मेरो देश

 * दीपिसा महतारा, बाँके

मेरो देश,
तिमी मेरो गर्व, मेरो सम्मान हौ।
तिमी आँधीमा पनि नझुक्ने रूख हौ,
अँध्यारोमा पनि ननिभ्ने दीप हौ,
मरुभूमिमा फक्रिएको विश्वासको फूल हौ।

तिम्रा हिमालहरू साहसका शिखर हुन्,
तिम्रा नदीहरू निरन्तरताका कथा हुन्,
तिम्रा वनहरू हरियाली सपनाका आँखा हुन्,
र तिम्रा गाउँहरू सरल जीवनका खुला पुस्तक हुन्।

म तिम्रो सन्तान हुँ।
तिम्रो धुलोलाई निधारको टीका ठान्छु,
तिम्रो माटोलाई जीवनको सुवास सम्झन्छु,
तिम्रो झण्डामा आकाशभरि फहरिएको आत्मसम्मान देख्छु।

यहाँको माटोले वीरताका पाइला चिनेको छ,
ढुङ्गाले इतिहासका स्मृतिहरू बोकेको छ,
रगतका थोपाहरूले स्वतन्त्रताको मूल्य लेखेका छन्।

तिमी बुद्धको जन्मभूमि हौ,
शान्ति र करुणाको सन्देश फैलाउने देश हौ।
हामी सबै एक हौँ,
राष्ट्रप्रेमको सूत्रमा बाँधिएका तिम्रा सन्तान हौँ।

मेरो देश,
तिमी मेरो गर्व, मेरो सम्मान हौ।
तिमी आँधीमा पनि नझुक्ने रूख हौ,
अँध्यारोमा पनि ननिभ्ने दीप हौ,
मरुभूमिमा फक्रिएको विश्वासको फूल हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *