फूलबारी

- – कल्पना पौडेल’ जिज्ञासु’
खजुरा बाँके
साना साना बिरुवालाई वरपर सारी
रङ्गीचङ्गी फूल फुल्ने नाम फूलबारी
मेरो घरको फूलबारी हेर्न आऊ साथी
भँवरा र पुतलीले खेल्छन् फूल माथि।।
दिनैभरि पुतली र भँवराका ताँती ।
जुनकिरी बत्ती बाल्दै घुम्ने गर्छ राति ।
पुतलीले फूल चुम्छ रङ्ग छानी छानी।
भँवराले रस चुस्छ मिठो मानी मानी।।
फूलबारीमा गीत गाउने चरी कति जाती
म पनि त्यही फूलबारीमा रमाउँछु साथी।
भाँच्नुहुन्न हाँगाबिँगा चुँड्नुहुन्न फूल ।
कोपिलामै फूल टिपे हुन्छ ठुलो भूल ।
फूलबारी गोडी गोडी हाल्ने गर्छु पानी ।
पुतलीको नाच हेरी रमाउँछे सानी ।
बिहानीको घाम सँगै खोली हेर्छु पर्दा ।
कति राम्रो हाम्रो आँगन फूलबारीले गर्दा।
फूलबारी हेर्न जाऔँ बाटुली र उजेली
ढकमक्क फूलेका छन् जाई-जूही, चमेली।
वर आयो रानी चरी परै बस्यो काग
फूल जस्तै मिली बसौँ मारी रिस राग ।


