परदेशी छोरो म

- * कल्पना पौडेल ‘जिज्ञासु’
बाँके
“म फर्किएर आउँछु”
समयसीमा र वाचा मिश्रित शब्द ओकल्दै
निस्किएको थिएँ एक बिहान।
झोलामा थिए—
आमाले राखिदिएको बासी रोटी
र भुटेका मकै,
बाबुले दिनुभएको बाटो खर्च।
मनभरि थिए सपनाका अङ्कुरण।
त्यस दिन
जन्मथलोको माटोले मेरो पैताला चुमेर भनेको थियो—
“चाँडै फर्कनू।”
मैले धर्ती ढोगेर बेस्सरी सुँघेको थिएँ माटोको बास्ना।
कसैले दिएको चिनो रुमालमा
एकमुठी माटो पोको पारेर
पाइला काढेँ सखारै।
तर आज,
बर्सौँ भयो, म फर्किएको छैन।
न त्यो झोला बदलिएको छ,
न सपना बदलिएका छन्।
थाकेको मनले सुँघ्ने गर्छु
एकमुठी माटो।
हरर बास्ना आउँछ—मातृभूमिको ममता।
त्यही रुमालले गाउँछ विरहका गीत,
बल्झाउँछ धनविनाको मनले गरेको प्रेम,
झस्काउँछ बुबाको चाउलो अनुहार
र आमाको फाटेको मजेत्रोले
करौँती बनेर रेटिन्छ हृदय।
परदेशको आकाशमुनि
आँखाले खोजिरहन्छ आफ्नोपन।
पाउँछु एकतमासको एक्लो मन।
बिरानो सहरमा कसैले “दाजु” भन्दा
आँखा रसाउँछन्।
कसैले “काका” भन्दा
मन भक्कानिन्छ।
म छोरो बनेर बिदेसिएको थिएँ,
छोरो नै छु आजसम्म,
ठान्छु—म छोरो नै हुँ।
समय खर्लप्पै निलिसकेछ परदेशले।
बदलिसकेछ कलकलाउँदो शरीर,
टाँसिदिएछ बुढ्यौलीका चिन्ह।
मेरा बा–आमा
मेरै बाटो हेरेर बसेका होलान्—
छोरो फर्किन्छ भनेर।
छोरो फर्कने आशामा
बा–आमाले जुग बिताए।
एउटा निस्तो सपना बोकेर
मैले जुग बिताएँ।
शरदका काँसझैँ बदलिए कपाल,
माले गोरुका काँधझैँ बने शरीरका छाला।
अझै कतिसम्म हेर्नुपर्ने हो
बा–आमाले छोरो फर्किने बाटो?
कति कसला चपाउनुपर्ने हो
मैले सपनाको खण्डहरमा?
गम खान्छु—
चिठी बनेर फर्कने हुँ
वा पार्थिव देह?
कटक्क काटिन्छ हियो।
हेर्छु आकाशमा
र नियाल्छु जूनलाई।
जूनको यात्रा निरन्तर छ।।


