एआईको नेतृत्व मानिसले गर्ने कि एआईले मानिसको ?

– समीर सिंह
२१औँ शताब्दीमा सूचना र प्रविधिले मानिसलाई पछ्याइरहेको मात्र छैन, मानिसको जीवन, सोचाइ र कार्यशैलीलाई समेत तीव्र गतिमा प्रभावित गरिरहेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) अब हाम्रो सहयात्री बन्न खोजिरहेको छ। यस्तो अवस्थामा एआईसँग सम्बन्ध विच्छेद गर्न सम्भव छैन, तर यसको नेतृत्वलाई आँखा चिम्लेर स्वीकार गर्नु पनि उचित हुँदैन। प्रश्न अब एआई प्रयोग गर्ने कि नगर्ने भन्ने होइन, एआईलाई कसले र कुन उद्देश्यका लागि प्रयोग गर्ने भन्ने हो।
सूचना र प्रविधिको विकासलाई हामीले द्वन्द्वात्मक दृष्टिकोणबाट विश्लेषण गर्न आवश्यक छ। मार्क्सवादी दर्शनले हरेक वस्तु, घटना र प्रक्रियामा सकारात्मक तथा नकारात्मक पक्ष रहने कुरा स्वीकार गर्दछ। यिनै विरोधी पक्षबिचको सङ्घर्ष र अन्तर्क्रियाबाट नयाँ अवस्था जन्मिन्छ। सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकासलाई पनि यही दृष्टिकोणबाट हेर्न सकिन्छ।
सूचना प्रविधि साध्य होइन, साधन हो। समस्या त्यति बेला सुरु हुन्छ, जब साधन नै साध्य बन्न पुग्छ र प्रविधिले मानिसलाई नेतृत्व गर्न थाल्छ। एआई जतिसुकै शक्तिशाली र विकसित भए पनि त्यसलाई मानिसले आफ्नो आवश्यकता, विवेक र सामाजिक उद्देश्यअनुसार नेतृत्व गर्न सक्यो भने प्रविधि मानव हितको शक्तिशाली साधन बन्न सक्छ। तर मानिस स्वयं एआईको निर्देशनमा चल्न थाल्यो भने परिस्थिति उल्टो दिशातर्फ जान सक्छ।
एआईका विषयमा अहिले दुई अतिवादी धारणा देखिन्छन्। एउटा धारणा एआई पूर्णतः गलत हो, यसले सिर्जनात्मकता र मौलिकता समाप्त गर्छ, त्यसैले यसको प्रयोग नै गर्नु हुँदैन भन्ने छ। अर्को धारणा एआईले दिएको सबै कुरा सही हुन्छ, त्यसले भनेको कुरा नै अन्तिम सत्य हो र त्यसलाई जस्ताको तस्तै स्वीकार गर्नुपर्छ भन्ने छ। यी दुवै दृष्टिकोण वस्तुको समग्रता र अन्तर्विरोधलाई नदेख्ने अधिभूतवादी सोच हुन्।
प्रविधिको विकासलाई अस्वीकार गरेर हामी विगतमा फर्किन सक्दैनौँ। केही वर्ष अघिसम्म फेसबुक पोस्टर बनाउन डिजाइनर खोज्नुपर्थ्यो, घण्टौँ समय खर्चिनुपर्थ्यो। भाषा सिक्न वा कम्प्युटर चलाउन निश्चित संस्थामा गएर तालिम लिनुपर्थ्यो। अहिले परिस्थिति बदलिएको छ। आफूलाई आवश्यक परेको डिजाइन, पोस्टर, थम्बनेल, भाषिक अभ्यास एआईको सहायताबाट तत्काल गर्न सकिन्छ। यसले समय, श्रम र खर्चसमेत घटाएको छ।
व्यक्तिगत सिकाइमा पनि एआई उपयोगी सहयात्री बन्न सक्छ। ठुलो समूहमा अङ्ग्रेजी बोल्न हिचकिचाउने मानिसले एआईसँग नियमित संवाद गरेर आफ्नो बोल्ने अभ्यास बढाउन सक्छ। यसका लागि हरेक पटक छुट्टै शिक्षक वा संस्थाको खोजी गरिरहनुपर्ने अवस्था छैन। अर्थात्, प्रविधिले ज्ञान र सिकाइका अवसरलाई पहिलेभन्दा धेरै सहज र पहुँचयोग्य बनाएको छ।
तर एआईको उपयोग गर्नु भनेको त्यसले भनेको प्रत्येक कुरा स्वीकार गर्नु होइन। एआईलाई मालिक होइन, सहयोगी वा कामदारका रूपमा प्रयोग गर्नुपर्छ। एआईले तयार पारेको सामग्रीलाई मानिसले जाँच्नुपर्छ, तथ्यको सत्यापन गर्नुपर्छ र आवश्यकताअनुसार संशोधन गर्नुपर्छ।
एआईको दुरुपयोगका सम्भावना पनि उत्तिकै गम्भीर छन्। भ्रामक तस्बिर निर्माण गर्ने, गलत तथ्यका आधारमा समाचार तयार गर्ने, मानिसलाई भ्रमित पार्ने सामग्री उत्पादन गर्ने वा एआईले दिएको सूचनालाई कुनै परीक्षणबिना सत्य मान्ने प्रवृत्ति खतरनाक हुन सक्छ। अझ आफ्नो अध्ययन, अनुसन्धान र सिर्जनात्मक कामसमेत पूर्णतः एआईलाई जिम्मा लगाउने हो भने मानिसको मौलिक सोच, अनुसन्धान क्षमता र सृजनशीलता कमजोर हुँदै जान सक्छ।
कुनै डिग्री वा पिएचडीका लागि आवश्यक सम्पूर्ण शोधप्रबन्ध एआईलाई लेख्न लगाएर आफूले त्यसलाई बुझ्ने प्रयाससमेत नगर्ने प्रचलनमा बढ्दै गइरहेको अवस्था छ । विद्यार्थीहरू आफ्नो गृहकार्य एआईलाई लेख्न लगाउने प्रचलन पनि बढिरहेको छ । यो अवस्थामा कागजी प्रमाणपत्रको त्यति धेरै मूल्य नहुन पनि सक्छ । भविष्यमा प्रविधिले कागजी डिग्रीभन्दा मानिसको वास्तविक क्षमता, सृजनशीलता र समस्या समाधान गर्ने सामर्थ्यलाई अझ महत्त्वपूर्ण बनाउने सम्भावना पनि छ।
त्यसैले एआईको विकासले मानव समाजका अगाडि अवसरसँगै चुनौती पनि थपेको छ। चुनौती एआईलाई रोक्नु होइन; यसको शक्ति कसरी मानव हितमा प्रयोग गर्ने भन्ने हो। प्रविधिलाई अस्वीकार गर्नु पनि गलत हो र प्रविधिको अन्धभक्त बन्नु पनि।
मार्क्सवादी दर्शनले हामीलाई वस्तुको सकारात्मक र नकारात्मक दुवै पक्षलाई हेर्न, अन्तर्विरोधलाई पहिचान गर्न र परिवर्तनको गतिलाई बुझ्न सिकाउँछ। यही दृष्टिकोणबाट एआईलाई हेर्ने हो भने यसको विकास मानव श्रमलाई विस्थापित गर्ने मात्र होइन, मानव क्षमतालाई विस्तार गर्ने माध्यम पनि बन्न सक्छ।
अन्ततः प्रश्न एआई मानिसभन्दा शक्तिशाली हुन्छ कि हुँदैन भन्ने मात्र होइन। मूल प्रश्न हो—एआईको शक्ति कसको हितमा प्रयोग हुन्छ र त्यसको दिशा कसले निर्धारण गर्छ ?
एआईलाई मानिसको मालिक बनाउने होइन, मानव हितको साधन बनाउनुपर्छ। त्यसका लागि प्रविधिको विकासलाई विवेक, सामाजिक उत्तरदायित्व र मानव केन्द्रित दृष्टिकोणले नेतृत्व गर्न आवश्यक छ। यही अर्थमा एआईमाथि मार्क्सवादी दर्शनको आलोचनात्मक र द्वन्द्वात्मक दृष्टिकोण लागू गर्न सकियो भने सूचना प्रविधिको यो युगले मानव समाजको प्रगतिलाई नयाँ उचाइमा पुर्याउन सक्छ।
प्रविधि अगाडि बढिरहन्छ; अब प्रश्न यति मात्र हो—त्यसको नेतृत्व मानिसले गर्ने कि मानिसको नेतृत्व प्रविधिले गर्ने ?


