राहुल सांकृत्यायनको सालिक भत्काइएकोमा  प्रलेसद्वारा  भर्त्सना

 

काठमाडौँ, साउन १० — प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिले भारतको पश्चिम बङ्गालस्थित रानीगञ्जमा महापण्डित राहुल सांकृत्यायनको सालिक भत्काइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले उक्त घटनालाई केवल एउटा सालिकमाथिको आक्रमण नभई ज्ञान, वैज्ञानिक चेतना, प्रगतिशील चिन्तन, सांस्कृतिक सम्पदा तथा लोकतान्त्रिक मूल्यमान्यतामाथि गरिएको आक्रमणको प्रतीकात्मक अभिव्यक्तिका रूपमा व्याख्या गर्दै यसको कडा शब्दमा भर्त्सना गरेको छ।

सङ्घद्वारा जारी विज्ञप्तिमा महापण्डित राहुल सांकृत्यायन भारतीय उपमहाद्वीपका मात्र नभई विश्व प्रगतिशील साहित्य, इतिहास, दर्शन, भाषा, संस्कृति तथा यात्रा साहित्यका विशिष्ट व्यक्तित्व भएको उल्लेख गरिएको छ। उनले वैज्ञानिक चेतना, मानवतावाद, सामाजिक न्याय तथा प्रगतिशील विचारको विकासमा पुर्‍याएको योगदान ऐतिहासिक रहेको जनाउँदै भारतीय स्वतन्त्रता आन्दोलन, किसान–मजदुरको अधिकारका लागि गरिएको सङ्घर्ष तथा बौद्ध दर्शन र इतिहाससम्बन्धी अनुसन्धानका कारण उनी विश्व प्रसिद्ध चिन्तकका रूपमा स्थापित भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा नेपालसँग राहुल सांकृत्यायनको ऐतिहासिक सम्बन्ध रहेको स्मरण गराउँदै नेपालका बौद्ध ग्रन्थहरूको अध्ययन, संरक्षण तथा दक्षिण एसियाली सभ्यता र संस्कृतिको अनुसन्धानमा उनको योगदान अविस्मरणीय रहेको बताइएको छ। त्यसैले राहुल सांकृत्यायन भारतका मात्र नभई सम्पूर्ण दक्षिण एसियाली बौद्धिक समुदायका साझा धरोहर भएको सङ्घको भनाइ छ।

प्रगतिशील लेखक सङ्घ, नेपालले लोकतान्त्रिक समाजमा वैचारिक मतभेद स्वाभाविक भए पनि कुनै व्यक्तित्व वा विचारप्रति असहमतिका नाममा सांस्कृतिक सम्पदामाथि आक्रमण गर्नु अस्वीकार्य भएको स्पष्ट गरेको छ। विचारको प्रतिवाद तर्क, बहस, अनुसन्धान र लोकतान्त्रिक संवादबाट हुनुपर्ने तथा हिंसा, तोडफोड र सांस्कृतिक धरोहरको विनाश कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

सङ्घले भारतका प्रगतिशील लेखक, साहित्यकार, बुद्धिजीवी तथा लोकतान्त्रिक शक्तिहरूद्वारा सञ्चालित विरोध आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दै ज्ञान, वैज्ञानिक चेतना, सांस्कृतिक सम्पदा तथा लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि भइरहेको न्यायोचित आन्दोलनसँग आफ्नो वैचारिक तथा नैतिक समर्थन रहने प्रतिबद्धता व्यक्त गरेको छ।

यसै गरी, सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, भत्काइएको महापण्डित राहुल सांकृत्यायनको सालिक अविलम्ब पुनः निर्माण तथा पुनः स्थापना गर्न तथा भविष्यमा यस्ता सांस्कृतिक एवं बौद्धिक सम्पदामाथि हुने आक्रमण रोक्न प्रभावकारी कदम चाल्न पनि सङ्घले माग गरेको छ।

विज्ञप्तिमा ज्ञान, वैज्ञानिक चेतना, सांस्कृतिक सम्पदा तथा लोकतान्त्रिक मूल्यमान्यताको रक्षा सम्पूर्ण प्रगतिशील शक्तिहरूको साझा दायित्व भएको उल्लेख गर्दै लेखक, साहित्यकार, बुद्धिजीवी तथा लोकतान्त्रिक समुदायलाई यस्ता असहिष्णु र विध्वंसकारी प्रवृत्तिविरुद्ध एकजुट भई मानवता, विवेक र प्रगतिशील मूल्यहरूको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरिएको छ।

उक्त विज्ञप्तिमा प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष डा. देवी दुलाल क्षेत्री तथा महासचिव डा. झगिन्द्रराज ढकाल ‘पारस’ को हस्ताक्षर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *