बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन

काठमाडौं। सिर्जना डबलीद्वारा स्थापित बाल सिर्जना डबलीको आयोजनामा “बाल प्रतिभा कार्यक्रम–२०८३” अन्तर्गत बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित भर्चुअल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता ममता रावतले गरेकी थिइन् भने समीर सिंह, अध्यक्ष, सिर्जना डबली प्रमुख अतिथि रहेका थिए। वरिष्ठ बाल साहित्यकार प्रा.डा. ध्रुवकुमार घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी भई बाल स्रष्टाहरूका रचनामाथि समीक्षात्मक टिप्पणी तथा प्रशिक्षणमूलक सुझाव दिएका थिए।

कार्यक्रममा सिर्जना डबलीका इन्चार्ज रामप्रकाश पुरी, प्रगतिशील साहित्यकार मोहनविक्रम सिंह, सल्लाहकार रामदेव पाण्डे, बाल सिर्जना डबलीकी इन्चार्ज तथा सिर्जना डबलीकी उपाध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’, उपाध्यक्षद्वय जगतप्रसाद रेग्मी र प्रदीप प्रधान, महासचिव भीष्म जोशी, सचिव वैरागी जेठा तथा कोषाध्यक्ष ऋतु केसी लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन अग्रिम सापकोटाले गरेका थिए भने समृद्धि प्याकुरेलले स्वागत मन्तव्यसहित कविता वाचन गरेकी थिइन्। कार्यक्रम राष्ट्रिय गानबाट औपचारिक रूपमा अगाडि बढाइएको थियो।

रचना वाचन सत्रमा  हितेश पौडेल, शिशिर पराजुली, स्पर्श अधिकारी, दीक्षा महतो, प्रसिद्धि भण्डारी, सान्वी जोशी, दिपिशा महतारा, सृष्टि शाही, एलिसा मगर, मनीषा उपाध्याय, नविन रावत, सुष्मा परियार,अर्चना शर्मा (पूर्वी सिक्किम), अनुराग घिमिरे तथा कार्यक्रमकी अध्यक्ष ममता रावतले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए। सहभागी बाल स्रष्टाहरूका सिर्जनाले बाल साहित्यप्रतिको रुचि, कल्पनाशीलता र सिर्जनात्मक क्षमताको प्रभावशाली परिचय दिएका थिए।

विशिष्ट अतिथि प्रा.डा. ध्रुवकुमार घिमिरेले प्रस्तुत कविताहरूको समीक्षात्मक विश्लेषण गर्दै भाषा, प्रस्तुति, विषयवस्तु र सिर्जनात्मक विकासका विविध पक्षमा उपयोगी सुझाव प्रदान गरेका थिए। उनले बाल साहित्यको विकासमा यस्ता नियमित सिर्जनात्मक कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताए।

प्रमुख अतिथि समीर सिंहले आफ्नो मन्तव्यका क्रममा बाल प्रतिभाको विकासका लागि सिर्जना डबली निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै सिर्जना डबलीको आधिकारिक वेबसाइट  srijanadabali.com को औपचारिक विमोचन गरेका थिए। उनले डिजिटल माध्यममार्फत नेपाली साहित्यलाई विश्वव्यापी बनाउने अभियानमा वेबसाइटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

बाल सिर्जना डबलीकी इन्चार्ज कल्पना पौडेल ‘जिज्ञासु’ले शुभकामना मन्तव्य व्यक्त गर्दै बाल स्रष्टाहरूको उत्साहजनक सहभागिताप्रति खुशी व्यक्त गरिन् र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिइन्।

कार्यक्रमको अन्त्यमा अध्यक्ष ममता रावतले अध्यक्षीय मन्तव्यसहित आफ्नै कविता वाचन गर्दै बाल स्रष्टाहरूलाई निरन्तर अध्ययन, सिर्जना र अभ्यासमा लागिरहन प्रेरित गरिन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, बाल स्रष्टा तथा सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन घोषणा गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *