बा मालिक कि सहयात्री ? : परिवारदेखि लेनिनसम्म

 

बा भनेको कुनै पनि परिवारको लागि निकै सम्मानित शब्द हो ।  यो शब्दसँग गहिरो भावना र सम्बन्ध जोडिएको हुन्छ । तर ‘बा’ भन्दैमा सबै बा एउटै प्रकारका हुँदैनन्। समाजको संस्कृति, परिवारको संरचना र सम्बन्धलाई हेर्ने दृष्टिकोणअनुसार ‘बा’को चरित्र पनि फरक–फरक हुन सक्छ। सामन्ती संस्कृतिले एउटा यस्तो ‘बा’ जन्माउँछ, जो घरको सदस्यभन्दा बढी स्वामीजस्तो हुन्छ। उसको बोली आदेश हुन्छ, उसको निर्णय अन्तिम हुन्छ र उसका अगाडि प्रश्न गर्नु अनुशासनहीनता ठहरिन्छ। त्यस्ता बाका वरिपरि छोराछोरी नागरिक होइन, आज्ञाकारी भक्तजस्ता हुन्छन्। बाले जे भन्यो, त्यसलाई जसरी पनि अनुसरण गर्नुपर्ने संस्कार त्यहाँ विकसित हुन्छ।

तर सामन्ती संस्कृतिको ठिक विपरीत जनवादी संस्कारले ‘बा’लाई स्वामी होइन, परिवारको एउटा जिम्मेवार सदस्यका रूपमा हेर्छ। ऊ परिवारको अगुवा हुन सक्छ, तर सर्वज्ञानी हुँदैन। उसको अनुभव महत्त्वपूर्ण हुन्छ, तर अरूको अनुभवभन्दा माथि हुँदैन। परिवारका निर्णयहरू आदेशबाट होइन, संवाद, छलफल र सहमतिबाट निर्माण हुन्छन्। बा र छोराछोरीबिच प्रश्न गर्न सकिने, असहमति राख्न सकिने र तर्कका आधारमा निर्णयमा पुग्न सकिने वातावरण हुन्छ। नेपाली समाजमा पनि यस्ता सम्बन्धका अभ्यासहरू बिस्तारै विकसित हुँदै आएका छन्।

घरमा ‘बा’को शासन कि परिवारको लोकतन्त्र ?

हामीले आफ्नै वरिपरि देखेका छौँ—धेरै परिवारमा अराजकता, तनाव र अनुशासनहीनता बढ्दै गएको हुन्छ।यसको एउटा कारण परिवारभित्र कायम रहेको सामन्ती संस्कार पनि हुन सक्छ। घरको ‘मुली’ भएको नाममा बाले आफ्नो कुरा मात्र पेलिरहने, आमाको कुरा नसुन्ने, छोराछोरीका प्रश्नलाई महत्त्व नदिने र आफ्ना निर्णयलाई नै अन्तिम सत्य ठान्ने अवस्था सिर्जना भयो भने परिवारभित्र संवादको ठाउँ क्रमशः साँघुरिँदै जान्छ।

बाले घरमा आफूले भनेको कुरा मात्र लागू गराउन खोज्ने, तर आफ्नी श्रीमती र छोराछोरीको कुरा सुन्नसमेत तयार नहुने हो भने परिवारमा हार्दिकता कसरी जन्मिन्छ ? ‘म घरको ठुलो मान्छे हुँ, सबैले मेरो कुरा मान्नुपर्छ’ भन्ने मानसिकताले परिवारलाई बलियो बनाउँदैन; बरु सम्बन्धभित्र दूरी र असन्तोष पैदा गर्न सक्छ।

राजनीतिक भाषामा हेर्दा यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ—केन्द्रीयता के हो ? निर्णयको अधिकार एक ठाउँमा केन्द्रित हुनु मात्र केन्द्रीयता होइन। निर्णय निर्माणको प्रक्रियामा सबैको सहभागिता र निर्णय भइसकेपछि त्यसको कार्यान्वयनबीचको सम्बन्धलाई पनि केन्द्रीयताको प्रश्नसँग जोडेर हेर्नुपर्छ।

नयाँ पुस्तालाई पुरानो आदेशले मात्र चलाउन सकिँदैन

आजको वैज्ञानिक तथा सूचना–प्रविधिको युगमा पुस्ताबिचको ज्ञानको सम्बन्ध पनि फेरिएको छ। हिजो बाबुआमासँग भएको ज्ञान छोराछोरीसँग नहुन सक्छ भन्ने सामान्य धारणा आज त्यति सहज छैन। सूचना प्रविधि, सञ्चार, शिक्षा र सामाजिक चेतनाका कतिपय क्षेत्रमा नयाँ पुस्ता अभिभावकभन्दा अगाडि हुन सक्छ।

बालबालिकाहरू आफ्ना अधिकारबारे सचेत छन्। महिलाहरू आफ्नो आत्मसम्मान, स्वाभिमान र अधिकारबारे बढी सचेत भएका छन्। यस्तो अवस्थामा पुरानो शैलीको उपदेशात्मक पारिवारिक सम्बन्धलाई जस्ताको तस्तै निरन्तरता दिन खोज्दा तनाव उत्पन्न हुन सक्छ।

छोराछोरीको स्वाभिमानलाई अवमूल्यन गर्दै ‘तिमीहरू साना हौ, तिमीहरूले केही बुझ्दैनौ’ भन्ने मानसिकता कायम राख्ने हो भने परिवारभित्र पुस्ताबिचको दूरी बढ्न सक्छ। त्यसैले आजको परिवारलाई केवल उमेरको ज्येष्ठताले होइन, संवाद, अनुभव, तर्क र पारस्परिक सम्मानले सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ।

समस्या आएपछि के गर्ने ?

घरमा कुनै समस्या आयो, नयाँ योजना बनाउनुपर्ने भयो वा आर्थिक निर्णय गर्नुपर्ने भयो भने त्यसबारे परिवारका सदस्यबिच व्यापक छलफल हुनुपर्छ। बाले बनाएको योजना प्रभावकारी हुन सक्छ, तर त्यसको अर्थ छोराछोरीले बनाएको योजना प्रभावकारी हुँदैन भन्ने होइन।

बाको जीवन र जगत्लाई हेर्ने एउटा दृष्टिकोण हुन सक्छ। आमाको अर्को बुझाइ हुन सक्छ। छोराछोरीको अनुभव र सोचाइ अझ फरक हुन सक्छ। फरक–फरक अनुभव, ज्ञान र दृष्टिकोणलाई एउटै टेबलमा राखेर छलफल गर्ने संस्कारले परिवारलाई कमजोर होइन, अझ परिपक्व बनाउन सक्छ। यही अर्थमा परिवारभित्रको व्यापक छलफललाई आन्तरिक जनवादको एउटा अभ्यासका रूपमा बुझ्न सकिन्छ।

स–साना विषयमा समेत परिवारका सदस्यसँग सल्लाह लिने बानीले उनीहरूमा ‘यो मेरो पनि परिवार हो’ भन्ने अपनत्व पैदा गर्छ। निर्णयमा सहभागिता भयो भने जिम्मेवारीको अनुभूति पनि बढ्छ। आफूले बोलेको कुरा सुनिएको छ भन्ने अनुभूति भयो भने निर्णय कार्यान्वयनमा पनि स्वामित्वको भावना पैदा हुन्छ।

आर्थिक पारदर्शिता : विश्वासको आधार

परिवारको आर्थिक पक्ष पनि यसैसँग जोडिएको विषय हो। ‘आफ्नै पैतृक सम्पत्ति हो’, ‘मैले कमाएको सम्पत्ति हो’, ‘मलाई जे मन लाग्छ त्यही गर्छु’ भन्ने सोचले परिवारका अरू सदस्यलाई आर्थिक निर्णयबाट पूर्णतः अलग राख्ने हो भने अविश्वास जन्मिन सक्छ।

परिवारको आय–व्ययका विषयमा सकेसम्म पारदर्शिता हुनुपर्छ। आर्थिक निर्णय, भविष्यका योजना, आवश्यक खर्च र प्राथमिकताका विषयमा परिवारका सदस्यबिच संवाद हुनु आवश्यक हुन्छ। पारदर्शिताले केवल हिसाब देखाउँदैन; यसले विश्वास निर्माण गर्छ। विश्वासले जिम्मेवारी निर्माण गर्छ र जिम्मेवारीले परिवारलाई समृद्धिको बाटोतर्फ डोर्‍याउन सक्छ।

जनवादपछि केन्द्रीयता

अब प्रश्न उठ्छ—परिवारका सबै सदस्यले आफ्नो कुरा राख्ने मात्र हो त ? होइन।

व्यापक छलफलपछि एउटा निर्णयमा पुगिसकेपछि त्यसलाई कार्यान्वयन गर्ने पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यही ठाउँमा केन्द्रीयताको आवश्यकता देखिन्छ। निर्णय हुनुअघि बहस गर्न सकिन्छ, असहमति राख्न सकिन्छ, प्रश्न गर्न सकिन्छ। तर निर्णय भइसकेपछि त्यसको कार्यान्वयनमा इमानदारिता र अनुशासन आवश्यक हुन्छ।

सबै परिस्थितिको मूल्याङ्कन गरेर निर्णय गरिन्छ। त्यसैले एक छिनको जोसमा ठुला–ठुला निर्णय गर्ने, ठुला–ठुला गफ गर्ने तर व्यवहारमा त्यसको कुनै प्रभाव नदेखिने हो भने त्यस्तो निर्णयको अर्थ कमजोर हुन्छ। जीवनमा ठुला ठुला परिवर्तन पनि स–साना कदमबाटै सुरु हुन्छन्। उपलब्ध स्रोत, परिस्थिति, क्षमता र सम्भावनाको मूल्याङ्कन गरेर क्रमशः अघि बढ्नु नै व्यवहारसम्मत बाटो हो।

निर्णयपछि अराजकता होइन, अनुशासन

परिवारले कुनै विषयमा निर्णय गरिसकेपछि त्यसमा चित्त नबुझेको कुरा लिएर छिमेकीकहाँ पुग्दै हिँड्ने, सामाजिक सञ्जालमा परिवारभित्रका हरेक असहमति सार्वजनिक गर्दै हिँड्ने वा सामूहिक निर्णयलाई व्यक्तिगत इच्छाअनुसार व्याख्या गर्ने हो भने त्यसले परिवारभित्रको विश्वासलाई कमजोर पार्न सक्छ।

निर्णय गर्ने तर निर्णयलाई आफ्नो इच्छाअनुसार मात्र लागू गर्ने प्रवृत्ति अनुशासनहीनता हो। निर्णय निर्माणमा जनवाद चाहिन्छ भने निर्णय कार्यान्वयनमा अनुशासन चाहिन्छ। यी दुईमध्ये एउटालाई मात्र समातेर परिवार वा कुनै संस्था व्यवस्थित हुन सक्दैन।

सबै कुरा बाहिर लैजानुपर्ने हुँदैन

परिवारका सबै कुरा सार्वजनिक गर्नुपर्छ भन्ने पनि होइन। परिवारभित्रका कतिपय विषय गोपनीय राख्नुपर्ने हुन्छ। विशेष गरी विवाद र संवेदनशील विषयहरू बाहिर अनावश्यक रूपमा फैलिँदा समस्या समाधान हुनुको सट्टा अझ जटिल बन्न सक्छ।

परिवारका सदस्यबिच भएको विवादलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोज्ने बाह्य पक्षहरू पनि हुन सक्छन्। विवाद चर्काएर आफ्नो प्रभाव बढाउन खोज्ने प्रवृत्तिले परिवारभित्रको दूरी अझ बढाउन सक्छ।

त्यसैले गोपनीयता र पारदर्शिताबिचको अन्तर बुझ्न आवश्यक छ। पारदर्शिता भनेको सबै कुरा सबै ठाउँमा सार्वजनिक गर्नु होइन; सम्बन्धित सदस्यबिच आवश्यक कुरा लुकाएर अविश्वास पैदा नगर्नु हो। त्यस्तै गोपनीयता भनेको गलत काम ढाकछोप गर्नु पनि होइन।

अन्तिम फैसला व्यवहारले गर्छ

विवाद समाधान गर्ने सबैभन्दा बलियो आधारमध्ये एउटा हो—व्यवहार।

बाले भनेको कुरा सही हुन सक्छ। कतिपय अवस्थामा आमाले दिएको सुझाव प्रभावकारी हुन सक्छ। कुनै विषयमा छोराछोरीको प्रस्ताव नै बढी उपयोगी हुन सक्छ। उमेर ठुलो हुँदैमा हरेक विषयमा सही हुने ग्यारेन्टी हुँदैन; उमेर सानो हुँदैमा हरेक सुझाव गलत हुने पनि होइन।

त्यसैले अन्तिम कसौटी व्यवहार हुन सक्छ। कुन प्रस्तावले वास्तविक जीवनमा राम्रो परिणाम दिन्छ? कुन निर्णयले समस्या समाधान गर्छ? कुन उपायले परिवारका सदस्यबिच विश्वास र सहकार्य बढाउँछ? व्यवहारले जुन उपायलाई प्रभावकारी प्रमाणित गर्छ, त्यसबाट सिक्न सकिन्छ। यसरी हेर्दा विवाद समाधानको सूत्र अत्यन्त सरल देखिन्छ—व्यक्तिको हैसियत होइन, व्यवहारको परिणामलाई महत्त्व दिने।

जनवादी केन्द्रीयता : दुई अतिबिचको सन्तुलन

परिवारको सन्दर्भमा गरिएका यी व्याख्याहरूलाई व्यापक राजनीतिक अवधारणासँग जोडेर हेर्दा जनवादी केन्द्रीयताको अवधारणासम्म पुग्न सकिन्छ।

जनवाद मात्र भयो भने निर्णय अनन्त बहसमा अल्झिन सक्छ र कार्यान्वयन कमजोर हुन सक्छ। केन्द्रीयता मात्र भयो भने निर्णय माथिबाट थोपरिने र सहभागिताको ठाउँ साँघुरिने जोखिम हुन्छ। त्यसैले जनवाद र केन्द्रीयता बिच सन्तुलन खोज्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।

यही सन्दर्भमा लेनिनले कम्युनिस्ट पार्टीको सङ्गठनात्मक जीवनलाई व्यवस्थित गर्न जनवादी केन्द्रीयताको सिद्धान्तलाई महत्त्व दिएका थिए। यसको आधारभूत तर्कलाई सरल भाषामा भन्दा—निर्णयअघि व्यापक छलफल र निर्णयपछि अनुशासित कार्यान्वयनका रूपमा बुझ्न सकिन्छ।

परिवारको उदाहरणमा पनि यही द्वन्द्व देखिन्छ। बाले मात्र निर्णय गर्ने हो भने त्यो उपदेशात्मक केन्द्रीयता हुन सक्छ। सबैले मात्र बोल्ने तर कुनै निर्णय कार्यान्वयन नगर्ने हो भने अराजकता उत्पन्न हुन सक्छ। यी दुईबिचको सम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने नै मूल प्रश्न हो।

‘लेनिनको कुरा हामीले किन मान्ने?’

यहाँ अर्को प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ—जनवादी केन्द्रीयता लेनिनको सिद्धान्त हो। लेनिन कम्युनिस्ट नेता थिए। उनी रुसका थिए। त्यसो भए नेपालका परिवार र समाजले उनको अवधारणाबाट किन सिक्ने ?

तर बहस व्यक्तिको राष्ट्रियता वा राजनीतिक पहिचानमा सीमित हुनुपर्दैन। कुनै विचार कहाँ जन्मियो भन्दा पनि त्यस विचारको सामाजिक उपयोगिता के छ? भन्ने प्रश्न पनि महत्त्वपूर्ण हुन्छ। हामी आफ्नै समाजमा जन्मिएका सबै परम्परा सही छन् भनेर स्वीकार गर्दैनौँ। त्यसै गरी विदेशबाट आएको सबै विचार गलत हुन्छ भन्ने पनि आवश्यक छैन।

हिन्दु धार्मिक संस्कार र सामन्ती सामाजिक संरचनाले लामो समयसम्म घरमुलीको निर्णयलाई सर्वोच्च मान्ने संस्कारलाई बल दिएको पाइन्छ। पति–पत्नीको सम्बन्धमा समेत पुरुषलाई उच्च स्थान दिने परम्पराहरू रहेका छन्। राजनीतिक जीवनमा राजाको निर्णयलाई प्रश्न गर्न नहुने संस्कार पनि इतिहासका विभिन्न चरणमा देखिएको छ। तर समाज स्थिर छैन। समयसँगै मूल्य, चेतना र सम्बन्धहरू परिवर्तन हुन्छन्।

हिजोको संस्कार, आजको प्रश्न

हिजो पतिलाई ‘परमेश्वर’ मानेर उसका व्यवहारलाई प्रश्न नगर्ने संस्कार बलियो हुन सक्छ। आज महिलाले आफ्नो आत्मसम्मान र अधिकारका विषयमा प्रश्न गर्छिन्। हिजो राजाले जे गरे पनि प्रजाले जयजयकार गर्ने संस्कार हुन सक्छ। आज नागरिकले राज्यसत्तालाई प्रश्न गर्छ। हिजो स्वामीले जे भन्नुभयो भक्तले ‘स्वाहा’ भन्ने संस्कार हुन सक्छ। आज व्यक्तिले तर्क, प्रमाण र आफ्नै विवेकको आधारमा कुरा स्वीकार वा अस्वीकार गर्न खोज्छ।

यसको अर्थ पुरानो समाजका सबै मूल्य खराब र नयाँ समाजका सबै मूल्य सही छन् भन्ने सरल निष्कर्ष निकाल्नु होइन। मुख्य कुरा के हो भने समाज परिवर्तनसँगै सम्बन्ध र निर्णयका पद्धतिहरू पनि पुनर्विचारको विषय बन्छन्।

आज बालबालिका आफ्नो अधिकारबारे बोल्छन्। महिलाहरू आत्मसम्मान र समानताको प्रश्न उठाउँछन्। विभिन्न समुदाय र समूहहरू आफ्नो अधिकार तथा सम्मानका विषयमा सचेत छन्। यस्तो परिवर्तित सामाजिक चेतनाबिच केवल ‘म ठुलो हुँ, त्यसैले मेरो कुरा मान’ भन्ने तर्कले सम्बन्धलाई दीर्घकालसम्म टिकाइराख्न कठिन हुन सक्छ।

राम्रो कुरा जहाँ भेटिन्छ, त्यहाँबाट सिकौँ

कुनै विचार कुनै एउटा राजनीतिक पार्टीको स्वामित्वमा मात्र रहँदैन। कुनै सिद्धान्त कुनै व्यक्तिको नामसँग जोडिएको हुन सक्छ, तर त्यसका उपयोगी पक्षलाई अर्को सामाजिक सन्दर्भमा अध्ययन गर्न सकिन्छ।

कम्युनिस्ट नेताले प्रतिपादन गरेको विचारमा उपयोगी पक्ष छ भने त्यसबाट गैर-कम्युनिस्टले पनि सिक्न सक्छ। काँग्रेसका कुनै विचार उपयोगी छन् भने कम्युनिस्टले पनि त्यसबाट सिक्न सक्छ। धार्मिक तथा सांस्कृतिक परम्परामा मानव जीवनका लागि उपयोगी मूल्यहरू छन् भने तिनबाट पनि सिक्न सकिन्छ।विचारको मूल्याङ्कन त्यसको नाम, जन्मस्थान वा राजनीतिक परिचयले मात्र होइन, त्यसले व्यवहारमा के परिणाम दिन्छ भन्ने आधारमा पनि गर्न सकिन्छ।

त्यसैले मूल प्रश्न ‘यो कुरा कसले भन्यो?’ मात्र होइन; अर्को प्रश्न पनि हो—‘यो कुरा कत्तिको तर्कसङ्गत, व्यवहारिक र मानव हितकारी छ?’

परिवारदेखि समाजसम्म

परिवार समाजको सबैभन्दा सानो सामाजिक एकाइ हो। परिवारभित्र विकसित हुने सम्बन्ध, संस्कार र निर्णय पद्धतिले व्यक्तिको सामाजिक व्यवहारमा पनि प्रभाव पार्न सक्छ।

यदि परिवारमा प्रश्न गर्न पाइन्छ भने समाजमा पनि प्रश्न गर्न सक्ने नागरिक विकसित हुन सक्छ। यदि परिवारमा असहमतिको सम्मान हुन्छ भने समाजमा पनि फरक मतलाई सुन्ने संस्कृति विकसित हुन सक्छ। यदि परिवारमा निर्णयअघि छलफल र निर्णयपछि अनुशासनको अभ्यास हुन्छ भने त्यही संस्कार सामाजिक संस्था, सङ्गठन र राजनीतिक जीवनमा पनि प्रयोग हुन सक्छ।

यस अर्थमा जनवाद र केन्द्रीयताको बहस केवल राजनीतिक पार्टीको सङ्गठनात्मक संरचनामा सीमित विषय होइन। यसलाई परिवार, सामाजिक संस्था, सहकारी, क्लब, विभिन्न सङ्गठन तथा सार्वजनिक संस्थाको निर्णय प्रक्रियासँग पनि तुलनात्मक रूपमा हेर्न सकिन्छ।

तर प्रत्येक सामाजिक क्षेत्रको आफ्नै प्रकृति हुन्छ। राजनीतिक सङ्गठनमा लागू हुने सङ्गठनात्मक सिद्धान्तलाई परिवारमा जस्ताको तस्तै उतार्नु भन्दा त्यसको आधारभूत तर्कलाई सम्बन्धित सामाजिक सन्दर्भअनुसार बुझ्नु बढी उपयोगी हुन्छ।

‘बा’को नयाँ अर्थ

बा हुनु भनेको परिवारमाथि शासन गर्नु होइन। बा हुनु भनेको परिवारभित्र अनुभवको एउटा स्रोत हुनु हो। बा अगुवा हुन सक्छन्, तर एक्लो निर्णयकर्ता हुनुपर्दैन। उनीसँग जीवनको अनुभव हुन्छ, तर नयाँ पुस्तासँग नयाँ समयको ज्ञान हुन्छ।

असल बा त्यो होइन, जसको कुरा सबैले डरले मान्छन्। असल बा त्यो पनि हुन सक्छ, जसको कुरा परिवारका सदस्यहरूले तर्कसहित सुन्छन्, प्रश्न गर्छन्, आवश्यक परे असहमति राख्छन् र अन्ततः सामूहिक निर्णयलाई आफ्नै निर्णयजस्तै ग्रहण गर्छन्। त्यस्तै असल परिवार त्यो होइन, जहाँ कहिल्यै मतभेद हुँदैन। असल परिवार त्यो हो, जहाँ मतभेद भए पनि संवादको ढोका बन्द हुँदैन।

घरमा बा चाहिन्छ, तर बाको निरङ्कुशता चाहिँदैन। परिवारमा नेतृत्व चाहिन्छ, तर नेतृत्वमाथि प्रश्न गर्ने अधिकार पनि चाहिन्छ । निर्णय चाहिन्छ, तर निर्णयअघि बहस पनि चाहिन्छ। अनुशासन चाहिन्छ, तर अनुशासनको नाममा आवाज दबाउनु हुँदैन। यही सन्तुलनको खोजी नै जनवाद र केन्द्रीयता बिचको सम्बन्धलाई बुझ्ने एउटा सरल सामाजिक रूपक बन्न सक्छ।

अन्त्यमा : घर बलियो बनाउने सूत्र

परिवार बलियो बनाउन ठुलो दर्शनको भाषण मात्र आवश्यक हुँदैन। दैनिक जीवनका स–साना व्यवहार नै पर्याप्त हुन्छन्—एक अर्काको कुरा सुन्ने, असहमतिलाई सम्मान गर्ने, आर्थिक विषयमा पारदर्शिता अपनाउने, निर्णयअघि छलफल गर्ने, निर्णय भएपछि जिम्मेवारीपूर्वक कार्यान्वयन गर्ने र विवादलाई बाहिरी हस्तक्षेपबाट जोगाउँदै भित्रै समाधान खोज्ने।

जनवादले बोल्ने अधिकार दिन्छ। केन्द्रियताले निर्णयलाई कार्यान्वयनमा लैजान्छ। जनवादबिनाको केन्द्रीयता आदेशमा बदलिन सक्छ; केन्द्रीयता बिनाको जनवाद अनिर्णय वा अराजकतामा पुग्न सक्छ। त्यसैले यी दुईबिचको सम्बन्धलाई कसरी सन्तुलित गर्ने भन्ने प्रश्न परिवारदेखि सङ्गठन र समाजसम्म महत्त्वपूर्ण बन्न सक्छ।

लेनिनले पार्टी सङ्गठनको सन्दर्भमा अघि सारेको जनवादी केन्द्रीयताको अवधारणालाई परिवारको दैनिक जीवनसँग जोडेर हेर्दा एउटा रोचक सामाजिक पाठ देखिन्छ—सत्ताको केन्द्रमा बसेर सबैलाई चलाउनु र सबैसँग छलफल गरेर नेतृत्व गर्नु एउटै कुरा होइन।

सायद आजको ‘बा’ले बुझ्नुपर्ने सबैभन्दा ठुलो कुरा पनि यही हो— बा हुनु अधिकारको अन्तिम प्रमाण होइन; जिम्मेवारीको सुरुवात हो। र परिवारको वास्तविक शक्ति बाको आवाज कति ठुलो छ भन्नेमा होइन, परिवारका सबै सदस्यको आवाज सुनेर कति राम्रो निर्णय गर्न सकिन्छ भन्नेमा निहित हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *