सपनाको परदेशमा उड्न नपाउँदै अस्ताए साजन

गरिबीका अँध्यारा पखाल्दै परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर जापान पुगेका कास्कीको मादी गाउँपालिका–९ निवासी साजन विकको सपना जापान पुगेको दुई महिनामै अधुरै रह्यो। रोजगारीका लागि परदेश पुगेका उनी अकालमै बितेपछि गाउँ र जापानस्थित नेपाली समुदाय शोकमा डुबेको छ।
जीवनका अनेक आशा र योजना बोकेर नयाँ यात्रामा निस्किएका साजनको असामयिक निधनले परिवार मात्र होइन, परदेशमा रहेका नेपालीहरूलाई पनि गहिरो पीडा दिएको छ। आफ्नै भाइ–छोरा गुमाएझैँ अनुभूति गर्दै जापानस्थित नेपाली समुदायले उनको परिवारको दुःखमा ऐक्यबद्धता जनाएको छ।
यही मानवीय संवेदनालाई आत्मसात् गर्दै ग्लोबल फोरम जापानले स्मृतिशेष साजन विकको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाको पहलमा सञ्चालन गरिएको सहयोग अभियानबाट सङ्कलित रकम मृतकका बुवा चुकबहादुर कामीलाई हस्तान्तरण गरिएको हो।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा ग्लोबल फोरम जापानका निवर्तमान अध्यक्ष मुना सुनार, अध्यक्ष मङ्गल सुनार, महासचिव किरण सुनार, सचिव बलदेव लोहार, कोषाध्यक्ष रामशरण रसाइली तथा एनआरएनए जापानका निवर्तमान अध्यक्ष नवीन निउरेको उपस्थिति रहेको थियो।
सहयोग हस्तान्तरणका क्रममा संस्थाले स्मृतिशेष साजन विकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, सहयोग अभियानमा साथ दिने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा अभियानकर्मीहरूप्रति हार्दिक आभारसमेत प्रकट गरिएको छ।
साजन विकको असामयिक निधनले वैदेशिक रोजगारी केवल सम्भावना र सफलताको कथा मात्र नभई अनेक जोखिम, पीडा र अप्रत्याशित क्षतिको यथार्थ पनि भएको स्मरण गराएको छ। यस्तो दुःखद घटनाले परदेशमा रहेका नेपालीहरूबिचको आपसी सद्भाव, सहकार्य र मानवीय एकताको महत्वलाई अझ उजागर गरेको छ।
स्मृतिशेष साजन विकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको शोकसन्तप्त परिवारमा यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ।



