क. शकुन्तलाको बिदाइ : सङ्घर्ष, स्वास्थ्य चेतना र एउटा अमूल्य शिक्षा

-समीर सिंह
क. शकुन्तला रानालाई क्यान्सर रोगले कहिलेदेखि आक्रमण गर्यो, त्यो मलाई ठ्याक्कै थाहा भएन। तर उहाँ कपनस्थित कार्यालयमा बस्न थालेपछि मेरो उहाँसँग नियमित सम्पर्क भइरहन्थ्यो। उहाँको अनुहारमा केही निराशा देखिन्थ्यो। “अझैसम्म रोगको वास्तविक अवस्था पत्ता लागेको छैन” भन्ने उहाँको भनाइ हुन्थ्यो। टिचिङ अस्पतालमा निरन्तर उपचार र परीक्षण गराइरहँदा मैले उहाँलाई शरीरमा देखिएको समस्यालाई गम्भीर रूपमा लिन र रोगको वास्तविक अवस्था पत्ता लगाउन सुझाव दिइरहेको थिएँ।
मैले उहाँलाई एक पटक दिल्लीको एम्स अस्पतालमा गएर परीक्षण तथा उपचार गराउन आग्रह गरेको थिएँ। रोगको स्वरूप र अवस्था स्पष्ट रूपमा पत्ता लागेमा त्यहीअनुसार उपचार अघि बढाउन सहज हुने मेरो सुझाव थियो। उहाँ भने आफ्नो घरपरिवारभन्दा पनि सङ्गठनका साथीहरूसँग सल्लाह गरेर निर्णय गर्नुपर्ला भन्नुहुन्थ्यो। अन्ततः उहाँ दिल्ली जानुभयो, तर त्यति बेलासम्म निकै ढिला भइसकेको थियो।
दिल्लीमा उपचारका क्रममा मूलप्रवाहका साथीहरूले ठुलो सहयोग गर्नुभयो। एम्स अस्पतालमा उपलब्ध नभएका केही औषधि, विशेष गरी इम्युनथेरापीका औषधि बाहिरबाट किन्नुपर्ने अवस्था आयो। ती महँगा औषधिका लागि देश–विदेशमा रहेका साथी तथा आफन्तहरूले समेत सहयोग गर्नुभयो। सबैको प्रयास हुँदाहुँदै पनि अन्ततः क्यान्सरलाई पराजित गर्न सकिएन। उहाँको भौतिक शरीर हामीबाट सदाका लागि बिदा भयो।
क. शकुन्तलाको निधनले एउटा गम्भीर प्रश्न पनि उठाएको छ—राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय हामी आफ्नै स्वास्थ्यप्रति कति सचेत छौँ? सङ्गठनको जिम्मेवारी, सङ्घर्षका कार्यक्रम र सामाजिक काममा जहाँसुकै पुग्ने, तर आफ्नै शरीरको नियमित स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्ति धेरै कार्यकर्तामा देखिन्छ। शरीरमा पीडा हुँदा पनि सामान्य औषधि वा पेनकिलर खाएर काम चलाउने बानी हुन्छ। विशेष गरी महिला कार्यकर्ताहरूले स्तन तथा पाठेघरसँग सम्बन्धित स्वास्थ्य समस्याको नियमित परीक्षणमा अझ बढी ध्यान दिन आवश्यक छ।
स्वास्थ्यप्रति सचेत हुनु आन्दोलन र सङ्गठनप्रतिको जिम्मेवारीकै एउटा हिस्सा हो। आफ्नो शरीरमा देखिएका असामान्य लक्षण, गाँठागुँठी वा लामो समयसम्म रहने पीडालाई बेवास्ता गर्नु हुँदैन। समयमै चिकित्सकको परामर्श, आवश्यक परीक्षण र उपचार गराउन सके धेरै रोगको जोखिम कम गर्न सकिन्छ। खानपान, नियमित जीवनशैली र स्वास्थ्य परीक्षणलाई पनि हामीले आफ्नो राजनीतिक तथा सामाजिक जीवनकै अभिन्न अङ्ग बनाउनुपर्छ।
क. शकुन्तला अब हामीबिच हुनुहुन्न। उहाँले आफ्नो स्वास्थ्यप्रति कति ध्यान दिनुभयो वा दिनुभएन भन्ने समीक्षा गर्नु अहिलेको विषय होइन। तर उहाँको असामयिक निधनबाट हामीले महत्त्वपूर्ण शिक्षा लिनै पर्छ। उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिरहँदा सङ्गठन, आन्दोलन र समाजप्रतिको जिम्मेवारीसँगै आफ्नो शरीर र स्वास्थ्यलाई पनि माया गर्छौँ, समयमै स्वास्थ्य परीक्षण गराउँछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न आवश्यक छ।
भूमिकास्थान,असुरकोटमा आजभन्दा करिब ५५ वर्षअघि जन्मिनुभएकी क. शकुन्तला रानाले जीवनभर महिला अधिकार, सामाजिक विकृति र विसङ्गति विरुद्ध सङ्घर्ष गर्नुभयो। २०७४ सालको स्थानीय निर्वाचनमा भूमिकास्थान नगरपालिकाको उपप्रमुख पदमा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बन्नुभयो। निर्वाचनमा पराजित भए पनि उहाँको राजनीतिक सक्रियतामा कहिल्यै कमी आएन। अन्तिम समयसम्म पनि उहाँ अखिल नेपाल महिला सङ्घको महासचिवका रूपमा क्रियाशील रहनुभयो।
उहाँको उपचारका क्रममा सिङ्गो पार्टी, अखिल नेपाल महिला सङ्घ, मूलप्रवाह एकता समाज तथा विभिन्न सङ्घ–संस्था, साथीभाइ र आफन्तहरूले आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुभयो। सबैको अथक प्रयासका बाबजुद उहाँलाई बचाउन सकिएन। तर उहाँको भौतिक शरीर हामीबिच नभए पनि उहाँका विचार, सङ्घर्ष, निस्वार्थ साङ्गठनिक भूमिका र महिला अधिकारप्रतिको योगदान सधैँ स्मरणीय र अमर रहनेछ।
क. शकुन्तला रानाप्रति भावपूर्ण श्रद्धाञ्जली।


