मृगतृष्णा

- * ऋतु के.सी.
एउटा मृगतृष्णा
विकासको, समृद्धिको,
रोजगारीको।
वर्षौँदेखि ठगिएको, लुटिएको,
झुक्किएको ऊ
फेरि उही तिकडमको बाजीमा
उस्तै गरी नराम्ररी झुक्कियो।
सोच्यो—
“ओहो! अब त देश बन्छ कि क्या हो!”
पत्यायो—
“अब त कायापलट हुन्छ कि क्या हो!”
वर्षौँदेखि धोका खाएको मनले
यसपालि भन्यो—
“अब दनक दिने पालो यही हो।”
बदल्न मिल्ने सबै
बदल्यो—
हातछापदेखि
भोटछापसम्म बदल्यो।
बदलाका भाषण,
बदलावका सपना,
हिजोलाई सराप्ने,
आजलाई भगवान् बनाउने प्रवृत्ति।
ऊ यति ढुक्क भयो कि
अब सबै ठीक हुन्छ,
सबै बदलिन्छ,
अब होइन, आजै
सबै कायापलट हुन्छ भन्ने मृगतृष्णामा हरायो।
हो,
सबै बदलियो।
साँच्चै बदलियो।
हिजोको राष्ट्रियता बदलियो,
हिजोको विद्रोहको उँचो आवाज बदलियो,
हिजोको खबरदारीको स्वर बदलियो,
जनताका दुःख र मर्का देख्ने नजर बदलियो।
ए, साँच्चै…
अर्को महान् कुरा पनि बदलियो नि!
हिजोको घुम्ने मेचमाथिको
अन्धो मालिक पनि बदलियो।
बदलियो त धेरै कुरा—
तर बदलिएन
जनताको जीवन।
बदलिएन
आशाको सपना।
बदलिएन
बारम्बार झुक्किने
यो देशको
अनि जनताको भरोसा।
दोहोरियो
झन् डरलाग्दो नियति।


