भारतको प्रगतिशील विद्यार्थी आन्दोलनमा स्थापित हुँदै गरेकी नेहा बोरा

– समीर सिंह

भाकपा (माले) लिबरेशनको मुख्य नेता को हो ? यो प्रश्नको उत्तर भारतीय वामपन्थी राजनीतिसँग निकट सम्बन्ध राख्नेबाहेक धेरै मानिसलाई तत्काल दिन कठिन हुन सक्छ । तर त्यही पार्टीसँग वैचारिक रूपमा सम्बन्धित विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी सङ्घ (AISA) को अध्यक्ष को हुन् भनेर सोध्दा पछिल्लो समय धेरैले सहजै भन्न सक्छन्—नेहा बोरा ।

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनमा पछिल्लो समय चर्चामा आएको एउटा सशक्त नाम हो—नेहा बोरा । विद्यार्थी अधिकार, सार्वजनिक शिक्षा, परीक्षा प्रणालीमा देखिएका अनियमितता र सरकारका शिक्षा नीतिविरुद्धको आन्दोलनमा सक्रिय हुँदै उनी राष्ट्रिय स्तरमा परिचित विद्यार्थी नेतृका रूपमा स्थापित भइरहेकी छन् ।

रङ्गमञ्चदेखि विद्यार्थी आन्दोलनसम्म

उत्तराखण्डको खटीमामा सैनिक परिवारमा जन्मिएकी नेहा बोराको राजनीतिक यात्रा परम्परागत राजनीतिक परिवारबाट आएको यात्राजस्तो देखिँदैन । उनका परिवारका सदस्यहरूको राजनीतिक झुकाव आफूभन्दा फरक रहेको उनले सार्वजनिक रूपमा बताएकी छन् । तर उनको आफ्नै राजनीतिक चेतना भने सामाजिक प्रश्न र विद्यार्थी आन्दोलनसँग जोडिँदै विकसित भयो ।

दिल्ली विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा उनी सामाजिक विषयमा आधारित नाटक तथा रंगमञ्चीय गतिविधिमा सहभागी हुन्थिन् । सामाजिक यथार्थलाई कलामार्फत अभिव्यक्त गर्ने त्यही अभ्यास क्रमशः राजनीतिक प्रश्नसँग जोडिँदै गयो ।

रङ्गमञ्चबाट सामाजिक प्रश्नतर्फ र सामाजिक प्रश्नबाट विद्यार्थी आन्दोलनतर्फ उनको यात्रा अघि बढ्यो । पछि उनी जवाहरलाल नेहरु विश्वविद्यालय (JNU) मा शोधार्थी बनिन् र विद्यार्थी राजनीतिमा सक्रिय हुँदै AISA को राष्ट्रिय अध्यक्षको जिम्मेवारीसम्म पुगिन् ।

यो यात्रा आफैँमा महत्त्वपूर्ण छ । किनकि विद्यार्थी राजनीति केवल भाषण गर्ने वा चुनाव लड्ने अभ्यास होइन; यसले अध्ययन, सङ्गठन, वैचारिक स्पष्टता, सामाजिक सरोकार र निरन्तर सङ्घर्षको माग गर्दछ । नेहा बोराको राजनीतिक यात्रामा यी पक्षहरूको संयोजन देखिन्छ ।

२३ दिने भोक हडताल र राष्ट्रिय चर्चा

नेहा बोरा व्यापक रूपमा चर्चामा आउनुको एउटा प्रमुख कारण भारतको परीक्षा तथा शिक्षा प्रणालीसँग सम्बन्धित प्रश्नहरू उठाउँदै गरिएको २३ दिने भोक हडताल हो ।

दिल्लीको जन्तर–मन्तरमा भएको आन्दोलनमा उनीसहित AISA का अन्य विद्यार्थी नेताहरू सहभागी भए । परीक्षा प्रणालीमा अनियमितता, कथित पेपर लिक, विद्यार्थीको भविष्यप्रतिको राज्यको जिम्मेवारी तथा शिक्षा नीतिका प्रश्नलाई आन्दोलनको केन्द्रमा राखियो ।

२३ दिनसम्मको अनशन केवल शारीरिक सहनशीलताको प्रदर्शन थिएन । त्यसले विद्यार्थी आन्दोलनलाई राष्ट्रिय बहसको विषय बनाउने राजनीतिक प्रयत्न पनि गर्‍यो ।

अनशनका क्रममा स्वास्थ्यमा असर परे पनि उनले आन्दोलनको माग र राजनीतिक प्रश्नलाई निरन्तर उठाइरहिन् । यही कारण उनी विद्यार्थी आन्दोलनको एउटा परिचित अनुहार बन्न पुगिन् ।

तर यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ—भोक हडताल गर्दैमा मात्र कोही सफल नेता बन्दैन । आन्दोलनको नेतृत्वको मूल्याङ्कन त्यसले उठाएका प्रश्न, सङ्गठन निर्माण, जनसम्बन्ध, निरन्तरता, वैचारिक स्पष्टता र आन्दोलनलाई सही दिशामा अघि बढाउने क्षमताबाट हुन्छ ।

नेहा बोराको सन्दर्भमा महत्त्वपूर्ण पक्ष यही हो । उनको चर्चा केवल राम्रो भाषणका कारण भएको होइन । सार्वजनिक अभिव्यक्तिमा स्पष्टता, आत्मविश्वास र आक्रामकता  त्यसका साथै विद्यार्थीका समस्या उठाउँदा उनी राजनीतिक प्रश्नका रूपमा प्रस्तुत गर्ने प्रयास गर्छिन् । यी सबै कारणले नै उनी कुशल नेतृत्वको रूपमा स्थापित भएकी हुन् ।

स्पष्ट अभिव्यक्ति सङ्गठन परिचालन  निरन्तर सक्रियता  जोखिम उठाउने क्षमता  वैचारिक प्रतिबद्धता लगायतका पक्षहरूको संयोजनले उनको नेतृत्वलाई प्रभावकारी बनाएको देखिन्छ ।

कुनै पनि विद्यार्थी आन्दोलनमा हजारौँ विद्यार्थी सडकमा आउन सक्छन् । तर उनीहरूलाई सङ्गठित राख्ने, मागलाई स्पष्ट बनाउने, आन्दोलनको दिशा निर्धारण गर्ने र सत्ता तथा प्रशासनसँग राजनीतिक रूपमा संवाद वा सङ्घर्ष गर्ने नेतृत्व क्षमता दुर्लभ हुन्छ । नेहा बोराको चर्चालाई यही कोणबाट हेर्नुपर्छ ।

भारतको हालको विद्यार्थी आन्दोलनमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा आयो । तर त्यसपछि आन्दोलन समाप्त भएको छैन । यही तथ्यले नेहा बोरा र उनको नेतृत्वमा रहेको विद्यार्थी आन्दोलनको अर्को पक्ष देखाउँछ ।

यदि आन्दोलनको उद्देश्य केवल कुनै एउटा मन्त्रीको राजीनामा गराउनु मात्र हुन्थ्यो भने राजीनामापछि आन्दोलन समाप्त हुन सक्थ्यो । तर यहाँ प्रश्न शिक्षा प्रणाली, परीक्षा प्रक्रियाको विश्वसनीयता, सार्वजनिक शिक्षाको भविष्य र विद्यार्थी अधिकारसँग जोडिएको छ । त्यसैले नेतृत्वले एउटा माग पूरा भएपछि अर्को व्यापक प्रश्नतर्फ आन्दोलनलाई लैजान सक्नुपर्छ । यही क्षमतालाई राजनीतिक आन्दोलनको निरन्तरताका रूपमा बुझ्न सकिन्छ ।

पछिल्लो समय झारखण्डमा भइरहेको विद्यार्थी तथा रोजगारीका आकाङ्क्षीहरूको आन्दोलनमा पनि नेहा बोरा सहभागी भएकी छन् । यसले उनको सक्रियता दिल्लीको जन्तर–मन्तरसम्म मात्र सीमित नरहेको देखाउँछ ।

नेपालका प्रगतिशील विद्यार्थी सङ्गठनका लागि एउटा प्रश्न

भारतको विद्यार्थी आन्दोलनको चर्चा गर्दा स्वाभाविक रूपमा नेपालको विद्यार्थी राजनीतिसँग तुलना गर्नुपर्ने अवस्था आउँछ ।

नेपालमा पनि भ्रष्टाचार, बेथिति, बेरोजगारी र राज्यका गलत नीतिविरुद्ध युवाहरू तथा विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन् । पछिल्लो जेन्जी आन्दोलनले पनि युवाहरूको असन्तुष्टि र विद्रोही चेतनालाई सतहमा ल्यायो ।

तर प्रश्न उठ्छ—त्यस्ता आन्दोलनमा नेपालका प्रगतिशील विद्यार्थी सङ्गठनहरूको प्रभावशाली भूमिका किन देखिन सकेन ? आन्दोलनमा युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा आउँदा प्रगतिशील विद्यार्थी सङ्गठनहरू उनीहरूको विश्वास जितेर नेतृत्वदायी भूमिकामा पुग्न सके कि सकेनन् ?

यो प्रश्नलाई केवल सङ्गठनात्मक कमजोरीका रूपमा हेरेर पुग्दैन । यसको पछाडि वैचारिक, राजनीतिक र सङ्गठनात्मक प्रश्न जोडिएका छन् ।

आफ्नो राजनीतिक पार्टी सत्तामा हुँदा विद्यार्थी सङ्गठनको भूमिका कमजोर हुने, स्ववियु निर्वाचनमा विजय प्राप्त गरेपछि पनि विद्यार्थीका वास्तविक समस्यामा प्रभावकारी हस्तक्षेप गर्न नसक्ने, आन्दोलनलाई नियमित सङ्गठनात्मक गतिविधिको रूपमा मात्र बुझ्ने र नयाँ पुस्ताको असन्तुष्टिसँग वैचारिक संवाद गर्न नसक्ने प्रवृत्तिले प्रगतिशील विद्यार्थी सङ्गठनहरूलाई आम विद्यार्थीबाट टाढा बनाउने खतरा रहन्छ ।

फलस्वरूप, जब कुनै स्वतःस्फूर्त विद्रोह उत्पन्न हुन्छ, त्यहाँ प्रगतिशील सङ्गठनहरू नेतृत्वमा होइन, दर्शकको भूमिकामा सीमित हुने अवस्था आउन सक्छ । यो गम्भीर आत्म समीक्षाको विषय हो ।

भारतबाट मैले देखेको विद्यार्थी राजनीति

भारतको दिल्ली , लखनउ  गोरखपुर र कानपुर विश्वविद्यालयमा अध्ययन गरिरहँदा मलाई विभिन्न भारतीय विद्यार्थी सङ्गठनहरूसँग जोडिने अवसर प्राप्त भएको थियो ।

लखनउ विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा त्यहाँका प्रगतिशील विद्यार्थी सङ्गठनहरूले सञ्चालन गर्ने नाटकहरूमा मेरो पनि केही भूमिका हुने गर्दथ्यो । दिल्ली विश्वविद्यालयमा हालका एमाले नेता डा दीपक भट्ट र म सँगै पढ्थ्यौ । सो अवसरमा आइसाका थुप्रै  विद्यार्थी नेताहरू सँग सम्पर्क तथा वैचारिक बहस भइरहन्थे । गोरखपुरमा दिशा छात्र सङ्गठनसँग  जोडिँदै थुप्रै कार्यक्रमहरूमा सहभागी भइयो । 

   राजनीतिक तथा सैद्धान्तिक विषयमा केही मतभिन्नता हुनु स्वाभाविक थियो । तर उनीहरूको राजनीतिक इमानदारिता, निस्वार्थ भावना र निरन्तर सक्रियताले मलाई प्रभावित गरेको थियो ।

उनीहरू विद्यार्थी राजनीतिलाई केवल चुनावका बेला गरिने गतिविधिका रूपमा लिँदैनथे । विश्वविद्यालयको कक्षा, पुस्तकालय, सडक, सांस्कृतिक कार्यक्रम, नाटक, बहस र आन्दोलन—सबैलाई विद्यार्थी राजनीतिसँग जोड्ने प्रयास गर्थे ।

त्यसले मलाई एउटा कुरा सिकायो—

विद्यार्थी आन्दोलन केवल नाराले निर्माण हुँदैन । त्यसका लागि निरन्तरता चाहिन्छ, सङ्गठन चाहिन्छ, अध्ययन चाहिन्छ, सांस्कृतिक हस्तक्षेप चाहिन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, विद्यार्थी र समाजप्रति इमानदार प्रतिबद्धता चाहिन्छ ।

भारतका प्रगतिशील विद्यार्थी सङ्गठनहरूको प्रभाव निर्माण हुनुको पछाडि यही निरन्तरता एउटा महत्त्वपूर्ण कारण हो भन्ने मेरो अनुभव छ ।

नेहा बोरा : एउटा व्यक्तिभन्दा ठुलो प्रश्न

नेहा बोराको मूल्याङ्कन गर्दा उनलाई केवल एउटा विद्यार्थी नेतृका रूपमा हेर्नु पर्याप्त हुँदैन ।

उनको स्थापित व्यक्तित्वले भारतको प्रगतिशील विद्यार्थी आन्दोलनका अगाडि रहेको सम्भावनालाई पनि देखाउँछ । एउटा रङ्गकर्मी विद्यार्थी, सामाजिक प्रश्नसँग जोडिन्छिन् । सामाजिक प्रश्न राजनीतिक चेतनामा बदलिन्छ । राजनीतिक चेतना सङ्गठनसँग जोडिन्छ । सङ्गठनले आन्दोलन निर्माण गर्छ । आन्दोलनले नयाँ नेतृत्व जन्माउँछ । नेहा बोरा यही प्रक्रियाबाट विकसित भएको नेतृत्वको एउटा उदाहरण हुन् ।

तर उनको सफलता केवल व्यक्तिगत प्रतिभाको परिणाम होइन । त्यसका पछाडि एउटा राजनीतिक सङ्गठन, विद्यार्थी आन्दोलनको लामो परम्परा, वैचारिक प्रशिक्षण, सङ्गठनात्मक अभ्यास र निरन्तर सङ्घर्षको पृष्ठभूमि छ ।

त्यसैले नेपालका प्रगतिशील विद्यार्थी सङ्गठनहरूले नेहा बोरालाई केवल ‘चर्चित विद्यार्थी नेतृ’का रूपमा हेरेर पुग्दैन । उनको नेतृत्व निर्माण भएको सङ्गठनात्मक र राजनीतिक प्रक्रियाबाट पनि सिक्नुपर्ने आवश्यकता छ ।

अन्त्यमा

सत्ताको विरुद्ध आक्रोश हुँदैमा, लामो भोक हडताल गर्दैमा वा राम्रो भाषण गर्दैमा मात्र सफल नेता बन्न सकिँदैन । नेतृत्वका लागि विश्वास, विचार, सङ्गठन, निरन्तरता, त्याग र जनतासँगको सम्बन्ध आवश्यक हुन्छ ।

नेहा बोराको पछिल्लो उदयले भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनमा यस्ता गुणहरूको नयाँ पुस्ता विकसित भइरहेको सङ्केत गरेको छ ।

नेपालका प्रगतिशील विद्यार्थी सङ्गठनहरूले पनि आफ्ना कमजोरीमाथि गम्भीर आत्मसमीक्षा गर्दै नयाँ पुस्तासँग जोडिने, उनीहरूको असन्तुष्टिलाई वैचारिक दिशासहित सङ्गठित गर्ने र विद्यार्थी आन्दोलनलाई व्यापक सामाजिक आन्दोलनसँग जोड्ने प्रयत्न गर्न आवश्यक छ ।

विद्यार्थी आन्दोलन कुनै पार्टीको सहायक मोर्चा हुन सक्छ तर त्यसका साथै यो नयाँ पुस्ताको राजनीतिक चेतना निर्माण गर्ने महत्त्वपूर्ण क्षेत्र पनि हो । भारतमा नेहा बोरा जस्ता नेतृत्वहरू स्थापित हुनु त्यही निरन्तर विद्यार्थी आन्दोलनको परिणाम हो ।

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनको निरन्तर सफलता र नेहा बोरा जस्ता नयाँ पुस्ताका नेतृत्वलाई हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *