दर्शन र राजनीति बिचको अन्तरसम्बन्ध

(क)
मनुष्य चिन्तनको कारणले नै अन्य प्राणीहरूभन्दा माथि रहेको छ । कुनै व्यक्ति वा सम्पूर्ण मानव जातिको चिन्तन जति माथि उठ्दै जान्छ, त्यति नै उनीहरूको स्तर पनि माथि उठ्दै जान्छ । दर्शनले मानिसहरूको चिन्तनलाई माथि उठाउन प्राचीन कालदेखि नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । कुनै मानिसले दर्शनको कति अध्ययन गरेको छ ? त्योभन्दा महत्त्वपूर्ण कुरा यो हो, दर्शनको अध्ययनले उसको विश्व दृष्टिकोणलाई कति सही र उच्च रूपमा माथि उठाएको छ ?
समाजको सम्पूर्ण परिचालनमा राजनीतिको सधैँ महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । तर राजनीतिको भूमिका सधैँ सकारात्मक वा सेवामूलक रहने गरेको छैन । एकातिर समाजमा विभिन्न राजनीतिक व्यवस्थाहरूलाई अग्रगमनको दिशामा बढाउन त्यसले संसार भरी नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ भने अर्कातिर संसारमा राजनीतिका कैयौँ नकारात्मक भूमिकाहरू पनि रहने गरेका छन् । त्यसबाट विश्वमा नै वा संसारका विभिन्न देशहरूमा गम्भीर र अनिष्टकारी भूमिकाहरू पनि हुने गरेका छन् । त्यसका पछाडि पनि चिन्तनमा भएका दुर्गुणहरूले नै काम गर्ने गरेका छन् । यस प्रकारको पृष्ठभूमिमा राजनीतिज्ञ वा शासक वर्गहरूको चिन्तन वा विश्व दृष्टिकोण माथि उठाउन विशेष जोड दिनुपर्ने आवश्यकता छ । त्यो कार्य पनि दर्शनले नै गर्न सक्दछ ।
संसारमा शान्ति, सुव्यवस्था र समृद्धिको लागि धेरै कोणबाट प्रयत्नहरू हुँदै आएका छन् । तर सही दार्शनिक समझदारी वा विश्व दृष्टिकोणका अभावमा यी कार्यहरू पूरा हुन सक्दैनन् । त्यसैले अन्ततः सही दार्शनिक समझदारी र विश्व दृष्टिकोणको निर्माणको प्रश्न अन्तर्राष्ट्रिय रूपले नै निर्णयात्मक महत्वको प्रश्न हो ।
सामान्यतः मानिसहरूले दर्शनलाई अध्ययन र चिन्तनको विषय मात्र मान्दछन् । वास्तवमा, त्यो हो पनि त्यही । तर दर्शनको महत्त्व वा उपयोगिता त्यो भन्दा कैयौँ गुणा बढी छ । सामाजिक वा व्यावहारिक जीवनमा पनि त्यसको ठुलो महत्त्व छ । मानिसको व्यवहारलाई मुख्य रूपले उसको चिन्तनले नै प्रभावित गर्दछ । चिन्तनलाई दर्शनले प्रभावित गर्दछ । सबै दर्शनहरू एकै प्रकारका हुँदैनन् । तिनीहरूको बिचमा कैयौँ प्रकारका भिन्नताहरू हुन्छन् र, तिनीहरूले मानिसहरूको चिन्तनमा बेग्लाबेग्लै प्रकारले प्रभाव हाल्छन् । तैपनि दर्शनको स्वरूप जस्तो भए पनि त्यसले कुनै पनि विषयमा गहन र उच्च रूपमा विचार गर्दछ ।
दर्शनका कैयौँ विभागहरू छन्, जसमध्ये मुख्य यी हुन्: ज्ञानमिमांशा, तत्वमिमांशा, नीति शास्त्र, तर्क शास्त्र र सौन्दर्य शास्त्र । ज्ञानमिमांशाले सम्पूर्ण विश्वको ज्ञान प्राप्त गर्ने र त्यसको व्याख्या गर्ने प्रयत्न गर्दछ । तत्वमिमांशाले विश्वको निर्माण कुन तत्त्वबाट भएको हो ? त्यसको जानकारी प्राप्त गर्ने प्रयत्न गर्दछ । नीतिशास्त्रले मानिसको आचरण वा व्यवहार कस्तो हुनुपर्दछ । त्यो कुराको व्याख्या गर्ने प्रयत्न गर्दछ । तर्क शास्त्रले कुनै विषयलाई प्रमाणित गर्नको लागि तर्कहरू दिने काम गर्दछ । सौन्दर्य शास्त्रले कला, साहित्य आदिबारे व्याख्या गर्दछ । संसारमा दार्शनिकहरूले प्राचीन कालदेखि नै यी विषयहरूमा विचार गर्दै आएका छन् । खास गरेर प्राचीन भारत र युनानमा कैयौँ दार्शनिकहरूले यी प्रश्नहरूबारे विचार गर्दै आएका छन् र त्यहाँ“ नै दर्शनको उच्च रूपमा विकास भएको थियो ।
दर्शनबारे अध्ययन र चिन्तनको क्रममा उनीहरू मुख्य रूपले दुई भागमा विभाजित हुने गरेका छन्, आदर्शवादी वा अध्यात्मवादी तथा भौतिकवादी । आदर्शवादलाई प्रत्ययवाद पनि भन्ने गरिन्छ । तर यो लेखमा हामीले त्यसका लागि आदर्शवाद शब्द नै प्रयोग गर्नेछौँ । उनीहरूका बिचमा सबैभन्दा बढी विवाद यो कुरामा हुने गरेको पाइन्छ, संसारको मूल तत्त्व चेतना हो वा भौतिक ? अध्यात्मवादीहरूले संसारको निर्माण चेतना तत्त्वबाट भएको मान्दछन् । चेतनाभित्र ईश्वर, आत्मा, विचार, देवीदेवता आदि अलौकिक तत्त्वहरू आउँछन् । तर भौतिकवादीहरूले त्यसको निर्माण भौतिक तत्त्वबाट भएको मान्दछन् । भौतिकवादीहरूले चेतन तत्त्वलाई पूरै निषेध गर्दैनन् । तर उनीहरूको जोड यो कुरामा छ कि त्यसको उत्पत्ति पनि भौतिक तत्त्वबाट नै हुन्छ । आदर्शवादीहरूले पनि कतिपयले एउटै ईश्वर आत्मा वा विचारलाई मूल तत्त्व मान्दछन् भने कतिपयले एकैसाथ ईश्वर र आत्मा आदि दुई वा अनेक कैयौँ“ तत्त्वलाई पनि सृष्टिका मूल तत्त्वहरू मान्दछन् । आदर्शवादी मध्ये कतिपयले भौतिक पक्षलाई पूरै अस्वीकार पनि गर्दछन् । भौतिकवादीहरूमध्ये कतिपयले एउटै भौतिक तत्त्वबाट नै सृष्टि भएको मान्दछन् भने कतिपयले आगो, पानी, पृथ्वी, हावा, आकाश आदि विभिन्न तत्त्वहरूबाट सृष्टि भएको बत्ताउँछन् ।
दर्शनले मानव जीवन र समाजका सबै क्षेत्रहरूलाई प्रभावित गर्दछ । दर्शनले मानव चिन्तनलाई परिष्कृत गर्दछ र त्यसलाई सही दिशा दिन्छ । तर दर्शनको कुनै सर्वसम्मत मत हुँदैन । त्यसमा विभिन्न प्रकारका मत भिन्नताहरू हुन्छन् । एकातिर दर्शनले मानिसहरूको चिन्तनलाई प्रभावित गर्दछ भने अर्कातिर समाजको स्वरूपले पनि दर्शनको रूपलाई प्रभावित गर्दछ । कुनै समाजको भौतिक, सामाजिक, सांस्कृतिक अवस्था वा स्तर कस्तो छ? तथा त्यहाँ“ अन्तर्विरोधहरूको स्वरूप कस्तो छ ? त्यसले पनि दार्शनिक चिन्तनलाई प्रभावित पारेको हुन्छ । यो विषयलाई अरू स्पष्ट शब्दमा प्रस्तुत गर्दा कुनै समाजको वर्गीय स्वरूप कस्तो छ ? त्यसले पनि दर्शनको स्वरूपलाई प्रभावित गर्ने गर्दछ । विभिन्न वर्गहरूका वर्गीय स्वार्थहरू बेग्लाबेग्लै हुन्छन् । त्यसअनुसार दर्शनहरूको दृष्टिकोण पनि निर्धारित हुन्छ ।
जुनसुकै रूपमा भए पनि दर्शनले मानिसहरूको चिन्तनलाई प्रभावित पार्दछ । त्यस प्रकारको पृष्ठभूमिमा कुनै देश वा समाजमा दर्शनको कुनै सर्वमान्य स्वरूप हुँदैन । र त्यसले गर्दा दर्शन सधैँ विवाद र सङ्घर्षको विषय बनेको हुन्छ । त्यो विवाद खाली दर्शनको ज्ञान वा तत्त्वको विषयमा मात्र हुँदैन । सामाजिक वा व्यावहारिक जीवनसित सम्बन्धित विषयहरूमा पनि दर्शनमा कैयौँ विवादहरू हुन्छन् । त्यो क्रममा मानिसहरूको आचरण वा व्यवहार कस्तो हुनुपर्दछ ? त्यसबारे पनि दर्शनले बेग्लाबेग्लै मतहरू प्रतिपादन गरेको हुन्छ र त्यो कारणले समाजमा सङ्घर्षहरू देखा पर्ने गर्दछन् । कतिपय दर्शनहरूले ईश्वर मान्दछन् र त्यस अनुसार नै उनीहरूले जनताको नैतिकता वा आचरणहरूमा जोड दिन्छन् । निश्चित रूपले नै त्यो अवस्थामा मानिसहरूको नैतिकता वा आचरणको जुन स्वरूप हुन्छ, भौतिकवादी दर्शनले जोड दिने नैतिकता वा आचरणको स्वरूप भन्दा बेग्लै प्रकारको हुन्छ । उदाहरणको लागि हिन्दु दर्शनले ईश्वरलाई मान्दछ र राजाहरूलाई ईश्वरको अवतार मान्दछ । उनीहरूले जोड दिने नैतिकता वा आचरणको प्रकृति निश्चित रूपले भौतिकवादीहरूले जोड दिने नैतिकता वा आचरण भन्दा बेग्लै हुन्छ । त्यो अवस्थामा एकातिर राजतन्त्र मान्ने पक्षहरू र अर्कोतिर त्यसको विरोध गर्ने पक्षहरूका बिचमा सङ्घर्षको स्थिति पैदा हुने कुरा प्रस्ट छ र संसारका धेरै देशहरूमा त्यस प्रकारको सङ्घर्षहरू भएका इतिहासहरू पनि पाइन्छन् ।
माथिका केही उदाहरणहरूबाट यो कुरा प्रस्ट हुन्छ की दर्शन कुनै सर्वमान्य विषय होइन र त्यसले समाजका बेग्लाबेग्लै वर्गहरूमाथि बेग्लाबेग्लै प्रकारले असर पार्दछ । त्यसरी दर्शनका बेग्लाबेग्लै मतहरू भए पनि समग्र रूपमा त्यसको जुन उच्चता छ, त्यसमा कुनै कमी आउँदैन । धर्मसित तुलना गरेर पनि त्यो कुरा प्रस्ट हुने छ । दर्शन कुनै पनि विषयमा गहन विचार वा विश्लेषण गरेर वा तर्कसङ्गत तरिकाले नै कुनै निष्कर्षमा पुग्दछ । प्लेटोले विद्यमान संसार वास्तविक मान्दैनन् र उनको व्याख्या अनुसार वास्तविक संसार वर्तमान संसार भन्दा बेग्लै दिव्य लोकमा बस्दछ । हेगेलको व्याख्याअनुसार विचारमा द्वन्द्वात्मक विकास हुँदै गएपछि भौतिक संसार पनि अस्तित्वमा आउँछ । तर द्वन्द्वात्मक प्रक्रियाद्वारा त्यसको पनि निषेध हुँदै जान्छ र अन्त्यमा परम तत्त्व नै अस्तित्वमा आउँछ । त्यसरी हेगेलले भौतिक तत्त्वलाई गौण बनाएर विचारलाई मुख्य ठान्दछन् । त्यही प्रकारले प्राचीन युनानमा प्लेटो र भारतमा शङ्कराचार्यले पनि प्रकारान्तरले भौतिक जगतको पूरै निषेध गर्दछन् । प्लेटोले वर्तमान लौकिक संसारभन्दा बेग्लै दिव्य लोकको परिकल्पना गर्दछन् । उनले संसारका सबै चिजहरू दिव्य लोकमा बस्ने मूल आकृति वा सामान्यका प्रतिरूप मात्र भएको बत्ताउँछन् । त्यसरी उनका दृष्टिकोणमा विद्यमान भौतिक संसारको स्वतन्त्र अस्तित्व छैन र त्यो दिव्य लोकको नक्कल मात्र हो । भारतमा शङ्कराचार्यले अद्वैत दर्शनको सिद्धान्तको प्रतिपादन गरे । उनको व्याख्या अनुसार ब्रह्म सत्य हो र जगत् मिथ्या । जगत् मिथ्या भन्नुको अर्थ त्यसको अस्तित्व नै थिएन भन्ने होइन । त्यसको अर्थ, त्यसको अस्तित्व भए पनि त्यो मिथ्या वा माया मात्र थियो । ती अवश्य पनि आदर्शवादी सोचाइ हुन् । तर त्यस प्रकारका निष्कर्षहरू पनि गहन र तर्कसङ्गत प्रकारले प्रतिपादन गरिएका हुन्छन् । तर धार्मिक सोचाइहरू सतही प्रकारले नै प्रस्तुत गरिएका हुन्छन् र मानिसहरूले उपरि प्रकारका विश्वासहरूको आधारमा नै तिनीहरूलाई अपनाउने गर्दछन् । त्यसरी धार्मिक विश्वासहरू तर्क र विवेकभन्दा बढी अन्धविश्वास माथि टिकेका हुन्छन् । त्यसको विपरीत दर्शन कुनै अन्धविश्वास होइन, तर्क र विवेकका आधारमा टिकेको हुन्छ । त्यसरी धर्मका तुलनामा दर्शनको श्रेष्ठता स्वतः सिद्ध छ । दर्शनले मानिसहरूको चिन्तनलाई गहन बनाउने, माथि उठाउने वा परिष्कृत गर्ने काम गर्दछ । दर्शनको उच्च अध्ययन भएको मानिसले समाजको जुनसुकै क्षेत्रमा पनि विवेक सङ्गत वा कुशलतापूर्वक काम गर्ने क्षमता राख्दछ । त्यसैले प्राचीन काल देखि नै मानिसहरूले दर्शनको अध्ययनमा विशेष जोड दिँदै आएका छन् ।
प्राचीन भारतमा दर्शनको अध्ययनको लागि गुरुकुलहरूको व्यवस्था थियो भने प्राचीन युनानमा पनि सुकरात, प्लेटो, अरस्तु, आदिले ठुला ठुला समूहमा शिष्यहरूलाई दर्शनको शिक्षा दिन्थे वा दर्शनको अध्ययनको लागि ठुला ठुला विद्यालयहरूको सञ्चालन गरेका थिए । राजा महाराजाहरूले पनि आफ्ना छोराहरूलाई दर्शनको शिक्षा दिलाउने कुरामा विशेष जोड दिन्थे र उनीहरूलाई ऋषिमुनि गुरुकुल वा ठुला ठुला दार्शनिकहरूकहाँ पढ्न पठाउँथे । हाम्रा अगाडि सिकन्दरको पनि उदाहरण छ । उनको अध्ययनको लागि उनका पिता फिलिप्सले अरस्तु जस्ता महान् दार्शनिकलाई अध्यापकको रूपमा नियुक्त गरेका थिए । त्यस प्रकारको दार्शनिक शिक्षाको कारणले उनले जीवनमा ठुलो सफलता प्राप्त गरेका थिए । यद्यपि बत्तिस वर्षको अल्पायुमा नै उनको मृत्यु भएको थियो ।
दर्शनसित सम्बन्धित एउटा महत्त्वपूर्ण पक्ष दृष्टिकोणको हो । दर्शनको अध्ययनले सम्पूर्ण विश्व, मानव जीवन र समाजको गहन र विस्तृत ज्ञान त हुन्छ नै ती सबैभन्दा दर्शनसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्न, दृष्टिकोण वा विश्व दृष्टिकोणको हो । कुनै मानिसको सम्पूर्ण चिन्तन वा व्यवहार उसको विश्व दृष्टिकोणद्वारा नै निर्धारित हुन्छ । अर्का शब्दमा कुनै व्यक्तिको जीवनको सञ्चालक शक्ति उसको विश्व दृष्टिकोण नै हुन्छ । कुनै दुई जना व्यक्तिका क्षमताहरू समान भए पनि उनीहरूका बेग्लाबेग्लै दृष्टिकोणका कारणले उनीहरूका व्यवहारहरू एक अर्काको भन्दा पूरै विपरीत हुन सक्दछन् । कुनै दुई जना समान स्तरका व्यक्तिहरूमध्ये एउटाले देश र समाजको सेवा गर्छ वा त्यसका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण पनि गर्दछ भने अर्को व्यक्तिले आफ्नो व्यक्तिगत फाइदाको लागि विभिन्न प्रकारका सामाजिक अपराध, भ्रष्टाचार वा देशद्रोही र समाज विरोधी कार्यहरू पनि गर्न सक्दछ । यो प्रकृतिको नियम हो की सबै मानिसहरूले सुख खोज्छन् । तर सुख कसरी प्राप्त हुन्छ ? त्यो कुरा बेग्लाबेग्लै मानिसहरूको बेग्लाबेग्लै प्रकारको दृष्टिकोणमा निर्भर गर्दछ । एउटा मानिसलाई देश र समाजको सेवामा वा त्यसका लागि त्याग र बलिदान गर्ने कार्यबाट सुख प्राप्त हुन सक्दछ भने अर्को व्यक्तिको दृष्टिकोणमा ती सबै कार्यहरू नीरस र व्यर्थका हुन सक्दछन् ।
विश्व दृष्टिकोणको प्रश्न खाली दर्शनसित सम्बन्धित हुन्छ भन्ने होइन । दर्शनको ज्ञान नभएको व्यक्तिको पनि आफ्नो विश्व दृष्टिकोण हुन्छ । विश्व दृष्टिकोणको प्रश्नको अर्थ हो, सम्पूर्ण विश्वका सबै चिजहरूलाई हेर्ने कुनै मानिसको दृष्टिकोण । प्रत्येक मानिसको आफ्नो स्तर वा सोचाई अनुसार उसले विश्वका वा स्वयं आफ्नै जीवनसित सम्बन्धित विषयहरूमा पनि आफ्नो दृष्टिकोण बनाउँछ । त्यही विश्व दृष्टिकोण हो । पारिवारिक वा सामाजिक वातावरण, शिक्षा, दीक्षा, संस्कार, अध्ययन आदिका आधारमा कसैको विश्व दृष्टिकोण बन्दछ । त्यसरी एउटा हिन्दु धर्मावलम्बी, बौद्ध, इसाई, मुस्लिम आदिका विश्व दृष्टिकोणहरू बेग्लाबेग्लै हुन सक्छन् । कसैको व्यक्तिगत स्वभावका आधारमा पनि विश्व दृष्टिकोण बनेको हुन सक्दछ । विभिन्न राजनीतिक सिद्धान्तहरूका आधारमा पनि कसैको विश्व दृष्टिकोण बनेको हुन सक्दछ, जस्तै कि कम्युनिस्ट, काँग्रेस, राजावादी आदि । माथि नै उल्लेख गरियो, दर्शनहरूका बिचमा पनि कैयौँ प्रकारका भिन्नताहरू हुन्छन् । ती दार्शनिक भिन्नता अनुसार पनि मानिसहरूका बेग्लाबेग्लै विश्व दृष्टिकोणहरू बनेका हुन सक्दछन् । यी बेग्लाबेग्लै प्रकारले विश्व दृष्टिकोणको निर्माण भए पनि दार्शनिक आधारमा विश्व दृष्टिकोणको जुन निर्माण हुन्छ, त्यो धेरै नै गहन र उच्च प्रकारको हुन्छ । नीतिशास्त्रले पनि विश्व दृष्टिकोण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।
दर्शनको सबै सामाजिक शास्त्रहरूसित घनिष्ठ सम्बन्ध हुन्छ । पहिले दर्शनशास्त्र अन्तर्गत नै सबै विषयहरूको अध्ययन गरिन्थ्यो । पछि क्रमशः अन्य शास्त्रहरूले दर्शनशास्त्रसँग अलग भएर स्वतन्त्र रूप लिँदै गए । अहिले पनि अन्य सबै ज्ञान–विज्ञानका क्षेत्र र सामाजिक शास्त्रहरूको मूल आधार दर्शनलाई नै मानिन्छ । त्यही प्रकारले दर्शन र राजनीतिका बिचमा पनि घनिष्ठ सम्बन्ध छ । राजनीतिको मुख्य कार्य राज्य र सम्पूर्ण समाजको व्यवस्था र सञ्चालनसित सम्बन्धित छ । राज्यको मुख्य अङ्ग सरकार नै हो । सरकारबारे प्राचीन कालदेखि नै कैयौँ सिद्धान्त प्रणालीहरू रहँदै आएका छन् । इतिहासका बेग्लाबेग्लै कालखण्डहरूमा विभिन्न देशहरूमा राज्यको सञ्चालनको लागि बेग्लाबेग्लै प्रकारका सिद्धान्त, संविधान वा कानुनहरू बन्दै आएका छन् ।
संसारमा हजारौँ“ प्रकारका दर्शनहरू छन् । संसारलाई बुझ्ने क्रममा दार्शनिकहरूले हजारौँ सिद्धान्तहरूको प्रतिपादन गर्दै आएका छन् । सायद त्यो त्यस्तै समस्या हो, जस्तो कि दृष्टिविहीन व्यक्तिहरूले हात्तीका बेग्लाबेग्लै अङ्गहरूलाई छोएपछि त्यसको स्वरूपबारे बेग्लाबेग्लै व्याख्या गर्दछन् । संसारका दार्शनिकहरूले संसारको बेग्ला–बेग्लै प्रकारले व्याख्या गरेका छन् । त्यसमाथि विचार गर्दा दार्शनिकहरूको संसारलाई व्याख्या गर्ने प्रयत्न पनि दृष्टिविहीनहरूले हात्तीको स्वरूपबारे गरेको व्याख्या जस्तै ता होइन ? त्यो प्रश्न गर्न सकिन्छ । तर त्यसको अर्थ हात्तीको आÇनो नै कुनै स्वरूप हुन्न भन्ने पनि होइन । प्रश्न हात्तीको स्वरूपको होइन, प्रश्न त्यसलाई हेर्ने सही दृष्टिकोणको हो । आ“खा देख्ने एउटा सानो बच्चाले पनि हात्तीको स्वरूपबारे ठिक ज्ञान प्राप्त गर्न सक्दछ । तर दृष्टिविहीन व्यक्तिहरूको लागि त्यसो गर्नु सम्भव हुँदैन ।
प्लेटो संसारका नै महान् दार्शनिक हुन् । तर उनी के निष्कर्षमा पुगे भने, जस्तो कि माथि उल्लेख गरियो, संसारका सबै चिजहरू दिव्य लोकमा बस्ने कुनै मूल आकृति वा ‘सामान्य’का प्रतिरूप मात्र हुन् । दिव्य लोकमा एउटा घोडाको मूल आकृति हुन्छ । तर त्यसका लाखौँ करोडौँ“ प्रतिरूपहरू संसारमा हुन्छन् । त्यो कुरालाई कसरी बुझ्ने ? दर्शनको क्षेत्रमा त्यस प्रकारका असङ्ख्य प्रश्न वा समस्याहरू छन् । जे होस्, अहिले हामी ती सबैको चर्चा गर्ने पट्टि नलागेर यो लेखमा प्रस्तुत गरिएको मूल विषयलाई बुझ्ने तिर नै लाग्दछौ“ । त्यो मूल विषय हो, दर्शन र राजनीतिका बिचको अन्तरसम्बन्ध । त्यसबारे हामीले माथि प्लेटोको एउटा राजनीतिज्ञ वा शासक किन दार्शनिक हुनुपर्दछ वा एउटा दार्शनिक नै कसरी कुशल राजनीतिज्ञ वा शासक हुन सक्दछ ? तथा लेनिनको दर्शनको अध्ययन नगरीकन किन कुनै व्यक्ति सच्चा कम्युनिस्ट हुन सक्दैन ? भन्ने विचारहरूको उल्लेख गयौँ तर अब हामीले तिनीहरूलाई व्यवहारिक रूपले व्याख्या गर्ने वा बुझ्ने प्रयत्न गर्ने छौँ ।
पहिले ज्ञान विज्ञानका सबै विषयहरू दर्शनको क्षेत्रभित्र नै आउँथे । तर अब बेग्ला–बेग्लै विषयले ज्ञान विज्ञानका बेग्लाबेग्लै विषयहरूका रूपमा व्याख्या गरेका छन् । जस्तै कि पहिले इतिहास, राजनीति शास्त्र, साहित्य, मनोविज्ञान, विज्ञान आदि सबै विषयहरू दर्शन अन्तर्गत नै आउँथे । तर अब ती सबै दर्शनबाट छुट्टिएर बेग्ला–बेग्लै स्वतन्त्र विषयहरू बनेका छन् । तैपनि दर्शनसितको उनीहरूको पूरै सम्बन्ध विच्छेद भइसकेको छैन र हुन पनि सक्दैन । अहिले पनि अन्य सबै विषयहरूको दर्शनसित घनिष्ठ सम्बन्ध छ । सायद यो कुरा त्यस्तै हो, जस्तो कि कुनै परिवारका सबै छोराछोरीहरू पहिले एउटै परिवारका अङ्ग हुन्छन्, तर पछि ठुलो भए पछि उनीहरूका पनि बेग्लाबेग्लै परिवारहरू बन्दछन् । तैपनि उनीहरूको पहिलेको परिवार वा बाउआमा, दाजुभाइ, दिदी बहिनीहरूसित केही न केही सम्बन्ध रहिरहेको हुन्छ । त्यही कुरा दर्शन र राजनीतिका बिचको सम्बन्ध बारे पनि सत्य हो ।
ख)
हेगेलले विचारलाई नै मूल तत्त्व मान्दछन् र द्वन्द्वात्मक प्रक्रियाद्वारा विकसित हुँदै गएर अन्त्यमा त्यो परम विचारमा बदलिने कुरा गर्दछन् । उनले राज्यलाई परम विचारको प्रतिरूप मान्दछन् । र राज्यको मुख्य प्राधिकार राजालाई नै बत्ताउँछन् । त्यसरी उनले राजालाई ऐतिहासिक विकास क्रमको सर्वश्रेष्ठ रूप बत्ताउँछन् । अर्को शब्दमा, उनको द्वन्द्वात्मक आदर्शवाद राजाको श्रेष्ठता सिद्ध गर्ने निष्कर्षमा टुङ्गिन्छ । बताइरहनु पर्ने आवश्यकता छैन की जुन दर्शन वा राजनीतिक सिद्धान्तहरूले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा जोड दिन्छन्, उनीहरूको लागि हेगेलको राज्य वा राजा सम्बन्धी त्यस प्रकारको दार्शनिक मान्यता स्वीकार्य नहुने कुरा प्रस्ट छ ।
हेगेलको दर्शनमा वाद–प्रतिवाद–संवादको पनि ठुलो महत्त्व छ । त्यो सिद्धान्तको आधारमा नै उनले इतिहासको विकासको पनि व्याख्या गरेका छन् । उनको व्याख्या अनुसार परिवार वाद हो, नागरिक समाज प्रतिवाद र राज्य संवाद । त्यसरी राज्य ऐतिहासिक विकास क्रमको अन्तिम र सर्वश्रेष्ठ रूप हो । मार्क्सले हेगेलको द्वन्द्ववादको सिद्धान्तलाई अपनाए । तर आदर्शवादलाई विरोध गरे । मार्क्सले पनि समाजवादी इतिहास सम्बन्धी आफ्नो व्याख्या प्रस्तुत गरेका छन् । तर उनको व्याख्या हेगेलको भन्दा मौलिक रूपले नै बेग्लै छ । उनको व्याख्या अनुसार, वर्गीय शोषण सुरु भएपछि र समाज शोषक र शोषित वर्गमा विभाजित भएपछि शोषित वर्गमाथि दमन गर्नको लागि नै राज्यको निर्माण गरिएको थियो । अन्त्यमा जब वर्गीय शोषण र वर्गहरूको अन्त्य हुन्छ, राज्यको पनि अन्त्य हुन्छ, त्यसपछि एउटा वर्गले अर्को वर्गमाथि दमन गर्नु पर्ने आवश्यकता रह“दैन र राज्यको पनि अन्त्य हुन्छ ।
आधुनिक कालमा राज्य वा सरकारको सञ्चालनको लागि राजनीतिक पार्टीहरू महत्त्वपूर्ण अङ्ग भएका छन् । राजतन्त्रअन्तर्गत पार्टीहरूको अस्तित्व हु“दैन । तर संसदीय मात्र होइन, विभिन्न प्रकारका तानासाही व्यवस्थाअन्तर्गत पनि एक वा अर्को प्रकारका राजनीतिक पार्टीहरू बनेका हुन्छन् । राजनीतिक पार्टीहरू भन्नाले, एकातिर, उनीहरूका निश्चित प्रकारका सिद्धान्त, नीति र कार्यक्रमहरू हुन्छन् भने, अर्कातिर, पार्टीका नेताहरू र कार्यकर्ताहरू तथा तिनीहरूलाई समर्थन गर्ने जनताको ठुलो समूह पनि हुन्छ । त्यसको अर्को महत्त्वपूर्ण पक्ष के हो भने विभिन्न राजनीतिक पार्टीहरूको बिचमा लगातार सङ्घर्षहरू पनि चलिरहेका हुन्छन् । कतिपय अवस्थामा उनीहरूका बिचका त्यस प्रकारका सङ्घर्षहरूले अराजक वा हिंसात्मक रूपहरू लिने गर्छन् । संसारका सबै देशहरूमा विभिन्न राजनीति पार्टीहरूका बिचका सङ्घर्षहरूको लामो इतिहास पनि छ ।
संसारमा विभिन्न प्रकारका सरकार, राजनीतिक पार्टी, राजनीतिज्ञ वा राजनीतिक कार्यकर्ताहरू हुन्छन् । उनीहरूको कार्यविधि वा कार्यशैली कस्तो हुन्छ ? त्यसपछि नै कुनै देश वा जनताको सुख, समृद्धि वा विकास निर्भर गर्दछ । त्यसका लागि कसैको ज्ञान वा क्षमता कति छ, त्यो कुराभन्दा उसको दृष्टिकोण कुन प्रकारको छ ? त्यसमाथि त्यो कुरा निर्भर गर्दछ । उच्च प्रकारको दृष्टिकोणको निर्माण गर्ने कार्य दर्शनका आधारमा नै हुन्छ । त्यसको अर्थ यो हो, दर्शनको ज्ञानले नै कुनै व्यक्तिलाई कुशल राजनीतिज्ञ वा शासक बनाउन सक्दछ ।
दर्शनले कुनै पनि चिजलाई ठिकसँग बुझ्नका लागि विहङ्गम दृष्टिकोण प्रदान गर्दछ । यहाँ“ हामीले पुनः एउटा आँखा“ देख्ने मान्छे र दृष्टिविहीन व्यक्तिको उदाहरण दिन सक्दछौँ । एउटा दृष्टिविहीन व्यक्तिका लागि कुनै ठाउँमा जाँदा छामछुम गर्दै बाटो पत्ता लगाउनुपर्दछ । तर आँखा“ देख्ने व्यक्ति सजिलैसङ“ग अगाडि बढ्न सक्दछ । कुरा त्यति मात्र होइन । कुनै दूर वर्ती देशमा जाने बेलामा त्यो देशको नक्सा, भौगोलिक विवरण, यातायात आदिबारे पहिले नै ज्ञान भएमा सजिलैसित त्यहाँ“ पुग्न सकिन्छ तर त्यस प्रकारको ज्ञानको अभावमा धेरैतिर सोधपुछ वा बाटामा अल्मलिदै त्यहाँ जानुपर्दछ । त्यही कुरा दर्शन र राजनीतिका बिचको सम्बन्धबारे पनि सत्य हो । दर्शनले संसारका सबै विषयहरूबारे विस्तृत र गहन ज्ञान प्रदान गर्दछ । त्यो कारणले कुनै चिजलाई सही प्रकारले बुझ्नु त सम्भव हुन्छ नै त्यसका साथै दर्शनको एउटा अर्को महत्त्वपूर्ण पक्ष नीति शास्त्र पनि हो । त्यसले कुन कार्य गर्न सही हुन्छ वा सही हुन्न त्यो कुराको पनि ज्ञान दिन्छ । त्यसैले दर्शनले राजनीतिलाई पनि सही दिशामा अगाडि बढ्न पथप्रदर्शन गर्न सक्दछ । त्यसैले प्लेटोले यो भनेका हुन् कि एउटा राजनीतिज्ञ वा प्रशासक, दार्शनिक हुनुपर्दछ र एउटा दार्शनिक नै कुशल राजनीतिज्ञ र प्रशासक हुन सक्दछ । त्यही कुरा एउटा कम्युनिस्टबारे लेनिनले भनेको कुरा पनि सत्य हो ।
माथि दर्शनले नै कुनै राजनीतिज्ञ वा प्रशासकलाई कुशल बनाउँछ भन्ने कुरा बताइयो । तर त्यसको अर्थ अन्य विषयहरूको अध्ययन वा ज्ञानले त्यसको लागि कुनै मद्दत पुर्याउदैनन् भन्ने होइन । एउटा इन्जिनियर, डाक्टर, वैज्ञानिक, समाज शास्त्री, मनोवैज्ञानिक, शिक्षा शास्त्री आदि पनि राजनीतिज्ञ वा प्रशासक बन्न सक्दछन् । तर ती विषयहरूले कुनै व्यक्तिलाई बाह्य दृष्टिकोणले मात्र उच्च प्रकारको क्षमता प्रदान गर्दछन् । तर दर्शनले कुनै व्यक्तिलाई आन्तरिक रूपले नै विभिन्न विषयहरू माथि विचार वा कार्यहरू गर्ने क्षमता प्रदान गर्दछ । त्योभन्दा मुख्य प्रश्न विश्व दृष्टिकोणको हो । दर्शनले एउटा उच्च प्रकारको विश्व दृष्टिकोणको निर्माणको लागि मद्दत गर्न सक्छ । एउटा आ“खाको डाक्टरलाई आ“खाको संरचनाबारे विस्तृत ज्ञान हुन सक्दछ । तर त्यो अनुभवले समाज र सम्पूर्ण विश्वलाई ठिक सँग बुझ्ने कुरामा कुनै मद्दत गर्दैन, यद्यपि कुनै व्यक्ति डाक्टर भयो भने त्यो व्यक्तिलाई समाजबाट प्रतिष्ठा मिल्न सक्दछ वा राजनीतिक जीवनमा पनि उसलाई सफलताहरू मिल्न सक्दछन् । तर कुनै व्यक्तिको राजनीतिक सफलता नै मुख्य कुरा होइन, व्यक्तिगत जीवनमा हिट्लरले पनि ठुलो राजनीतिक सफलता प्राप्त गरेको थियो । तर समाज वा विश्वका लागि त्यसको परिणाम के भएको थियो, त्यो विचारणीय प्रश्न हो ।
माथि जे कुरा लेखियो त्यो कुरा सामान्य रूपमा नै सत्य हो । तर त्यो भनाइसित अरू कैयौँ“ जटिल, गम्भीर र विवादग्रस्त कुराहरू पनि जोडिएका छन् । कुनै पनि कुरा सुरुमा बुझ्दा सामान्य जस्तो देखिन्छ । तर बुझ्दै गएपछि त्यो झन्झन् जटिल हु“दै जान्छ । त्यस कारण त्यसलाई अरू गहन र विस्तृत रूपले बुझ्नु पर्ने आवश्यकता हुन्छ । त्यही कुरा दर्शन र राजनीतिको अन्तरसम्बन्धबारे पनि सत्य हो ।
माथि दर्शनले राजनीतिलाई पथ प्रदर्शन गर्दछ र त्यो अवस्थामा नै राजनीतिले सही दिशा लिन सक्दछ भनियो । तर दर्शनको कुनै सर्वमान्य स्वरूप नभएकाले संसारमा दर्शनका सयकडौँ“–हजारौँ“ प्रकारका रूपहरू छन् । त्यो आधारमा दर्शनले राजनीतिलाई जुन पथ प्रदर्शन गर्दछ, त्यसका पनि सयकडौँ“– हजारौँ रूपहरू हुन सक्दछन् । उदाहरणको लागि हेगेलको दर्शनले राष्ट्रिय राज्यसत्ताको जुन प्रकारको स्वरूपमा जोड दिन्छ, त्यो भन्दा मार्क्सवादी दर्शनले जोड दिने राज्यसत्ताको स्वरूप मौलिक रूपले बेग्लै हुन सक्दछ । हिन्दु दर्शनले जुन प्रकारको नैतिकतामा जोड दिन्छ, त्यसको भन्दा बौद्ध दर्शनले जोड दिने नैतिकताको स्वरूप निश्चित रूपले बेग्लै हुन जान्छ ।
प्लेटोले एउटा दार्शनिक नै कुशल राजनीतिज्ञ वा शासक हुन सक्दछ भनेका छन् । तर त्यो कुरा सामान्य रूपमा नै सत्य हो । त्यो प्रश्नसित जोडिएका कैयौँ जटिलताहरूतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । दर्शनका क्षेत्रमा पनि थुप्रै मतभेदहरू पाइन्छन् । त्यस अनुसार विभिन्न राजनीतिक प्रश्नहरूमा उनीहरूले अपनाउने विचारहरू बेग्लाबेग्लै हुन सक्दछन् । उनीहरूका दृष्टिकोण तथा उनीहरूले अपनाउने राजनीति वा कार्यशैली पनि बेग्लाबेग्लै प्रकारका हुन सक्दछन् । तैपनि जुनसुकै प्रकारको दार्शनिक भए पनि उसको क्षमता सामान्य व्यक्तिको भन्दा कैयौँ“ गुणा उच्च प्रकारको हुन्छ । उसले कुनै चिजलाई सामान्य, उपरि र सतही रूपमा नहेरेर विस्तृत र गहन रूपमा हेरेर कुनै निर्णय गर्न सक्दछ । उसले कुनै विषयमा निर्णय गर्दा उपरि प्रकारका घटनाक्रमलाई हेरेर भन्दा कुनै चीजमाथि समग्र रूपमा विचार गरेर निर्णय गर्न सक्दछ । त्यस सन्दर्भमा एउटा अर्को पक्ष पनि उल्लेखनीय छ । कुनै दार्शनिकले व्यक्तिगत भावना, आवेग, उत्तेजना, स्वार्थ आदिमाथि विचार गरेर भन्दा उसका आस्था, सिद्धान्त, नीति आदिका आधारमा विचार गरेर नै निर्णय गर्दछ । उसमा सबै प्रकारका बाधा, विरोधको सामना गरेर एक्लै कडा भन्दा कडा प्रतिकुल परिस्थितिको सामना गर्ने, क्षति उठाउने वा जस्तोसुकै प्रकारको त्याग र बलिदान गर्ने क्षमता पनि हुन्छ । उसको उच्च प्रकारको दार्शनिक ज्ञानले नै उसमा त्यस प्रकारको क्षमता प्रदान गर्दछ । त्यही प्रकारको दार्शनिक एउटा कुशल राजनीतिज्ञ वा शासक बन्छ भने उसमा त्यस प्रकारका सबै गुणहरू प्रस्फुटित हुन्छन् । त्यस अर्थमा नै प्लेटोले भनेको एउटा दार्शनिक नै कुशल राजनीतिज्ञ वा शासक हुन सक्दछ भनेको कुरा सत्य हो ।
विभिन्न दर्शनहरूले गर्ने संसारको व्याख्या, उनीहरूको दृष्टिकोण, उनीहरूले जोड दिने नीति शास्त्र, मान्यता आदिमा विभिन्न प्रकारले भिन्नताहरू हुन्छन् । त्यही प्रकारले समाजका अरू सयकडौँ“ विषयहरूका दृष्टिकोणमा त्यस प्रकारको भिन्नता हुन सक्दछ । त्यस प्रकारको भिन्नताका कारणले एउटा राजनीतिज्ञ वा शासकका नीति वा व्यवहारमा वा उनीहरूले अपनाउने नीति वा शासन प्रणालीमा कैयौँ“ प्रकारका भिन्नता हुन्छन् । तर त्यस प्रकारको भिन्नताका बिचमा प्लेटोले लेखे जस्तो एउटा दार्शनिक शासक र सामान्य प्रकारको शासकका बिचमा भएको एउटा अन्तर विशेष रूपले उल्लेखनीय हुन्छ । त्यो के हो भने जुनसुकै प्रकारको दार्शनिक दृष्टिकोण भए पनि एउटा दार्शनिक शासकले जुनसुकै अवस्थामा पनि कुनै सिद्धान्त, नीति, मूल्यमान्यता आदिका आधारमा नै काम गरिरहेको हुन्छ । तर गैर दार्शनिक पृष्ठभूमिबाट आएको राजनीतिज्ञ वा शासकका लागि ती सबै कुराले कुनै अर्थ राख्दैनन् । अर्का शब्दमा, ऊ कुनै सिद्धान्त, नीति, मूल्य वा मान्यताको सीमामा बाँधिएको हु“दैन । उसले आफ्ना आवेग, महत्त्वाकाङ्क्षा, व्यक्तिगत स्वार्थ वा स्वेच्छाचारिताका आधारमा काम गरिरहेको हुन्छ । संसारमा ठुलठुला पदमा पुगेका राजनेता वा शासकहरू पनि गम्भीर प्रकारका भ्रष्टाचार वा जनविरोधी कार्यहरूमा संलग्न भएका कैयौँ उदाहरणहरू पाइन्छन् । उनीहरूमा सही विश्व दृष्टिकोणको विकास नभएको हुनाले त्यस्तो हुने गर्दछ । त्यसका पछाडि उनीहरूमा सही दार्शनिक समझदारीहरूको विकास नहुनु पनि हो ।
त्यस सन्दर्भमा एउटा अर्को दृष्टिकोणले पनि विचार गर्नुपर्ने आवश्यकता छ । एउटा दार्शनिक प्रकारको शासकले कुनै पनि अवस्थामा आÇनो व्यक्तिगत फाइदा वा स्वार्थलाई ध्यान दिएर काम गर्दैन र उसले सधैँ“ सामाजिक हितलाई प्राथमिकता दिएर नै काम गर्दछ । तर कुनै सामान्य प्रकारको शासकले समाज वा जनताको सेवाको कुरा पनि गर्न सक्दछ । तर उसले आप्ननाे व्यक्तिगत फाइदा वा महत्त्वाकाङ्क्षाका लागि सिद्धान्त, नीति वा कुनै बेला सम्पूर्ण देशको हितका विरुद्ध पनि कुनै पनि प्रकारको सौदाबाजी गर्न सक्दछ । त्यसले आफ्नो फाइदाका लागि जनविरोधी वा देश विरोधी कार्यहरू पनि गर्न सक्दछ । विश्वको राजनीतिमा त्यस प्रकारका असङ्ख्य उदाहरणहरू पाइन्छन् । खाली राजनीतिज्ञ र शासकहरूले मात्र होइन कतिपय व्यक्तिहरूले पनि त्यस प्रकारका कार्यहरू गर्ने गरेका हुन्छन् । व्यक्तिगत वा पारिवारिक फाइदाका लागि समाज र जनताका हितहरूमाथि कुठाराघात गर्न तयार हुने थुप्रै मानिसहरू पाइन्छन् ।
दर्शनहरूले प्रायशः मानव वा समाजको हितमा नै जोड दिने गर्दछन् । तर प्रथम, मानव र समाजको हित भनेको के हो ? र द्वितीय, त्यो हित कसरी हुन्छ ? त्यसबारे पनि बेग्ला–बेग्लै विचार हुन्छन् वा हुन सक्दछन् । यी प्रश्नहरूमा अन्य विभिन्न सामाजिकशास्त्रहरूले पनि विचार गर्दछन् । तर विभिन्न सामाजिक शास्त्रहरू सर्वप्रथम र मुख्य रूपले दर्शनशास्त्रबाट नै पैदा भएका हुन् । त्यसैले दर्शन शास्त्रमा पाइने विभिन्न मतहरू पनि सबै सामाजिक शास्त्रहरूमा पाइन्छन् । दर्शनशास्त्रको सबै भन्दा बढी प्रभाव राजनीतिक शास्त्रमा नै परेको हुन्छ । संसारमा सबैभन्दा बढी प्रभाव पार्ने विषय राजनीति हो । विज्ञानको रूपमा राजनीति शास्त्रको विकास हुनुभन्दा धेरै पहिलेदेखि नै राजनीतिले समाजलाई प्रभावित गर्दै आएको छ । प्राचीन मानव समाजमा जस्तै कि ढुङ्गे युग वा जङ्गली समाजमा राजनीति शास्त्रको विकास भएको थिएन । तैपनि ती समाजहरूमा पनि राजनीति हुन्थ्यो । विभिन्न कबिलाहरूको सामाजिक संरचना, उनीहरूका बिचमा अन्तर्विरोधहरू वा अन्य कबिलाहरूसितको सङ्घर्ष वा मेलमिलापहरू राजनीतिका नै विषय हुन्थे । त्यस प्रकारका प्राचीन समाजहरूबारे मानव शास्त्रीय वा समाज शास्त्रीय दृष्टिकोणले धेरै नै अध्ययन भएको छ । तर तिनीहरूको राजनीति कस्तो थियो वा हुनुपर्दथ्यो त्यसबारे कमै अध्ययन भएको पाइन्छ । जे होस्, अहिलेको विश्वमा राजनीति सबैभन्दा प्रमुख विषय भएको छ भने पनि फरक पर्ने छैन । सामान्य सहर, टोल वा गाउँघरका विषयहरूदेखि लिएर सम्पूर्ण विश्व पनि राजनीतिसित सम्बन्धित हुन्छ वा राजनीतिद्वारा प्रभावित हुन्छ । त्यति मात्र होइन, प्रत्येक घर परिवार वा व्यक्तिहरू पनि यहाँ“सम्म कि भर्खर जन्मेका शिशु र बालबालिकाहरू पनि राजनीतिसित सम्बन्धित वा राजनीतिद्वारा प्रभावित हुन्छन् । त्यो अवस्थामा राजनीति कस्तो हुन्छ र हुनुपर्दछ ? त्यो एउटा विश्वव्यापी प्रश्न हो ।
कुनै परिवारको स्वरूप, संरचना वा त्यसका समस्याहरूलाई पनि राजनीतिले प्रभावित गरिरहेको हुन्छ । परिवारका विभिन्न समस्याहरूबारे राज्यले कुन प्रकारको नीति वा कानुन बनाउँछ त्यसले अवश्य पनि परिवारको सम्पूर्ण संरचना वा समस्याहरूलाई प्रभावित गर्ने गर्दछ । विश्वको राजनीति वा संरचना कस्तो हुन्छ । त्यसले अवश्य पनि कुनै परिवारको सामाजिक वा आर्थिक पक्षलाई प्रभावित गर्ने गर्दछ ।
कुनै बेला सम्पूर्ण विश्वमा वा कुनै देशमा युद्ध हुन्छ वा शान्ति ? त्यो कुराले सम्पूर्ण विश्व, कुनै देश वा कुनै परिवारलाई पनि प्रभावित गर्ने गर्दछ । त्यसै गरेर विश्व वा कुनै देशको आर्थिक स्थिति कस्तो छ ? त्यसले पनि एउटा एउटा परिवार वा व्यक्तिको जीवनमा असर पारिरहेको हुन्छ । त्यसको असर यो हुन्छ, सम्पूर्ण विश्व वा कुनै देशको पनि राजनीति सही हुन्छ वा गलत त्यो निर्णयात्मक महत्वको प्रश्न हो ।
राजनीति कुनै अमूर्त विषय होइन । राजनीति प्रत्यक्ष रूपले नै राजनीतिक पार्टी वा सरकारहरूसँग जोडिएको हुन्छ । राजनीतिक पार्टी वा सरकार राजनीतिक नेता र कार्यकर्ताहरूद्वारा बनेको हुन्छ । त्यसरी अन्ततः राजनीतिको प्रकृति कस्तो हुन्छ ? अर्का शब्दमा, त्यो राम्रो हुन्छ वा हु“दैन त्यो जनताको हितको पक्षमा हुन्छ वा हु“दैन । त्यो कुरा राजनीतिक नेता वा कार्यकर्ताहरूको चरित्र वा दृष्टिकोणले निर्धारित गर्दछ । प्लेटोले भने जस्तो राजनीतिज्ञ वा शासकहरू दार्शनिक हुनुपर्छ भन्ने सिद्धान्त लागू भएको वा नभएको कुरा जाँच्ने कसी यही हो । लेनिनले भने जस्तो कम्युनिस्टहरूले दर्शन पढेका छन् वा छैनन् ? अर्थात् उनीहरू दर्शनद्वारा कति प्रशिक्षित छन् । त्यो छुट्टाउने कसी पनि यही हो ।
राजनीतिले गर्दा सारा संसारमा र नेपालमा पनि कति क्षति पुगेको छ ? त्यो आम रूपमा थाहा भएको कुरा हो । संसारमा ठुलठुला युद्धहरू हुन्छन्, विश्व युद्धहरू हुन्छन्, नरसंहारहरू हुन्छन्, विभिन्न प्रकारका निरङ्कुश वा तानासाही शासनहरूले गर्दा संसारमा ठुलो मात्रामा बरबादी वा विध्वंस भइरहेको हुन्छ । त्यसको मूलमा राजनीतिले नै काम गरिरहेको हुन्छ । प्रश्न यो मात्र होइन कि गलत प्रकारको राजनीतिले मानव समाजलाई धेरै नै नोक्सान पुर्याएको हुन्छ ।
विश्वको इतिहासमा विभिन्न प्रकारका प्रतिक्रियावादी, निरङ्कुश वा अधिनायकवादी शासनहरू पाइन्छन् । त्यसको कारण यो हो कि विभिन्न देशहरूका शासक वर्गहरूले उच्च दार्शनिक मान्यता अनुसार काम गर्दैनन् । अर्को शब्दमा उनीहरूको चिन्तनको प्रणालीमा नै गम्भीर प्रकारका असङ्गतिहरू हुन्छन् ।
कुनै राजनीतिज्ञ वा शासकले समाज वा जनताको वृहत् हित माथि ध्यान दिएर नै काम गर्नुपर्दछ । कुनै राज्य वा शासक वर्गले मुख्य ध्यान त्यसमा नै दिनुपर्दछ । तर उनीहरूको चिन्तनमा भएको असङ्गतिका कारणले कुनै कार्य विवेक सङ्गत प्रकारले गर्ने भन्दा विवेकहीन तरिकाले गर्ने गर्दछन् । त्यो क्रममा जनताका हित माथि असामान्य प्रकारले प्रहार पनि गर्ने गर्दछन् । संसारको इतिहास त्यस प्रकारका अन्यायपूर्ण कार्यहरूले भरिएको छ । कुनै राष्ट्रको सम्पत्ति वास्तवमा जनताको सम्पत्ति हो । त्यसलाई खर्च गर्ने बारेमा शासक वर्गले अत्यन्त इमानदारितापूर्वक काम गर्नु पर्दछ । तर राज्यको सम्पत्ति अन्धाधुन्ध प्रकारले खर्च गरिएका वा व्यक्तिगत फाइदाका लागि प्रयोग गरिएका असङ्ख्य उदाहरणहरू पाइन्छन् । शासक वर्गहरूमा, संसारका करिब करिब सबै देशहरूका शासक वर्गहरूमा भ्रष्टाचारको प्रवृत्ति अत्यन्त व्यापक रूपमा पाइन्छ । यो कुरा उच्च तहका शासक वर्गमा मात्र होइन, सामान्य प्रकारका कर्मचारीहरूमा पनि अत्यधिक रूपमा पाइन्छ । त्यस माथि नियन्त्रण गर्नका लागि कैयौँ कानुनहरू बनेका हुन्छन् वा दण्ड सजायको पनि व्यवस्था गरिएको हुन्छ । त्यस सन्दर्भमा विभिन्न देशहरूका उच्च तहका शासकहरूलाई कैयौँ सजायहरू पनि दिने गरिन्छ । तर त्यसबाट उनीहरूको दृष्टिकोणमा भएको जुन असङ्गति हो, त्यसको वास्तविक समाधान भएको हुँदैन किनकि त्यसको जरो मानिसहरूको चिन्तनमा रहेको हुन्छ । मानिसको चिन्तनको मुख्य आधार भौतिक पक्ष हो । तर एकपल्ट पैदा भएपछि त्यसले मानव चिन्तनलाई प्रभावित गर्दछ । भ्रष्टाचार पनि त्यस प्रकारको गलत चिन्तनको नै परिणाम हुन्छ । जबसम्म उनीहरूको त्यस प्रकारको चिन्तनमा सुधार हुँदैन । भ्रष्टाचारमा पनि सुधार हुन सक्दैन ।
भ्रष्टाचारको अर्थ हुन्छ, राष्ट्रिय वा सामाजिक सम्पत्तिको अवैध रूपले व्यक्तिगत स्वार्थका लागि अपव्यय वा लोभ र लालचको प्रवृत्ति । वास्तवमा त्यो एउटा विश्वव्यापी समस्या नै हो ।
अहिले सारा संसार युद्धको भुमरीमा फसेको देखिन्छ । संसारका कैयौँ देशहरूमा युद्धहरू भइरहेका छन् । ती युद्धहरू विश्वयुद्ध वा आणविक युद्धहरूमा पनि विस्फोट हुने सम्भावना बढ्दै गइरहेको छ । ती युद्धहरूलाई रोक्नका लागि कैयौँ दिशाबाट प्रयत्न भइरहेको छ । तर, जस्तो कि गत कालको इतिहासले पनि बताउँछ, त्यस प्रकारका प्रयत्नहरूका बिचमा पनि कैयौँ पल्ट युद्धहरूले विस्फोटक वा विश्वयुद्धको रूप लिने गरेका छन् । मानव जातिको इतिहासमाथि सरसरी प्रकारले दृष्टि पात गर्ने हो भने पनि विश्वको इतिहास युद्धहरूले भरिएको छ । आखिर त्यस्तो किन हुन्छ । त्यसको मुलमा मानिसहरूमा गलत चिन्तनले नै काम गरेको देखिन्छ । विभिन्न दर्शन वा नीतिशास्त्रहरूले मानिसहरूको चिन्तनमा सुधारको लागि युगौँ देखि प्रयत्न गर्दै आएका छन् । तैपनि मानिसहरू किन आपसमा लडिरहन्छन् । शान्तिको ठाउँमा किन युद्धतिर उन्मुख भैरहन्छन । त्यसको मूल कारण मानिसहरूको दृष्टिकोणमा खोज्नुपर्दछ र त्यो कार्य दर्शनले नै सबैभन्दा राम्ररी गर्न सक्दछ ।
समाजमा चल्ने अन्तर्विरोधको मूल कारण सामाजिक हित र व्यक्तिगत स्वार्थका बिचमा अन्तर्विरोध हो । सायद प्राचीन जङ्गली वा ढुङ्गे युगमा मानिसहरूको चिन्तन प्रणाली मूल रूपमा सामूहिक प्रकारको नै थियो । त्यो बेला व्यक्तिगत सम्पत्तिको उदय भएको थिएन । त्यो बेला जीवन निर्वाहको लागि उत्पादनको मुख्य पद्धति सामूहिक नै थियो । उनीहरूले सामूहिक रूपले कन्दमूल खोज्ने काम गर्दथे वा सिकार गर्दथे । त्यो बेला सबैतिर जङ्गली जनावरहरूको भय हुन्थ्यो । वा कतिपय अवस्थामा अन्य कबिलाहरूसित सङ्घर्ष गर्नु आवश्यक हुन्थ्यो । ती सबै कामहरू सामूहिक रूपले नै गर्नुपर्दथ्यो वा गर्न सकिन्थ्यो । त्यो बेला व्यक्तिगत घर, परिवार, जमिन, पैसा जस्तो कुनै चिज देखा परेको थिएन । त्यसैले त्यो बेलाको चिन्तनको मुख्य प्रकृति सामूहिक प्रकारको नै हुन्थ्यो । तर पछि समाजको स्वरूपमा परिवर्तन हुँदै गयो । खास गरेर कृषि र पशुपालनको विकास भएपछि नै व्यक्तिगत सम्पत्ति देखा पर्न थाल्यो र त्यस अनुसार मानिसहरूमा व्यक्तिगत स्वार्थको सोचाई पनि देखा पर्न थाल्यो । त्यसको परिणाम कति भयानक भयो त्यो कुराको साक्षी इतिहास छ ।
सामाजिक हितमा कुठाराघात गरेर व्यक्तिगत स्वार्थ पुरा गर्न प्रयत्न गर्ने सिलसिलामा नै समाजमा कैयौँ शोषण प्रधान व्यवस्थाहरू कायम हुँदै गए, जस्तै कि दास युग, सामन्त युग, पुँजीवादी युग । पुँजीवादी युगले साम्राज्यवाद वा विश्व साम्राज्यवादको रूप लियो । बत्ताइरहनुपर्ने आवश्यकता छैन कि ती सबै प्रकारका व्यवस्थाहरूका पछाडि मुख्य रूपले व्यक्तिगत स्वार्थका लागि वा सम्पत्तिको सङ्कलनको लागि ठुलो पैमानामा सामाजिक हितको शोषण नै थियो । त्यो क्रममा दास, मालिक, सामन्त पुँजीपतिहरू पैदा हुँदै गए । त्यसरी इतिहासका बेग्लाबेग्लै कालखण्डहरूमा विभिन्न प्रकारका शोषक वर्ग मात्र देखा परेनन्, त्यही अनुरूप सम्पूर्ण समाजको संस्कृति पनि तयार हुँदै गयो । त्यसको असर सम्पूर्ण जनतामा पर्न थाल्यो र व्यक्तिगत स्वार्थ आम सामाजिक प्रवृत्ति बन्न पुग्यो । त्यसको अर्थ हुन्थ्यो समाजका सबै व्यक्तिहरूले नै व्यक्तिगत स्वार्थलाई नै प्राथमिकता दिएर काम गर्ने दृष्टिकोणको निर्माण हुँदै गयो । त्यसको परिणाम यो भयो कि खालि शोषक र शोषितहरूका बिचमा मात्र होइन, आम जनताका बिचमा पनि व्यक्तिगत स्वार्थका आधारमा अन्तर्विरोधहरू बढेर जान थाले । मार्क्सवादी दर्शनले समाजवादमा जोड दिन्छ र व्यक्तिगत सम्पत्तिको उन्मुलनको सिद्धान्तको प्रतिपादन गर्दछ । तर समाजमा व्यक्तिगत सम्पत्ति वा व्यक्तिगत स्वार्थ माथि आधारित मानसिकता यति व्यापक र शक्तिशाली छ कि समाजवादको दिशामा गरिएका सबै प्रयोगहरू अहिलेसम्म असफल हुँदै आएका छन् । रुस र चीन जस्ता ठुला ठुला देशहरूमा समाजवादी व्यवस्थाको अन्तले त्यो कुरामा कुनै शङ्का रहन जान्न । त्यस प्रकारको व्यक्तिवादी प्रवृत्तिका विरुद्ध माओको नेतृत्वमा चलाइएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको असफलताका कारणले पनि त्यही कुरालाई बताउँछ । तर अर्कातिर यो कुरा पनि अकाट्य रूपले सत्य हो कि जबसम्म समाजमा त्यस प्रकारको व्यक्तिवादी प्रवृत्ति हाबी हुन्छ, तबसम्म विश्वमा वा कुनै पनि देशमा शान्ति र सुव्यवस्था कायम हुन सक्दैन । त्यसैले व्यक्तिगत सम्पत्ति वा व्यक्तिवादी प्रवृत्तिको अन्त समाजको अहिलेको स्थितिमा सुधार र दिगो शान्ति र सुव्यवस्थाका लागि आधारभूत आवश्यकता हो । मार्क्सवादी दर्शनले नै त्यो कुरामा सबैभन्दा बढी जोड दिने गरेको छ । त्यसको साम्यवादको सिद्धान्त त्यही अवधारणा माथि टेकेको छ ।
(ग)
दर्शनको इतिहास पढ्दा के थाहा हुन्छ भने सबैभन्दा प्रथम दार्शनिकहरू, चाहे त्यो भारतमा होस् वा युनानमा, भौतिकवादी नै थिए । भारतका प्रथम भौतिकवादी दार्शनिक चार्वाक थिए भने युनानको दर्शनको प्रारम्भ आयोनिअन मतबाट भएको थियो । त्यो मतका प्रथम दार्शनिक थेलिज थिए । संसारका सबै देशहरूमा भौतिकवादी दर्शनको लामो इतिहास रहेको छ, यद्यपि पछिल्ला दिनहरूमा आदर्शवादी दर्शनहरूको प्रभाव बढ्दै गएको पाइन्छ । दर्शनको क्षेत्रमा द्वन्द्ववादको सिद्धान्तको पनि प्राचीन काल देखि नै यूनान वा भारतमा प्रतिपादन हु“दै आएको छ । तर पहिले द्वन्द्ववादको स्वरूप आदर्शवादी थियो भने भौतिकवादको स्वरूप यान्त्रिक । जर्मनीमा फायरबाखले भौतिकवादलाई उच्च रूपमा विकास गरे भने हेगेलले द्वन्द्ववादलाई उच्च रूपमा विकसित गरे । तर फायरबाखको भौतिकवादमा द्वन्द्ववाद सामेल थिएन । त्यसैले उनको भौतिकवाद यान्त्रिक भौतिकवाद हुन गएको थियो । हेगेलको द्वन्द्ववादको आधार आदर्शवाद थियो । त्यसैले त्यो आदर्शवादी द्वन्द्ववाद भएको थियो । कार्ल मार्क्सले फायरवाखको भौतिकवाद र हेगेलको द्वन्द्ववाद दुवैलाई एकै ठाउँमा मिलाई दिए र त्यसरी द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तको प्रतिपादन गरे । त्यो भौतिकवादको सिद्धान्तलाई उनले इतिहासको क्षेत्रमा प्रयोग गरे । द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई इतिहासको क्षेत्रमा गरिएको व्याख्या नै ऐतिहासिक भौतिकवाद हो । अर्थशास्त्रको क्षेत्रमा अतिरिक्त मूल्यको सिद्धान्त जस्तै ऐतिहासिक भौतिकवादको सिद्धान्त पनि मार्क्सको मौलिक सिद्धान्त हो । मार्क्सवादी दर्शनमा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तले ठुलो महत्त्व राख्दछ । तैपनि त्यो उनको मौलिक सिद्धान्त होइन, किनभने उनले भौतिकवादको अवधारणा फायरबाखबाट र द्वन्द्ववादको अवधारणा हेगेलबाट लिएका थिए ।
दर्शनले राजनीतिलाई कति धेरै प्रभावित गर्दछ ? वा एउटा दार्शनिक नै कसरी असल राजनीतिज्ञ वा प्रशासक बन्न सक्दछ ? त्यो कुरा प्लेटोको यो भनाइबाट प्रस्ट हुन्छ, ‘एउटा दार्शनिक नै कुशल राजनीतिज्ञ वा शासक बन्न सक्दछ ।’ (भावार्थ) । कम्युनिस्ट आन्दोलनको विषयमा पनि त्यो कुरा सत्य हो । मार्क्स र एङ्गेल्स महान् कम्युनिस्ट नेता थिए । तर सर्वप्रथम उनीहरू महान् दार्शनिक नै थिए । प्लेखानोभ लेनिनका गुरु थिए । उनले लेनिनको यो भनेर आलोचना गरेका थिए कि उनले (लेनिनले) दर्शनको अध्ययनमा ध्यान दिने गरेका थिएनन् । प्लेखानोभको त्यो आलोचनालाई लेनिनले सकारात्मक रूपमा ग्रहण गरे र दर्शनको अध्ययनमा विशेष जोड दिए । उनले दर्शनको अध्ययनको सिलसिलामा तयार पारेका नोटहरू ‘दार्शनिक नोटबुकको रूपमा प्रकाशित भएको छ । पछि लेनिनले दर्शन सम्बन्धी कैयौँ महत्त्वपूर्ण किताबहरू लेखे । जसमध्ये ‘आलोचना र अनुभव सिद्ध–आलोचना’ विशेष रूपले प्रसिद्ध छ । लेनिनले यो पनि लेखेका छन्, ‘दर्शनको अध्ययन नगरीकन कुनै व्यक्ति सच्चा कम्युनिस्ट बन्न सक्दैन’ । दर्शनको अध्ययनले कुनै मानिसको वा कम्युनिस्टको पनि चिन्तनको स्वरूपलाई धेरै व्यापक बनाइदिन्छ । दर्शनले उसमा कुनै चिजमाथि गहन रूपले सोच्ने क्षमता पनि बढाइदिन्छ । उसमा चिजहरूलाई द्वन्द्वात्मक प्रकारले हेर्ने र बुझ्ने क्षमता बढेर जान्छ । द्वन्द्ववाद मार्क्सवादी लेनिनवादी दर्शनको आधार पनि हो । द्वन्द्ववादको ज्ञानको अभावमा कुनै पनि व्यक्तिको चिन्तनमा अभिभूतवाद हाबी हुन्छ । अधिभूतवादी चिन्तनको प्रभाव स्वरूप कम्युनिस्ट आन्दोलन विभिन्न प्रकारका गलत सोचाइ वा गलत भड्काइहरूको सिकार बन्न पुग्दछ ।
मार्क्स संसारका महान् दार्शनिकहरूमध्ये एउटा मानिन्छन् । तर उनको दार्शनिक चिन्तन अन्य दार्शनिकहरूको भन्दा मौलिक रूपले बेग्लै रहेको छ । मार्क्सले ‘फायरवाख बारे निबन्ध’मा लेखेका छन्, “दार्शनिकहरूले विभिन्न ढङ्गले विश्वको केवल व्याख्या मात्र गरेका छन्, तर प्रश्न विश्वलाई बदल्नु हो ।” उनले त्यस प्रकारको विचार मात्र प्रकट गरेनन्, उनले संसारलाई बदल्ने कुरामा पनि जोड दिए र उनी जीवनभरि नै त्यो सङ्घर्षमा सक्रिय रहे । हामीले हेर्यौ भने पाउने छौ, अन्य दर्शनहरू मुख्यतः एकेडेमी अध्ययनको क्षेत्रमा मात्र सीमित रहेका छन् । तर मार्क्सवादी लेनिनवादी दर्शनले संसारलाई बदल्नको लागि आधि तुफान नै ल्याएको छ । विश्वभरि कम्युनिस्टहरूको नेतृत्वमा चलेका क्रान्तिकारी आन्दोलनहरू र ती आन्दोलनहरूले विश्वव्यापी रूपमा ल्याएका परिवर्तनहरू त्यो कुराका प्रमाणहरू हुन् ।
द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद मार्क्सवादी दर्शनका प्रमुख सिद्धान्तहरू हुन् । तर त्यसबारे मार्क्सले कुनै बेग्लै पुस्तक लेखेका छैनन् । तैपनि बेग्लाबेग्लै आर्थिक वा राजनीतिक विषयहरूमा उनले लेखेका पुस्तकहरूमा ती सिद्धान्तहरूको प्रयोग गरिएको छ । त्यस सन्दर्भमा मार्क्स, एङ्गेल्सले तयार पारेको ‘कम्युनिस्ट घोषणापत्र’ र मार्क्सको ‘पुजी’ विशेष रूपमा उल्लेखनीय छन् । ती दुवै कृतिहरूको व्याख्या र विश्लेषण द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादका सिद्धान्तहरू अनुसार नै गरिएका छन् । वास्तवमा दर्शनको माध्यमद्वारा विभिन्न दार्शनिकहरूले संसारलाई विभिन्न कोणबाट अध्ययन गर्ने वा बुझ्ने प्रयत्न गरेका छन् । तर त्यसका साथै दर्शन समाज वा जीवनका लागि पथ प्रदर्शक सिद्धान्त पनि हो । त्यसको अर्थ हो त्यसले हाम्रो व्यवहारिक जीवनमा पथ प्रदर्शन गर्ने काम गर्दछ । तर पथ प्रदर्शन कुन अर्थमा वा कुन रूपमा ? यो दर्शनसित जोडिएको अर्को गम्भीर र जटिल समस्या हो । त्यसले हाम्रा अगाडि दर्शनको सही प्रकारले चुनाव गर्ने प्रश्न पनि राखिदिन्छ ।
दर्शनले मानव जीवन र समाजको चिन्तनलाई प्रभावित गर्दछ । तर, जस्तो कि माथि पनि उल्लेख गरियो, दर्शनका बेग्लाबेग्लै धारा वा दिशा हुन्छन् । तिनीहरूले मानव जीवन वा समाजलाई बेग्ला–बेग्लै प्रकारले प्रभावित गर्दछन् । त्यस प्रकारका दार्शनिक धारा वा दिशाहरू सही वा गलत दुवै प्रकारका हुन सक्दछन् । तर के सही हो र के गलत हो ? त्यसको पनि कुनै सर्वसम्मत मापदण्ड हुँदैन । त्यसबारे कुनै गल्ती नहोस् भन्नका लागि हामीहरूले बेग्लाबेग्लै दर्शनहरूका बिचबाट सही दर्शनको चुनाव गर्न सक्नुपर्दछ । यो कुरा त्यस्तै हो जस्तो कि एउटा बिरामीले आफ्नो उपचारको लागि सही चिकित्सक चुन्न सक्नुपर्छ । त्यसमा गल्ती भयो भने त्यसको परिणाम घातक पनि हुन सक्दछ ।
माथि जुन कुरा सामान्य प्रकारले राजनीतिका विषयमा भनियो, त्यो कुरा कम्युनिस्ट आन्दोलनका बारेमा पनि सत्य हो । कम्युनिस्ट आन्दोलनको बेग्लै दर्शन छ भने त्यसका नैतिकता सम्बन्धी धारणा, दृष्टिकोण आदि बारे पनि आफ्नै प्रकारका मान्यताहरू छन् । कम्युनिस्टहरू सधैँ त्यस अनुसार इमानदारितापूर्वक चलेको पाइँदैन । तिनीहरूमा पाइने असङ्गति, विकृति वा विचलनहरूका कारणले पनि कम्युनिस्ट आन्दोलन आफ्ना सिद्धान्त वा मान्यताहरूबाट धेरै विचलन भएको पाइन्छ । अर्का शब्दमा, कम्युनिस्टहरूले कम्युनिस्ट जस्तो व्यवहार नगरेर विभिन्न गलत कार्यशैलीहरू अपनाएको पाइन्छ । ती कारणहरूले गर्दाखेरि नै गत दशकहरूमा विश्व कम्युनिस्ट आन्दोलन धेरै कमजोर भएको छ भने विभिन्न देशका कम्युनिस्टहरू पनि धेरै नै शिथिल बन्दै गएको पाइन्छन् ।
कम्युनिस्टहरू कहाँ“सम्म सही दिशामा अगाडि बढ्न सक्दछन् । त्यो कुरा पनि दर्शनसित नै सम्बन्धित कुरा हो । त्यस सम्बन्धी उनीहरूको अध्ययन वा समझदारी गलत भयो भने त्यसका कैयौँ घातक परिणामहरू हुन सक्दछन् । त्यस प्रकारको सही दार्शनिक समझदारीको अभावमा जनताको व्यापक सङ्घर्ष, त्याग र बलिदानका आधारमा जनवादी र समाजवादी क्रान्तिहरू भएर सत्तामा पुगेका कम्युनिस्टहरूले पनि समाजमा परम्परा देखि चल्दै आएको भ्रष्ट प्रवृत्तिको अनुसरण गर्न थाल्दछन् । आज संसारका कैयौँ समाजवादी व्यवस्था कायम भएका देशहरूमा तिनीहरूको जसरी पतन भएर गयो वा समाजवाद बाट पुँजीवादमा पुनर्स्थापना हुँदै गयो, त्यसका पछाडि त्यस प्रकारको भ्रष्ट प्रवृत्ति नै जिम्मेवार छ । रुसमा क्रान्ति पछि कायम भएको समाजवादी व्यवस्थामा शासन तन्त्रमा नै नोकरशाही, भ्रष्ट र व्यक्तिगत स्वार्थ परायण प्रवृत्तिहरू देखा पर्दै गए । त्यहाँ समाजवादी कालमा निर्माण भएका ठुलठुला उद्योग वा सामूहिक जग्गा जमिनहरू कम्युनिस्टहरूका व्यक्तिगत सम्पत्ति बन्दै गए । त्यसको परिणाम स्वरूप त्यहाँ अन्तमा समाजवादी व्यवस्थाको अन्त्य भएर पुँजीवादको पुनर्स्थापना भयो । त्यस प्रकारको पुँजीवादी प्रक्रियाबाट चीन पनि बचेन । त्यसैको परिणाम हो कि त्यहाँ पनि अहिले ठुलठुला खरबपति पुँजीपतिहरू पैदा भएका छन् र त्यहाँको कुनै बेलाको समाजवादी व्यवस्थाले अब पुँजीवादी र साम्राज्यवादी रूप समेत ग्रहण गरेको छ । त्यस प्रकारको खतरालाई माओले पूर्व अनुमान गरेका थिए । उनले देखेका थिए, समाजवाद भित्र कसरी पुँजीवादी प्रवृत्ति पैदा हुँदै गइरहेको छ । त्यसलाई रोक्नका लागि उनले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सञ्चालन गरेका थिए । तर उनले चलाएको त्यस प्रकारको अभियान भन्दा समाजमा युगौँ देखि घर जमाएर बसेको व्यक्तिवादी प्रवृत्ति बढी शक्तिशाली साबित भयो र चीन समाजवादबाट पुँजीवादतिर लाग्यो । कम्युनिस्ट आन्दोलन भित्र देखा परेको पुँजीवादी प्रक्रिया खाली साम्राज्यवादी क्रान्ति भएका देशहरूमा मात्र देखा पर्दछ भन्ने होइन । कम्युनिस्टहरू भित्र त्यस प्रकारका प्रवृत्तिहरू अन्य विभिन्न रूपमा पनि देखा पर्ने गरेका छन् ।
समाजमा व्यापक रूपमा पुँजीवादी वा निम्न पुँजीवादी सोचाइहरू पाइन्छन् । त्यसको एक वा अर्को प्रकारले असर कम्युनिस्टहरूमा पनि पर्दछ । त्यसको परिणाम हुन्छ, शोषित जनता र क्रान्तिका महान् हितहरूका तुलनामा व्यक्तिगत स्वार्थहरूलाई प्राथमिकता दिनु । कम्युनिस्टहरूले जब पार्टीमा प्रवेश गर्दछन्, त्यस प्रकारका प्रकृतिहरूलाई पनि साथै ल्याएर आएका हुन्छन् । त्यसको परिणाम यो हुन्छ कि उनीहरूले पार्टीका उच्च क्रान्तिकारी उद्देश्यहरूका ठाउँमा व्यक्तिगत स्वार्थहरूलाई प्राथमिकता दिन थाल्दछन् । त्यसको परिणाम स्वरूप कम्युनिस्टहरूमा कैयौँ प्रकारका विकृतिहरू देखा पर्न थाल्दछन् । त्यस प्रकारका कमजोरीहरूका कारणले क्रान्तिको लागि आफूलाई समर्पण गर्ने, आन्दोलनमा सक्रिय हुने, पार्टीको निर्धारित प्रणाली अनुसार अनुशासनमा बस्ने क्षमतामा ह्रास आउँदै जान्छ । कतिपय अवस्थामा त्यस प्रकारको कमजोरी तल्लो स्तरको भ्रष्टाचारमा पनि प्रकट हुन्छ ।
संसारका विभिन्न देशहरूमा कम्युनिस्टहरूले संसदीय प्रणालीमा पनि भाग लिने गरेका हुन्छन् । त्यसो गर्नु सिद्धान्त: नै गलत होइन । जुन कम्युनिस्ट पार्टीहरूले सही सिद्धान्त, कार्यक्रम र नीति अपनाएर काम गर्दछन्, उनीहरूले संसदीय प्रणालीमा भाग लिएर पनि आफ्नो क्रान्तिकारी चरित्रको रक्षा गर्न समर्थ हुन्छन् । त्यस सन्दर्भमा लेनिनको नेतृत्वमा रुसको कम्युनिस्ट पार्टीले जारको डुमा वा संसद्मा भाग लिएको उदाहरण हाम्रा अगाडि छ । तर जसले त्यसरी सही सिद्धान्त र कार्य प्रणालीका आधारमा काम गर्न सक्दैनन्, उनीहरूको संसदीय प्रणालीमा नै डुबेर पतन हुने गरेका थुप्रै उदाहरणहरू पनि हाम्रा अगाडि छन् । त्यस प्रकारको पतनको अवस्थामा पनि कैयौँ कम्युनिस्ट पार्टीले आफूलाई कम्युनिस्ट नै भएको दाबी पनि गर्दछन् । तर चरित्रगत रूपमा उनीहरू भित्रको कम्युनिस्ट आत्माको पतन भैसकेको हुन्छ । संसारमा त्यस प्रकारका थुप्रै उदाहरणहरू पाइन्छन् । नेपाल पनि कम्युनिस्ट पार्टी भित्र एक वा अर्को प्रकारले देखा पर्ने संसदीय प्रणालीको पतनको प्रक्रियाबाट अपवाद छैन ।
कम्युनिस्ट भित्रको त्यस प्रकारको पुँजीवादी प्रक्रिया वा त्यसबाट पैदा हुने विभिन्न प्रकारका विकृतिहरूलाई कसरी रोक्ने ? त्यसका लागि कम्युनिस्टहरू, लेनिनले भनेजस्तो, दर्शनद्वारा नै दीक्षित हुनु पर्दछ । आखिरमा कुनै कम्युनिस्ट जतिसुकै उच्च तहको भए पनि, त्यो जतिसुकै लामो समयसम्म कम्युनिस्ट आन्दोलनमा खारिएको भए पनि वा त्यसले ठुलठुला सङ्घर्षमा भाग लिएको, जेलमा गएको, कष्टहरूको सामना गरेको भए पनि यदि ऊ कम्युनिस्ट दर्शनद्वारा दीक्षित छैन र त्यस अनुसार उसको विश्व दृष्टिकोणको निर्माण छैन भने उ एक वा अर्को प्रकारले पुँजीवादी प्रक्रियाको सिकार हुनु र क्रान्तिकारी आन्दोलनका सिद्धान्तहरूबाट उसको विचलन हुनु अवश्यम्भावी छ ।
कम्युनिस्ट दर्शनबाट दीक्षित हुनुको अर्थ त्यसको अध्ययन गर्नु वा त्यसको ज्ञान हुनु मात्र हुँदैन, तर त्यसको अर्थ त्यसलाई, मार्क्सवादी–लेनिनवादी दर्शनलाई आत्मसाथ गर्नु र त्यस अनुसार आचरण गर्नु पनि हुन्छ ।
यस सन्दर्भमा माओको एउटा भनाइ उल्लेखनीय छ, कसैले कम्युनिस्ट पार्टीमा प्रवेश गरे पनि सबै पूरै कम्युनिस्ट भएका हुँदैनन् । त्यस सन्दर्भमा उनले भनेका छन्, कोही ५ प्रतिशत, कोही १० प्रतिशत, त्यही प्रकारले कोही १५, २०, ३०, ५० आदि प्रतिशत मात्र कम्युनिस्ट भएका हुन सक्दछन् । त्यो भन्दा धेरै माथि प्रतिशतसम्म कम्युनिस्ट हुनेको सङ्ख्या अत्यन्त कम पाइन्छ (यहाँ माओको भनाइलाई शब्द होइन, त्यसको भावार्थ मात्र दिइएको छ ।) यसरी कम्युनिस्ट पार्टीमा लागेका मानिसहरू पनि धेरै नै न्यून मात्रामा कम्युनिस्ट हुनुको परिणाम यो हुन्छ कि – दुखद परिणाम यो हुन्छ कि – विभिन्न कम्युनिस्ट पार्टीहरूका नेता, कार्यकर्ताहरू वा व्यक्तिहरूमा कम्युनिस्ट चरित्रमा निरन्तरता हुने भन्दा उनीहरूमा पतनोन्मुख प्रवृत्ति नै बढी पाइन्छ । त्यो समस्याको समाधान कम्युनिस्टहरू क्रान्तिकारी, मार्क्सवादी–लेनिनवादी दर्शनद्वारा दीक्षित हुनु र तिनीहरूलाई आत्मसाथ गरेर आचरण गर्नु बाहेक अरू कुनै विकल्प छैन ।
त्यस प्रकारको क्रान्तिकारी दृष्टिकोणमा पतनको नै परिणाम हो कि आज विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर वा रक्षात्मक अवस्थामा पुगेको छ । त्यसमा उत्थानको प्रयत्न सर्वप्रथम र मुख्य रूपले उनीहरूमा क्रान्तिकारी, मार्क्सवादी–लेनिनवादी दर्शनको दीक्षाबाट नै सुरु हुनुपर्दछ ।
मार्क्सवादी दर्शनले यो कुरामा जोड दिन्छ कि साम्यवादी समाजमा व्यक्तिगत उपभोगका सामग्रीहरू बाहेक सबै सम्पत्ति माथि व्यक्तिगत स्वामित्वको अन्त हुन्छ र सबै सम्पत्ति वा उत्पादनका सबै साधनहरू सामाजिक सम्पत्ति बन्दछन् । त्यस प्रकारको जीवन प्रणालीले गर्दा व्यक्तिवादी धारणाहरू समाप्त हुँदै जान्छन् । त्यो अवस्थामा पुरानो प्रकारको ढुङ्गे युगिन प्रणाली, जसलाई मार्क्सवादले आदिम साम्यवादी व्यवस्था भन्छ को परिष्कृत रूपमा पुनर्स्थापना हुनेछ । त्यसपछि मानिसहरूमा चल्ने सबै अन्तर्विरोधहरूको अन्त हुनेछ र समाजमा चिर शान्ति र सुव्यवस्थाको स्थापना हुनेछ ।
निश्चय नै त्यो व्यवस्था एकैपल्ट आउँदैन । त्यसका लागि पूर्वाधार समाजवादले नै तयार पार्दछ । रुसमा समाजवादी व्यवस्थाको विकाश हुँदै गएपछि स्टालिनले साम्यवादी व्यवस्थातिर सङ्क्रमणको विचार प्रकट गर्न थालेका थिए । तर उनको त्यस प्रकारको सपना पूरा भएन । त्यहाँको समाजवादी व्यवस्थाले उल्टो दिशा समात्यो र त्यहाँ पुँजीवादको पुनर्स्थापना भयो ।
चीनमा नयाँ जनवादी क्रान्तिपछि समाजवादको निर्माण कार्य सुरु भएको थियो । त्यहाँ साम्यवादी समाजको स्थापनाका लागि समाजवादको लामो प्रक्रियामा जानुपर्ने आवश्यकता थियो । तैपनि माओले चीनमा भुण रूपमा साम्यवादी व्यवस्थाको निर्माणका लागि पहलकदमी गर्न थालेका थिए । त्यसका लागि उनले कम्युन प्रणालीको कार्यको प्रारम्भ गरेका थिए । तर त्यहाँ पनि समाजवादी व्यवस्थाको अन्त हुनुका साथै माओको कम्युन प्रणालीको प्रयोग पनि समाप्त भएर गयो ।
प्लेटोले पनि यो कुरा बुझेका थिए, शासक वर्गमा व्यक्तिगत सम्पत्ति वा परिवारको लोभ हुँदासम्म उसले निस्वार्थ रूपले समाज र जनताको हितको लागि काम गर्न सक्दैन । त्यसैले आफ्नो प्रसिद्ध कृति ‘रिपब्लिक’ मा, कमसेकम, शासक वर्गहरूले व्यक्तिगत सम्पत्ति र परिवार समेत राख्न नहुने कुरामा जोड दिएका थिए । उनको सोचाइ थियो, त्यसो भएमा शासक वर्गले कुनै लोभमा नपरीकन निस्वार्थ भावले समाज र जनताको सहयोग गर्न सक्दछन् । तर उनको त्यस प्रकारको सोचाइ सधैँ काल्पनिक मात्र रह्यो र त्यसलाई कहिल्यै पनि व्यवहारिक रूप दिने कार्य गरिएन वा त्यसको लागि कुनै प्रयत्न पनि गरिएन ।
व्यक्तिगत सम्पत्ति वा व्यक्तिगत स्वार्थ तथा त्यसमा आधारित मानसिकताको समाधान नहुँदासम्म मानव जातिको आधारभूत समस्याको समाधानको सम्भावना नै छैन । त्यो कार्य सम्पन्न नहुँदासम्म मानव समाज सधैँ अन्तर द्वन्द्व, वर्गसंघर्ष वा विभिन्न प्रकारका युद्धहरूको अवस्थामा नै रही रहन्छ । त्यसैले मार्क्सवादी दर्शनले मुख्य जोड व्यक्तिगत सम्पत्तिको अन्त अर्थात् समाजवादी व्यवस्थाको निर्माणमा दिन्छ । त्यसको साम्यवादको सिद्धान्तको मूल आधारशिला पनि त्यही हो । त्यसले समाजवादी व्यवस्था अन्तर्गत उत्पादनका सबै साधनहरूको सामाजिकीकरण गरेर साम्यवादी व्यवस्थामा पुग्ने कुरामा जोड दिन्छ । तर संसारमा समाजवादको दिशामा गरिएका अहिलेसम्मका सबै प्रयत्नहरू असफल हुँदै आएका छन् । सायद त्यसको कारण हामीले मानिसहरूको व्यक्तिवादी मानसिकतामा नै खोज्नु पर्दछ । जङ्गली युगपछि मानिसले सभ्य समाजको युगमा प्रवेश ग¥यो । त्यस अनुसार अहिले संसारमा धेरै नै विकास पनि भएर गएको छ । जङ्गली समाज र अहिलेको समाजका बिचमा तुलना गरेर हेर्ने हो भने त्यो कुरामा कुनै शङ्का रहँदैन । तर जङ्गली युगको तुलनामा सभ्य समाजले मानिसलाई दिएको सबैभन्दा ठुलो अभिसाप व्यक्तिवाद वा व्यक्तिगत स्वार्थ नै हो । प्रत्येक व्यक्तिको व्यक्तिगत जीवन, पारिवारिक जीवन वा सम्पूर्ण विश्वको व्यवहारिक पक्ष माथि विचार गर्ने हो भने यो कुरामा कुनै शङ्का रह“दैन कि सभ्य समाजले दिएको त्यस प्रकारको अभिसापका कारणले मानव समाज कति धेरै पीडित हुँदै आएको छ । सायद विभिन्न प्रकारका शोषण प्रधान व्यवस्थाहरूका मुलमा त्यही कारणले काम गरेको छ । त्यो दुर्गुणलाई नहटाईकन मानव समाजमा वास्तविक अर्थमा शान्ति कायम हुन सक्दैन वा मानिस सुखी पनि हुन सक्दैन । मानिसलाई सुख प्रदानको लागि विभिन्न दर्शनहरूले कैयौँ प्रकारले विचार गरेका छन् । तर त्यस प्रकारका प्रयत्नहरू उपरि प्रकारका मात्र हुन् ।
साम्यवादी समाजको स्थापना भएपछि मानिसहरूको सांस्कृतिक स्तर अहिलेको समाज भन्दा बेग्लै हुन्छ र धेरै माथि उठ्दछ । त्यो धेरै टाढाको कुरा भए पनि मार्क्सले यो कुरामा जोड दिएका छन् कि कम्युनिस्टहरूको सांस्कृतिक स्तर भावी साम्यवादी समाजका नागरिकहरूको जस्तो हुनुपर्दछ वा, अर्को शब्दमा अहिलेका समाजका कम्युनिस्टहरू भावी कम्युनिस्ट समाजका नागरिक जस्तै हुनुपर्दछ । त्यसको अर्थ हो, कम्युनिस्टहरूको दृष्टिकोण वा चेतनाको स्तर साम्यवादी समाजको अहिलेको भन्दा मौलिक रूपले बेग्लै र उच्च प्रकारको भौतिक परिस्थितिमा निर्माण भएको दृष्टिकोण र चेतनाको स्तर जस्तै उच्च हुनुपर्दछ । साम्यवादी समाजमा मानिसहरूको त्यस प्रकारको दृष्टिकोण वा चेतनाको निर्माण हुनु एउटा सरल प्रक्रिया हो । तर अहिलेको पुँजीवादी समाजको प्रतिकुल स्थितिमा त्यस प्रकारको दृष्टिकोण वा चेतनाको निर्माण गर्नु अत्यन्त कठिन कार्य हुन्छ । त्यो कार्य खाली दर्शनको, खास गरेर मार्क्सवादी दर्शनको, गहन अध्ययन तथा त्यसलाई आत्मसाथ गरेपछि नै सम्भव हुन्छ । तर विश्वस्तमा र स्वयम् नेपालको पनि कम्युनिस्ट आन्दोलन माथि पनि विचार गर्ने हो भने यो कुरामा कुनै शङ्का रह“दैन कि त्यस प्रकारको अर्थात् मार्क्सले बताए जस्तो, भावी साम्यवादी समाजका नागरिकहरूको जस्तो दृष्टिकोण र चेतनाको निर्माण गर्ने कार्यमा कम्युनिस्टहरूले अत्यन्त कम सफलता प्राप्त गर्ने गरेका छन् । वास्तवमा भन्ने हो भने कम्युनिस्टहरूको दृष्टिकोण वा चेतनाको स्तर पुँजीवादी समाजमा आम रूपमा पाइने व्यक्तिवादी चेतनाको स्तरभन्दा धेरै माथि उठ्न सकेको पाइँदैन । त्यसैको परिणाम हो कि कम्युनिस्टहरू कम्युनिस्ट जस्ता कम रहेका छन् र त्यही कारणले गर्दा विश्वका कम्युनिस्टहरूका ठुलठुला गढहरू ढल्दै गएका छन् र धेरैजसो कम्युनिस्टहरूका हाव भावहरू कम्युनिस्टका जस्ता भए पनि उनीहरूको व्यवहार कम्युनिस्टको भन्दा बेग्लै प्रकारको हुने गरेको छ । त्यो अवस्थामा मार्क्सवादी दर्शनको आधारमा उनीहरूको रूपान्तरणले नै उनीहरूलाई सच्चा कम्युनिस्ट बनाउन सक्नेछ । तर त्यो कुरा व्यवहारमा कति सम्भव छ ? त्यसबारे निश्चित रूपले केही भन्न सक्ने आधार तयार भएको छैन ।
अन्त्यमा, मानिसहरूको विश्व दृष्टिकोण र चेतनामा धेरै समस्याहरू भए पनि मानव जातिको भविष्यबारे निराश हुनुपर्ने आवश्यकता छैन । भौतिक उत्पादन प्रणालीले झन्पछि झन् सामाजिक रूप लिँदै गइरहेको छ । त्यसको परिणाम स्वरूप मानिसहरूको चेतना वा दृष्टिकोणले पनि सामूहिक रूप लिँदै जाने कुरा निश्चित छ । अन्ततोगत्वा त्यसको परिणाम स्वरूप मानिसहरूको दृष्टिकोण वा चेतनाले पनि सामाजिक रूप लिने प्रक्रिया बढ्दै जानेछ । त्यो वस्तुस्थितिले समाजवादी प्रणालीको स्थापनाको लागि भौतिक आधार तयार पार्नेछ र त्यसको परिणामस्वरूप सांस्कृतिक चिन्तनले पनि झन्पछि झन् सामाजिक रूप लिँदै जानेछ । सम्पूर्ण समाज त्यही प्रकारको उज्ज्वल भविष्यतिर बढिरहेको छ ।

दर्शनले मानव जीवन र समाजका सबै क्षेत्रहरूलाई प्रभावित गर्दछ । दर्शनले मानव चिन्तनलाई परिष्कृत गर्दछ र त्यसलाई सही दिशा दिन्छ । तर दर्शनको कुनै सर्वसम्मत मत हुँदैन । त्यसमा विभिन्न प्रकारका मत भिन्नताहरू हुन्छन् । एकातिर दर्शनले मानिसहरूको चिन्तनलाई प्रभावित गर्दछ भने अर्कातिर समाजको स्वरूपले पनि दर्शनको रूपलाई प्रभावित गर्दछ । कुनै समाजको भौतिक, सामाजिक, सांस्कृतिक अवस्था वा स्तर कस्तो छ? तथा त्यहाँ“ अन्तर्विरोधहरूको स्वरूप कस्तो छ ? त्यसले पनि दार्शनिक चिन्तनलाई प्रभावित पारेको हुन्छ । यो विषयलाई अरू स्पष्ट शब्दमा प्रस्तुत गर्दा कुनै समाजको वर्गीय स्वरूप कस्तो छ ? त्यसले पनि दर्शनको स्वरूपलाई प्रभावित गर्ने गर्दछ । विभिन्न वर्गहरूका वर्गीय स्वार्थहरू बेग्लाबेग्लै हुन्छन् । त्यसअनुसार दर्शनहरूको दृष्टिकोण पनि निर्धारित हुन्छ ।

