बालबालिकालाई समय नदिँदा निम्तिने जोखिम

कतिपय बालबालिकामा मोबाइल चलाउने, कम्प्युटर गेम खेल्ने लगायतका लत लागिसकेको हुन्छ। यस्तो हुनुका विभिन्न कारणमध्ये पढाइको अत्यधिक दबाब, घर तथा छरछिमेकमा उनीहरूसँग खेल्ने साथीको अभाव र अभिभावकको व्यस्तता प्रमुख हुन्। अभिभावकहरू आफ्नै समस्या र काममा यति व्यस्त हुन्छन् कि बालबालिकालाई समय दिने, उनीहरूसँग खेल्ने, कुराकानी गर्ने र रमाइलो गर्ने विषयलाई पर्याप्त महत्त्व दिँदैनन्।

अभिभावकले समय नदिँदा बालबालिकाले एक्लोपन महसुस गर्न सक्छन्। यही एक्लोपनबाट उम्कन उनीहरू मोबाइल, कम्प्युटर गेम वा अन्य गतिविधिमा बढी निर्भर हुँदै जान्छन्। क्रमशः सामान्य मनोरञ्जन लतमा परिणत हुन सक्छ। त्यसैले बालबालिकाको व्यवहारमा सुधार ल्याउन सर्वप्रथम अभिभावककै व्यवहार र पारिवारिक वातावरणमा सुधार ल्याउन आवश्यक हुन्छ।
परिणाम के हुन सक्छ?
बालबालिकामा एक्लोपनको भावना बढ्दै जाँदा उनीहरू सामान्य प्रकारका लतमा मात्र फस्दैनन्, कहिलेकाहीँ गम्भीर जोखिम र दुर्घटनाको सिकारसमेत हुन सक्छन्। किशोरावस्थातर्फ अघि बढ्दै जाँदा उनीहरू साथीको खोजीमा हुन्छन्। उचित मार्गदर्शन र सकारात्मक सङ्गतको अभावमा गलत साथीहरूको प्रभावमा पर्ने सम्भावना पनि बढ्छ।
अहिले विशेष गरी सहरी क्षेत्रमा लागु औषधि कारोबारमा संलग्न समूहहरूले यस्ता जोखिममा रहेका बालबालिकालाई लक्षित गर्ने गरेको पाइन्छ। विभिन्न प्रकारका तनाव र समस्यासँग सङ्घर्ष गरिरहेका बालबालिकालाई सुरुमा सामान्य पेय पदार्थमा केही मिसाएर खुवाउने, त्यसपछि चुरोट हुँदै विभिन्न प्रकारका लागु औषधको प्रयोगतर्फ धकेल्ने प्रयास हुन सक्छ।
‘एक पटक प्रयोग गरेपछि सबै तनावबाट मुक्त भइन्छ’, ‘एक पटक सुई लगाएपछि कस्तो आनन्द आउँछ’ जस्ता भ्रमपूर्ण र नकारात्मक कुरा सुनाएर बालबालिकालाई आकर्षित गर्ने प्रयास गरिन्छ। सुरुमा निःशुल्क उपलब्ध गराउने र बिस्तारै लतमा फस्दै गएपछि त्यसका लागि ठुलो रकम माग गर्ने प्रवृत्ति पनि देखिन्छ। पैसा जुटाउन चोरी, लुटपाट तथा अन्य अपराधतर्फ धकेलिने अवस्था सिर्जना हुन सक्छ। किशोरावस्थामा पुगेका बालबालिका यौन दुर्व्यवहार तथा अन्य शोषणको जोखिममा समेत पर्न सक्छन्।
लागु औषधको लतमा परेका बालबालिकालाई सुधार गर्न अभियान चलाइरहेका एक समाजसेवीले एक अन्तर्वार्तामा भनेका थिए, ‘बालबालिकाको पढाइ कस्तो छ? उनीहरू कति जेहेन्दार छन्?’ भन्ने कुरामा मात्र अभिभावकले चिन्ता गर्नु हुँदैन। उनीहरू सही बाटोमा छन् कि छैनन् भन्ने विषयमा बढी ध्यान दिनुपर्छ। यदि बालबालिका सही बाटोमा छन् भने अहिले पढाइमा कमजोर भए पनि भविष्यमा सुधार गर्न सकिन्छ।
त्यसो भए के गर्ने ?
त्यसैले बालबालिकालाई राम्रो पढाइसँगै पर्याप्त समय, माया, स्नेह, संवाद र सकारात्मक वातावरण दिनु अभिभावकको महत्त्वपूर्ण जिम्मेवारी हो। बालबालिकालाई सही बाटोमा डोर्याउने पहिलो विद्यालय घर नै हो। घरमा उनीहरूले पाउने समय, माया र मार्गदर्शनले उनीहरूको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ।



