‘अनन्त यात्रामा’ : दर्शन र कविताको सहयात्रा

मेरो विश्वासमा दर्शनशास्त्र केवल एउटा शैक्षिक विषय होइन; यो जीवन बुझ्ने दृष्टि हो। सही दर्शनबिना न आफूलाई बुझ्न सकिन्छ, न समाजलाई, न राजनीति र न विश्वलाई। गलत दृष्टिकोणले व्यक्ति, समाज र राष्ट्रलाई अनेक प्रकारका दुर्घटनातर्फ डोर्याउन सक्छ। त्यसैले वैज्ञानिक र जीवनमुखी दर्शनलाई समाजका सबै तहसम्म पुर्याउनु आजको आवश्यकता हो।
तर एउटा प्रश्न सधैँ मेरो मनमा उठिरह्यो—दर्शनलाई आम मानिससम्म कसरी सहज रूपमा पुर्याउने? दर्शनका धेरै अवधारणा र शब्दहरू जटिल हुन्छन्। तर ती विचारहरूलाई कविता, कला र साहित्यको भाषामा अभिव्यक्त गर्न सकियो भने तिनले धेरै मानिसको मन छुनेछन् भन्ने विश्वास ममा पलायो। यही विश्वास र सोचको परिणामस्वरूप कविता–सङ्ग्रह ‘अनन्त यात्रामा’ जन्मिएको हो। यसमा दर्शन र कलाको सुन्दर संयोजन गर्ने विनम्र प्रयास गरेको छु।
मलाई सबैभन्दा बढी आकर्षित गर्ने दर्शन द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद हो। यी वैज्ञानिक चिन्तनमा आधारित दर्शन हुन्, जसले प्रकृति, समाज र जीवनलाई गतिशील रूपमा बुझ्न र विश्लेषण गर्न सिकाउँछन्। यही दृष्टिकोणलाई आधार बनाएर मातृत्व, प्रेम र बिछोड, उपभोक्तावादी संस्कृति, सामाजिक अन्धविश्वास, राजनीतिक विकृति तथा मानवीय संवेदनाका विविध आयामलाई कवितामार्फत अभिव्यक्त गर्ने प्रयास गरेको छु।
मेरो जीवनमा कविता लेख्न प्रेरित गर्ने सबैभन्दा महत्त्वपूर्ण व्यक्ति मेरी स्मृतिशेष जीवनसाथी बिनु खुसी हुन्। अठार वर्षसम्म क्यान्सरजस्तो कठोर रोगसँग सङ्घर्ष गर्दा रातभर निद्रा नलाग्ने उनका सबैभन्दा निकट साथी थिए—कलम, डायरी र मोबाइलको नोटबुक। आफ्ना पीडा, आशा र सपनालाई उनले साहित्यमार्फत अभिव्यक्त गर्थिन् । क्यान्सरसँग जुधिरहेका धेरै मानिसहरूलाई उनले आफ्ना सिर्जनामार्फत आशा, साहस र जीवनप्रतिको विश्वास बाँडिन् ।
उनले सामाजिक सञ्जालमा कविता प्रकाशित गर्दा म कहिलेकाहीँ कवितामै उत्तर लेखिदिन्थेँ। मेरो त्यो सानो प्रयासले उनको अनुहारमा देखिने मुस्कान नै मेरो जीवनको सबैभन्दा ठुलो पुरस्कार थियो। सायद त्यही मुस्कानलाई जोगाइराख्ने चाहनाले म पनि कविता लेख्न प्रेरित भएँ। आज उनी भौतिक रूपमा हामीसँग छैनन् , तर मेरा प्रत्येक कवितामा उनको प्रेरणा सजीव छ। उनीप्रति हार्दिक श्रद्धाञ्जली।
प्रगतिशील लेखक सङ्घ, नेपालसँगको लामो आबद्धताले पनि मेरो साहित्यिक यात्रालाई नयाँ दिशा दियो। विभिन्न साहित्यिक गोष्ठी र कार्यक्रममा सहभागी हुँदै जाँदा एउटा प्रश्नले मलाई निरन्तर घचघच्याइरह्यो—दर्शनलाई कविता किन नबनाउने?
धादिङको एउटा साहित्यिक कार्यक्रममा कविता वाचन कार्यक्रममा जाँदै गर्दा अचानक मलाई पनि कविता सुनाउने इच्छा जाग्यो। कार्यक्रम स्थलतर्फ बसमा यात्रा गरिरहेका बेला दर्शनका केही अवधारणालाई भावनासँग गाँसेर एउटा कविता लेखेँ। त्यो नै मेरो पहिलो सार्वजनिक कविता बन्यो। त्यसपछि फाट्टफुट्ट रूपमा कविता लेख्दै जाँदा मोबाइलमा बिसभन्दा बढी कविता सङ्कलित भइसकेका रहेछन्।
पछि प्रगतिशील लेखक सङ्घको सुकुटे कविता–साँझ कार्यक्रममा साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले मेरो कविता सुनेर प्रशंसा गर्नुभयो। उहाँका उत्साहवर्द्धक शब्दहरूले मलाई अझ निरन्तर लेखिरहन प्रेरणा दिए। त्यसपछि ती कविताहरूलाई पुनः परिमार्जन गर्दै नयाँ सिर्जनाहरू थपेँ, र अन्ततः पच्चीस कविताको १४० पृष्ठको सङ्ग्रह ‘अनन्त यात्रामा’ पाठकमाझ ल्याउने साहस गरेको छु।
दर्शनसम्बन्धी मेरा अन्य तीन कृति प्रकाशित भइसकेका छन्। कविताको क्षेत्रमा भने यो मेरो पहिलो प्रयास हो। त्यसैले यसलाई ठुलो दाबीका साथ होइन, पाठकहरूको स्नेह, सुझाव र रचनात्मक आलोचनाबाट अझ परिपक्व बन्ने विश्वासका साथ प्रस्तुत गरेको छु। यहाँबाट प्राप्त हुने अनुभवले भविष्यमा अझ परिष्कृत, जीवनमुखी र विचारसम्पन्न कृतिहरू सिर्जना गर्न ऊर्जा प्रदान गर्नेछन् भन्ने विश्वास लिएको छु।
अन्त्यमा, यस सङ्ग्रहमा समेटिएका कविताहरूले पाठकलाई केवल भावनात्मक अनुभूति मात्र होइन, जीवन, समाज र परिवर्तनप्रति नयाँ ढङ्गले सोच्ने प्रेरणा पनि प्रदान गर्नेछन् भन्ने अपेक्षा गरेको छु। यदि यी कविताले एक जना पाठकलाई पनि जीवन र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्न सके भने मेरो यो प्रयास सार्थक हुनेछ।
– समीर सिंह



