सभ्यताको खोजमा

✍️ अर्चाना शर्मा “आकृति”
तुमीन नाम्राङ, पूर्व सिक्किम
सभ्यताको खोजमा मान्छे
धेरै टाढासम्म पुगेका छन्,
तर आफ्नै मनभित्रको
मानवता हराउँदै गएको छ।
उच्च भवन र चम्किला सडकले
सभ्यता कहिल्यै देखिँदैन,
माया, दया र सम्मान बिना
मान्छे महान् बन्न सक्दैन।
हातमा मोबाइल, आँखामा सपना,
तर हृदय भने रित्तिँदै छ।
आधुनिकताको नाममा आज
मन नै कतै हराइरहेको छ।
पहिले गाउँमा माया थियो,
छिमेकीको ढोका खुला हुन्थ्यो।
आज शहरको भीडभाडमा मान्छे
आफ्नै छायाँसँग पनि डराउँछ।
सभ्यता भनेको कपडा होइन,
न त ठूलो घरको शान हो।
सभ्यता त मीठो व्यवहार र
साँचो मानवताको पहिचान हो।
अहंकारको उचाइ बढ्दै जाँदा
सम्बन्धहरू सुक्दै गएका छन्।
स्वार्थको आगो बलिरहँदा
मनहरू जलेर खरानी भएका छन्।
कागजमा शिक्षा धेरै बढ्यो,
तर व्यवहारमा ज्ञान हरायो।
सभ्य समाज बनाउने सपना
कता हरायो, कसैले पत्तो पाएन।
सभ्यता खोज्न टाढा जानु पर्दैन,
आफ्नै मनभित्र हेर्नुपर्छ।
सत्य, माया र सम्मानलाई अँगालेर
जीवनको अर्थ बुझ्नुपर्छ।
एउटा मीठो बोलीले पनि
मनको घाउ निको पार्न सक्छ।
एउटा सानो सहयोगले
अँध्यारो जीवन उज्यालो बनाउन सक्छ।
आजको पुस्ताले बुझ्नैपर्छ,
सभ्यता पैसा होइन, सोच हो।
मानिसभित्रको असल व्यवहार नै
सभ्य समाजको बलियो आधार हो।
आफू बदलिँदा संसार बदलिन्छ,
माया बाँड्दा उज्यालो फैलिन्छ।
सभ्यताको साँचो खोज भनेको
मानवताको बाटो समात्नु हो।
त्यसैले उठ, सोच बदल,
मनमा असल विचार राख।
सभ्यताको खोजमा निस्कँदा
पहिले आफ्नै हृदयभित्र हेर।



