेकौँ। आज एउटा सानो अधिकारका लागि सङ्घर्ष गर्नुपरेको छ भने त्यही अधिकारका लागि सङ्घर्ष गरौँ। आज परिवर्तनको पक्षमा उभिएका विभिन्न शक्तिसँग सम्बन्ध निर्माण गर्नुपरेको छ भने सम्बन्ध निर्माण गरौँ। किनकि हरेक सङ्घर्ष अर्को सङ्घर्षको विद्यालय पनि हो र हरेक उपलब्धि अर्को उपलब्धिको आधार पनि। क्रान्ति केवल ठुलो नारामा हुँदैन; क्रान्तिको सम्भावना मानिसको दैनिक जीवनमा भइरहेका परिवर्तनहरूमा पनि लुकेको हुन्छ।
चाङ जुतेको त्यो भनिएको प्रसङ्गले यही कुरा सम्झाउँछ—कहिलेकाहीँ इतिहास बदल्ने यात्रामा बन्दुक बोकेर अगाडिको मोर्चामा उभिनुभन्दा भोको पेटका लागि एउटा जङ्गली सुँगुर खोज्नु पनि त्यत्तिकै आवश्यक राजनीतिक काम हुन सक्छ। किनकि मानिस बाँच्यो भने मात्रै उसले सङ्घर्ष गर्न सक्छ, सङ्घर्ष टिक्यो भने मात्रै परिवर्तनको सपना अघि बढ्न सक्छ।
हामीले हिँड्ने बाटो परिस्थिति हेरेर बदल्न सक्छौँ, तर हाम्रो दिशा स्पष्ट हुनुपर्छ। गति फरक हुन सक्छ, पाइला फरक हुन सक्छ, कार्यनीति फरक हुन सक्छ—तर परिवर्तनको उद्देश्य भने हराउनु हुँदैन।
अन्ततः प्रश्न यो होइन—“हामीले कति ठुलो कुरा गर्यौँ?” प्रश्न यो हो—“हामीले समाजलाई कति अगाडि बढायौँ?” सानो पाइला कहिलेकाहीँ ठुलो यात्राको सुरुवात हुन्छ। सानो परिवर्तन कहिलेकाहीँ ठुलो रूपान्तरणको पूर्व शिक्षा हुन्छ। आजको सानो सङ्घर्ष नै भोलिको ठुलो परिवर्तनको आधार बन्न सक्छ। त्यसैले सानो कुरालाई सानो नठानौँ। पाइला सानो भए पनि दिशा सही हुनुपर्छ।



