अनुभूतिका पानामा प्युठान

 

उत्सुकताको आभास मात्र पनि आफैँमा रमाइलो कुरा । नपुगेको, नघुमेको ठाउँमा हुने कार्यक्रमको निम्तो कसलाई पो विशेष नलाग्ला र ? छुट्टै आकर्षणले रङ्गिदिन्छ मन । यस्ता अवसरलाई सकेसम्म नगुमाउन पाए हुन्थ्यो लाग्छ मलाई पनि । साहित्य परिषद् प्युठानको निमन्त्रणा यसकारण विशेष थियो मेरा लागि । हत्तपत्त जाने निर्णय गरिहालेँ ।

बडादसैँको पूर्वसन्ध्या । काठमाडौँबाट रोल्पाका लागि हिँडेको रात्रिबसमा खचाखच थिए यात्रु । पर्वको रमझमले तानेको मन । कसको अनुहारमा झल्किएको थिएन र घर पुग्ने हतारो ? उनीहरूका संवाद र सुसाइ नै अर्कै । सबैसबै देखिन्थे आफ्नैआफ्नै आतुरीमा, आफ्नैआफ्नै उमङ्गमा । उज्याला अनुहारहरूले भरिभराउ यही बसमा चढेर म प्युठानतर्फ हुइँकिएँ, असोज ९ गते साँझ । मेरो सन्दर्भमा यो साहित्यिक कार्यक्रम त केवल एउटा बहाना । मुख्य ध्येय घुम्नु नै थियो । कारण भनिसकेँ, मेरो यो पहिलो प्युठानयात्रा ।

त्यही कार्यक्रममा सहभागी हुन हिँडेका थिए, मजस्तै अन्य केही निम्तालुहरू पनि । यस्ता साथीहरू कोही काठमाडौँबाट र कोही मुग्लिङबाट जोडिएका थिए यात्रामा । मेलापात, यात्रा, उत्सव, जहाँ पनि परिचित पात्रहरू भेटिनु आफैँमा सुखद कुरा । यस्तोमा थपिँदै जान्छ अझै असली मज्जाको रङ । समीर सिंह, भावेश भुमरी र आविष्कार कला । यी तीनै जना प्युठानी प्रतिभाको साथ पाउनु एउटा अर्को संयोग । उनीहरूले यात्रामा राम्रो सहजीकरण गरे, आयोजकका तर्फबाट ।

लामो दुरीको यात्रा । हुइँकिरहन्छ बस एकतमासले । एकरसताको कैदी भइरहँदा कसलाई पो पट्यार नलाग्ला र ? समय कटाउने बहाना नै सही, बेलाबेलामा हामी मज्जैले गफिन्छौँ । ठट्टा र हाँसो त झन् पट्यार हटाउने ओखती । जे होस्, रुचि मिल्ने साथीहरू सँगै हुँदा लामो यात्रा पनि पट्यारलाग्दो नहुने रहेछ ।

दाङको भालुबाङ, त्यसको केही पर ददेरी । हो, त्यहीँबाट सुरु हुन्छ प्युठानी परिदृश्य । रातभर निरन्तर यात्रा । बिहानतिर मात्र हामीले प्युठानको भूमिलाई स्पर्श गर्न सकेका थियौँ । हाम्रो गन्तव्यउन्मुख भूगोलको एकापट्टि मोहोडा । त्यसको पनि अलिकति साक्षात्कार । तर अनायासै मनमा उज्यालोको आभास छिरिसकेको थियो ।

बिहानी घामका कलिला किरणहरूसँगै प्युठानी परिवेशमा रम्न थाले आँखाहरू । रातभरिको यात्राको थकान पनि सायद गायब हुने कोसिसमा थियो । प्रकृतिको कञ्चन सुगन्ध नै त्यस्तै । बाङ्गेसाल भन्ने ठाउँ कटेपछि माडीको तिरैतिर बसको यात्रा अगाडि बढ्दै गयो । प्राकृतिक दृश्यहरूमा नजरलाई एकाकार गराउँदै गन्तव्यतर्फ गतिशील भइरह्यो यात्रा ।

स्वर्गद्वारी, प्रसिद्ध एक पर्यटकीय गन्तव्य । यसको फेदीतिर रहेछ भिङ्ग्री बजार । आउजाउ गर्ने यात्रु र स्थानीयलाई खानाखाजा खुवाउन तल्लीन सानोसानो बजार । रोल्पा जाने बसबाट बिहान १० बजे यहीँ ओर्लियौँ हामी । प्युठान साहित्य परिषद्का अध्यक्ष नवराज आचार्य हामीलाई पर्खिंदै रहेछन् । उनले खानपिन र केही समय आराम गर्ने प्रबन्ध मिलाए, त्यहीँको एक होटेलमा । स्वस्थ, स्वादिष्ट खाना अनि स्वच्छ, शीतल परिवेशको सुस्ताइ । तन र मन दुवैमा महसुस भयो, भरपुर ताजापन । त्यति भएपछि घुमफिरमा किन ढिलाइ ? हामी लाग्यौँ सारीतर्फ ।

स्थानीय क्षेत्रमा गुड्ने बसबाट हामी गयौँ, अलि अगाडिसम्म । नजिकै देखियो, आफ्नै निरन्तरताको लयमा मग्नमस्त माडी नदी । उसको सङ्गीतमा अलिअलि ज्यान हल्लियो झोलुङ्गे पुलबाट पारि तर्दा । एकैछिन हिँडेपछि हामी एउटा रमाइलो ठाउँमा पुग्यौँ । त्यो ठाउँको नाम सारी । आहा, कस्तो गज्जबको भूबनोट दृश्य ! कलात्मक आकृतिका माटोका ढिस्काहरू रहेछन् त्यहाँ, अनगिन्ती । मूर्त, अमूर्त अनेक बुट्टा र कलाले सजिएका । कुनैकुनै शिवलिङ्गजस्ता, कुनैकुनै चाहिँ घोप्टो पारी राखिएका ठुलाठुला थुन्से, डोका र सोलीजस्ता । टाढाबाट झट्ट हेर्दा मन्दिरै मन्दिरका लहरजस्ता देखिने । रातो माटोका ढिस्काढिस्कीभित्र धेरै ओटा खोच र सुरुङहरू पनि बनेका रहेछन् । एरात्तै, प्रकृतिका कलाकारिता पनि कस्ताकस्ता ! यहाँका दृश्यले रोचक अनुभूति गराए ।

पेसाले इन्जिनियर पनि हुन्, युवा स्रष्टा आविष्कार कला । उनीसँगै थिएँ म । कुराकानीका क्रममा उनीसँग पनि सारीको विषयमा सोधेँ मैले । ‘माटोलाई पानीले क्षयीकरण गर्दा अनौठो किसिमले बनेका भूआकृतिहरू हुन् यी’, उनले भने, ‘पछिल्लो समय यसलाई हेर्न आउने पर्यटकहरू बढ्न थालेका छन् । यस्तो प्राकृतिक बनोटकै कारण यो ठाउँ प्युठानको एउटा पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ ।’

मनको एउटा छेउमा प्रश्न उब्जिन्छ, यी माटोका आकृतिहरूलाई वर्षौंवर्षपछि पनि यस्तै रूपमा देख्न पाइएला कि नपाइएला ? समयसमयमा हुने पानीको क्षयीकरणको असर त हाम्रो अनुमानभन्दा टाढाका कुरा । के थाहा, भविष्यमा यी आकृति अझै फरक रूपमा पो देखिएलान् कि ? अथवा, यी आकृति नै हराएर यहाँको हालको परिचय नै मेटिन पो सक्छ कि ? रहस्यकै गर्भमा छ, यी भूबनोटका भविष्य । हुन त परिवर्तनशीलता नै समयको विशेषता । कसैले चाहेर वा नचाहेर रोकिने भए पो ।

सारीको सौन्दर्यमा भुल्दा दिन ढल्किन लागेको पत्तो पाइएन । आकाशमा एक जुवा घाम बाँकी थियो होला, हामी त्यहाँबाट फर्किंदा । यो कलामय भूबनोट दृश्य अवलोकनपछि स्वर्गद्वारीतिर लागियो । मनोरम दृश्यमा रम्ने र त्यहीँको धर्मशालामा एक रात बिताउने व्यवस्था मिलाएको रहेछ आयोजक संस्थाले । प्युठानका केही साहित्यकार र साहित्यानुरागीहरू पनि भेटिए भिङ्ग्रीमा । त्यहाँबाट १४ किलोमिटर उकालो बाटो यात्रा गर्नुपर्ने स्वर्गद्वारी पुग्न । त्यसका लागि हामी बसमा अगाडि बढ्यौँ । बसको यात्रा त्यति सहज रहेनछ । केही पर पुगेपछि जिपबाट यात्रा गर्नुपर्ने भयो । रक्तिम परिवारका दुई जना कलाकारहरू पनि थिए म चढेको जिपमा । उहाँहरूले गरिब, मजदुरका जीवन भोगाइ र उन्मुक्तिका जोसिला गीत गाउँदा चालकले पनि जोसिएर गाडी बत्ताएको भान हुँदै थियो । मनमा लाग्यो, यस्ता गीत गाइएको र त्यस्तै विचारको जगमा राजनीति गरिएको पनि दशकौँ बितिसक्यो तर गरिखाने जनताका हालत चाहिँ आज पनि किन ज्यूँका त्यूँ ?

गीतको रन्कोमा रम्दै उकाली र घुम्तीहरू पार भए । झमक्क अँध्यारो हुँदा स्वर्गद्वारीको डाँडामा पुगियो । सिँढीहरूबाट केहीबेर उकालो चढ्न अझै बाँकी नै थियो । त्यहाँको दृश्यमा रमाउँदै २ हजार १ सय २१ मिटर उचाइमा रहेको स्वर्गद्वारी आश्रममा पुगियो । त्यहाँ पुगेपछि झनै चङ्गा भयो मन ।

सात्विक तर स्वादिष्ट । यही नै स्वर्गद्वारी आश्रमको भोजनको विशेषता । आनन्दले पेटपूजा गरियो, आश्रममै । त्यहाँका धर्मशालामा सुत्ने व्यवस्था पनि रहेछ । सामूहिक सुताइका लागि त्यहीँको एउटा ठुलो कोठा रोज्यौँ । निद्रा नपरुन्जेल गफ त चल्ने नै भयो । प्युठानका पूर्वशिक्षक देवेन्द्रकुमार रिजाल पनि हामीसँगै थिए, त्यस रात । गफ गर्न सिपालु मान्छे । कुराको प्रसङ्ग जोड्दै झुसिल्किराबाट पुतली भएपछि धरातल बिर्सिएका केही राजनीतिकर्मीका बेथितिमाथि दोहोलो काढे । जानेभ्याएसम्म हास्यव्यङ्ग्यका बिम्ब पस्किन बाँकी राखेनन् उनले । नहाँस्ने को पो थिए र त्यहाँ ? सबै पेट मिचीमिची हाँसे, उनका कुराले । गुञ्जायमान बनिरह्यो कोठा निकै बेर । गफमा भुल्दाभुल्दै राती कतिबेला निदाइयो, पत्तै पाइएन ।

बिहानै उठेर चारैतिरका दृश्यलाई अवलोकन गर्न व्यस्त भएँ म । आँखै अघिल्तिर टल्किरहने सेता हिमाल । डाँडाकाँडा र हरिया जङ्गल सबै छ्याङ्ग देखिने । मनमा लाग्यो, प्रकृतिको यही सौन्दर्यबाट प्रभावित भएर नै महाप्रभु नामका एक तपस्वी यहाँ आएर बसेका थिए होलान् । खासमा उनले तपस्यास्थलका रूपमा रोजेपछि थप परिचित बनेको हो, यो ठाउँ ।

स्वर्गद्वारी डाँडाबाट केही पर एउटा गुफा रहेछ । बिहान हामी डुल्दै पुग्यौँ त्यहाँ पनि । हरियालीयुक्त परिवेश । चाँप, लालीगुराँस, बाँझ आदिका रूखहरू जताततै । रूखका बोटहरू छिचोलेर नजर डुलाइरहेँ केहीबेर । जताततै रमणीय दृश्य । यस्ता डाँडाका टुप्पामा पुग्दा कसको पो मन नरमाउला र ?

प्रभातकालीन घुमफिर र चियापानपछि बिहान १० बजे स्वर्गद्वारीकै सभाहलमा प्युठान साहित्य उत्सवको उद्घाटन भयो । गीतसङ्गीत, कला, साहित्यका विविध रङ र रसहरूको इन्द्रेणी । यसैले त उत्सवमय बन्ने हो, कार्यक्रम । हेमराज आश्रम र लक्ष्मी रिजालका गीतले मन्त्रमुग्ध बनायो । निकै मिहिन भावमा प्रस्तुत भएका थिए गीति बिम्ब । काठमाडौँ, दाङ, रोल्पाबाट आएका र स्थानीय केही साहित्यकारहरूबाट रचना वाचन भए । स्वर्गद्वारी आश्रमका बटुकहरूले पनि सुनाए आफ्ना कविताका लय । नेपाली साहित्यका गुरुद्वय गोपीन्द्र पौडेल र गितु गिरी, साहित्यकार प्रमोद प्रधानलगायतले पनि साहित्यका विविध पक्षबारे बोले । एकदम सुन्दर कुरा । लाग्छ, सबैसबैतिर यसैगरी मौलाउँदै जानुपर्छ प्राज्ञिक उन्नयनका आयाम ।

कार्यक्रमतालिकामा भोलिपल्टको कार्यक्रम थियो, ओखरकोटमा । त्यसका लागि स्वर्गद्वारीको कार्यक्रम सकेर हामी बास बस्न मच्छीतिर लाग्यौँ । हरिया जङ्गल र पहाड । खोला अनि बेसीतिरका उर्वर फाँट । अझ झिमरुक खोलाको त प्युठानमा आफ्नै जीवन्त चिनारी नै छ । खेतका गराहरूमा पहेँलपुर भएर झुलिरहेका धानका बाला त्यसको एउटा आकर्षक प्रमाण । यस्तै दृश्यहरूमा आँखाहरू नाचिरहे यात्रामा ।

कहिलेकाहीँ मलाई आफ्नै जिन्दगीको यात्राजस्तै लाग्छ, पहाडी बाटोको यात्रा । कतै उकालो, कतै ओरालो । कतै अप्ठ्यारा भूबनोट, कतै सजिला सतह । भेटिइरहने सानाठुला घुम्तीहरू त्यस्तै । पक्की र कच्ची दुवैखाले रोडका यात्राको अनुभव गराउँदै बसले हामीलाई मच्छी पुर्‍यायो, झम्के साँझ हुनै लाग्दा ।

मच्छीमा हामी फरकफरक घरमा बाँडिनुपर्ने भयो, बास बस्न । संयोगले म एक भद्र मानिसको घरमा परेछु । उनको नाम राजेन्द्रविक्रम सिंह । कुराकानीका क्रममा थाहा भयो, नेता मोहनविक्रम सिंहका आठ दाजुभाइमध्ये उनी सातौँ नम्बरका भाइ । बाफरे, आठ जना दाजुभाइ ! जेठा, माइला, साइँला, काइँला, ठाइँला, अन्तरे, जन्तरे र कान्छा । यसमध्ये उनी जन्तरे । अझ दिदीबहिनी कति होलान् ? यति धेरै सन्तान जन्माइहुर्काइ गर्नु अबका मान्छेका लागि सम्भव पनि नहोला कि जस्तो लाग्छ मलाई । यस्ता आमाबुबाका कथाव्यथा सुन्दा अनौठो लाग्ने समय छ अहिले ।

पारिवारिक आत्मीयताको आभास पाइयो, मच्छीको सिंह निवासमा । केही बेर व्यक्तिगत जीवनका उकालीओरालीसम्मै पुगेर कुराकानी गरियो । गजबसँग भावनाको नाता जोडियो बास बस्न पुगेको यो घरमा । छोटै भए पनि बिर्सन नसकिने कुरा भए, यी जन्तरे काकासँग ।

प्युठान पुगेको तेस्रो दिन । निलो आकाशमुनि छरिँदै थिए घामका कलिला किरण । बिहान सात बजे बसमा चढेर मच्छीबाट ढाँड, आहालखोला हुँदै हामी ओखरकोटको उकालो चढ्यौँ । सात किलोमिटरको उकालो र घुम्ती बाटो । डाँडाकाँडा, हरियाली र गाउँबस्ती नियाल्दै पुगियो ओखरकोटको प्रवेशद्वारमा । धेरै ओटा सिँढीहरू पार गरेपछि टुप्पोमा केही समतल भाग भेटियो । त्यहीँ रहेछ, एउटा निकै पुरानो इतिहासको साक्षी ओखरकोट ।

रमाइला दृश्यावलोकनसँगै केहीबेर साङ्गीतिक र साहित्यिक कार्यक्रम भयो त्यहाँ । त्यो अग्लो र सुन्दर थुम्को आफैँ एउटा भव्य काव्यजस्तो लाग्यो मलाई । गायकहरूले गाए जागरणका गीत । कविहरूले सुसेले कविताका बिम्ब । यति भएपछि सायद सम्बोधन पुग्यो कि, डाँडाको त्यो जिउँदोजाग्दो उचाइलाई ?

भुरेटाकुरे राजाहरूका समयका कुरा । यो कोटमा राजाको दरबार थियो रे । पछि परस घर्ती क्षेत्रीले हमला गरी यो राज्य कब्जा गरेको भन्ने सुन्न पाइयो, सिद्धिमान जिसीबाट । उनी यसै क्षेत्रका एक ज्येष्ठ नागरिक । त्यही समयको भनेर कोटमा सुरक्षित राखिएका केही हतियार अझै देख्न सकिन्छ ।

त्यो भव्य थुम्कोबाट फर्किने क्रममा ढाँडमा रोकियौँ हामी, केहीबेर । ढाँड अर्थात् ढुङ्गैढुङ्गाले भरिएको ठाउँ । अनेक आकार र आकृतिका ढुङ्गाहरू । ‘रक गार्डेन’ भन्ने गरिन्छ अचेल यस्ता ठाउँलाई । प्रकृतिका सिर्जना न हुन् । कहिलेकाहीँ यस्ता फरक पृष्ठ पढेर पनि त रमाउन सकिन्छ ।

ओखरकोटबाट ओर्लियौँ फेरि मच्छीमा नै । ढिलासुस्ती गरिएन त्यहाँ, खाना खाउन्जेल मात्र रोकियौँ । त्यसै दिन पुग्नु थियो खलङ्गा । मच्छीबाट बिदा भई त्यतै लागियो । लगभग डेढ घण्टाको बसको यात्रा । हामी प्युठानको सदरमुकाम खलङ्गा पुग्दा दिउँसोको ४ बजिसकेको थियो । जिल्ला समन्वय समिति, प्युठानका प्रमुख धर्मबहादुर जिसीलगायत केही खलङ्गाबासीबाट त्यहाँ पुगेका हामी सबैलाई स्वागत गरियो ।

पञ्चैबाजा र लाखेनाच । रमाइला गीत र नृत्य । खलङ्गाको कार्यक्रममा स्थानीयले सक्दो सांस्कृतिक रङ र रौनक देखाए । पाहुना बनेर पुगेकाहरूको प्रस्तुति त छँदै थियो ।

दिन ढल्किसकेको थियो, कार्यक्रम सकिँदा । कहाँ जान भ्याइनु अन्त ? त्यस रात खलङ्गाकै होटेलमा बिताइयो ।

खलङ्गा पुग्नु र मल्लरानी नघुमी फर्किनु ! के यो सुहाउने कुरा हो र ? अहँ, होइन । भोलिपल्ट बिहान सबेरै उठियो । नउठेकालाई उठाइयो । सुर कसिसकेपछि केको बियाँलो ? फटाफट अघि सारिहाल्यौँ पाइलाहरू ।

जनश्रुतिमा बाँचेकी पात्र, मल्लरानी । प्राचीन समयमा उनकै दरबार रहेको रमणीय थुम्को छ, खलङ्गामाथितिर । उकालो लाग्दै गयौँ हामी । अहिले यो ठाउँ मल्लरानी डाँडाका नामले चिनिन्छ । त्यही डाँडाको टुप्पोलाई ताकेर हामी हिँड्दै गयौँ ।

खलङ्गाबाट करिब ४० मिनेटको हिँडाइपछि पुगियो, थुम्काथुक्कीकी रानीजस्तै मल्लरानीमा । नामजस्तै सुन्दर ठाम । प्युठानको एउटा पर्यटकीय गन्तव्यको चिनारी बनाएको छ यो थुम्कोले पनि । टुप्पातिर केही समतल भाग पनि रहेछन्, सानासाना घाँसे मैदानजस्ता । यहाँबाट धेरै डाँडाकाँडा र बेसीका भूभाग मज्जाले देखिँदा रहेछन् । स्वच्छ, शान्त र शीतल परिवेश । सिर्रसिर्र बहने हावा । बिहानै यहाँ डुल्दा र दृश्यावलोकन गर्दा मनमा गहिरो आनन्द महसुस भयो ।

मल्लरानी नजिकैको एउटा गाउँ मरन्ठाना । साहित्यकार भावेश भुमरीको गाउँ । हामीलाई प्युठान घुम्न मेलोमेसो मिलाउने आयोजकमध्येकै एक सदस्य पनि हुन्, उनी । आफू जन्मीहुर्केको गाउँ कसलाई पो प्यारो नलाग्ला र ? घरगाउँ देखाउन र बिहानको खाजा आफ्नै घरमा खुवाउन चाहे उनले । त्यसका लागि उनी हामीभन्दा पहिल्यै पुगेर तयारी गरिसकेका रहेछन् । भोक लागेको बेला खिर नै खाजा । यो त गज्जब कुरा भएन र ? थपीथपी खाइयो खिर र तरकारी ।

पहाडको माथितिर भए पनि समतल परेका केही भूभाग । उर्वर र हराभरा उस्तै । मान्छेका मनलाई उज्यालो बनाउन अघिल्तिर मुस्कुराइबस्ने हिमाल । रमाइलो लाग्यो मरन्ठानाको परिवेश ।

केही समय भुमरीको घरको पारिवारिक आत्मीयतामा रमाएपछि हामी झर्‍यौँ खलङ्गा । बाग्दुलामा आयोजित हुँदै थियो अन्तिम दिनको कार्यक्रम । त्यहाँ सहभागिता जनाएर त्यसै दिन काठमाडौँ फर्किने योजना हाम्रो । विलम्ब गर्ने कुरै भएन । सिधै लागियो कार्यक्रम स्थलतिर ।

प्युठानको एक व्यापारिक केन्द्र बाग्दुला । व्यापारिक चहलपहलमै व्यस्त देखिनु उसको विशेषता । बजार नजिकैको एक विद्यालयको प्राङ्गण भने फरक रौनकमा रम्दै थियो, त्यस दिन । नितान्त कवितामय, सङ्गीतमय र नृत्यमय । उल्लास र आकर्षण नै अर्कै । कलासाहित्यका पारखीहरू जम्मा भएका थिए, ठाउँठाउँबाट । त्यहाँ जिल्लास्तरीय कविता प्रतियोगिता पनि हुँदै थियो । प्युठानी प्रतिभाहरू कस्सिएका थिए, कविताका रङ र रस पस्कन । दिनैभर बाग्दुला मुस्कुराइरह्यो सिर्जनाका बान्कीहरूमा ।

कार्यक्रम सकिनेबित्तिकै एक निम्तालुको नाताले विनयी भावमा मैले हात जोडेर भनेँ, ‘यस पटकलाई बिदा पाऊँ प्युठान !’

अनुभूतिका पानामा प्युठानको रमाइलो बोकेर म काठमाडौँ फर्किएँ, रात्रिबसमा सर्रसर्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *