अपराधी

एक देशमा यस्तो जमाना थियो, जहाँ कानुन राजामा निहित थियो। सम्पूर्ण न्यायालयका निर्णय राजाबाटै गरिन्थे।

एक दिन एक जना ज्यानमारा अपराधीलाई राजासामु उभ्याइयो। राजाले ज्यानमारा अपराधी चक्रेलाई सोधे,
“तैंले मान्छे मारेकै होस्?”
चक्रेले भन्यो,
“हो, सरकार।”
“किन मारिस् त?”
“त्यसले मैले भनेको मानेन। पैसा माग्दा पैसा पनि दिएन। एकपटक टाउकोमा हानेको थिएँ, प्राण गयो। अरू मैले केही अपराध गरेकै छैन।”
राजाको नजिकै एक जना मन्त्री पनि थिए। राजा के निर्णय गर्छन् भनेर उनी ध्यानपूर्वक सुनिरहेका थिए। ती मन्त्री राजाका अत्यन्त प्रिय पात्र थिए।
राजा रिसाउँदै बोले,
“यसलाई मृत्युदण्ड दिनू!”
अपराधी आत्तियो। मनमनै सोच्यो—‘मर्ने नै भएँ, अब राजालाई बेसरी गाली गरेर मर्नुपर्ला।’
ऊ भन्न थाल्यो,
“कुकुरजस्तो राजा रहेछ! एकचोटि झुक्किएर टाउकोमा हानेको मान्छे मरेको भन्दा पनि कुरा नबुझ्ने? यस्तो पनि के राजा?”
ऊ राजालाई गाली गर्दै गयो।
राजा रिसले जुरुक्क उठे र बाहिरिए।
केही बेरपछि राजा फेरि भित्र आए। उनले आफ्ना विश्वासिला मन्त्रीलाई सोधे,
“अरू यसले के–के भन्यो?”
मन्त्रीले राजालाई भने,
“महाराज, ऊ त साह्रै बुद्धिमान रहेछ। यस्ता रमाइला र बुद्धिमान राजा भए पो जनताले सुख पाउँछन्। यस्ता राजाको राजगद्दी सदैव चलिरहोस्, जनताको माया पाइरहनुहोस् भनेर पन्ध्र मिनेटसम्म तपाईंकै गुनगान गरिरह्यो।”
राजा मुसुक्क हाँसेर भने,
“यसलाई छोडिदिनू।”
मन्त्री अपराधीको पछि–पछि गए र भने,
“हेर चक्रे, अहिले पनि तेरो ज्यान मैले जोगाइदिएँ। पहिलेको पाँच लाख रुपैयाँ बाँकी छ। अहिलेको पाँच लाखसमेत गरेर जम्मा दश लाख रुपैयाँ भयो। मेरो घरमा आएर बुझाउनू।”
चक्रेले भन्यो,
“हस्।”
धेरै दिनपछि अपराधी मन्त्रीको घरमा पुग्यो। उसले नोट गन्दै–गन्दै मन्त्रीसामु राख्दै गयो।
मन्त्रीले नोटको चाङ देखेर लोभले आँखा चम्काए। तर नोटको चाङ पूरा देख्न नपाउँदै उनी त्यहीँ बेहोस भएर ढले।
अपराधीले फेरि सबै रुपैयाँ उठायो र कुलेलम ठोक्यो।



