सुध्रिन्नन् बुढा!

– सं. रामदेव पाण्डे
बाजे र बज्यैको प्रेम गाउँभरि चर्चित थियो। बुढा अत्यन्त घमण्डी र अहङ्कारी थिए। बुढी भने त्यसको ठीक उल्टो, अत्यन्त समझदार र सहनशील। आधुनिक युवा–युवतीहरू भने बुढीलाई दास प्रवृत्तिकी महिला भनेर चिन्थे। हुन पनि, त्यति घमण्डी बुढासँग उनले साठी वर्षको दाम्पत्य जीवन चुइँक्क नगरी बिताएकी थिइन्।
चौरासी वर्ष पुगेका बुढा बेस्सरी बिरामी परे। बुढी पुरानै शैलीमा सकी–नसकी उनको सेवामा लागेकी थिइन्। अवस्था सिकिस्त भएकाले छोराछोरी, ज्वाइँ–चेला, आफन्त र छिमेकीहरू भेला भएका थिए।
बुढीले चम्चामा औषधि हालिन् र थर्थराउने हातले खुवाउन थालिन्। हात हल्लिँदा आधा औषधि पोखिएर बुढाको नाकतिर पुग्यो।
नानीदेखि लागेको बानी, बुढालाई झनक्क रिस उठ्यो। आँखा राता पार्दै थर्काए, “यसको ढङ्ग त फुटीकौडीको पनि छैन। यही भएर हो मैले अर्की बिहे नगरी छोड्दिनँ भनेको! पख् तँलाई! मलाई निको हुन त दे!”
बिरामी भेट्न आएका सबै हेरेका हेर्यै भए। एक जनाले खुसुक्क भने, “बाँचुन्जेल सुध्रिन्नन् बुढा!”
त्यहाँ उपस्थित दुई जना किशोरी आपसमा फुसफुसाए, “पितृसत्तात्मक ध्वाँस भनेको यस्तै होला नि है?”
