भारतको छात्र तथा प्रगतिशील आन्दोलनबाट के सिक्ने?

हामी प्रायः भारतलाई साम्राज्यवादी वा विस्तारवादी राज्यका रूपमा बुझ्ने गर्छौँ। कुनै पनि साम्राज्यवादी वा विस्तारवादी राज्यको चरित्रबारे विभिन्न राजनीतिक धाराहरूका आफ्ना–आफ्नै दृष्टिकोण छन्। तर यस टिप्पणीको उद्देश्य त्यस बहसमा प्रवेश गर्नु होइन, बरु भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनका केही सकारात्मक पक्षबाट नेपालले के सिक्न सक्छ भन्ने विषय उठाउनु हो।
नेपालमा भदौ २३ र २४ गते भएको जेन्जी (Gen Z) आन्दोलनका बारेमा एउटा निष्कर्ष व्यापक रूपमा सुनियो—भदौ २३ गते युवाहरूले भ्रष्टाचारविरुद्ध स्वतःस्फूर्त आन्दोलन सुरु गरे, तर भदौ २४ गते त्यो आन्दोलन “हाइज्याक” भयो। यदि यो विश्लेषणलाई स्वीकार गर्ने हो भने एउटा महत्त्वपूर्ण प्रश्न पनि उठ्छ—किन भारतमा लामो समयसम्म चल्ने आन्दोलनहरू तुलनात्मक रूपमा आफ्नो मूल उद्देश्य र नेतृत्व जोगाइराख्न सफल हुन्छन्, तर नेपालमा आन्दोलनहरू छिट्टै दिशाहीन हुने वा अन्य शक्तिको प्रभावमा पर्ने गर्छन्?
यस प्रश्नको उत्तर खोज्न भारतको पछिल्लो विद्यार्थी आन्दोलनलाई हेर्न सकिन्छ। फासीवादी भाजपा सरकारको गलत शिक्षा नीतिको विरोधमा भारतभर करिब २६ दिनसम्म आन्दोलन चल्यो। त्यो आन्दोलन कुनै एक व्यक्ति वा संगठनको प्रयास मात्र थिएन। सामाजिक अभियन्ता सोनम वाङचुक, सीजेपीका नेता अभिजित दिपकेसँगै विभिन्न प्रगतिशील विद्यार्थी सङ्गठनहरूले आन्दोलनलाई वैचारिक, सङ्गठनात्मक र राजनीतिक रूपमा बलियो आधार प्रदान गरे।
विशेष गरी अखिल भारतीय विद्यार्थी सङ्घ (AISA) की राष्ट्रिय अध्यक्ष तथा जवाहरलाल नेहरु विश्वविद्यालय (JNU) की पिएचडी शोधार्थी नेहा बोराको भूमिका उल्लेखनीय रह्यो। उनले २३ दिन लामो भोक हडतालमा सहभागी हुँदै आन्दोलनलाई प्रभावकारी नेतृत्व प्रदान गरिन्। उनको स्पष्ट अभिव्यक्ति, वैचारिक दृढता र राष्ट्रिय राजनीतिक नेतृत्वसँगको संवादले आन्दोलनलाई थप विश्वसनीय बनायो। दिल्लीको जन्तर–मन्तरदेखि बिहारको पटनासम्म भएका विद्यार्थी आन्दोलनहरूमा पनि प्रगतिशील विद्यार्थी सङ्गठनहरूको सक्रिय उपस्थिति देखियो।
कुनै पनि समाजमा जनताको असन्तुष्टि आन्दोलनको आधार बन्न सक्छ। तर आन्दोलनको सफलता केवल जनआक्रोशमा होइन, त्यसलाई स्पष्ट उद्देश्य, वैचारिक दिशा, सक्षम नेतृत्व र सङ्गठनात्मक अनुशासनमा रूपान्तरण गर्न सक्ने क्षमतामा निर्भर हुन्छ। यही पक्ष भारतको विद्यार्थी आन्दोलनबाट सिक्न सकिने महत्त्वपूर्ण पाठ हो।
नेपालमा पनि विभिन्न प्रगतिशील विद्यार्थी सङ्गठनहरूले स्ववियु निर्वाचन जित्ने गरेका छन्। तर विश्वविद्यालय राजनीतिमा उनीहरूको सामाजिक भूमिका र नैतिक विश्वसनीयतामाथि बारम्बार प्रश्न उठ्ने गरेको देखिन्छ। यसको विपरीत, जेएनयूजस्ता विश्वविद्यालयहरूमा प्रगतिशील विद्यार्थी सङ्गठनहरूले लामो समयदेखि वैचारिक बहस, विद्यार्थी अधिकार र सामाजिक उत्तरदायित्वका आधारमा आफ्नो प्रभाव कायम राख्न सफल भएका छन्। त्यसैले उनीहरू विश्वविद्यालयको राजनीतिमा मात्र होइन, राष्ट्रिय बहसमा समेत प्रभावशाली बन्न सकेका छन्।
विद्यार्थी आन्दोलनभन्दा बाहिर पनि भारतको प्रगतिशील साहित्य, कला, संस्कृति र सामाजिक आन्दोलनले उल्लेखनीय योगदान दिएको छ। प्रेमचन्द, गोरख पाण्डेय, कैफी आजमी, बरबरा राव तथा राहुल सांकृत्यायनजस्ता स्रष्टाहरूले सिर्जना गरेको वैचारिक परम्पराले दक्षिण एसियाली प्रगतिशील आन्दोलनलाई गहिरो प्रभाव पारेको छ। उनीहरूको अध्ययन, सिर्जना र सामाजिक प्रतिबद्धताबाट नेपाली प्रगतिशील आन्दोलनले धेरै कुरा सिक्न सक्छ।
यसको अर्थ भारतीय आन्दोलनका सबै पक्ष अनुकरणीय छन् वा नेपाली आन्दोलन पूर्णतः असफल छन् भन्ने होइन। हरेक देशको आफ्नै ऐतिहासिक, राजनीतिक र सामाजिक यथार्थ हुन्छ। तर जहाँ सकारात्मक अनुभव छन्, त्यहाँबाट सिक्न हिचकिचाउनु हुँदैन। आत्मालोचना, वैचारिक इमानदारिता, सङ्गठनात्मक अनुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन सके मात्र नेपालका प्रगतिशील आन्दोलनहरू पनि समाजमा प्रभावकारी र दीर्घकालीन परिवर्तनका वाहक बन्न सक्छन्।
अन्ततः आन्दोलनको शक्ति केवल सडकमा उपस्थित भीडले होइन, त्यसलाई सही दिशामा अघि बढाउने विचार, नेतृत्व र नैतिकताले निर्धारण गर्छ। यही नै भारतको छात्र तथा प्रगतिशील आन्दोलनबाट नेपालले सिक्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण पाठ हो।
* समीर सिंह



