मायाको आवरण

 – कल्पना पौडेल‘जिज्ञासु’

आरती दौडँदै आई र आमाको छेउमा बसी।

“आमा, मोबाइल दिनू।”

“ह्या! जतिखेर पनि मोबाइल, मोबाइल! जा, खुरुखुरु पढ्न गएर।”

आरती खुट्टा बजार्दै भित्र पसी र एकैछिनमा चप्पल लगाएर बाहिर निस्किई।

अपेक्षा र आरती एउटै कक्षामा पढ्छन्। एकै दामलका भए पनि आरती अलिक ठुली देखिन्छे। दोहोरो अंग परेकी, गोरी र खाइलाग्दी। भर्खर दस वर्षमा पाइला टेकेकी भए पनि उमेरभन्दा अलिक ठुली छे। नजानिँदो पाराले छाती उकासिएको जस्तो देखिन्छ। अपेक्षा आरतीका अगाडि अलि सानी देखिन्छे। एउटै कक्षामा पढ्ने र सँगसँगै खेल्ने उनीहरू एक-अर्काका परिपूरक छन्। एउटा बिना अर्को रहनै नसक्ने। उनीहरू कहिल्यै झगडा पनि गर्दैनन्।

निकै दिनदेखि मुकुन्दे आरती र अपेक्षाको वरपर घुमिरहेको थियो। बजारतिर गएर आउँदा पनि केही न केही लिएर आउँथ्यो। केटाकेटीजस्तै बनेर उनीहरूसँगै खेलिदिन्थ्यो। नजिकै बसेर आरतीको पिठ्युँमा हात सलबलाउँथ्यो। आरती आफ्नै धुनमा मस्त रहन्थी।

आरतीको मोबाइल मोह थाहा पाएपछि मुकुन्देले आरतीलाई मोबाइल चलाउन दिन थाल्यो। मोबाइल छोयो कि आमाले गाली गर्थिन् तर छिमेकी अङ्कलले केही नभनी मोबाइल दिँदा आरती पनि मक्ख पर्थी। मोबाइल चलाउन पाउने भएकाले उसले अपेक्षालाई नबोलाई एक्लै मुकुन्दे अङ्कलको घरमा जान थालेकी थिई। यता अपेक्षा आरतीलाई खोज्दै आउँथी र आमालाई सोधेर फर्किन्थी।

साथीजस्तै व्यवहार गर्ने आरती आमासँग पनि कम बोल्ने गर्न थाली। आमाको वरिपरि आउन पनि कम गर्न थालेकी थिई आरती। आमालाई लाग्यो, मोबाइल खेलाउन नपाएर होला!

“ह्या! जे होस्, पढ्ने बेलामा अलि लगाम लगाउनै पर्छ,” आमाले मनमनै सोचिन्।

अपेक्षा स्कुल ब्याग बोकेरै आई र भनी, “आन्टी, आज ममी–बुबा दुवै जना खेतमा जानुभएको छ। त्यसैले साँझसम्म यतै बसेर होमवर्क गर्छु म पनि।”

“एऽऽ! भइहाल्छ नि! अनि खाजा खायौ कि नाइँ?”

“अँ, खाजा खाएरै आएको, अन्टी।”

“ल, जाऊ, आरती भित्रै छे। होमवर्क सकेर मात्रै खेल्न निस्किनू।”

“हुन्छ, अन्टी।”

“ओइ, तँ पढ्दै गर है, म एकछिनमा आउँछु।”

यसो भन्दै पल्टाएको किताबमाथि बिर्कोसमेत बन्द नगरी कलम राखी र आरती सरासर बाहिर निस्किई। अपेक्षाले आफ्नो होमवर्क गरिरही। होमवर्क सकियो। अपेक्षाले आफ्ना किताबहरू झोलामा हाली।

“अपेक्षा!”

“ए! अपेक्षा!”

“हजुर,” अपेक्षाले प्रत्युत्तर फर्काई।

“बाहिर आऊ त, म आएँ।”

मुनाले छोरीलाई बोलाइन्। ममीको बोलावट सुनेर अपेक्षा पनि निस्किई। यतिन्जेल पनि आरती आएकी थिइन।

अर्को दिन आरतीले दुखेसो गरी, “आमा, आजकाल मलाई माया नै गर्नुहुन्न।”

“पढ्ने बेलामा त पढ्नु पो पर्छ त, मोबाइल खेलेर हुन्छ? मोबाइल मात्रै चलाउँदा पढाइ बिग्रिन्छ। आजकाल तैँले पढ्नै छाडिस् त, छोरी? स्कुलमा पनि राम्रोसँग पढ्दिनस् रे! घरमा पनि पढेको देख्दिनँ। घर आउनासाथ पल्लो घरतिर जान्छेस्। पिर नपार न, माया,” आमाले सम्झाउने पाराले भनिन्।

“मेरो कुरा लगाइछे त्यसले? पखोस् न, यस्तो पिट्छु त्यसलाई!” आरतीले अपेक्षाप्रति रिस देखाई।

“त्यति मिल्ने साथीलाई पनि पिट्छु भन्छे! हैन, आजकाल के भयो तँलाई, भन् त आरती,” आमाले नजिकै आएर सोधिन्।

“ह्या! केही भएको छैन।”

आरती जुरुक्क उठेर हिँडी। आमाले आरती गएको हेरिरहिन्। आरती सरासर मुकुन्देको घरभित्र गई।

निकै बेरसम्म आरती नआएपछि आमा मुकुन्देको घरमा पुगिन् र सुस्तरी झ्यालबाट चिहाइन्। भित्र आरती मुकुन्देको जीउमा आड लागेर मोबाइल चलाउँदै थिई भने मुकुन्दे आफ्नो हात आरतीको शरीरभरि डुलाउँदै थियो। यो देखेर आमाको मन ढक्क फुल्यो।

“आजकाल आरतीले पढ्न छाडेको र एकोहोरो हुने कारण त मोबाइल पो रहेछ। यो मुकुन्देको नियत पनि ठीक लागेन मलाई,” मनमनै यति गमेर उनले आरतीलाई बोलाइन्।

मुकुन्दे झ्यालमा आएर नीलो अनुहार लगाउँदै बोल्यो, “किन भाउजू?”

आमाले मुकुन्देको भावमा अनेकौँ तरङ्ग पढिन् र मन चिसो बनाइन्। यतिन्जेल आरती निस्किसकेकी थिई।

घरमा लगेर आमाले आरतीलाई राम्रोसँग सम्झाइन्। किशोर उमेरमा पाइला टेक्न लागेकी छोरीलाई यौन जीवनका आवश्यक कुराहरू भनिन्।

“हेर छोरी! मुकुन्देजस्ता मान्छेले बालिकाको कमजोरी जे–जेमा छ, त्यसैलाई प्रयोग गरेर यौन दुरुपयोग गर्ने योजना बनाउँछन्। तिम्रो मोबाइलप्रतिको आकर्षण देखेर मुकुन्देले तिमीलाई दुरुपयोग गर्दै छ, तर त्यो तिमीलाई थाहा छैन। यस्तै मुकुन्देजस्ता मान्छे तिम्रो वरपर जो पनि हुन सक्छ। तिम्रो स्कुलमा भएका शिक्षकमा पनि यस्तो आपराधिक कुण्ठा बसेको हुन सक्छ। छोरी मान्छेले सर्वप्रथम आफ्नो सुरक्षा गर्न आफैँ सिक्नुपर्छ। सधैँ चनाखो हुनुपर्छ। कसले माया कसरी दर्साउँछ र किन गर्छ भन्ने छुट्ट्याउनुपर्छ। सबै मान्छे दुष्ट हुँदैनन् र सबै सज्जन पनि हुँदैनन्।”

आमाले आज आरतीलाई धेरै सम्झाउनुभयो। केटी मान्छेको शारीरिक विकास र मनमा हुने परिवर्तनबारे पनि खुलेर कुरा गर्नुभयो। छातीमा फक्रने ग्रन्थि र शरीरका अन्य परिवर्तन अनि महिनावारीका विषयमा पनि बताउनुभयो।

आरतीले राम्रोसँग बुझेझैँ गरी। “मुकुन्दे अङ्कलले किन उसको शरीर चलाउँछन्? किन काखमा बसाल्न खोज्छन्? किन मोबाइलमा लाज लाग्ने फोटोहरू राखेर देखाउँछन्?” मनमनै निचोड निकाली, “मुकुन्दे अङ्कल नराम्रो मान्छे होइन।”

आरती आउन छाडेपछि मुकुन्दे धेरैजसो आरतीतिरै ध्यान लगाएर डुलिरहेको हुन्थ्यो। उसको कुनै असहजता देखिँदैनथ्यो। मान्छे सामान्य नै देखिन्थ्यो। घरमा सानी काखे छोरी र श्रीमती थिए। ऊ प्रायः एक्लै बसिरहन्थ्यो।

“आरती, तिमीलाई अपेक्षाले तल चौरमा बोलाएकी छे, छिटो जानू रे,” मुकुन्देले मीठो र सामान्य तरिकाले भन्यो। अनि आफ्नो घरभित्र पस्यो।

आरती अपेक्षाले बोलाएको ठानेर सधैँजस्तो खेल्ने ठाउँतिर पुगी। त्यहाँ त कोही थिएन। आरतीभन्दा पहिल्यै मुकुन्दे पुगेर बसेको रहेछ।

“किन मसँग नबोलेको?” मुकुन्देले आरतीलाई हातमा समातेर आफूतिर तान्दै सोध्यो।

आरती चुपचाप फर्किन खोजी तर मुकुन्देले छोडेन र जुरुक्क बोकेर पर गहुँ खेततिर लग्यो। आरतीले उम्किने चेष्टा गरी तर सकिन। परपुरुषले गलत मनसाय राख्दा कसरी उम्किनुपर्छ भन्ने कुरा आमाले सिकाएको याद आयो र आरती बेस्सरी चिच्याई।

मुकुन्देले आरतीको मुख छोप्न खोज्दै थियो। उसले भएभरको बल लगाएर उसको हात टोकी दिई र त्यहाँबाट भागी। घर पुगेर रुँदै सबै कुरा बताई। हल्लाखल्ला सुनेर गाउँका मान्छे जम्मा भए। मुकुन्देलाई समातेर प्रहरीको जिम्मा लगाए।

मुकुन्दे जेलको चिसो छिँडीमा दिन–महिना गनेर जिन्दगी बिताइरहेको छ। समाजमा भएको बेइज्जती सहन नसकेर मुकुन्देकी श्रीमती घर छाडेर हिँडी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *