चम्पादेवीको शिखरतिर : साहित्य, प्रकृति र सपनाको यात्रा

समीर सिंह

 

उकालोतिर उक्लँदै

कुनै–कुनै यात्रा गन्तव्यमा पुगेर मात्र पूरा हुँदैन; त्यो यात्राले मानिसभित्र नयाँ अनुभूति, नयाँ सम्बन्ध र नयाँ दृष्टिकोण जन्माएपछि मात्र पूर्णता पाउँछ। चम्पादेवीको हाम्रो यात्रा पनि त्यस्तै थियो। त्यो केवल एउटा डाँडा चढ्ने साहसिक अभियान थिएन, बरु प्रकृतिसँग आत्मीय संवाद गर्ने, साहित्यलाई जीवनसँग जोड्ने र सहयात्रीहरूको आत्मीयतालाई अझ गाढा बनाउने एउटा अविस्मरणीय अवसर थियो।

फागुन २० गतेको त्यो बिहान हामी आठ जिल्लाका बाह्र जना स्रष्टाहरू एउटै उद्देश्य बोकेर यात्रामा निस्कियौँ। हाम्रो टोलीमा ६५ वर्षका अनुभवी स्रष्टा प्रदीप प्रधानदेखि १७ वर्षीया नवपुस्ताकी युजिन श्रेष्ठसम्म सहभागी हुनुहुन्थ्यो। उमेर फरक थियो, अनुभव फरक थियो, जीवनका भोगाइहरू फरक थिए; तर सबैको पाइला एउटै दिशातर्फ अघि बढिरहेको थियो—समुद्री सतहदेखि २,२७८ मिटर उचाइमा रहेको चम्पादेवीको शिखरतर्फ।

त्यो यात्रा ‘साहित्यिक पदयात्रा तथा रचना वाचन कार्यक्रम–२’ अन्तर्गत आयोजना गरिएको थियो। हाम्रो उद्देश्य केवल शिखर टेक्नु थिएन। हामी प्रकृतिको विशाल कक्षाभित्र साहित्यको पाठ पढ्न, सिर्जनालाई जीवनसँग गाँस्न र यात्रालाई विचारसँग जोड्न निस्किएका थियौँ।

भन्ज्याङबाट उकालो सुरु हुनेबित्तिकै सल्लाका अग्ला रुखहरूले हामीलाई हरियो सुरुङभित्र स्वागत गरे। चिसो हावाले अनुहार छोइरहेको थियो। पातहरूबीचबाट छिर्न खोज्ने घामका किरणहरू भुइँमा सुनौलो चित्र कोरिरहेका थिए। उकालो कठोर थियो, तर प्रकृतिको अनुपम सौन्दर्यले त्यस कठोरतालाई पनि सहज बनाइदिएको थियो। प्रत्येक पाइला अघि बढेसँगै थकानभन्दा बढी उत्सुकता बढिरहेको थियो।

माथि हेर्दा अन्तहीन देखिने सिँढीहरू हामीलाई चुनौती दिइरहेका थिए। तर चुनौतीभन्दा बलियो हाम्रो सङ्कल्प थियो। उकालोले शरीरलाई थकाइ दिइरहेको थियो भने वरिपरिको हरियालीले मनलाई निरन्तर ताजगी दिइरहेको थियो। कहिले चराहरूको मधुर स्वर कानमा पर्थ्यो, कहिले हावासँगै सल्लाका पातहरू सुसाउँदै आफ्नै लयमा गीत गाउँथे। प्रकृतिको त्यो मौन सङ्गीत हाम्रो यात्राको साथी बनेको थियो।

यात्रा केवल खुट्टाले हिँडेर मात्र हुँदैन; मनले पनि हिँड्नुपर्छ। जीवन आफैँ एउटा अन्तहीन यात्रा हो। यही यात्रामा मानिसले सम्बन्धहरू गाँस्छ, सपनाहरू बुन्छ, विचारहरू आदानप्रदान गर्छ र नयाँ गन्तव्यहरू खोजिरहन्छ। कतिपय सम्बन्ध रगतले जोडिएका हुन्छन्, कतिपय विचारले, अनि कतिपय एउटै यात्राले। हामीलाई जोडेको पनि त्यही साझा सपना थियो—साहित्य, संस्कृति र प्रगतिशील चेतनाको यात्रालाई निरन्तर अघि बढाउने।

हामीले सुरु गरेको साहित्यिक पदयात्रा पनि त्यही विश्वासको एउटा सानो पाइला थियो। पहिलो यात्रामा सहभागी भएका केही साथी यसपटक साथमा हुनुहुन्थेन। नयाँ अनुहारहरू थपिएका थिए। यात्राको आफ्नै नियम रहेछ—कोही छुट्छ, कोही जोडिन्छ; तर यात्रा भने रोकिन्न। नदी जस्तै त्यो निरन्तर बगिरहन्छ।

यात्राभरि हरि सर्तुङ्गीको मादलले वातावरणलाई लय दिइरहेको थियो। मदनजीको मुरलीको मधुर धुनले उकालोलाई पनि उत्सवमा बदलिदिएको थियो। संगीत, हाँसो, ठट्टा र साहित्यिक गफहरूबीच हाम्रो टोली बिस्तारै माथितिर उक्लिँदै गइरहेको थियो। बाटो कठिन भए पनि मन हलुका थियो। गन्तव्य अझै टाढा थियो, तर यात्राको आनन्दले दूरीको अनुभूति नै हुन दिइरहेको थिएन।

यसरी प्रकृति, मित्रता र सिर्जनात्मक ऊर्जासँगै हाम्रो पदयात्राले चम्पादेवीको शिखरतर्फ आफ्नो पहिलो अध्याय लेख्न सुरु गरिसकेको थियो।

 उकालोले सिकाएको धैर्य

भन्ज्याङबाट केही पर उक्लिएपछि सहरको कोलाहल बिस्तारै पछाडि छुट्दै गयो। मोबाइलका घण्टीहरू मौन भए, सवारीसाधनको आवाज हरायो, अनि हाम्रो वरिपरि केवल प्रकृतिको आफ्नै सङ्गीत बाँकी रह्यो। सल्लाका अग्ला रुखहरू आकाशतिर हात फैलाएर उभिएका थिए। तिनका पातहरूमा खेल्ने हावाले कहिले मन्द सुसाइ सुनाउँथ्यो, कहिले अनौठो मधुर धुन। त्यस धुनमा मिसिएको चराहरूको कलरवले यात्रालाई झन् जीवन्त बनाइरहेको थियो।

उकालो भने सहज थिएन। एउटा सिँढी चढ्दा अर्को अझ माथि देखिन्थ्यो। क्षणभर लाग्थ्यो—शिखर अझै निकै टाढा छ। तर प्रकृतिको सौन्दर्यले प्रत्येक पाइला हलुका बनाइदिएको थियो। थकाइ शरीरमा थियो, निराशा मनमा थिएन।

यात्रामा सबैभन्दा रमाइलो कुरा गन्तव्य मात्र होइन, सहयात्रीहरूको साथ पनि रहेछ। एउटै बाटोमा सँगै हिँड्ने मानिसहरू बिस्तारै परिवारजस्तै नजिकिँदै जान्छन्। उमेर, पेशा, जिल्ला र जीवनका अनुभव फरक भए पनि त्यस दिन हामीलाई एउटै उद्देश्यले बाँधेको थियो। हाँसोका फोहरा उड्थे, साहित्यका प्रसङ्ग खुल्थे, जीवनका अनुभवहरू बाँडिन्थे। उकालो कहिले सकियो भन्ने नै थाहा नपाइने गरी यात्रा अघि बढिरहेको थियो।

हरि सर्तुङ्गीको मादलको तालले बाटोलाई उत्सव बनाइदिएको थियो। मदनजीको मुरलीले वनको निस्तब्धतालाई मधुर संगीतले भरिदिएको थियो। प्रकृति आफैँ श्रोता बनेझैँ लाग्थ्यो। हावा पनि केही बेर रोकिएर त्यो धुन सुन्दैछ कि जस्तो अनुभूति हुन्थ्यो।

केही बेरपछि हामी हात्तीवन रिसोर्ट नजिकको खुला चौरमा विश्रामका लागि रोकियौँ। पसिनाले भिजेका अनुहारमा थकाइ त थियो, तर त्योभन्दा ठूलो सन्तुष्टि थियो। विश्राम पनि यात्राकै एउटा अध्याय हो। निरन्तर हिँडाइले जति सिकाउँछ, केहीबेर रोकिएर वरिपरि नियाल्दा पनि त्यत्तिकै धेरै कुरा सिक्न पाइन्छ।

त्यही विश्रामका क्षणमा प्रदीप प्रधानले आफ्नो प्रगतिशील लघुकथा गहना’ सुनाउनुभयो। वनको हरियाली, खुला आकाश र साहित्यिक वातावरणबीच कथा सुन्नुको आनन्द बेग्लै थियो। शब्दहरू केवल कानमा मात्र होइन, मनभित्र पनि गुञ्जिरहेका थिए। त्यसपछि सबैले आ–आफ्नो परिचय दिए। केही क्षणमै औपचारिक सम्बन्धहरू आत्मीयतामा रूपान्तरण हुन थाले।

हात्तीवनको चौरबाट तल फर्केर हेर्दा काठमाडौं उपत्यका बाक्लो कुहिरोभित्र हराएको देखिन्थ्यो। त्यो कुहिरो केवल मौसमको थिएन; त्यसमा प्रदूषणको धुवाँ पनि मिसिएको थियो। माथि भने हावा स्वच्छ थियो, आकाश निलो थियो र साससँगै शरीरभित्र पसिरहेको शुद्ध अक्सिजनले एउटा नयाँ ताजगी भरिरहेको थियो। त्यस क्षण प्रकृतिले मानौँ मानिसलाई सम्झाइरहेकी थिई—उसको वास्तविक घर कङ्क्रिटको जंगल होइन, खुला आकाश र हरियो वन पनि हो।

यात्रा फेरि अघि बढ्यो। अब शिखर पहिलेभन्दा नजिक देखिन थालेको थियो। तर पर्वतको एउटा स्वभाव हुन्छ—उहाँ नजिक देखिए पनि पुग्न अझै धैर्य चाहिन्छ। हामी पनि त्यही धैर्य बोकेर अगाडि बढिरहेका थियौँ। कसैको पाइला छिटो थियो, कसैको बिस्तारै। तर कसैले कसैलाई पछाडि छोडेन। सबै एकअर्काको गति बनेका थियौँ।

त्यही क्षण मैले महसुस गरेँ—जीवनको सबैभन्दा सुन्दर यात्रा त्यो होइन, जहाँ सबैभन्दा छिटो पुगिन्छ; त्यो हो, जहाँ सबैसँगै पुगिन्छ।

 शिखरमा पुगेपछि

उकालो अब अन्तिम चरणमा पुगेको थियो। पाइला केही भारी भइसकेका थिए, सास केही गह्रौँ लाग्न थालेको थियो, तर मन भने झन् उत्साहित हुँदै गएको थियो। यात्रामा एउटा अद्भुत क्षण आउँछ—जब शरीरले विश्राम खोजिरहेको हुन्छ, तर लक्ष्यको नजिक पुगेको अनुभूतिले मनलाई निरन्तर अगाडि बढाइरहेको हुन्छ। हामी त्यही क्षणबाट गुज्रिरहेका थियौँ।

बाटोमा फर्किरहेका यात्रुहरूसँग भेट हुन्थ्यो। हामी सोध्थ्यौँ, “अझ कति टाढा छ?” कसैले भन्थ्यो, “एक घण्टा।” कसैले मुस्कुराउँदै जवाफ दिन्थ्यो, “अब धेरै छैन।” त्यो “धेरै छैन” भन्ने शब्दले थाकेका पाइतालाई फेरि नयाँ ऊर्जा दिन्थ्यो।

टोलीका केही साथीहरूको चाल बिस्तारै सुस्त हुँदै गइरहेको थियो। उमेर र थकानले शरीरलाई रोक्न खोजे पनि इच्छाशक्तिले उनीहरूलाई अघि बढाइरहेको थियो। प्रदीप प्रधान र भीष्म जोशीलाई प्रकाश थापाले धैर्यपूर्वक साथ दिइरहनुभएको थियो। कसैले कसैलाई एक्लो छोडेन। त्यो यात्रा व्यक्तिगत सफलता होइन, सामूहिक यात्राको प्रतीक बन्दै गइरहेको थियो।

ढुङ्गाले बनेका सिँढीहरू एकपछि अर्को पार गर्दै गर्दा समयको पनि हेक्का रहेन। प्रत्येक सिँढीले एउटा सानो सङ्घर्ष माग्थ्यो, र प्रत्येक सङ्घर्षपछि एउटा सानो विजय मिल्थ्यो। जीवन पनि त यस्तै रहेछ—एउटा–एउटा कठिनाइ पार गर्दै अन्ततः ठूलो गन्तव्यतर्फ पुग्ने यात्रा।

उचाइ बढ्दै जाँदा तलको काठमाडौं उपत्यका बिस्तारै एउटा विशाल चित्रजस्तो देखिन थाल्यो। कुहिरोको पातलो घुम्टोभित्र लुकेको सहरलाई माथिबाट हेर्दा मानव सभ्यताको व्यस्तता र प्रकृतिको विशालता एउटै फ्रेममा देखिन्थ्यो। त्यस क्षण मनमा एउटा प्रश्न उब्जियो—हामी दिनभरि जसका लागि दौडिरहेका हुन्छौँ, ती सबै कुरा यो उचाइबाट हेर्दा कति साना देखिँदा रहेछन्!

बाटोमा भेटिएका विदेशी पर्यटकहरूको अनुहारमा उत्साह स्पष्ट झल्किन्थ्यो। उनीहरू नेपालको प्रकृतिसँग प्रेम गर्न हजारौँ किलोमिटर टाढाबाट आएका थिए। हामी भने आफ्नै देशका यस्ता अद्भुत सम्पदाहरूलाई बेवास्ता गरिरहेका हुन्छौँ। त्यस अनुभूतिले आफ्नै भूमि र प्रकृतिप्रति नयाँ सम्मान जागृत गरायो।

अन्ततः दिउँसो करिब तीन बजेतिर हामी चम्पादेवीको शिखरमा पुग्यौँ।

शिखरमा पाइला टेक्ने त्यो क्षण शब्दले पूर्ण रूपमा व्यक्त गर्न सकिँदैन। थकान एकाएक ओझेल पर्‍यो। मनभित्र अनौठो आनन्दको लहर दौडियो। चारैतिर फैलिएको हिमाल, हरिया पहाड, उपत्यकाको विहङ्गम दृश्य र माथि फैलिएको निलो आकाश—सबैले मिलेर एउटा अविस्मरणीय दृश्य सिर्जना गरेका थिए।

हामीले केही क्षण मौन भएर प्रकृतिलाई हेरिरह्यौँ। त्यो मौनताभित्र पनि अनेकौँ शब्द थिए। त्यसले सिकाइरहेको थियो—दृढ सङ्कल्पका साथ निरन्तर अघि बढ्नेहरूका लागि कुनै पनि शिखर असम्भव हुँदैन।

त्यसपछि चम्पादेवीको शिखरमा हाम्रो साहित्यिक कार्यक्रम सुरु भयो। ब्यानर फैलाइयो। प्रकृतिलाई साक्षी राखेर कविता, गीत, अनुभूति र कथाहरू गुञ्जिन थाले। कविता चौधरीले आफ्नै मातृभाषामा गीत सुनाउँदा पहाडले प्रतिध्वनि फर्काइरहेको जस्तो लाग्यो। गोविन्दले कविता सुनाए, भीष्म जोशीले नीति–कथा प्रस्तुत गर्नुभयो, प्रकाश थापाले आफ्ना कविता वाचन गर्नुभयो। मादल र मुरलीको स्वरले वातावरणलाई अझ आत्मीय बनाइदियो।

मैले पनि आफ्ना केही हरफहरू वाचन गर्दा यस्तो अनुभूति भयो—साहित्यको वास्तविक मञ्च सधैँ भवनभित्र मात्र हुँदैन; कहिलेकाहीँ खुला आकाश, पहाडको शिखर र प्रकृतिको काख नै सबैभन्दा ठूलो सभाहल बन्न पुग्दो रहेछ।

त्यो दिन चम्पादेवीको शिखरमा हामीले केवल एउटा कार्यक्रम सम्पन्न गरेका थिएनौँ; हामीले प्रकृति, साहित्य र मित्रताको एउटा अविस्मरणीय उत्सव मनाएका थियौँ।

ओरालोको बाटो र मनभित्र उभिएको अर्को शिखर

चुचुरोमा बिताएका ती अविस्मरणीय क्षणहरूलाई मनभित्र सुरक्षित राख्दै हामीले ओरालो यात्रा सुरु गर्यौँ। साँझ बिस्तारै पहाडका काँधमा ओर्लँदै थियो। पश्चिमी क्षितिज सुनौलो हुँदै गइरहेको थियो। केहीबेरअघि हाम्रो हाँसो र कविताले गुञ्जिएको चम्पादेवीको शिखर अब मौन भएर हामीलाई बिदाइ गरिरहेको थियो।

पहाडसँगको सम्बन्ध पनि मानिससँगको सम्बन्धजस्तै रहेछ। छोटो समयमै आत्मीयता गाँसिन्छ, अनि छुट्टिने बेला मन कताकता भारी हुन्छ। जति धेरै त्यस डाँडासँग मोहित भएका थियौँ, त्यति नै कठिन थियो त्यसबाट बिदा हुनु। तर यात्राको अर्को सत्य पनि यही हो—प्रत्येक भेटसँग बिछोड जोडिएको हुन्छ, र प्रत्येक बिछोडले अर्को भेटको सम्भावना जन्माइरहेको हुन्छ।

ओरालोको बाटो उकालोभन्दा सजिलो होला भन्ने हाम्रो अनुमान धेरै समय टिकेन। घुँडामा पर्ने दबाब, ढुङ्गामाथि चिप्लिने जोखिम र शरीरमा दिनभरको थकानले यात्रा झन् चुनौतीपूर्ण बन्दै गयो। त्यसमाथि समयले पनि हामीलाई हतार गराइरहेको थियो। अँध्यारो पर्नुअघि तल पुग्नु अनिवार्य थियो।

हामीले रोजेको अर्को बाटो अझ साँघुरो र अप्ठ्यारो थियो। घना जङ्गलभित्र पस्दा सूर्यका अन्तिम किरणहरू पनि रूखका हाँगाबीच हराउन थाले। कतै चराहरू आ–आफ्नो बास फर्किरहेका थिए, कतै झ्याउकिरीले साँझको संगीत सुरु गरिसकेका थिए। प्रकृतिले आफ्नो अर्को रूप देखाइरहेकी थिईन—शान्त, गम्भीर र रहस्यमय।

दिनभरको हिँडाइले धेरै साथीहरू थाकिसक्नुभएको थियो। तर थकानभन्दा बलियो थियो एकअर्काप्रतिको जिम्मेवारी। कोही अगाडि बढेर बाटो हेरिरहेका थिए, कोही पछाडि परेका साथीको प्रतीक्षा गरिरहेका थिए। त्यस क्षण हामी यात्रु मात्र थिएनौँ; हामी एकअर्काका सहारा पनि थियौँ।

सबैभन्दा कान्छी सहभागी युजिनको उत्साह भने अझै उस्तै थियो। उनका फुर्तिला पाइला देख्दा उमेरभन्दा ठूलो शक्ति उत्साह नै रहेछ भन्ने लाग्थ्यो। अर्कोतर्फ, लामो अनुभव बोकेका अग्रजहरू आफ्नै गतिमा अघि बढिरहनुभएको थियो। एउटै बाटोमा दुई पुस्ता सँगै हिँडिरहेको त्यो दृश्य आफैँमा एउटा सुन्दर कविता थियो।

हरि सर्तुङ्गीलाई हेर्दा झन् प्रेरणा मिल्थ्यो। आफ्नै स्वास्थ्यसँग सङ्घर्ष गरिरहनुभएका उहाँले यात्रालाई मुस्कानले जितिरहनुभएको थियो। त्यतिबेला लाग्यो—मानिसलाई कमजोर बनाउने रोग होइन, आशा हराउनु रहेछ।

विभिन्न घुम्ती, साँघुरा गोरेटाहरू र जङ्गलका गहिरा छायाहरू पार गर्दै हामी बिस्तारै तल झरिरहेका थियौँ। शरीर थाकेको थियो, तर मन भने दिनभरका दृश्यहरूले भरिएको थियो। कहिले सल्लाघारी सम्झिन्थ्यौँ, कहिले शिखरबाट देखिएको उपत्यका, कहिले मादलको ताल, त कहिले खुला आकाशमुनि गुञ्जिएका कविताका हरफहरू।

साँझ करिब छ बजेतिर हामी दक्षिणकाली नगरपालिकाको खहरेमा पुग्यौँ। त्यो क्षण कसैले ठूलो विजयको घोषणा गरेन। तर सबैको अनुहारमा एउटै सन्तुष्टि झल्किरहेको थियो—हामीले यात्रा पूरा गरेका थियौँ।

खहरेबाट फर्केर चम्पादेवीको डाँडातिर हेर्दा केहीबेरअघि उभिएको शिखर विश्वास नै नलाग्ने गरी टाढा देखिन्थ्यो। मनमा एउटा प्रश्न उठ्यो—साँच्चै, हामी त्यति माथिसम्म पुगेका थियौँ?

त्यो प्रश्नको उत्तर हामीसँग कुनै प्रमाणपत्र थिएन। उत्तर थियो—हाम्रा थाकेका पाइला, पसिनाले भिजेका कपडा र मनभरि भरिएका अविस्मरणीय सम्झनाहरू।

त्यस क्षण मैले महसुस गरेँ—कुनै पनि यात्राको सबैभन्दा ठूलो उपलब्धि शिखरमा पुग्नु मात्र होइन; त्यो यात्रापछि आफू पहिलेको भन्दा केही फरक मानिस बनेर फर्किनु हो।

 यात्रा अझै बाँकी छ

चम्पादेवीको त्यो यात्रा सकियो, तर त्यसले सुरु गरेको यात्रा अझै जारी छ।

हामीले त्यस दिन एउटा डाँडा मात्र चढेका थिएनौँ। हामीले आफ्ना सीमाहरूलाई चुनौती दिएका थियौँ। प्रकृतिसँग संवाद गरेका थियौँ। साहित्यलाई सभाहलको घेराबाट निकालेर खुला आकाशमुनि पुर्‍याएका थियौँ। कविता, गीत, मादल र मुरलीलाई पहाडको प्रतिध्वनिसँग मिसाएका थियौँ।

त्यस यात्राले एउटा विश्वास अझ बलियो बनायो—साहित्य पुस्तकका पानामा मात्र बाँच्छ भन्ने होइन। त्यो मानिसको हिँडाइमा, प्रकृतिसँगको सम्बन्धमा, सहयात्रीको काँध समात्ने हातमा र साझा सपनातर्फ बढ्ने पाइलामा पनि बाँचिरहेको हुन्छ।

त्यस दिन चम्पादेवीको शिखरमा हामीले केवल रचना वाचन गरेका थिएनौँ; हामीले सिर्जनालाई जीवनसँग जोड्ने एउटा सानो तर अर्थपूर्ण अभ्यास गरेका थियौँ। यस्ता अभियानहरू साना देखिए पनि तिनैले भविष्यका ठूला सांस्कृतिक यात्राहरूको जग बसाल्छन्।

आज पनि चम्पादेवी सम्झँदा मलाई सबैभन्दा पहिले शिखर होइन, सँगै हिँडेका अनुहारहरू सम्झना आउँछन्। उकालोमा सुनिएको हाँसो, थकानबीच बाँडिएको हौसला, मादलको ताल, मुरलीको धुन र खुला आकाशमुनि गुञ्जिएका कविताका हरफहरू मनभित्र अझै ताजै छन्।

यात्राले मलाई एउटा गहिरो पाठ सिकायो—शिखरहरू पहाडमा मात्र हुँदैनन्। प्रत्येक मानिसभित्र पनि एउटा शिखर लुकेको हुन्छ। त्यससम्म पुग्न नक्साभन्दा बढी साहस, र बाटोभन्दा बढी विश्वास चाहिन्छ।

सायद यही कारणले होला, यात्राहरू कहिल्यै समाप्त हुँदैनन्। एउटा यात्रा सकिन्छ, अर्को यात्राको निम्तो सुरु हुन्छ। एउटा डाँडा पछाडि छुट्छ, अर्को डाँडा क्षितिजमा देखापर्छ। एउटा कविता सकिन्छ, अर्को कविताको पहिलो हरफ मनभित्र जन्मिसकेको हुन्छ।

त्यसैले चम्पादेवीबाट फर्किंदा मैले पहाडलाई बिदाइ भनेको थिइनँ।

मैले केवल यति भनेको थिएँ—

“फेरि भेटौँला। अर्को यात्रामा, अर्को शिखरमा, अर्को सिर्जनासँग।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *